पार्टीभित्रको बहस : एकताको आधार कि विभाजनको पूर्वाधार

  
  प्रकाशित मितिः मङ्लबार, असार २१, २०६८       | 121 Views   ||

-[अपार]

एकीकृत नेकपा (माओवादी)भित्रको बहस यतिखेर सर्वाधिक चर्चाको शिखरमा छ । भिन्न-भिन्न नियत र उद्देश्य बोकेका शक्ति समुह र व्यक्तिहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा यो बहसमा सक्रियतापूर्वक भाग लिइरहेका छन् । समाजको सर्वाधिक ठूलो हिस्सा ओगटेको तर अधिकारविहीन जनसमुदाय एवम् सचेत हिस्साले सत्यको अन्वेषण गर्दै माओवादीलाई नयाँ ढङ्गले एकताबद्ध गराइछाड्ने नियत र उद्देश्यका साथ बहसमा सक्रियतापूर्वक भाग लिइरहेको छ भने यसको ठिक उल्टो समाजको सर्वाधिक सानो हिस्सा ओगटेको परापूर्वकालदेखि सत्तासिन हुँदै आएको सानो हिस्साले राज्यको सम्पूर्ण श्रोतसाधनहरुको दुरुपयोग गर्दै माओवादीलाई हरेक हालतमा फुट र विभाजन गराइछाड्ने नियत र उद्देश्यका साथ बहसलाई अस्वस्थ र शत्रुतापूर्ण बनाइरहेको छ । माओवादीभित्र चलिरहेको बहस एकताको आधार हुन्छ कि विभाजनको पूर्वाधार ? निश्चय पनि फैसला गर्न केही समय लाग्नेछ । बहस अस्वस्थ, अमैत्रीपूर्ण र अराजनीतिक हुँदै गयो भने विभाजनको पूर्वाधार नै हुनेछ तर बहस स्वस्थ, मैत्रीपूर्ण र राजनैतिक हुँदै गयो भने नयाँ एकताको आधार हुनेछ । पार्टी भनेको एकमनाहरुको एकत्व हैन बरु विपरितहरुको एकत्व हो । विपरित हुनुको नाताले सङ्घर्ष र एकता नै जीवनका पहलु हुन पुग्दछन् । जीवन हराभरा हुन्छ र गतिशील हुन्छ तर मृत्युमा शून्यता हुन्छ । तसर्थ, बहसबिनाको गति र संघर्षबिनाको जीवन मनगढन्ते कल्पनासिवाय अरु केही हुन सक्तैन ।

रसियन, चिनियाँ, भियतनामी क्रान्तिजस्तै शानदार विजय हाँसिल गर्ने सिङ्गो सर्वहारावर्ग र उत्पीडित जनसमुदायको पवित्र चाहना हो । यतिखेरको कटु सत्य यो पनि हो कि १९औँ र २०औँ शताब्दीका भव्यतम क्रान्तिहरु प्रतिक्रान्तिमा मात्र बदलिएनन, बरु भियतनाम युद्धमा सर्वहारावर्गले गरेको विजयपश्चात् संसारभरि कही पनि विजय हासिल हुन नसकेको यतिखेरको वस्तुगत कटु यथार्थ पनि हो । क्रान्तिमा इच्छा र इमानदारीको महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि निर्णायक भूमिका क्रान्तिका नियमहरु अर्थात् विज्ञानको नै हुने गर्छ । इच्छा र इमानदारीलाई क्रान्तिको विज्ञानमा समायोजन गरेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ । तसर्थ इच्छा र इमानदारी क्रान्तिको महत्वपूर्ण तत्व हो तर निर्णायक तत्व कदापि हैन ।

नेपालमा क्रान्ति सम्पन्न गर्ने विषयलाई लिएर भएको बहसले कतिपय सन्दर्भमा सीमा नाघेको छ । हुन त कुनै पनि सङ्घर्ष नापे तौलेको जस्तो हुँदैन तर यसको अर्थ गलत नियत र उद्देश्यमा आधारित हुन्छ भन्ने कदापि हैन । सर्वहारावर्गीय कम्युनिष्ट पार्टीर्भित्र जति धेरै जनवादको विकास उति धेरै वैज्ञानिक पार्टी हुन्छ । तर, जनवादको अभ्यास अर्थात् बहस सीमा र परिधि वा विधि उद्देश्यमा मात्र आधारित हुन्छ । विधि र उद्देश्यबिनाको जनवादको अभ्यासले कम्युनिष्ट पार्टीलाई संशोधनवादको शिकार बनाउँछ भने जनवादबिनाको विधि र उद्देश्यले कम्युनिष्ट पार्टीलाई विसर्जनको शिकार बनाउँछ । परम्परावादी र वुर्जुवा तरिकाले सञ्चालन गरेको दुइलाइन सङ्घर्षले प्रतिक्रान्तिको साधन निर्माण गर्छ भने सही एवम् जनवादी तरिकाले सञ्चालन गरेको दुइलाइन सङ्घर्षले क्रान्तिको साधन एवम् प्रतिक्रान्ति रोक्ने साधन निर्माण गर्छ । तसर्थ दुइलाइन सङ्घर्षले क्रान्ति गर्ने साथै प्रतिक्रान्ति रोक्ने पार्टी निर्माण गर्ने र जनवादको अभ्यास सत्यको अन्वेषण गर्ने उद्देश्यमा आधारित हुनुपर्छ ।

माओवादी पार्टीभित्रको बहसको गाँठी विषयवस्तु क्रान्तिको मोडेल हो । निसन्देह आजको दुनियाँमा सामान्य र परम्परावादी तरिकाले क्रान्ति सम्पन्न गर्न सकिन्न न त प्रतिक्रान्ति रोक्न नै सकिन्छ । बरु तीव्रतापूर्वक रणनीति र कार्यनीतिको विकास गर्दै मौलिक ढङ्गले मात्र क्रान्ति गर्न सकिन्छ । क्रान्ति हुने विश्वस्त आधारबिना जनता क्रान्तिमा सहभागी हुँदैनन् साथै क्रान्ति रोक्ने पर्याप्त र भरपर्दो आधारबिना क्रान्ति सम्पन्न गर्न पनि सकिदैन । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा यतिबेला बहसको केन्द्रबिन्दु २१औँ शताब्दीको क्रान्तिको मोडेलमा आएर ठोकिएको छ । यसबारेमा मुख्यतः तीनवटा प्रश्न खडा भएका छन् ।

पहिलो, लाइन र लिडरसीपको प्रश्न : लाइन र लिडरसीपलाई केन्दि्रत र स्थापित गर्ने या विकेन्दि्रत र विस्थापित ? निश्चय पनि कम्युनिष्ट पार्टीभित्र प्रवृत्तिहरु रहिरहन्छन् तर पात्रहरु फेरिरहन्छन् । सामान्यः कम्युनिष्ट आन्दोलनभित्र र विशेषगरी हाम्रो आन्दोलनभित्र लाइन र लिडरसीपलाई विकेन्दि्रत, विखण्डित र विस्थापित गर्ने प्रवृत्ति विद्यमान रहेको छ । लाइनलाई समग्रतामा बुझ्नेभन्दा पनि खण्डित गरेर बुझ्ने र अर्कोतिर लिडरसीपलाई लाइनबाट अलग गरिदिने समस्या पार्टीमा पहिलेदेखि रहिआएको छ । झनै अहिले त चर्को रुपमा देखा परेको छ । यो गलत प्रवृत्तिले नै अहिले वास्तवमा पार्टीलाई विभाजनको दिशातिर धकेल्ने दुस्साहस गरिरहेको छ । ०४८ सालतिर संसदको क्रान्तिकारी उपयोग र अर्कोतिर ग्रामीण वर्गसङ्घर्षलाई जोडेर या सम्रगमा लाइन बुझ्नेभन्दा पनि एउटा प्रवृत्तिले संसदको क्रान्तिकारी उपयोगलाई मात्र लाइन बुझ्ने र अर्को प्रवृत्तिले ग्रामीण वर्गसङ्घर्षलाई मात्र लाइन बुझ्ने समस्या चर्को थियो । अझ यो समग्र लाइनबाट मुल नेतृत्वलाई अलग गरिदिने समस्या त्यतिखेर पनि सामान्य थिएन । त्यस्तै, ०५२ सालतिर एउटा प्रवृत्तिले ४० बुँदे माग र वैधानिक आन्दोलनलाई मात्र लाइन बुझ्दथ्यो भने अर्को प्रवृत्तिले बन्दुक उठाउने कुरालाई मात्र लाइन बुझ्दथ्यो । समग्रलाई लाइन बुझ्ने र त्यो लाइनसँग मूल नेतृत्वलाई जोड्ने समस्या गम्भीर नै थियो । आखिर वर्तमानको मूल नेतृत्व त्यतिबेलादेखि यी दायाँ बायाँका गलत प्रवृत्तिका विरुद्ध निर्मम र कठोर सङ्घर्ष गर्दै विजय हाँसिल गरेर नै यहाँसम्म आएको इतिहासका तथ्यहरुले पुष्टि गरिसकेको छ । ०५७/५८ सालतिर राजतन्त्र र शाहीसेनामाथिको हमला र संविधानसभाको चुनावको कुल योग नै लाइन थियो न कि कुनै एउटा मात्रै । त्यस्तै अहिले हाम्रो लाइन न विद्रोह मात्र हो न शान्ति र संविधान मात्र । बरु जनताको सङ्घीय गणतन्त्र हाम्रो लाइन हो । जनताको सङ्घीय गणतन्त्रमा पुग्ने विधि विद्रोह हो भने शान्ति, संविधान, सरकार र चार आधार एवम् चार तयारी विद्रोहका पूर्वाधार । यी समग्र पक्षहरुको कुल योग नै हाम्रो लाइन हो र यो लाइनसँग हाम्रो मूल नेतृत्वलाई अभिन्नरुपमा जोडेर मात्र हामीले यो बहसलाई एकताको आधार बनाउन सक्छौँ नत्र यो बहस विभाजनको पूर्वाधार मात्र बन्न पुग्छ ।

दोश्रो, रणनीति र कार्यनीति विशेष गरी कार्यनीतिलाई मूर्त गर्ने प्रश्न : रणनीति र कार्यनीतिलाई अमूर्त छोड्न जति सजिलो छ, त्यसको हजारौँ गुणा गाह्रो छ रणनीति र कार्यनीतिलाई मूर्त गर्न । रणनीति र कार्यनीति भनेका निश्चय पनि एउटै विषय हैनन् न त यी दुइबीच कुनै चिनियाँ पर्खाल नै खडा छ । अलि सैद्धान्तिक, दीर्घकालीन, समग्र योजना र गन्तव्य भनेको रणनीति हो भने अलि व्यवहारिक, तत्कालिक, आंशिक र कदम-कदम आदि भनेको कार्यनीति हो । रणनीति र कार्यनीतिलाई ठोस मूर्त नगरी त्यसको विकास गर्न सकिन्न । रणनीति र कार्यनीतिको विकास नगरि क्रान्तिको विकास गर्न सकिन्न । विशेषगरि कार्यनीतिलाई मूर्त गर्ने प्रश्न नेपाली कम्युनिष्ट आन्दोलनमा सर्वाधिक भ्रामक प्रश्न रहदै आएको छ । कार्यनीतिक प्रश्नमा मतभेदका कारण थुप्रैपटक पार्टीहरु फुटेका पनि छन् भने अर्कोतिर कार्यनीतिक प्रश्नलाई ठीक ढङ्गले हल गर्न सक्दा क्रान्ति तीव्रतामा अघि बढेका पनि छन् । कार्यनीतिको प्रश्नलाई ऐतिहासिकरुपमा अध्ययन गर्दा ०३१ सालको चौथो महाधिवेशनबाट वामपन्थी, देशभक्त, जनतान्त्रिक शक्तिको सरकारलाई कार्यनीतिक नारा बनाइयो भने जनवादी क्रान्तिलाई रणनैतिक नारा, जहाँ यी दुवै नारामा केही फरक थिएन । ०४१ सालको पाँचौँ महाधिवेशनमा सत्ता जनतामा हस्तान्तरण भन्ने कार्यनीतिक नारा बनाइयो भने नयाँ जनवादी क्रान्तिलाई रणनीतिक नारा बनाइयो । यहाँ आएर पनि न त रणनीति र कार्यनीतिलाई अलग गर्न सकियो न त कार्यनीतिलाई मूर्त गर्न नै सकियो । ०४६ सालको राष्ट्रिय सम्मेलनपछि मात्र कमरेड प्रचण्डद्वारा स्थानीय सत्ता कब्जाको ठोस कार्यनीति, सच्चा कम्युनिष्टहरुको एकता र चुनावको प्रश्नलाई ठोस कार्यनीति बनाएपछि मात्र नेपाली क्रान्तिले गति लिएको तथ्य जगजाहेर नै छ ।

तेश्रो, घुसपैठ र अन्तरध्वङ्सको समस्या : घुसपैठ एउटा त्यस्तो दोधारे अस्त्र हो, जो पार्टी र क्रान्तिको घातक हुने या साधक पहलकदमीमा भर पर्छ । ‘महान् क्रान्तिले भयानक प्रतिक्रान्ति सँगै लिएर आउँछ’ भनेजस्तै मुख-मुखमा क्रान्ति आइपुग्ने बेला घाँटी-घाँटीसम्म प्रतिक्रान्ति आइपुगेको हुन्छ । कुनै पनि वस्तु या घटनाको विकास या विनासको निणर्ायक कारण बाहृय हैन आन्तरिक हुन्छ । चुम्बकलाई जतिसुकै टुक्रा पारे पनि चुम्बकत्व हराउँदैन बरु चुम्बकभित्रैबाट पैदा भएको खियाले मात्र चुम्बकत्व नष्ट गर्न सक्छ भनेजस्तै कम्युनिष्टभित्रै पैदा भएको दुश्मनले कम्युनिष्टलाई ध्वङ्स गर्न सक्छ । आजभन्दा करिब एक शताब्दीअघिको बोल्सेभिक पार्टीको पोलिटब्यूरोसम्म मालोनोस्की नामको जारको सिआइडी पुगेको घटना चानचुने थिएन । महान लेनिनले जारको योजनालाई क्रस गरेर मालोनोस्कीलाई मास्कोमा लिएर पत्रिका प्रकाशनको काम लगाउनुभएको थियो । चिनियाँ र भियतनामी क्रान्तिमा पनि यस्ता कयौँ तथ्यहरु छन् । आजको परिवेश जहाँ प्रविधिको अभूतपूर्व विकास भएको भूमण्डलीकृत राज्यको जमानामा दुश्मन सजिलैसँग घुसपैठ हुन र पार्टीर्/क्रान्तिलाई अन्तरध्वङ्स गर्न सक्छ । स्थापित र नामी नेताहरु थाहै नपाई दुश्मनको कठपुतली हुन पुग्दछन् । अहिले हाम्रो बहस कतिपय विषयहरुमा शङ्काबाट लङ्का पुग्नु र बहस अस्वस्थ एवम् अराजनीतिक हुनुको पछाडिको एउटा महत्वपूर्ण कारणमा कतै न कतै, कुनै न कुनैरुपमा दुश्मनको भूमिका रहेको तथ्य सजिलै बुझ्न सकिन्छ । आजको दुश्मन अब्बल दर्जाको गणतन्त्रवादी भएर आउन जति सिपालु छ, त्योभन्दा अब्बल दर्जाको राष्ट्रवादी भएर आउन पनि उत्तिकै सिपालु छ । समग्र लाइनको एउटा अंश समाएर आउन जति सिपालु छ, त्योभन्दा बढी लाइनबाट मूल नेतृत्वलाई अलग गर्न पनि त्यत्तिकै सिपालु बनेको छ । वर्तमानको दृष्टान्त हेर्दा दुश्मनको एउटै केन्द्रका दुइ शाखामध्ये एउटाले शान्ति र संविधान उठाउँदा प्रशंसा गर्छ भने अर्कोले विद्रोह उठाउँदा प्रशंसा गर्छ । जसले लाइनलाई समग्रतामा उठाउँछ उसलाई लाइनविहीन भनेर प्रचार गर्छ र नेतृत्वलाई कमजोर बनाउँछ । यो कुनै व्यक्ति विशेषको दोष र कमजोरीको सवाल कदापि हैन बरु यो आन्दोलनको समस्या हो, यो आजको वैचारिक समस्या हो । यो भूमण्डलीकृत राज्यका विरुद्ध क्रान्तिकारी राज्य स्थापना गर्ने सवाल हो ।

समग्रमा लाइन र लिडरसीपलाई बुझ्ने र स्थापित गर्ने समस्या, रणनीति र कार्यनीतिलाई मूर्त गर्ने समस्या र घुसपैठ एवम् अन्तरध्वङ्सलाई परास्त गर्ने समस्या नै आजको क्रान्तिको मोडेलसँग अभिन्नरुपमा जोडिएका समस्या हुन् । उपरोक्त समस्याको समाधान गर्न पार्टीभित्र र बाहिर बहसले व्यापक स्थान लिन पुगेको छ । यो बहसले आजको समस्याको समाधान गर्ने साथै सत्यको अन्वेषण गर्दै नयाँ आधारमा नयाँ एकताको आधार बन्नेछ । नेपालमा जनयुद्धको थालनी गर्नु पहिले अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गहिरो मूल्याङ्कन र नेपाली समाजको विगत १ हजार वर्षको समीक्षा गर्दै केही महत्वपूर्ण संश्लेषण गरिएको थियो । पहिलो, नेपाली क्रान्ति रुस, चीन र भियतनामजस्तै पनि हैन । अनि चिली, इण्डोनेशिया र निकारागुवाजस्तो पनि हैन बरु मालेमाको आलोकमा नेपाली मौलिकतामा हुनेछ भन्ने संश्लेषण गरिएको थियो । दोश्रो, नेपाली क्रान्ति मन्द र शीघ्र गतिमा हैन बरु तीव्र गतिमा अघि बढ्नेछ भनेर संष्लेषण गरिएको थियो । तेश्रो, नेपाली क्रान्ति रुसको जस्तो माथिबाट मात्रै पनि हैन चीनको जस्तो तलबाट मात्र पनि हैन, बरु तल र माथि दुवै दिशाबाट हाँकिएर जानेछ भनेर संश्लेषण गरिएको थियो । उपरोक्त तीन मुख्य संश्लेषणअनुसार नै नेपाली क्रान्ति अहिलेसम्म अघि बढेको छ । अब पनि यही जगमा टेकेर नै सफल हुनेमा कुनै शङ्का छैन । तसर्थ यतिबेला चलिरहेको व्यापक बहसलाई रुपान्तरणको आधार बनाऔँ, एकताको आधार बनाऔँ र दुश्मनको पराजय र सर्वहारावर्गको विजयको आधार बनाऔँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *