बर्षाको समयमा जोखिम धेरै

  
  प्रकाशित मितिः मङ्लबार, असार २८, २०६८       | 102 Views   ||

यो वर्ष समयमै पानी परेकाले किसानहरु खेतीपातीको चटारोमा देखिन्छन् । यो बष मौसम किसानहरुले मानो रोपी मुरी उब्जाउन हिलोमा पौरख रोप्ने अवधिका रुपमा पनि चिनिन्छ । यसका साथै यो बेला प्राकृतिक प्रकोप, सवारी दुर्घटनाका साथै झाडापखालाको महामारी पनि उत्तिकै रहन्छ । बर्षातको शुरुवातसँगै कहि बाढी पहिरोको बिपत्ति त कहि सर्पको बिगबिगी छ । कतै विषालु च्याऊ खाएर बिरामी, कहि झाडापखालाले ज्यान लिएको खबर त कतै सवारी दुर्घटनामा दर्जनौँको मृत्यु र बेपत्ताका खबरहरुले जनमानसलाई त्रसित र दुःखीत बनाउने काम सँगसँगै गराइरहेको हुन्छ ।

आजभोलि गाउँघरतिर खेतीपातीको रौनक बढेको छ । किसानहरु मल, बीउबिजनसहित खेतका आली र गराहरुमा श्रम खर्चिन व्यस्त देखिन्छन् । नेपाल कृषि प्रधान देश भएकाले पनि यो बेला सबै कृषकहरुको ध्यान खेतीपातीमा जाने कुरा स्वाभाविक छ । तर, यो मौसममा बढी मात्रामा पानी पर्ने हुँदा बाढी, पहिरो र भू-क्षयले ठूलो जनधनको क्षति पनि हामीले व्यहोरिरहेका हुन्छौँ ।

देशकै कुरा गर्ने हो यो वर्षको बर्षातको शुरुसँगै कोशीमा पुनः डुबान शुरु भएको छ र त्यहाँ खतराको रातो झण्डा गाडिएको छ । त्रिशुलीमा बस खस्नेदेखि देशका अन्य ठाउँहरुमा बाटो अवरुद्ध हुने र यातायातका साधन दुर्घटनामा पर्नेसम्मका समाचारहरुमा तीव्रतर बृद्धि भइरहेको छ । त्यस्तै ठाउँ-ठाउँमा पहिरोले पुरिएर मान्छेको ज्यानसमेत गएका खबरहरु पनि सुनिरहेका छन् । बर्षाको समयमा हुने यी जोखिमहरुबाट बच्न मान्छेले अपनाउनुपर्ने सावधानीको कुरा त आˆनो ठाउँमा छँदैछ, त्यो भन्दा प्रमुख कुरा हाम्रो मुलुक व्यवस्थित ढंगले विकासको बाटोमा हिड्न सकिराखेको छैन, जसका कारण यस्ता मौसमहरुमा विभिन्न प्रकोप र दुर्घटनाहरुले जनजीवन असुरक्षित बनिराखेको हुन्छ । बर्षातको समयमा प्रदुषित पानीका कारण फैलिने हैजाका जिवाणुहरुले पूरै गाउँलाई नै संक्रमित पारी सयौँको ज्यान झाडापखालाले लिइरहेको हामीले बर्षेनी सुन्दै आइरहेका छौँ ।

यो समयमा अधिक बर्षातका कारणले हाम्रा पानीका स्रोतहरु बढिरहेका मात्र हुँदैनन्, फोहर पानीमा विभिन्न रोग निम्त्याउने किटाणुको संख्यामा बृद्धि भइरहेको हुन्छ । यसबाट फैलिने महामारीको रोगबाट विशेष गरी दुर्गम पहाडी जिल्लाहरु प्रभावित हुन पुग्दछन् । झाडापखालाको संक्रमण बढ्यो भने ती दुर्गम भेगका बासिन्दाहरुले सास्ती मात्र नभई औषधी उपचारको अभावमा अकाल मृत्युको डरलाग्दो पीडा वर्षेनी खेप्नु परिपरेको छ । यस्तो अवस्था हुँदाहुँदै पनि राज्यले ती क्षेत्रहरुमा स्वास्थ्य चौकी र औषधी उपचारको पर्याप्त व्यवस्था गर्न सकिरहेको छैन । परिणाम अहिलेको अवस्थामा झाडापखाला जस्तो सामान्य रोगबाट पनि मान्छेको ज्यान जाने विडम्बना रहिआएको छ । बर्षातको समय नजिकिने बेला बाढी, पहिरोको प्रकोप र दुर्घटना हुने कुरालाई ख्याल गरी सरकारले तयारी गर्ने बेला लाग्ने सरुवा रोगको औषधी उपचारको व्यवस्थाका साथै त्यस्ता सरुवा रोगहरुबाट बच्ने उपाय र खानपानका बारेमा गाउँ-गाउँमा स्वास्थ्यकर्मी पठाएर चेतना जागृत गर्नुपर्नेमा राज्य यसमा सधै उदासिन देखिदै आएको छ ।

राजधानीसँग जोडिएका प्रमुख राजमार्गहरुमा देखिने खाल्डाखुल्डी र भत्किएका जीर्ण सडकहरुको मर्मत सम्भार गरेर दुर्घटनालाई न्यूनीकरण गर्नतिर समेत राज्यको ध्यान जान सकेको छैन । परिणाम यो मौसमका बेला ठूला-ठूला क्षति र विनासका खबरहरु सुन्न र भोग्न हामी बाध्य भइरहेका  छौँ । तसर्थ बर्षातको शुरुसँगै फैलिने विभिन्न संक्रमित रोगबाट बच्न सजगता अपनाई आफू सुरक्षित हुने विधि अपनाउन आवश्यक छ भने विभिन्न बाढी प्रकोप, दुर्घटना वा बिरामीका लागि औषधी उपचार सेवाको पहुँच सर्वसाधारणसम्म पुर्‍याउन स्थानीय निकाय र सरोकारवालामा दबाब सिर्जन गर्न आवश्यक छ । त्यस्तै यो मौसममा भइपरी आउन सक्ने कुनै सम्भावित दुर्घटनाप्रति सजग हुँदै सुरक्षा निकाय पनि सतर्क रहेर बस्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *