दलित समस्या शुरु भएको लिच्छवीकालदेखि नै भएतापनि हिन्दु वर्णाश्रम व्यवस्थाले राज्यको आडमा दलित समुदायलाई दमन गर्ने बलियो आड दिएको छ । त्यतिबेलादेखि नै दलित समुदायमाथि भएको ज्यादतीका विरुद्ध विद्रोह गरेको ऐतिहासिक तथ्य कतै पाइदैन । तर, हिन्दु धर्मशास्त्रमा आर्य र अनार्य, सुर र असुर, दानव र देवता बीचमा युद्ध भएका वर्णनहरुले अशुद्ध भनिएका यतिबेलाका उत्पीडित ऐतिहासिक श्रमिक वर्गले ठूला-ठूला युद्ध र विद्रोह भएको देखाएको छ ।
जसका कारणले तत्कालीन शासकहरुले नीतिनियमका जटिल तानावानासहित मनुस्मृतिलगायत दुई सयभन्दा बढी धर्मसूत्रको रचना गरी छुवाछुतको स्तरसम्म झार्ने अति निकृष्ट काम गरेको पाइन्छ । त्यतिबेला दलित समुदायका व्यक्तिहरुमा रहेको क्षमता, वौद्धिकता, कला, सीप, आफ्नो समुदायको हित र मुक्तिका लागि उनीहरुले प्रयोग गर्न सकेनन्, बरु कथित ठूलो जाति र वर्गका मालिकहरुको सेवा गर्न बाध्य बनाइयो ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्य र जनजाति आदिवासीका कविलाई गणराज्यहरुमा कब्जा गर्ने क्रममा दलितहरुमा भएको बुद्धि, सीप, कला र अनुभवको प्रयोग गरी राज्य विस्तार गरेका थिए । त्यो बेला पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी हो भनी आफू जातीय छुवाछुतको कट्टर पक्षपाती भएको देखाएका थिए । दलित समस्या हिन्दु धर्मको उपज भएको र त्यो राज्यको धर्म रहदै आएकोले हिन्दु धर्मको निर्देशनमा सञ्चालित राज्य र राजनीतिबाट दलित समुदायको मुक्ति सम्भव छैन भन्ने कुरा हाम्रा पुर्खाहरुले बुझ्न सकेनन् । त्यही समयदेखि नै ऐतिहासिक श्रमिक दलित समुदाय बुद्धि, सीप र कलाले सम्पन्न थिए । तर, विचारात्मक ज्ञानको अभावमा आफ्नो वर्ग र समुदायको हकहित र अधिकारका लागि त्यो सीप र कलाको सदुपयोग हुन सकेन । सामन्तवादको सुदृढ र विस्तार गर्ने तथा वर्ग विभाजित समाजलाई स्थायीत्व प्रदान गर्ने सवालमा अचुक हतियार सावित भएको हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभावजस्तो निकृष्ट प्रथा भएकोले त्यसलाई सही तरिकाले बुझ्ने र त्यस्तो गलत संस्कार, संस्कृतिको प्रथाको अन्त्य गर्ने अभियानमा लागेर मात्र दलित समस्याको समाधान हुन सक्दछ । त्यसैले अब सम्पूर्ण दलित समुदायको अधिकार प्राप्तिका लागि सबै दलित समुदाय एकजुट भएर लाग्नुपर्दछ ।
-[हुमा कार्की बिजौरी गाविस, दाङ]
कानून सबैलाई बराबर लागू हुनुपर्छ
दाङ जिल्लाका तुलसीपुर र घोराही नगरपालिकाले हाल बजार व्यवस्थापनमा सुधार गर्ने अभियान नै चलाएर राम्रो काम गरेका छन् । फुटपाथका व्यापारी तथा सडकजाम गरेर पैदलयात्री तथा सवारीका साधन आवागमनमा बाधा पुर्याउने छाडा चौपायालाई नियन्त्रण गरेर बजारलाई सुन्दर र व्यवस्थित गर्नु अवश्य राम्रो काम हो यसमा कुनै दुईमत हुन सक्तैन । तर, यो काममा ‘सानालाई ऐन र ठूलालाई चैन’ भनेझैँ भएको छ ।
यसको प्रष्ट उदाहरण तुलसीपुर नगरपालिकाको ‘क’ लाइनमा पर्ने नेविल बैँकको ठिक पश्चिमतर्फ तथा कृषि विकास बैँकको उत्तरतर्फ सडक आवागमनमा गम्भीर असर पर्ने गरी करिब १ वर्षदेखि कुनै ठूलो इट्टाभट्टाकै झल्को दिने गरी ईट्टाहरु सडकभित्रै राखिएको छ । मकै पोलेर, ठेला तथा रिक्सामा तरकारी बेचेर जीवन गुजार्नेलाई हटाउने नगरपालिकाले ठूला भनिनेहरुलाई भने देखेपनि नदेखेझैँ गरेको छ । यदि ऐन कानून लाग्छ भने सबैलाई समानरुपमा लागू गर्नुपर्दैन र ? नगर्ने हो भने नगरपालिकाले भन्नुपर्यो यो अभियान भनेको सानालाई मात्र हो, जो शक्तिशाली छन्, उनीहरुका लागि भने होइन । होइन भने सबैलाई समानरुपमा कानून लागू गर्नुपर्यो । यस्तो गैरजिम्मेवारीपूर्ण तरिकाले कुनै पनि अभियान दिगोरुपमा चल्न सक्तैन ।
-[रामप्रसाद शर्मा तुलसीपुर, दाङ]