नयाँ इतिहास रचना गर्ने सुनौलो अवसर नगुमाऔँ

  
  प्रकाशित मितिः मङ्लबार, असार २८, २०६८       | 102 Views   ||

-[केशव नेपाल]

देश अहिले गम्भीर चुनौती र सङ्कटमा गुजि्ररहेको छ र यो सङ्कटको समाधान कसरी गर्ने भन्ने सवाल नै अहिलेको केन्द्रीय प्रश्न बन्न पुगेको छ । प्रतिगामी पुनरुत्थानवादी र यथास्थितिवादी शक्तिहरू प्रतिगामी कदमद्वारा समस्या समाधान गर्न चाहन्छन् भने क्रान्तिकारी शक्तिहरू अग्रगामी परिवर्तनद्वारा समस्या समाधान गर्न चाहन्छन् । यी दुई शक्तिबीच तीव्र द्वन्द्व चलिरहेको छ ।

नेपाली जनताको इच्छा र चाहना भनेको शान्ति र अग्रगामी संविधान निर्माण गर्नु हो । तर, त्यो नेपाली जनताको चाहनालाई तुषारापात गर्न लागिरहेका छन्- प्रतिगामी र यथास्थितिवादी शक्तिहरू । जीत कसको हुन्छ ? क्रान्तिकारी कि प्रतिक्रान्तिकारीको अझैँ फैसला भएको छैन । २०५२ सालदेखि नेकपा (माओवादी)ले जनवादी क्रान्ति पूरा गर्ने लक्ष्य एवम् उद्देश्य लिएर महान जनयुद्धको शुरुवात गर्‍यो । तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि संसदवादी र माओवादीबीच संयुक्त मोर्चा निर्माण भयो र झण्डै साढे दुई सय वर्ष पुरानो राजतन्त्र सदाका लागि अन्त्य भयो । तर, अहिले हिजो राजतन्त्र फाल्दा संयुक्त मोर्चामा सहभागी संसदवादी दलहरू पुरानो सडेगलेको संसदीय व्यवस्थालाई निरन्तरता दिन चाहन्छन् भने क्रान्तिकारीहरू संसदीय व्यवस्थाभन्दा उन्नत व्यवस्था स्थापना गर्दै अगाडि बढ्न चाहन्छन् । लडाइँको केन्द्रविन्दु यही बनेको छ । संसदवादीहरू माओवादीलाई संसदीय दलदलमा फसाउन चाहन्छन् त्यो माओवादीले स्वीकारेको छैन । माओवादीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेको छ भने संसदीय व्यवस्थालाई अस्वीकार गर्दै आएको छ । माओवादी संसदवादीहरूसँग हार स्वीकारेर आएको शक्ति होइन बरु राजाले संसदवादीहरूलाई सत्ताच्यूत गरेको बेलामा संसदवादीहरूसँग मिलेर राजालाई सत्ताच्यूत गरेर आएको शक्ति हो । माओवादी छुट्टै सेना र छुट्टै जनसरकार भएको शक्ति हो । जनसरकार विघटन गरे पनि जनमुक्ति सेना कायम छ । संसदवादीहरूको नजरमा जनमुक्ति सेना पूरा मुटुको किलो बनेका छन् भने जनताका निम्ति आँखाका नानी बन्दै आएको कुरा कतै लुकेको कुरा होइन ।

वर्गसङ्घर्षको यो जटिल परिस्थितिमा माओवादीभित्रको अन्तरसङ्घर्ष पनि चरमोत्कर्ष अवस्थामा पुगेको छ । जनवादी क्रान्ति पूरा गर्ने लक्ष्य लिएर १० वर्षे महान् जनयुद्ध गरी विजयको निणर्ायक घडीमा पुगेको बेलामा माओवादी पार्टीभित्रका अन्तरविरोध र मतभेदहरू सडक र गल्लीहरूमा छताछुल्ल बन्न पुगेका छन् । गुट-उपगुटहरूबीच भेला, बैठकहरू बसिरहने तर पार्टीका निर्णयहरू कार्यान्वयन नगरी बेवारिसे बन्न पुग्नुले जनताका वर्गवैरीहरू खुसी बनिरहेका छन् भने लाखौँलाख शोषितपीडित जनता बेखुसी छन् ।

जनताको आशा र भरोसाको केन्द्र बनेको एउटा शक्तिशाली कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोधहरूलाई ठीकसँग समाधान गर्नु आजको ऐतिहासिक अभिभारा आएको छ । के माओवादीभित्रका मतभेदहरू अब समाधान हुन सक्दैनन् ? के माओवादीभित्र यसअघि मतभेदहरू थिएनन् ? यी प्रश्नहरू सबैसामू खडा भएका छन् । सत्य के हो भने हिजो पनि माओवादीभित्र गम्भीर मतभेदहरू थिए । तर, एकता-सङ्घर्ष- रूपान्तरणको माध्यमबाट ती मतभेदहरू समाधान गरिएका थिए । अहिले पनि एकता-सङ्घर्ष-रूपान्तरणको विधिबाट नै ती समस्याहरु समाधान गरिनुपर्छ, त्यो भन्दा अर्को विकल्प छैन भन्दै पालुङटार विस्तारित बैठकले निष्कर्ष निकालेको छ तर सिङ्गो पार्टी रूपान्तरण हुन सकिरहेको छैन । पालुङटार बैठकले रूपान्तरणको प्रक्रिया केन्द्रीय तहबाटै शुरु गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यो निष्कर्ष अहिले पनि सही, वस्तुवादी छ र गर्नु पर्ने पनि त्यही हो ।

पार्टी र क्रान्तिका निम्ति हजारौँ हजार नेपाली आमाका होनहार छोराछोरीहरू शहीद बनेका छन्, कयौँ अझै बेपत्ता छन् । घाइते, अपाङ्ग त्यत्तिकै छन् । द्वन्द्वपीडितको सङ्ख्या हजारौँ हजार छ । शहीद र बेपत्ताहरूको सपना पूरा गर्ने महान् अभिभारा सिङ्गो माओवादी पार्टीको काँधमा रहेको छ । यो महान् जिम्मेवारीमा माओवादीले कहिल्यै धोका र गद्दारी गर्न सक्तैन र गर्नुहुँदैन पनि । अहिले पार्टीलाई अनिर्णयको बन्दी बनाई पार्टी र क्रान्तिलाई घाटा पुग्ने काम गर्ने अधिकार कुनै पनि नेतालाई छैन । निश्चय नै पार्टीभित्र राजनीतिक मतभेदहरू छन्, त्यसलाई ठीक विधि र प्रक्रियाले समाधान गर्नु आवश्यक छ । पार्टीका शीर्ष नेताहरूकै बीचमा शंका उपशंका रहेका छन्, निवारण भएका छैनन् । पछिल्लो चरणमा आग्रह पूर्वाग्रहहरू एकै ठाउँमा घालमेल बन्न पुगेका छन् । त्यसैले अन्तरसङ्घर्ष जटिल मोडमा पुगेको छ । देशीविदेशी प्रतिक्रियावादीहरूले माओवादीलाई कमजोर बनाइ ध्वंस गर्न सबै हत्कण्डाहरू अपनाइरहेका छन् । दुश्मनहरूले चौतर्फी घेराबन्दी गर्दै माओवादी पार्टीलाई फुटाउने षड्यन्त्रमा लागेको र पार्टीको अन्तरविरोधमा खेल्ने काम गर्दै आएको कुरा सबैका अगाडि छर्लङ्गै छ । यो तीतो सत्य र यथार्थता माओवादी शीर्ष नेतृत्वपङ्ति र सिंगो पार्टीलाई पनि राम्ररी थाहा छ र पनि एकता-सङ्घर्ष र रूपान्तरण हुन सकिरहेको छैन ।

अहिलेको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि जानुको कुनै विकल्प छैन । आत्मगत र वस्तुगत स्थितिको ठीकसँग विश्लेषण गर्न नसके गम्भीर दुर्घटनामा पर्ने र कम्युनिस्ट आन्दोलन नै कयौँ वर्षसम्म तहसनहस हुने परिस्थिति विद्यमान छ । नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनको अवस्थाबाट गुज्रदै आएको थियो र पछिल्लो चरणमा माओवादीले एकता-सङ्घर्ष-रूपान्तरणको प्रक्रियालाई आत्मसात गर्दै आएको कारण नै १० वर्षे जनयुद्ध सञ्चालन सफल रुपमा गर्न सक्यो र शान्ति प्रक्रियामा आएर दुई सय ४० वर्ष पुरानो निरङ्कुश राजतन्त्रलाई बिदाई गरी सङ्घीय गणतन्त्र स्थापना गर्न सक्यो यो ऐतिहासिक र युगान्तकारी परिवर्तन हो । यसको जगमा टेकेर जनवादी क्रान्ति पूरा गर्ने ऐतिहासिक जिम्मेवारी माओवादी पार्टीको काँधमा आएको छ । यो महान् र ऐतिहासिक जिम्मेवारी सिङ्गो माओवादी पार्टीका अगाडि इतिहासले सुम्पेको स्थितिमा हामीले कुनै पनि भूल गर्नु हुँदैन । एकातिर हामीले पार्टीको क्रान्तिकारी कार्यदिशालाई अगाडि बढाउनु छ भने अर्कोतिर पार्टीलाई एकताबद्ध गराएर अगाडि लैजानु छ । त्यसैले अहिले माओवादीभित्र रहेको मतभेदहरूलाई सही व्यवस्थापन गर्नु र क्रान्तिकारी कार्यदिशा एवम् कार्ययोजनालाई लिएर अगाडि बढ्नु माओवादी पार्टी र सिङ्गो सर्वहारावर्गको हितमा छ ।

शहीद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गहरू र सिंगो पार्टीपङ्ति पार्टी निर्णय कार्यान्वयन नभइरहेको र विचार समूहको नाममा गुट-उपगुटमा खेलिरहेको विरुद्ध खडा छन् । सबैतिरबाट शहीदका सपना पूरा गर्न खबरदारी जारी छ । पार्टीभित्र उत्पन्न मतभेदहरूलाई पाँचबुँदे विधिमार्फत् अगाडि लैजाने केन्द्रीय समितिको निर्णय भएतापनि त्यो विधि र प्रक्रियामा पार्टी चल्न नसकेपछि अब त्यो विधिलाई संशोधन गरेर भएपनि पार्टीलाई अगाडि बढाउनुपर्दछ । माओवादी पार्टीलाई रूपान्तरण गरी एकताबद्ध गर्नका लागि मतभेदहरू साना विचार समूहहरूमा मात्र छलफल र बहस गरेर होइन कि सिंगो पार्टीभित्र सेलदेखि पदाधिकारीसम्म फोरमको छलफल बहसको माध्यमबाट महाधिवशेन गर्नु नै सही र वस्तुवादी निर्णय हुन्छ । जति धेरै कार्यकर्ताहरूबीच छलफल र बहस हुन्छ, त्यति धेरै समस्याको सही अन्वेषण भई समाधानका ढोकाहरू खुल्दै जान्छन् । त्यसैले क्रान्तिलाई केन्द्रमा राखेर गरेको छलफल र बहसले नै सही के हो ? गलत के हो ? छुट्याउन सकिन्छ । माओवादी पार्टीमा देखिएका समस्याहरुको समाधान क्रान्तिले मात्रै पूरा गर्न सक्छ, त्यसैले क्रान्तिलाई केन्द्रमा राखेर छलफल र बहस केन्दि्रत गर्नुको विकल्प छैन । अहिले पद, प्रतिष्ठा र जिम्मेवारीका प्रश्नहरूले राजनीतिक मतभेदहरूलाई ओझेलमा पार्न थालेको त छैन भन्ने प्रश्न पनि माओवादीको अगाडि खडा भएको छ । योग्यता, क्षमता, विज्ञताका आधारमा सबै तहमा जिम्मेवारी दिन पार्टी तयार रहनुपर्दछ । अहिले कोहीलाई जिम्मेवारीको भारी, कोहीचाहिँ बेरोजगार बस्नुपरेको अवस्था पनि कार्यकर्तामा रहन गएको छ । त्यसलाई व्यवस्थापन गर्न पार्टी तयार रहनुपर्दछ । पार्टीभित्र नयाँ र पुरानाको बीचमा अन्तरविरोधहरू छन्, त्यसलाई पनि उचितरूपमा समाधान गरिनुपर्दछ । जनयुद्धमा त्याग, तपस्या र बलिदान गरेका र शान्ति प्रक्रियापछि एकताबद्ध भएका कार्यकर्ताबीचमा पनि मतभेदहरू रहन सक्छन् । लाल र निपूर्णबीचको तालमेल मिलाउन पनि पार्टीले उत्तिकै ध्यान दिनुपर्दछ । माओवादी पार्टीमा कम्युनिस्ट आन्दोलनका सबै योग्यता र क्षमताहरूको केन्द्रीकरण भएको छ, त्यसलाई ठीकठीक ढङ्गले जिम्मेवारीसहित काममा विन्यास गर्ने हो भने पार्टीको काम धेरै उच्चस्तरमा अगाडि बढ्नसक्ने स्थिति छ । तर, जसको जति क्षमता छ, त्यति जिम्मेवारी दिनुपर्दछ । त्यसो भयो भने माओवादीमा ध्रुवीकरण हुन सच्चा माक्र्सवादी-लेनिनवादी मात्र होइन कि आम राष्ट्रवादी शक्तिहरू पनि लालायित छन् तर माओवादीभित्रको मतभेदले पछिल्लो चरणमा बाधा हालिरहेको छ ।

माओवादी २०५२ सालदेखि निरन्तररूपमा नेपाली राजनीतिको केन्द्रीय भागमा रहदै आएको छ र पछिल्लो चरणमा निणर्ायक विजयका निम्ति नेतृत्व लिनसक्ने ठाउँमा खडा छ । इतिहासमा यस्ता अवसरहरु विरलै आउने गर्दछन् । अहिले नेपालमा सर्वहारावर्गका अगाडि एउटा नयाँ सुनौलो अवसर आएको छ, त्यसलाई सही ढङ्गले उपयोग गरेर नयाँ इतिहासको रचना गर्नुपर्दछ । नयाँ इतिहास रचना हुने स्थिति र अवस्थामा वर्गहरूबीच टकराव तीव्र हुनु स्वभाविक छ, त्यसको प्रभाव अन्तरसङ्घर्षमा पनि पर्दछ । त्यही बीचबाट क्रान्तिलाई निणर्ायक विजयमा पुर्‍याउनु सच्चा क्रान्तिकारीहरूको जिम्मेवारी हो । त्यसैले एकीकृत नेकपा (माओवादी) सर्वहारावर्गको अग्रदस्ता हुनुको नाताले यो सुनौलो अवसर गुमाउनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *