शान्ति प्रक्रिया र क्यान्टोनमेन्ट

  
  प्रकाशित मितिः मङ्लबार, असार २१, २०६८       | 117 Views   ||

-[युगान्त मैनाली]

दिलोज्यान दिएर हामी युद्धमा हिड्यौँ । अहिलेसम्म हामीले राष्ट्र र राष्ट्रियताको परिवर्तन र सम्वर्द्धनका निम्ति सबै चिज गुमायौँ । हजारौँले बलिदान गरेका छन । हजारौँ अङ्गभङ्ग भएका छन । हजारौँ घरवारविहीन छन । अझ भनौँ भने एउटा पुस्ताको जीवन नै बर्बाद भएको छ । मेरै बारेमा भन्नुपर्दा म आफै घाइते छु । मेरो रगत र पसिनाले नेपाली माटो भिजेको छ । मेरा दुइटा भाइ शहीद भइसकेका छन । एउटा अंकलको छोरा, अर्को मेरो आˆनै कान्छो भाइ । अब परिवारको पि्रय सदस्य, श्रीसम्पत्ति सबै गुमायौँ । हाम्रो त्याग, समर्पण र बलिदानले देशले केही परिवर्तन पाएको हामीले महसुस गरेका छौँ । यो परिवर्तन ल्याउन जनमुक्ति सेनाको ठूलो योगदान रहेको छ । यो सबैले देखेको कुरा हो । यति ठूलो ऐतिहासिक परिवर्तनको हकदार जनमुक्ति सेनालाई अहिले विभिन्न बहानामा अपमान गरिदैछ । यो पवित्र सङ्गठनको अपमान भएको मैले महसुस गरेको छु ।

अहिले अनावश्यक राजनीतिक बहस गरिदैछ । विषयलाई तन्काइदैछ । स्थितिको सामान्यीकरण गर्ने र त्यसको सही निकास दिने भन्दा पनि बल्झाउन खोजिदैछ । मलाई जहाँसम्म लाग्छ यो शान्ति प्रक्रिया र सेना समायोजनले घाइतेहरूको मन बुझाउँदैन । कसैको पनि मर्म समायोजन होइन र हुँदैन । यसले देशको निकास दिन सक्तैन । हामीले जनयुद्ध गर्दा गरेको वाचा र लक्ष्य उद्देश्य शान्ति प्रक्रियाबाट पूरा हुने कुनै सम्भावना नै देखिएको छैन । अहिले जनमुक्ति सेनालाई जसरी पनि विघटन गर्ने कुत्सित मनसायले विभिन्न बहानाबाजी गरिदैछ । दुःख लाग्छ, विगतमा जे जति काम गरियो त्यसको गरिमाको सीमा नै छैन । दिन-रात, भोक-भोकै, झरि वर्षा नभनी प्राणलाई हत्केलामा राखेर मुक्ति र मृत्युको कसम खाएर लडियो । तर, अहिले हामीलाई फगत भाग खोजिरा’को जस्तो गरिराखेका छन् । आखिर चीज त्यस्तो होइन । नेपाली सेनाभन्दा यो परिवर्तनकारी लोकतन्त्रकारी सेना हो । जनताको जनमुक्ति सेना हो । म त भन्छु ‘यो सेनाको सबैले संरक्षण गर्नुपर्छ । यसलाई ऐतिहासिक नमुनायोग्य सेनाको रूपमा फर्मेशन सङ्गठित गरिनुपर्छ ।’ यहाँ त्यसो गर्नुको सट्टा अपमान गरिदैछ । जबर्जस्त विघटन गर्न खोजिदैछ । जुन कुरा इतिहासले वर्तमान राजनीतिका हिमायतीहरूलाई युगयुगसम्म धिक्कार्नेछ । कतै हाम्रा कतिपय नेताहरुलाई पनि आˆनो स्वार्थ पूरा भइसकेको र जनमुक्ति सेना घाँडो लाग्न थालेको त होइन ? भन्नेजस्तो पनि अनुभूति हुन्छ नेताहरुले विषयलाई गम्भीरतापूर्वक नलिएको देख्दा । यदि जनमुक्ति सेनालाई सरकार प्राप्तिको बार्गेनिङको विषय बनाइयो भने इतिहासमा गम्भीर भूल हुनेछ र हाम्रा नेताहरु नै प्रतिक्रान्तिका खलनायकमा परिणत हुनेछन् । आशा र विश्वास नै गरौँ, हाम्रा नेताहरुले यस्तो गल्ती गर्ने छैनन् । जहाजलाई गन्तव्यमा पुर्‍याएर नै छाड्नेछन् ।

वस्तुको विकास गतिमा हुन्छ । हाम्रो सेना पनि युद्धमा राजनीति, विचार, फौजी कौशलतालगायत हरेक क्षेत्रमा परिष्कृत थियो । आज क्यान्टोनमेन्टमा त्यस्तो छैन । सूचना सञ्चारको क्षेत्रमा भएको विकासले संसार बुझ्न गाह्रो छैन । क्यान्टोनमेन्टमा रहँदा त्यो सम्भव छ । किनभने यहाँ कम्यूटर, टेलिफोन, इन्टरनेट उपलब्ध छन् । तर, हिजोको चलायमान दिनमा जनताका माझ हुने सौहार्दता र त्यसको मजा आज छैन । हामी आवश्यकताका मान्छे, समय र परिस्थितिअनुसार चल्नुपर्दो रहेछ । क्यान्टोनमेन्ट चलायमान जीवनभन्दा फरक त छ नै । अहिले हामी अनमिनका कुरा, व्यवसायिक सेनामा हुनपर्ने गुण, यसका राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताहरू, उसले गर्नुपर्ने काम कर्तव्यलगायत यावत कुराहरू बुझ्न पाएका छौँ । यसले गर्दा आंशिकरूपमा क्यान्टोनमेन्टप्रति सकारात्मक नै हुनुपर्छ । किनभने यो निश्चित अवधिका लागि हुनाले पनि ।

अर्को अर्थमा क्यान्टोनमेन्ट सेनाको ब्याटल फिल्ड र हारवोरिङ सिस्टमको समायोजन पनि हो । जनयुद्ध व्याटल फिल्डको अभ्यास हो भने क्यान्टोनमेन्ट त्यसको सैद्धान्तिकरण । अझ व्यारेकलाई सैनिक ज्ञान हासिल गर्ने विद्यालयको रूपमा लिनुपर्छ । पिएलएलाई राजनीतिक सेना हुनाले यी दुवै परिवेशसँग मेल खाने हुनुपर्छ । तबमात्र २१औँ शताब्दीमा जनमुक्ति सेनाको कुशल कमाण्डर अथवा सिपाही हुन सक्छ । पार्टीले मलाई रोज्न भन्यो भने म सेना नै हुनुपर्छ भन्ने प्रस्ताव राख्छु । म त भन्छु हाम्रा सबै कमरेडहरूलाई राष्ट्रका लागि सेना नै हुनुपर्छ, सैनिक अङ्गमा नै बस्नुपर्छ, राष्ट्रिय सेनामा सम्मानजनक समायोजन हुनुपर्छ । सेनाको सबै नियमहरूलाई हेर्नुपर्छ । यसरी हेरियो भने पनि हामी कोही कम हुन्छौँजस्तो लाग्दैन । हामीले नेपाली सेनालाई पनि फरकरूपमा हेर्नु हुँदैन । सरकारले दुवै सेनालाई बिनापूर्वाग्रह व्यवहार गरिनुपर्छ ।

वास्तवमा भन्ने हो भने जनमुक्ति सेना नेपाली सेनाभन्दा बढी लोकतान्त्रिक छ । यो राष्ट्रका लागि अझ बढी बलिदान गरेको सेना हो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्न सबभन्दा बढी रगत बगाएको पवित्र सङ्गठन हो । त्यतिबेला नेपाली सेना राजतन्त्रकै पक्षमा थियो । आन्दोलनको सफलताले मात्र ऊ गणतन्त्रलाई आत्मसात गरेको हो । आत्मसात गर्न सक्नु पनि उसको महत्वपूर्ण भूमिका मानिन्छ । हामीले मात्र गर्‍यौँ भनेर घमण्ड गर्नु उचित हुँदैन । तसर्थ राज्यद्वारा दुवै सेनालाई सम्मानजनक व्यवहार गरिनुपर्छ । हाम्रा हरेक सदस्यहरूलाई कुनै पनि सैन्य संरचनामा समाहित गरिनुपर्छ । त्यसो गरिएन भने मुलुकले फेरि दुर्भाग्य बेहोर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *