माओवादीभित्रको अन्तरविरोध आशा र आशंका

  
  प्रकाशित मितिः मङ्लबार, असार २१, २०६८       | 123 Views   ||

-[नरबहादुर अधिकारी]

एकीकृत नेकपा (माओवादी) यतिबेला आफूभित्रको अन्तरविरोधको समस्याले यति गिजोलिएको छ कि पार्टी, पार्टीजस्तो नभएर संयुक्त मोर्चाजस्तो देखिएको छ । अलग-अलग गुटहरु निर्माण भएका छन् । एउटा गुटले अर्को गुटमाथि कसरी वर्चश्व कायम गर्ने भन्ने रणनीतिमै नेतादेखि कार्यकर्तासम्म क्रियाशील देखिन्छन् । पार्टी स्थायी समिति, पोलिटव्यूरो एवम् केन्द्रीय समिति हुँदै तलसम्मका पार्टी कमिटीका बैठकहरु हुन सक्दैनन्, भइहाले पनि औपचारिकता र अकर्मण्यतामा सकिन्छन् । पार्टी सरकारमा छ, त्यसको अनुभूति जनता र कार्यकर्तामा छैन । पार्टी सरकारमा सहभागी भएको अवस्थामा उसका प्राथमिकता के हुन् ? उसको कार्यक्रम के हो ? कसैलाई थाहा छैन । पार्टीको आन्तरिक जीवनसँग जोडिएका संगठन, जनसम्पर्क, जनपरिचालन, सङ्घर्ष लगायतका गतिविधि शून्यप्रायः छन् । तर विभिन्न गुटका बैठक/भेलाहरु निरन्तर भइरहेका छन् । एक आपसमा अविश्वास यति गहिरिएको छ कि प्रतिदिन त्यसले वैमनश्यताको आकार ग्रहण गरिरहेको छ ।

पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय वैद्य र भट्टराईले विगत पालुङटार विस्तारित बैठकमा आˆना अलग-अलग दस्तावेजहरु लिएर आएपछि पार्टीभित्रको अन्तरसङ्घर्ष त्रिपक्षीय रुपमा देखिएको छ । दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको पार्टी जीवनमा देशमा विद्यमान भएजस्तै पार्टीको आन्तरिक जीवनमा पनि संक्रमणकालीन समस्या हुनु स्वभाविक हो । संघर्षको रुप युद्ध र संगठनको रुप सेना भएको पार्टीलाई क्याडर बेस हुँदै मासबेस पार्टीमा रुपान्तरण गर्नु वास्तवमै कठीन कार्य हो । यस प्रक्रियामा आउँदा सकारात्मक एवम् नकारात्मक दुवै अवस्थाहरु सृजना हुन्छन् र भएका छन् । यी समस्याहरु पार्टीभित्र तलतिर देखिनु स्वभाविक छ । तर, शान्ति प्रक्रियामा आफ्नो मूल राजनैतिक एजेण्डामा विमति नभएको अवस्थामा कतिपय कार्यनैतिक एवम् कार्यशैलीगत मतभेदहरुलाई आधार बनाएर पार्टीको मूल नेतृत्व तहमा जुन प्रकारको अन्तरविरोध सृजना भयो, त्यो अन्तरविरोधले सृजना गरेको अन्तरसङ्घर्ष स्वस्थ एवम् बहसद्वारा सत्यको अन्वेषण गर्नेतिर नभई अस्वस्थ गुट निर्माण र विभाजनतिर उन्मुख भएको छ । त्यो निकै विडम्वनापूर्ण छ ।

यतिबेला माओवादीभित्र देखिएको अन्तरविरोध सैद्धान्तिक एवम् रणनैतिक प्रकारको भन्दा पनि कार्यनैतिक विषयहरुझैँ देखिन्छ । पार्टीमा जब रणनैतिक प्रकारका मतभेदहरु हुन्छन्, पार्टीको ध्येय-उद्देश्यमै आकाश पाताल फरक हुन्छ । त्यतिबेला अन्तरसङ्घर्ष विष्फोटक बन्नु स्वभाविक हुन्छ । किनकि त्यो प्रकारको अन्तरसङ्घर्ष वास्तवमा वर्गीय स्वार्थमै सिधा टकरावको स्थितिमा आइपुग्छ । त्यो अवस्थामा पार्टी विभाजनको स्थिति आउनु स्वभाविक हुन्छ । के यतिबेला माओवादी पार्टीमा देखिएको अन्तरविरोध त्यो स्तरको हो ? कदापि होइन । एउटा जीवन्त कम्युनिष्ट पार्टीमा दुईलाइन सङ्घर्ष हुनु स्वभाविक एवम् आवश्यक हो । अहिले देखिएको रुपमा तीनलाइन भएपनि त्यो सारमा दुईलाइन संघर्ष नै हो । मालेमावादलाई लागू गर्ने सम्बन्धमा आˆना सोच एवम् शैलीगत धारणा आउनु स्वभाविक छ । त्यसमा अलग तीनखाले प्रवृत्तिगत समस्याका कारणबाटै आजको यो स्थिति सृजना भएको हो ।

माक्र्सवादलाई लागू गर्ने भनेको त्यसको विकास गर्नु पनि हो भन्ने बुझ्दाबुझ्दै पनि नयाँ प्रयोग एवम् जोखिम उठाउने सवालमा अलि सङ्कीर्ण देखिनु, सिद्धान्तरक्षाको नाममा जडतालाई चिरेर फराकिलो हिम्मतका साथ आउन नसक्ने समस्या वैद्यजीका समस्या हुन् । त्यसै प्रकारले राजनैतिक विषयवस्तुको सार पक्ष सिद्धान्तसँग जोडिएको हुन्छ । व्यवहारिक राजनीतिको अल्पकालीक समाधान सिद्धान्तबाहिर खोज्दै जाँदा गन्तव्यबाट टाढा विचलनको खाडलमा पुगिन्छ भन्ने कुरा सैद्धान्तिकरुपमा स्वीकारेपनि व्यवहारमा त्यसलाई अवमूल्यन गर्ने प्रवृत्ति भट्टराईमा रहेका समस्या हुन् । यी दुई प्रवृत्ति यतिबेला एउटाले विद्रोह बाहेक अरु कुरै नगर्ने र अर्कोले विद्रोहको कुरै सुन्नै नचाहने हदसम्म बहकिएका छन् । पार्टीको मूल नेतृत्व अध्यक्ष प्रचण्डमा यी दुवै प्रवृत्तिभित्रका सकारात्मक नकारात्मक पक्षलाई केलाई समग्र वस्तुस्थितिको मूल्याङ्कनसहित योजना निर्माण गर्ने, शान्ति र विद्रोह दुवैलाई क्रान्तिको पक्षमा कार्यनीति एवम् रणनीति बनाउने, नयाँ प्रयोग एवम् सैद्धान्तिक पक्षधरतामा द्वन्द्वात्मक तादम्यता मिलाउने दक्षता एवम् दृष्टिकोण भरपुर देखिन्छ । तर पनि त्रिपक्षीय सङ्घर्षका क्रममा दुवैलाई मिलाउने र दुवैका विरुद्ध संघर्ष गर्ने भन्दा पनि आलोपालो एउटालाई उचालेर अर्कालाई हिर्काउने तरिकाले दुवै आफूमाथि खनिदा विलखबन्दमा पर्ने स्थिति देखा पर्दछ । उच्च नेतृत्वका साथीहरुबीच व्यापक छलफल बहसद्वारा उहाँहरुको विश्वास जित्नेभन्दा अलि एकलौटी निर्णय लिने प्रवृत्तिले पनि पार्टीमा समस्या पैदा गरेको छ । पछिल्लो चरणमा आइपुग्दा त तीनै पक्ष आˆनो गुटको निर्णय सिङ्गो पार्टीमा लागू गराउने कसरतमा देखिएका छन् । यो सबैभन्दा नकारात्मक प्रवृत्ति हो । यसले एकता-सङ्घर्ष-रुपान्तरण होइन, कचिङ्गल, गुट र फुटतिर लैजान्छ । छ दशक लामो नेपाली कम्युनिष्ट आन्दोलनको विडम्वनायुक्त इतिहास साक्षी राखेर कामना गरौँ, इतिहासको पुनरावृत्ति नहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *