जनसत्ता घोषणा र पुलिसको लखेटाई

  
  प्रकाशित मितिः सोमवार, असार २०, २०६८       | 143 Views   ||

-[हिरालाल केसी]

२०५८ सालको शुरुवाती दिन थिए । त्यसबेला म सल्यान जिल्लाको छायाक्षेत्र गाविसको माओवादी पार्टी इन्चार्ज भएर काम गरिरहेको थिएँ । पार्टीको जिम्मेवारी पूरा गर्न जस्तोसुकै अप्ठ्यारो मोलेर भएपनि काम गर्नुपथ्र्यो । शितलपाटी र लुहाम प्रहरी चौकी नजिकै पर्ने भोटेचौर, लान्ती साङ्घारज्यूला लगायतका गाउँमा लुकेर काम गर्नुपथ्र्यो । सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण । कयौँ दिनसम्म लान्तीबजारमा प्रहरीहरुसँग जम्काभेट हुने तर उनीहरुले मलाई माओवादी भनेर छुट्टयाउन नसक्ने । त्यसबेला मलाई आफ्नै शारीरिक बनावटले पनि साथ दिएको थियो । पार्टीको काम गर्ने क्रममा म गाउँको सामान्य गोठालो हुन्थेँ । कद पनि सानै भएकोले माओवादी नै हो भन्ने ठोकुवा गर्न विरोधी तप्कालाई गाह्रै पथ्र्यो ।

त्यसबेला माओवादी पार्टी जिल्लाभरि नै स्थानीय सत्ता रिक्त हुन नदिने र भ्रुणकै रुपमा भएपनि जनसत्ता गठन गरेर जनताका तत्कालीन समस्याहरु समाधान गर्ने अभियानमा थियो । भीषण युद्धको समयमा पनि स्थानीय जनसत्ता सञ्चालन गर्दा प्रजातान्त्रिक विधि र प्रकृया पुर्‍याउँथ्यौँ हामी । गाउँ जनसरकार गठन गर्दा सामन्तवाद र साम्राज्यवादविरोधी मानिसहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउँथ्यौँ । कतिपयले उम्मेद्वारी दिन्थे र कतिले त जित्थे पनि । माओवादीले आफ्नो सत्तामा अधिनायकवाद लाद्ने काम गर्छन् भन्ने भ्रमलाई हामीले त्यतिबेला नै च्यातचुत पारिदिएका थियौँ । पुरानो सत्ताका सङ्रचनाहरु भङ्ग गरेपछि सत्ता रिक्तताको अवस्था आउनु स्वभाविक थियो । जनताका जग्गा पास गर्ने, जनअदालतको माध्यमबाट गाउँमा भएका झैँ-झगडा मिलाउने र विकास निर्माणका कामहरु जनसत्तामार्फत् हुन्थे । एकातिर केन्द्रीय राज्यसत्तासँगको लडाई, अर्कोतिर स्थानीयस्तरमा जनसत्ता चलाउनुपर्ने । स्थानीयरुपमा भ्रुणको रुपमा विकास भएको जनसत्तालाई पनि हामीले संघर्षकै साधनको रुपमा लिन्थ्यौँ । किनकि सत्ता सञ्चालन गर्दा उठ्ने राजस्व केही स्थानीयस्तरको पुलपुलेसा, बाटोघाटो र केही रकम क्रान्तिका निम्ति खर्च हुन्थ्यो । युद्धकालमा हाम्रा अधिकांश कामहरु संघर्षप्रधान हुन्थे भने सहायकमा जनताका अतिआवश्यक कामहरु गथ्र्यौँ ।

स्थानीय चुनावको सिलसिलामा झिम्पे र त्रिवेणी गाविसमा निर्वाचन सकेर २०५८ जेठ १९ गते बिहान हामी छायाक्षेत्र गाविसको लान्तीतिर लाग्यौँ । छायाक्षेत्रमा जनसत्ता गठन गर्ने योजनाका साथ स्थानीय जनमिलिसियाको एक टुकडीसहित १९ गते बिहानै लोकपाल केसी ‘महेन्द्र’, मलगायत १२ जना गरिज्यूलाको डिलमा निर्मित एउटा प्रतिक्षालयमा पुग्यौँ । केही घण्टासम्म प्रतिक्षालयको बसाईपछि दिउँसो लान्ती बजारतिर लाग्यौँ । हामी दिनभरजसो लान्तीमा जमेर बसेका थियौँ । हामी बसेकै बेला पुरानो सत्ताका गुप्तचरहरुले हाम्रो सबै अवस्था र हतियारको संख्यासमेत किटान गरेर फर्केछन् । हामी लान्ती बजार नजिकै शारदा खोलाको किनारमा अवस्थित एउटा पिपलको बोटमुनि जनसत्ता निर्वाचनको प्रचारस्वरुप सभा गर्ने तयारीमा थियौँ । प्रहरीको सम्भावित आक्रमणप्रति हामीले त्यति ध्यान दिएनौँ । कसलाई गाउँ जनसरकार प्रमुख बनाउने, कसलाई उपप्रमुख बनाउने भन्ने कुरामै हाम्रो ध्यान थियो । स्थानीय व्यापारी, किसान, शिक्षक सबैसँग अन्तक्रिर्या गर्दागर्दै दिन बितेको थाहै भएन ।

हामी सोही दिन लान्तीबजारमै गाउँ जनसरकार घोषणा गर्ने तयारीमा लाग्यौँ । मिलिसियाको टुकडीले लान्ती बजार वरपरको सुरक्षा व्यवस्थालाई मजबुत बनायो । हामी ढुक्कसँग लान्तीको छेउमा सभा गर्न जुट्यौँ । भाषणको विषय स्थानीयरुपमा जनसत्ताको आवश्यकता र जनताको भूमिका थियो । हामीले छायाक्षेत्रमा स्थानीय सत्ताको आवश्यकता र औचित्य नबताइकन गाउँ जनसरकार घोषणा गर्नु कठिन थियो । घोषणा गरिहालेमा पनि त्यो कामयावी हुनेमा समस्या आउने देखिन्थ्यो । दिउँसो करीब साढे तीन बजेको थियो मैले भाषणको सुरुवात गरेँ । भाषण गर्न लागेको २/३ मिनेट के भएको थियो बन्दुक पड्केको आवाज आयो । बन्दुक पड्किनसाथ सभामा सहभागी राप्रपाका जिल्ला नेता अनुपमसहित ५ सय जति स्थानीय जनता कहाँ गए केही पत्तो पाउन सकिएन । के भयो भनी पश्चिमतिर हेर्दा चार दर्जनजति प्रहरीहरु हामी भएतिर दौडिदै आइरहेका थिए ।

छेउमा राखेको क्याट झोला समातेर लोकपाल र म पनि दौडिदै खोलातिर लाग्यौँ । गरिज्यूलाको फाँट पार गर्नुभन्दा पहिले शारदा खोला तर्नुपर्ने । जेठको महिना भएकोले खोलामा पानी धेरै नभएपनि खोला पार गरेर खेतमा उक्लिनुपर्ने भौगोलिक अवस्था थियो । शारदा पार गरेर खेतमा नउक्लिदै प्रहरीले पहिलो फायर गर्‍यो । कानको नजिकैबाट गोली उड्यो । सानो ढिस्कोबाट हाम फाल्छु भन्दा क्याट झोला ऐसेलुको बोटमा अल्झियो । झोला झिक्न खोजेँ, अर्को फायर भयो । खेतमा नउक्लिदै ठूलो संख्यामा प्रहरीहरु हामीले सभा गर्न लागेको ठाउँनेर आइसकेका थिए- दूरीका हिसाबले निकै नजिक । खोला पारी उनीहरु- खोलावारी हामी । हामी खेतमा दौडिदै गर्दा प्रहरीले हामीतिर दर्जनौँ फायर गरे । गोली चलेको आवाज सुन्दा निहुरिन्थे अनि फेरि दगुर्थेँ । खेतको डिलमा उभिएर हामीतिर हेर्दै गरेकी एकजना दिदीले अब त माओवादी बाबुहरुलाई प्रहरीले मार्ने भयो कठै भनिरहनुभएको थियो । मैले नआत्तिनुस् केही हुँदैन भन्दै दौडिरहेँ । गरिज्यूला फाँटमा अरु मानिसहरु पनि दौडिरहेका थिए- सायद उनीहरु पनि सभामा सहभागी थिए । मिलिसियाका साथीहरु आ-आफ्नो ढङ्गले घेरा तोड्नुभएछ ।

दगुर्दा दगुर्दै धानको व्याड राखेको हिलोमा मेरो खुट्टा भासियो । जुत्ता पनि त्यहीँ अल्झियो । खुट्टा तान्न खोज्दा आउँदै नआउने । जबर्जस्ती हिलोबाट खुट्टा तानेँ जुत्ता भने हिलोमै छुट्यो । त्यतिबेलासम्म प्रहरीहरु पनि फायर गर्दै खेतमा आइसकेका थिए । हामीलाई खेतमा भेटाएर गोली हान्ने प्रबल सम्भावना थियो । दगुर्दा दगुर्दै लोकपाल भेटिनुभयो । मोटो मान्छे झनै आपत । मरे सँगै बाँचे सँगै भन्दै हामी दुवैजना सँगसँगै दगुर्‍यौँ । मैले उहाँको पाखुरा समातेँ । बाँचिन्छ भन्ने आशा एकदमै कम थियो तैपनि अन्तिमसम्म दगुरिरहने निधो गर्‍यौँ । अर्को विकल्प पनि त थिएन । कतिबेला गोली लाग्छ भन्ने कुरा मात्र दिमागमा नाचिरहेको थियो । दगुर्दा-दगुर्दा बल्लतल्ल गरिज्यूलाको खेतको फाँट पनि सकियो । पछाडि फर्केर हेर्‍यौँ हामीलाई लखेट्दै प्रहरीहरु नजिकै आइसकेका थिए । सुरक्षित हुने ठाउँ नै थिएन । भौगोलिक बनावट पनि धेरै अप्ठ्यारो । माथितिर बाटोबिनाको भिरालो जमीन । हामी खेतको किनारा र पहाडको खोचैखोचबाट कुद्यौँ । प्रहरीले तलतिरबाट पनि घेरा हालेको थाहा भयो । अरु साथीहरुले कहाँबाट घेरा तोडे थाहै भएन । दगुरिरहेको ठाउँमा स- साना बुट्टयानहरु बाहेक रुखविरुवा केही पनि थिएन । कभर लिने ठाउँ पनि थिएन । प्रहरीले लगातार गोली चलाइरहेको थियो । जतिपटक गोली चल्थ्यो त्यतिपटक म निहुरिन्थेँ । हामी अलि माथि उक्लिन सफल भयौँ । बाँचिन्छ कि भन्ने केही आशा पलायो । एउटा घरको पछाडिबाट उकालो चढ्यौँ । त्यही ठाउँमा एकजना मिलिसिया सदस्य भेटिनुभयो । अलिकति मनोबल बढ्यो । प्रहरीहरुले एकोहोरो लखेटिरहेका थिए । हामी थाकेर लखतरान परिसकेका थियौँ । ठाडो उकालोमा बुट्टयान समाउँदै दगुर्‍यौँ ।

अलिमाथि सालघारी सुरु भयो । अब त गोली लाग्दैन भन्ने विश्वास पलायो । सालघारीमा पुग्दा वरिपरिबाट हाम्रो सुरक्षा गर्दै मिलिसियाका अरु तीन जना सदस्यहरु पनि त्यहीँ भेटिनुभयो । हामीसँग फायर नगरेका तीनवटा बन्दुक रहेछन् । अब प्रतिकार गर्नुपर्छ भन्ने सोच आयो । बन्दुकको फायर पनि आत्मसुरक्षाको लागि महत्वपूर्ण तरिका हो भन्ने थाहा थियो । हाम्रो पछि-पछि आइरहेका प्रहरीहरुलाई अल्मल्याउन बन्दुक पड्काउनुको विकल्प थिएन । उनीहरु पनि गरिज्यूला खेत दौडेर करीब करिब उकालो चढ्नै लागेका थिए । मैले कासन गरेर एक, दुई, तीन भनेँ । मिलिसियाका सदस्यहरुले क्रमशः फायर गरे । मैले फौजी भाषामा प्रहरीहरुलाई एक पाइला अगाडि नबढ्न र बढेमा ठूलो क्षति मोल्नुपर्ने चेतावनी दिएँ । ए छापे पख् भनेर प्रहरीहरु तलबाट कराउँथे । ए डण्ठे पख् भन्दै हामीहरु माथिबाट कराउँथ्यौँ । दुवै पक्षको बन्दुक हानाहानपछि एकछिन वाकयुद्ध चल्यो । त्यसपछि अगाडि बढ्ने आँट नगरी प्रहरीहरु पछि हटे । हामी भने खाली खुट्टा जंगलै जंगलको बाटो हुँदै झिम्पेको सिङ्गारिकोट पुग्यौँ ।

गाउँमा पुग्दासम्म खुट्टा सुन्निएर हिड्नै नसक्ने अवस्था थियो । दगुराईले हातखुट्टामा घाउ चोटसमेत लागेको थियो । त्यो साँझ एक किसानको घरमा बस्यौँ र खाना खायौँ । दिनभरिको घटना विवरण त्यो घरका बाआमा र भाइबहिनीहरुलाई बतायौँ ।त्यो दिन दिउँसो प्रहरीको गोली छल्न नसकेको भए पक्कै शहीद भइन्थ्यो होला । यसरी कमरेडहरु र गाउँका मानिसहरुसँग भलाकुसारी गर्न पाइन्नथ्यो होला- यस्तै यस्तै कुराहरु गर्‍यौँ हामीले । संकटमा परेको बेला यसैगरी साथ र हात दिएका लाखौँ लाख नेपाली बाआमा, दाजुभाई दिदीबहिनीहरुको त्यो निष्कपट वर्गीय माया साँच्चिकै अविस्मरणीय छ ।

धेरै थकावट भएकोले छिट्टै सुत्ने तरखर गरियो । केही समयको भलाकुसारीपछि हामी सुत्यौँ । धेरै थाकेकाले म सुत्नेबित्तिकै निदाएछु । सधैँजसो बिहान ४/५ बजे ब्यूँझिने मेरो बानी थियो । धेरै दौडेकाले थाकान पनि धेरै भएछ । बिहान करिब ७ बजेमात्र ब्यूझिएँ । देश विदेशको समाचार सुन्नका लागि सिरानीमा राखेको रेडियो खोलेँ । भजन बजिरहेको थियो । समाचारको समयमा पनि भजन बजिरहेको सुन्दा अचम्म लाग्यो । लगातार भजनमात्रै बजेकाले आज रेडियोलाई के भो भन्दै विभिन्न अड्कल काट्यौँ । आज समाचारवाचक नभएकाले भजन बजाएको होला भन्दै लोकपालले ठट्टा गर्नुभयो । ‘नाई आज रेडियोमा केही न केही पक्कै भयो’- अर्को साथीले भन्नुभयो । तर के भएको हो केही थाहा हुन सकेन । बिहान सवा आठ बजे अल इण्डिया रेडियोको समाचार सुन्दा पो थाहा भयो कि काठमाण्डौँ नारायणहिटी राजदरबारमा जेठ १९ गते साँझ गोली चलेको र गोलीकाण्डमा राजा विरेन्द्रसहित उनका ११ जना सपरिवारको मृत्यु भएको । दरबार हत्याकाण्डको आलो घटनाले देशभरि नै बेग्लै प्रकारको वातावरण सिर्जना गर्‍यो । हामी बसेको गाउँमा पनि सबैतिर कौतुहलता र जिज्ञासाहरु मात्रै व्याप्त थिए । उदार राजा विरेन्द्र कसरी मारिए होलान् ? यस्तै कुराहरु मानिसका मुखबाट सुन्न सकिन्थ्यो । अघिल्लो दिन प्रहरीको लखेटाईमा परेका हामीले आपसमा कुरा गर्‍यौँ- राजा विरेन्द्रको बंशनास भएकै दिन हामी शहीद भएको भए के हुन्थ्यो होला ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *