राजनीतिक सहमति जुट्यो भने मात्र सेना समायोजन हुन सक्छ

  
  प्रकाशित मितिः सोमवार, असार २०, २०६८       | 112 Views   ||

Avinas_PLA1-819x1024यहाँहरु विगत ५ वर्षदेखि अस्थायी शिविरमा बस्दै आउनुभएको छ, अहिलेसम्म के-कस्तो अनुभूति गर्नुभएको छ ?

हामी विगत ५ वर्षदेखि अस्थायी क्याम्पमा बस्दै आइरहेका छौँ । यो ५ वर्षको अवधिमा असाध्यै उतार-चढावको अनुभूति गरेका छौँ । राजनीतिकरुपमा अस्थिरता, आर्थिकरुपमा विपन्नतालगायत हरेक क्षेत्रमा अव्यवस्थित र अभावबाहेक अरु केही अनुभूति गरेनौँ ।

तीन महिनाभित्र सेना समायोजन हुने कुरा छ, त्यसको मानसिक/भौतिक तयारी के भइरहेको छ ? र, जनसेना समायोजन वा पुनःस्र्थापना कता जान चाहिराखेका छन् नि ?

विगत केही दिनदेखि सेना समायोजनको हल्ला हामीले सुनेका छौँ । यो हल्ला फगत आत्मरतिको लागि लिएको हल्ला हुन सक्छ । सेना समायोजनको सम्भावना हामीले देखेका छैनौँ । सेना समायोजनको लागि राजनीतिक सहमति हुनुपर्छ । त्यो सहमति अहिलेसम्म जुटेको छैन । राजनीतिक सहमति जुट्यो भने मात्र सेना समायोजन हुनसक्छ । यदि सेना समायोजन हुने भयो भने अधिकांश जनमुक्ति सेना समायोजनमै जान्छौँ । किनकि हामी हाम्रो स्थापनाकालदेखि देश र जनताको लागि बलिदान दिन तयार भएर आएका सेना हौँ । देशले बलिदानीको माग गर्‍यो भने जतिखेर पनि बलिदान दिन तयार छौँ ।

जनमुक्ति सेना देश र जनताको मुक्तिको लागि मृत्युलाई जितेर आएको सेना हो, जनअधिकार प्राप्त नहुँदै यो जनसेनालाई व्यवयायिक सेनामा रुपान्तरित गरिदैछ, यसले संविधानको एजेण्डा खोसिने खतरा हुँदैन र ?

तपाईले ठिक भन्नुभयो हामी देश र जनता एवम् सर्वहारा वर्गको मुक्तिको लागि मृत्युको कसम खाएर हिडेका राता सिपाही हौँ । हाम्रो एउटा मात्रै उद्देश्य सशस्त्र विद्रोहको माध्यमबाट नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु र नेपाललाई सिङ्गो सर्वहारा वर्गको लालकिल्लाको रुपमा स्थापित गर्नुका साथै नेपालबाटै सर्वहारा वर्गको विजयको अन्तिम हुँकार फुक्नु हो । यदाकदा सेना समायोजन र व्यवसायिक सेनाको कुरा सुनिरहेका छौँ । यो कुरा राजनीतिक सहमतिको आधारमा मात्र सम्भव छ । राजनीतिक सहमति भएन भने विद्रोहको विकल्प छैन । यदि राजनीतिक सहमति भएर सेना समायोजन भइहालेछ भने पनि विगत १० वर्षको सशस्त्र युद्धको दौरानमा नेकपा -माओवादी)ले उठाएका मुद्दाहरु कुनै हालतमा खतरामा पर्ने छैनन् । त्यसको रक्षा गर्ने जिम्मा एकीकृत नेकपा -माओवादी)ले हामीलाई सुम्प्यो भने हामी दृढतापूर्वक त्यसको रक्षा गर्नेछौँ ।

नेपाली सेनाले तय गरेको समायोजनको खाकाअनुसार त जनसेनालाई सुरक्षा निकायभन्दा बाहिर वन संरक्षण, प्राकृतिक प्रकोपका बेला उद्धार गर्ने फोर्समा राख्ने भनिएको छ, सेना समायोजनसम्बन्धी तपाईहरुको धारणा के हो ?

पहिलो कुरा त नेपाली सेनाले अगाडि सारेको सुझावलाई एकीकृत नेकपा -माओवादी)ले स्वागत गरेको हो । नेपाली सेनाले प्रस्ताव गरेको सेना समायोजनको मोडालिटीलाई कुनै हालतमा स्वीकारेको होइन । र, त्यसलाई कसैले नेपाली सेनाकै मोडालिटीमा सेना समायोजन हुन्छ भनेर सोचेको छ भने त्यो फगत दिवा सपनाबाहेक अरु केही हुन सक्दैन । बरु यो भन्दा पहिलेका नेपाली सेनाका अफिसरहरुले सेना समायोजनको शब्द नै सुन्न चाहदैनथे । यतिखेरका नेपाली सेनाका अफिसरहरुले कम्तिमा सेना समायोजनको कुरालाई स्वीकारेका छन् । यो स्वागतयोग्य कुरा हो ।

तर, त्यही कुरालाई सेना समायोजन नेपाली सेनाकै मोडालिटीमा हुने भयो भनी हल्ला गर्नु ‘कागले कान लग्यो भन्दा कान छाम्नुको सट्टा कागको पछाडि दगुर्नु’ जस्तै हो । के तपाईहरुले १० वर्षको भीषण आँधीमय जनयुद्ध लडेर आएको जनमुक्ति सेनालाई वनपाले बनिहाल्ला भन्ने सोच्नुभएको छ र ? जनमुक्ति सेना कदापी वनपाले बन्न सक्दैन । बन्छ भने आफ्नो अस्तित्वसहितको राष्ट्रिय सेना बन्छ, हुँदैन भने फेरि अर्को पटक मुक्तियुद्धमा फर्किन्छ । मनमा विचार गरिराखे हुन्छ ।

विशेष समितिमार्फत् सरकारको मातहतमा गइसकेको जनसेनालाई अझै पनि पूर्वाग्रही व्यवहार गरिनुमा तपाई के कारणले काम गरिरहेको देख्नुहुन्छ ?

यो दलहरुको पूर्वाग्रही, दलगत स्वार्थभन्दा माथि उठ्न नसक्नु, विदेशीहरुको गोटी बन्नु, सरकारको राष्ट्रिय पहिचान नहुनु, सरकारी लाचारी र हिजडापनको कारणले हामीमाथि पूर्वाग्रही व्यवहार गरिएको हो ।

लोकतान्त्रिक आन्दोलनमा जनमुक्ति सेनाले खेलेको भूमिकालाई बिर्सेर अन्य दलहरुले त्यसको अवमूल्यन गर्ने, गिराउने र समायोजनमा नलैजाने तर हतियार खोस्ने षड्यन्त्रमा लागिरहेका देखिन्छन्, यसो गर्नुको कारण माओवादीलाई राजनीतिबाट सिध्याउन चाहेर हो कि ?

जनमुक्ति सेनालाई अवमूल्यन गर्ने, गिराउने, समायोजन नगर्ने, जनमुक्ति सेनासँग भएका हतियार खोस्ने, विघटन गर्ने काम प्रतिक्रियावादीहरुको हो । त्यसकारण प्रतिक्रियावादीहरुले के बोल्छन्, के गर्छन् भन्ने विषयमा धेरै टाउको दुखाउनु आवश्यक छैन । प्रतिक्रियावादीहरुको हल्लालाई विश्वास गर्ने हो भने क्रान्तिकारीहरुको दिमागले फ्युज खान सक्छ । त्यसकारण त्यो फगत, निराधार हल्लाको पछाडि हामी कहिल्यै पनि लाग्दैनौँ र लाग्नु पनि हुँदैन । प्रतिक्रियावादीहरुले हिजो १० वर्षको युद्धको दौरानमा हाम्रा नेताहरुको टाउकाको मूल्य तोकेकै हुन्, हामीलाई सिध्याउन खोजेकै हुन् । यो उनीहरुको धर्म हो । त्यसो नगरी उनीहरुको लुटको स्वर्गलाई कसरी बचाइराख्न सक्छन् र ?

जनमुक्ति सेना निश्चित विचार र उद्देश्यमा समर्पित सेना हो । तपाईहरु सेना समायोजनपछि व्यवसायिकरुपले राष्ट्रिय सेना बन्नुहुन्छ । तर, सेना समायोजनले मात्रै जनताका माग पूरा हुने स्थिति देखिदैन नि, यसले जनतामाथि धोका भएन र ?

पहिलो कुरा, सेना समायोजनको बारेमा व्यापक गहिराईमा गएर सोच्न जरुरी छ । सेना समायोजन कुन अर्थमा र कुन उद्देश्यले गरिन्छ यो कुरामा स्पष्ट भइएन भने यस्ता प्रश्नहरु पटक-पटक उठ्ने गर्दछन् । त्यसकारण यो प्रश्न गर्नुभन्दा पहिले एकपटक छातीमा हात राखेर गहिरोसँग सोच विचार गरी वास्तविकतामा पुगेरमात्र प्रश्न गर्दा उपयुक्त होला भन्ने मलाई लाग्दछ । सेना समायोजनको बारेमा कुरा गर्दा कस्तो अवस्थामा सेना समायोजन हुन्छ ? कसरी हुन्छ ? किन हुन्छ ? यसका धेरै महत्वहरु छन् । पहिलो सर्त, कुनै पनि क्रान्तिकारी कम्युनिष्ट पार्टी वा क्रान्तिकारी विद्रोही पक्षले सत्ता कब्जा गर्दा पुरानो सत्ताको मेरुदण्डको रुपमा रहेको पुरानो सेनालाई कब्जा गर्नु वा विघटन गर्नु अनिवार्य सर्त हुन्छ । यदि त्यो गरिएन भने विद्रोही पक्षले सत्ता कब्जा गरिएको मानिदैन ।

दोस्रो शर्त, पुरानो सत्ता कब्जा गर्दा पुरानो सेनालाई विघटन गर्न आवश्यक शर्तहरु अनिवार्य छन् । यो मैले भनिरहनुपर्ने आवश्यक छैन । त्यसकारण सेना समायोजन तत्कालै भइहाल्छ र जनताका मागहरु थाती रहिरहन्छन्, जनतालाई फेरि धोका हुन्छ भन्ने भ्रमबाट सबै मुक्त भए हुन्छ । त्यस्तो कदापी हुने छैन । यदि कदम्कदाचित दुर्भाग्यवश त्यसो हुन गयो भने जनतालाई मात्र धोका हुने छैन । महान् जनयुद्धका सम्पूर्ण युद्धयात्रीहरुको मृत्युमा समेत प्रश्नवाचक चिन्ह खडा हुनेछ । त्यसैले हिजोका समरयात्रीहरुले समयमा नै छातीमा हात राखेर निकट भविष्यको बारेमा सोच्नुपर्ने अनिवार्य शर्त बन्न आएको छ ।

सेना समायोजन गरिसकेपछि जनपक्षीय संविधान बन्छ भन्नेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?

खासगरिकन सेना समायोजन हुनुभन्दा पहिले संविधान बन्नुपर्ने र नयाँ बन्ने संविधानले नयाँ सुरक्षा नीति तय गरेपछि मात्र सेना समायोजन हुनुपर्ने हो । तर, त्यसो गर्दा अन्य दलहरुलाई आशङ्का पैदा हुन्छ भने संविधान लेखन र सेना समायोजनको प्रक्रिया सँगसँगै हुनुपर्छ । सेना समायोजन गरेर संविधान निर्माण गर्नुपर्छ भन्ने तर्क गलत छ । यो तर्कले ‘गाडा अगाडि, गोरु पछाडि’ भन्ने उखानको चरित्र पुष्टि गर्दछ । त्यसैले सेना समायोजन र संविधान निर्माणको प्रक्रिया सँगसँगै अगाडि बढ्छ ।

तपाई जनयुद्धको शुरुदेखि जनमुक्ति सेनाको फर्मेशनमा हिडेर यहाँसम्म आइपुग्नुभएको छ, समायोजनको प्रक्रियामा सम्मानजनक जिम्मेवारी दिइएन र आफ्नो मातहतमा नेपाली सेनाले चलाउन खोज्यो भने तपाई के गर्नुहुन्छ ?

प्रथमतः दलहरुको लुछाचुडी र वैदेशिक हस्तक्षेपका कारणले सेना समायोजनको सम्भावना असाध्यै कम छ । यदि सेना समायोजन हुने सम्भावना भयो भने हामीलाई कुन हैसियतमा राख्दा उपयुक्त हुन्छ । त्यो कुरा एकीकृत नेकपा (माओवादी)ले आफै बुझ्नेछ । हामीले भनिरहनु नपर्ला । मेरो नितान्त व्यक्तिगत कुरा गर्नुपर्दा सर्वहारा क्रान्तिको सच्चा सिपाही बनिरहने सोचवाहेक मसँग अरु बाँकी केही स्वार्थ छैन ।

तपाईहरु सेना समायोजन प्रक्रियाको नजिक पुगिसक्नुभएको छ यो बेला आधार क्षेत्रका जनताको त्याग, लगानी र जनयुद्धमा रगत बगाएका शहीद, बेपत्ता एवम् क्रान्तिमा निरन्तर लागिरहेका कार्यकर्ताहरुलाई कसरी सम्झिनुहुन्छ ?

तपाईले सेना समायोजनको प्रक्रिया नजिक पुगिसकेको बताउनुभयो । तर, मलाई त्यस्तो लागेको छैन । मुखले सेना समायोजनको कुरा गरेर मात्र पुग्दैन । मन, वचन र कर्मले व्यवहारमा लागू गर्नुपर्दछ । त्यस्तो लागू भएको मैले देखेको छैन । गाउँले उखानमा एक हातले रोटी बन्दैन भन्ने भनाई छ । त्यसैगरी एकीकृत नेकपा (माओवादी)ले मात्र चासो लिएर सेना समायोजन हुँदैन । अन्य राजनीतिक दलहरु पनि सेना समायोजनको लागि तयार हुनुपर्छ । तब मात्र सेना समायोजनको सम्भावना बढ्न सक्छ । तर, दलहरु सेना समायोजनको शब्द उच्चारण भएको सुन्नसमेत चाहदैनन् अनि कसरी हुन्छ त सेना समायोजन ? त्यसैले सेना समायोजन भइहाल्ला र हिजोका आधार क्षेत्रका जनताको लगानी, त्याग, तपस्या, वीरहरुले बगाएको रगत, शहीद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्गहरुको सपना अधुरो रहिहाल्ला कि भन्ने कोरा कल्पना गर्नु आवश्यक छैन । हामी यहाँसम्म १०औँ हजार महान वीरहरुको बलिदान, घाइते तथा अपाङ्ग र लाखौँ जनताको रगत, पसिना एवम् न्यानो मायाले आइपुगेका हौँ । उहाँहरुलाई बिर्सने त कुरै भए नि । जबसम्म हामी विचारमा अडिग रहनेछौँ, तबसम्म हामी जनतासँगै हुनेछौँ । जनताकै काम गर्नेछौँ ।

अन्त्यमा हाम्रो पत्रिकामार्फत् छुटेका कुरा केही भए….. ?

तपाईको पत्रिकामार्फत् मेरो विचार जनतासामु सम्प्रेषण गर्ने अवसर दिनुभएकोमा नौलो जनउभार साप्ताहिक परिवारलाई धन्यवाद । दुनियाँले सेना समायोजनको विषयलाई लिएर व्यापक चर्चा परिचर्चा गरिरहेका छन् तर सेना समायोजन कसरी गर्ने ? कुन विधि र प्रक्रियाबाट गर्ने ? कुन आधारबाट गर्ने ? भन्ने विषयमा गहिराईमा नपुगी सतही तर्क गर्दैछन् । त्यो सतही तर्कसँग हामी सहमत छैनौँ ।यदाकदा माओवादी पार्टीभित्रैबाट अध्यक्ष कमरेड प्रचण्डले जनमुक्ति सेना सरकारलाई बुझाउने शर्तमा संविधानसभाको म्याद ३ महिनाको लागि थपेको हो भन्ने कुतर्क गरेको पनि सुन्ने गर्दछु । त्यो कुतर्कसँग पनि मलगायत सिङ्गो जनमुक्ति सेना सहमत छैन ।

जनमुक्ति सेनाको संस्थापक सदस्यको हैसियतले के भन्न चाहन्छु भने, कोही व्यक्तिले कुनै संगठनको निर्माण गर्दछ भने त्यही संगठनलाई कहिल्यै नबन्ने गरी विघटन गर्छ भन्ने मलाई लाग्दैन । के तपाईहरुले आफ्नै बगैँचामा रोपेको आँपको बिरुवालाई आफैले उखेलेर फ्याँक्न सक्नुहुन्छ ? अहँ, कदापी फाल्न सक्नुहुन्न । फ्याँक्नुको सट्टा मलजल गरेर त्यसलाई हुर्काउने काम गर्नुहुन्छ । त्यसैले हामीले निर्माण गरेको जनमुक्ति सेनाको पवित्र संगठनलाई हामी आफैले विघटन गर्ने कुरै भएन । बरु गत जेठ १४ गते राती संविधानसभाको म्याद ३ महिना नथपेको भए देशमा के हुन्थ्यो ? विचार गरे कसो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *