मेरो स्वाभिमान

  
  प्रकाशित मितिः आइतवार, साउन १, २०६८       | 122 Views   ||

-[हिरालाल केसी]

फुल्नै नसक्ने गरि मुर्छाएको
गुलाब भयो स्वाभिमान
खुल्नै नसक्ने गरि खुम्चिएको
लज्जावती भयो स्वाभिमान
कतै हराएजस्तो/कतै बिलाएजस्तो
पुरानो-पुरानो/बिरानो-बिरानो भयो मेरो स्वाभिमान ।

पीडाले कर्णाली आज रुँदै बगेको छ
हस्तक्षेपको बाढीले सुस्ता संकटमा परेको छ
मेरै सप्तकोशीले सयौँ बस्ती बगाउनुपर्ने
उज्यालो जति मैले बाहिरैबाट मगाउनुपर्ने
कटानै कटानले क्षतविच्छेद भयो स्वाभिमान
डुबानै डुबानमा चिच्याइरह्यो स्वाभिमान ।

मेरै छातीका जीवनबुटी र पाँचऔँलेहरु
निरास भएर बाहिरिएका छन
सुठो, टिमुर अनि घ्यूको स्वाद पनि
अर्कैले पाइरहेका छन
कोदाली चलाउनेको हातमा आज
सडेको चामल परेको छ
भटमास फलाउनेको मुखमा आज
सोयाविन परेको छ
महामारी र अभावमा छट्पटाइरहेको छ स्वाभिमान
गरिबी र पछौटेपनमै हराएको छ स्वाभिमान ।

तल्लाघरे हर्के ठिटो खाडी पसेको छ
पल्लाघरे साइलो घरमै बसेको छ
योग्यताको खोस्टो छ जागिर छैन
पाखुराभरि बल छ, अवसर छैन
दुध र दही पिउनेको मुखमा आज
जुस परेको छ
उन्नति चाहनेहरुको हातमा आज
अङ्कुस परेको छ
बेरोजगारी र निरासमै अल्झिरह्यो स्वाभिमान
परनिर्भरता र विकृतिमै रुमल्लिरह्यो स्वाभिमान ।

पैसेरी र सोरठी पनि
घन्किदैन रे गाउँमा अचेल
सालैजो र ठाडी भाका पनि
गुञ्जिदैन रे बनपाखामा अचेल
मुर्चुङ्गा बजाउनेको हातमा आज
ड्रमसेट परेको छ
लोकभाका गाउनेहरुको गला पनि
अन्तै सरेको छ
डिस्को, पप र र्‍यापको तालमा नाच्न थाल्यो स्वाभिमान
कतै हराएजस्तो/कतै बिलाएजस्तो
पुरानो-पुरानो/बिरानो-बिरानो भयो
कठै मेरो स्वाभिमान ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *