विवादको हल गरी पार्टी एकढिक्का बनाऊ

  
  प्रकाशित मितिः मङ्लबार, असार २१, २०६८       | 131 Views   ||

यतिबेला दलहरु विशेष गरी माओवादीभित्रको अन्तरसङ्घर्षले बाहिरी राजनीतिमा चर्चा पाइरहेको छ । पार्टीभित्र चलिरहेको अन्तरसङ्घर्षको बाहिरी हल्लाले विशेषतः कार्यकर्तापङ्ति, शहीद परिवार, बेपत्ता परिवार, घाइते योद्धा, पार्टीका सर्मथक र शुभचिन्तकलाई गम्भीर र चिन्तित तुल्याएको छ । सीमान्तकृत वर्गका बहुसंख्यक जनताको आशा र सपना बोकेर शीर्ष स्थानमा उभिएको उर्जावान् पार्टी कतै बिर्सजन भएर सिद्धिने त होइन भन्ने दुःख र चिन्ताका साथ उनीहरुका आँखा यतिबेला बैठकतिर केन्दि्रत भइराखेका छन् भने माओवादीलाई सिध्याउन चाहनेहरु यो दश टुक्रामा विभक्त भएर टुक्रियोस भन्ने कामना गरिरहेका पनि छन् ।

यो भ्रम छैन कि माओवादी एउटा वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । यो आमूल परिवर्तनको धार बोकेको पार्टी हो र यसले पुरानो समाजको पूरै जरा हल्लाएर पछाडि पारिएका, दबाएर राखिएका वर्ग, जाती, लिङ्ग र समुदायलाई सतहमा ल्याइ पुर्‍याउने काम गरेको छ । अर्को सत्य पनि के हो भने इतिहासको कायापलट गर्ने सामथ्र्य, विचार र उर्जाशक्ति यो पार्टीमा बाहेक अन्यत्र कतै छैन । मान्छे भएर पनि पशुजस्तै दासत्वको दाम्लोमा बाँधिएका जीवनका अधिकार र स्वतन्त्रताका सपनाहरु यो पार्टीमा साँचिएका छन् र तिनकै सन्तानहरुले बगाएको रगत र पसिनाले निर्माण गरेका आदर्श, मूल्यमान्यता र जिम्मेवारी पनि यहाँका नेता, कार्यकर्ताले बोकिराखेका छन् । इतिहासमा परिवर्तनको अपरिहार्य नेतृत्व गर्ने दायित्व र भूमिका बोकेको एउटा कम्युनिष्ट पार्टीभित्र विचार विमर्शको रुपमा अन्तरसङ्घर्ष चल्नुलाई स्वाभाविक र माक्र्सवादको अनिवार्य नियमका रुपमा बुझ्न सकिन्छ । तर, स्वस्थ तरिकाले पार्टी र विचारलाई माथि उठाउने गरि चलाइने अन्तरसङ्घर्षलाई व्यक्तिगत झगडा र तुच्छ स्वार्थको तिक्तता पोख्ने ठाउँ बनाइयो भने त्यसले पार्टी जीवनलाई अस्वस्थतिर धकेल्छ र पार्टी एकतालाई कमजोर पार्दछ । पार्टीलाई राम्रो, स्वस्थ र क्रान्तिकारी बनाउने उद्देश्यमा आधारित भएर चलाइने अन्तरसङ्घर्ष न फुटको मानसिकताले ग्रसित भई एक-अर्कालाई खुल्याउने मानसिकताबाट हुन्छ न सत्ता र शक्तिको प्रयोगबाट सत्यको अन्वेषण गर्न पुगिन्छ । माओवादीमा यतिबेला फुट वा विभाजनको वकालत गर्ने अधिकार कुनै नेतालाई पनि छैन र मौनता साँधेर यहाँभित्रका विकृति, अराजकता र मनपरितन्त्रमा चुपचाप रहनुले एउटा निष्ठावान् कार्यकर्ताका लागि न्यायपूर्ण ठहर्छ ।

माओवादी पार्टी सामूहिक नेतृत्वमा विश्वास गर्ने र त्यसको केन्दि्रकृत अभिव्यक्तिका रुपमा अध्यक्षलाई स्वीकार्दै आएको छ । त्यसकारण पनि नेतृत्व टिममा बुझाइको एकरुपता, काम गराइमा एकरुपता र त्यसका लागि सामूहिक छलफलसहितको निर्णयको एकरुपताको आवश्यकता छ । शान्तिकालपछि पनि पार्टीभित्रका सांगठनिक संरचनाहरु पुरानै रहनु, ठूला संगठनहरुलाई व्यवस्थित र जनउत्तरदायी बनाउन नसक्नुले पनि समस्या उत्पन्न भएका छन् । यी चीजहरुलाई एउटा प्रकृयामा लगेर हल गरिनुपर्छ, त्यो भनेको महाधिवेशन नै हो । जहाासम्म विचार र सिद्धान्तको कुरा हो यसमा प्रमुख नेताहरुको टिम बसेर बहससहित क्रान्ति सम्पन्नताको  एउटा मोडेल तयार पारिन आवश्यक छ  र त्यसमा सबैलाई आश्वस्त पार्न जरुरी छ । सरकार, शान्ति र संविधान निर्माणका कुरा पनि पार्टीले प्रष्ट रोडम्याप ल्याएर एकरुपताका साथ अघि बढ्न जरुरी छ । सेना समायोजनको प्रश्नलाई जनताको अग्रगामी अधिकार प्राप्तिको संविधान निर्माणको ग्यारेन्टीको प्रश्नसँग जोडेर हेरिनुपर्छ । माओवादी देशको जिम्मेवार र परिवर्तनको संवाहक पार्टी हुनुका नाताले जनताले जो अपेक्षा राखेका छन्, त्यसलाई पूरा गर्नका लागि पार्टी एकताको विकल्प छैन, पार्टी रुपान्तरणको पनि विकल्प छैन र जनताको पूर्णअधिकार र स्वतन्त्रताका लागि निर्णायक क्रान्तिको पनि विकल्प छैन । यसका लागि प्रमुख नेताहरु एक ठाउामा उभिन जरुरी छ र सीमा समस्याहरुलाई सच्याई अघि बढ्न जरुरी छ । यो अनिवार्यतासहित माओवादी पार्टीलाई सुदृढ गरिनुपर्ने खाँचो छ । डोल्पामा रहेर काम गर्ने एउटा कार्यकर्ताले पनि पार्टीभित्र त्यही समान अधिकार र सुविधा पाउन सकोस्, जो काठमाण्डौमा बसेकाले पाउँछ । धेरै त्याग र बलिदान गरेको एउटा कार्यकर्ताले पार्टीभित्रै असमानता र अन्यायको स्थिति व्यहोर्नुपर्ने अवस्था आयो भने त्यो भन्दा ठूलो विडम्बनाको नियति अरु हुने छैन । तसर्थ इतिहासको ठूलो जिम्मेवारीसहित अग्निपरीक्षामा रहेको एकीकृत माओवादी केन्द्रीय समितिको यो बैठकबाट चुनौतीका हरेक जटील प्रश्नहरुको उचित जवाफसहित पार्टीभित्रको अन्तरसंघर्षलाई वैज्ञानिक ढंगले हल गर्न सकोस् र एकरुपताको पार्टी बनेर बाहिर आओस् भन्ने शुभेच्छा र कामना जनतादेखि कार्यकर्ता सबै पङ्तिको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *