बाल्यकालको बेहाल, क्रान्तियात्रा र सम्मान

  
  प्रकाशित मितिः आइतवार, साउन १, २०६८       | 172 Views   ||

-[झन्कार बुढामगर]

त्यो दिन थियो, जतिबेला रोल्पाको विकट गाउँ, जहाँ राज्यबाट उपेक्षित अभावै अभावले पिछडिएको बस्ती राङ्कोटमा बाबा धनजीत बुढामगर र आमा गौनसरीको कोखबाट यो धर्तीमा पाइला टेकेँ । केवल एक्लो आमाको काखबाट बाबाको अनुहार नियाँले अहँ मेरो बाबालाई देख्न पाइँन । मेरो बाबा त मलाई आमाको गर्भमा छोडेर सायद मेरो भविष्यको सपना सजाएर प्रदेश लागिसक्नु भएको रहेछ । मेरो आमा र बाबाको त्यो बिछोडिएको क्षण कति पीडादायी थियो त्यो त आमा र बाबालाई मात्र थाहा थियो होला । जब म ६ महिनाको भएँ, तब फेरि मेरी आमा पनि मलाई पिठ्यूँमा बोकेर लागिन् बाबाको खोजीमा प्रदेशतिर । र, अनि भौँतारिदै-भौँतारिदै पुगिन् मेरी आमा भारतको बागामण्डीमा । प्रदेशिएका बाबालाई धेरै ठाउँ खोजिन् कता हो कता त्यो प्रदेशको ठाउँ, कतै फेला पार्न सकिनन् मेरी आमाले ।

समयको घडी फेरिदै गयो । म करिब अढाई बर्षको भइसकेको थिएँ होला केही सीप नचलेपछि मेरी आमाको बिहे अर्कैसँग भएछ । जब म चेत पाउने हुँदै गए त्यतिबेला थाहा पाएँ, मैले मेरो बाबालाई भन्दा पनि अर्कैलाई बाबा भनिरहेको रहेछु । मेरो सपनाका खातिर बिछोडिएका आमा र बाबा मिलनबिनाको बिछोडमै छट्पटाएर आफ्नै बाबाको मायाबाट टाढा भएँ म । अनि अर्कै बाबाको स्नेह, माया र ममतामा रमाएँ । के गर्नु अर्कै बाबासँग साथ पाएँ कि आमा अर्कै बाबासँग साथ लाग्नु उनको कर्तव्य नै थियो । जीवनको गोरेटोमा एकपछि अर्को भर्‍याङ्ग थपिदै गयो । समयको रफ्तारसँगै, विस्तारै बुझ्न थालेँ जीवनको परिभाषा र देख्न थालेँ भविष्यको सपना । आफ्नै भविष्यको सपना बोकेर भौतारिए यमनोत्री, गंगोत्री, बदि्रनाथ र केदारनाथतिर । जिन्दगी फेर्ने उपायहरू खोज्दै कहिले गैंती-बेल्चासँग, कहिले घन-साबेलसँग, थाहा छैन मलाई कहाँ हो मेरो देश ? कहाँ हो मेरो घर ? मात्रै थाहा छ नेपाल र भन्ने गर्छन् प्रदेशपारिका ती मान्छेहरू हामीलाई नेपाली । थुप्रै नेपालीको जमघट देख्दा यसो पनि भन्ने गर्थे ती मान्छेहरू- ‘तिम्रो देशमा गाँस, बास नपाएर हाम्रो देशमा आएका छौ । तिम्रो देश त कति गरीब र कङ्गाल छ रे ? कसरी बाँचेका होलान् तिम्रा देशका नागरिकहरू ?’ सोध्छु आफैलाई, के साँच्चै त्यसै होला त मेरो देश ? त्यसैको सजाए हो त मेरो आमा बाबाले पाएको कसला ? आफ्नै देशमा काम र माम पाएको भए के थाहा आज आफ्नै बाबाबाट यति टाढा हुँदैन्थिएँ होला । विस्तारै बुझ्न थाले काम र मामको अर्थ र विस्तारै बुझ्न थाले आफ्नो देशको कथा र व्यथालाई । मनभित्र हरदम घोच्न थाल्यो आफ्नो देश, घर, गाउँ र ठाउँको वास्तविकताको गहिराइले । अनि खोज्न थाल्यो हरेक प्रश्नको उत्तर यो मनले ।

धेरै समय बितिसक्यो त्यो प्रदेशपारिको आँगनमा मनभित्र प्रश्नै-प्रश्नहरू उब्जिन थाले । यी प्रश्नै-प्रश्नको भारी बोकेर मेरी आमाको ममतामयी काख र आँसुले डुबेको नयनसँग छुट्टिएर मेरो बाबा । बाबाको गाउँ र ठाउँ पहिल्याउन लागेँ म मेरो देशतिर । आजसम्म मसँग मेरो बाबाको साथ नभए पनि मेरी आमाको काख त थियो, तर आजदेखि मेरी आमाको काखबाट पनि एक्लो हुँदैछु । आमासँग गएको छोरो यसरी एक्लै फर्किदाको पीडा जसको सीमा नै थिएन । कस्तो अभागी दिन लिएर जन्मेछु । कति अभागी, म धिक्कार्छु आफैलाई, म अभागी हुँ या दैव अभागी हो, खुट्याउनै सक्दिन । दुखेको मन बोकेर पुगेँ म मेरो देशमा ।

धेरै बर्षपछि मेरो बाबाको मुहार देखेँ मेरो बाबाको गाउँ र ठाउँ भेटेँ । बुढेसकालले घेरेर चाउरिएको मेरो बाबाको मुहारमा कुनै रस थिएन । मेरी आमाबाट छुटेको जिन्दगी केवल एक्लो जिन्दगीमै केश सेत्तै भइसकेको रहेछ, साथमा कोही पनि थिएनन, थिए त केवल एक्लो बाबा । हराएको छोरो एक्कासी आँगनमा पुग्दा सहाराविहीन बाबाको मन खुशीले कति गद्गद् भयो होला ? म पनि सहाराविहीन भएर आफ्नो बाबाको खोजी गर्दै हिडेको छोरालाई बाबा भेटिदा खुशीको सीमा नै रहेन, तर अभावै अभावले थला परेको मेरो बस्तीमा मेरो बाबासँग स्नेह, माया साट्ने धोको नपुग्दै मेरो बाबाले यो धर्तीबाट मलाई एक्लै छोडेर सधैका निम्ति बिदा हुनुभयो । जिन्दगीमा अर्को बोझ थपियो । पीडाभित्र फेरि अर्को पीडा थपियो । ‘तेरै शीर पर्‍यो भाले बास कि नबास’ वास्तविक टुहुरोको अनुभूतिले असाध्यै पोल्यो छाती र भिज्यो परेली । मै अभागी किन एक्लो जन्मिनु परेको होला ? एउटा दाजु दिदी भैदिएको भए आँसु साट्थ्यौँ होला । हाँसो बाँड्थ्यौँ होला । तर, के गर्नु कर्म अभागी भएपछि अभागी कर्मको फल त भोग्नैपर्‍यो । कर्मलाई दोष दिनुभन्दा थियो नै के मसँग । त्यो बेलाको चेतना पनि त्यही थियो । बस कर्मको भोगाइसँगै मेरो गाउँ र ठाउसँग साइनो गाँस्न थालेँ । वरपर छरछिमेक इष्टमित्रसँग बेलिबिस्तार चल्न थाल्यो, विस्तारै बुझ्न थालेँ नेपाल र नेपालीको कथा ।

वनमान्छेको (माओवादी) गर्जनले गाउँघर पूरै तरङ्गमय थियो । सम्साँझमै वारिपारिका डाँडाकाँडामा घन्केको राँके जुलुस र बन्दुकको आवाजले बस्ती जागेको थियो, मान्छेहरू ब्यूँझेका थिए । राइफलधारी पुलिसहरूको गाउँ खानतलासीले जनताहरू जागाराम र भागाराम देख्दा यो वास्तविकता हो कि रमिता हो, जस्तो लाग्थ्यो । जब साँझ परेपछि ती वनमान्छेहरू गाउँ पस्थे र सुनाउँथे अन्याय, अत्याचार, शोषण, दमन, भोक, रोग र अभावका कुराहरू । अनिमात्र बुझेँ मैले आफैलाई टुहुरो र एक्लो हुनुको सार र अनिमात्र बुझेँ मैले मेरो देशको वास्तविकता, जो मैले देशपारिका मान्छेले भनेको ‘तेरो देश कङ्गाल’को अर्थ । अनि थाम्नै सकिन मनलाई । निस्किएँ म पनि मेरो घरको ढोका थुनेर । र, मिसिए तिनै वनमान्छेको हुलमा- सारङ्गीको धुन लिएर देश फेर्ने मुक्ति अभियानको यात्रामा । अनि बने म पनि वनमान्छे । सायद यहिबाट मेरो जिन्दगीको यात्रामा अर्को अध्यायको शुरुवात भयो, जो मेरा निम्ति कठोर चुनौती र अग्निपरीक्षा बनेर मेरो सामु खडा भयो ।

त्यही चुनौती र अग्निपरीक्षाको भट्टीमा खारिदै टोलबाट गाविस, एरिया, जिल्ला, क्षेत्रीय कलाकार हुँदै आज केन्द्रीय टोली सामना परिवारसम्म आइपुग्दा समयको एक मोडमा आज महान शहीद कृष्ण सेन ‘इच्छुक’ प्रतिष्ठानबाट राष्ट्रिय सम्मान पाएको छु । जसले मेरो गरिमा र ओजको उँचाई अझ माथि उठाइदिएको छ । जसले मेरा चुनौती र अग्निपरीक्षाको भट्टीलाई गालिदिएको छ । जसले सिङ्गो साँस्कृतिककर्मीको मर्मलाई बोध गराएको छ । महान शहीद कमरेड इच्छुकलाई एकपटक फेरि सलाम गर्न चाहन्छु । साँच्चै देश र जनताका खातिर दुश्मनको चरम यातनाभित्र झुक्दै नझुकेर जीवनको आहुति नदिएको भए आज यो सम्मानको हकदार बन्न के मिल्थ्यो होला र ? साँच्चै ती नेपाल आमाका होनहार पन्ध्र हजार सपुतहरूले जीवनको आहुति नदिएको भए, पार्टीले मुक्तियुद्धको शंखघोष नगरेको भए, गोलीको पर्रामा हजारौँ मेरा सहयोद्धा कमरेडहरू अङ्गभङ्ग नभइदिएको भए, मेरा तमाम सांस्कृतिक सहयोद्धाले त्याग र समर्पण नगरेको भए, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनसमुदायको न्यानो काखमा नरमाएको भए यो उँचाई चुम्ने बाटो के नै थियो र मसँग । यो त आन्दोलनको कुञ्जी हो । यो त ती सहिदहरूको तपस्या, सिङ्गो सांस्कृतिक-कर्मीहरूको योगदान हो । ती महान् जनसमुदायको साक्षी हो ।

गमेर सोच्छु, एकान्तमा एकमनले आँसु लछप्पै हुन्छ नयनभरि । र, फर्किन्छु- त्यो विगत जहाँबाट मेरो जिन्दगीको यात्रा शुरु भएको थियो । कहाँ थियो जिन्दगी ? कति कहालिलाग्दा थिए दिनहरू ? जुन मोडबाट गुजि्रएँ म, जहाँ काँडैकाँडामा हिडेजस्तो लाग्थ्यो । जहाँ दुःखै दुःखका डोबहरू टेक्दै आएँ, जहाँ न बाबाको साथ पाएँ न आमाको काख । शिक्षादीक्षाको त कुरै छाडौँ । लाग्थ्यो- यो दरिद्रता केवल मलाई मात्र हो कि जस्तो । फर्किन्छु वर्तमानमा कति भाग्यमानी रहेछु म । आज एक्लै छैन म हजारौँ जनताको ढुकढुकीमा बसेको छु । म आज हजारौँ दाजुभाइ, दिदीबहिनीहरू पाएको छु, जो सोच्दै सोचेको थिएन, त्यही भेटाएको छु । एकैछिन कमरेड माओको उक्तिलाई सम्झेँ- ‘सही विचारधारा र सही राजनीतिक कार्यदिशाले सबै चिज प्राप्त हुन्छ ।’ हो, बाटो सही भएपछि सबै चीज भेटिदा रहेछन् र ढोकाहरू आफै खुल्दा रहेछन्, तर बाटो गलत भएपछि पाएका पनि गुम्छन् भनेर उनै माओले भनेका छन ।

आज ती मीठा सपना र सुन्दर लक्ष्य बोकेर आएको मेरो पार्टी, मेरो आन्दोलन, मेरो क्रान्ति खै किन-किन अर्कै-अर्कै देखिरहेको छु, जहाँ भावना एउटै थियो, विचार एउटै थियो । मोर्चा एउटै, बास एउटै, आश एउटै थियो । आज उसैका विचारहरू मोडिएका छन्, उसैका भावनाहरू तोडिएका छन् । यसरी हिडेर साँच्चै यो बाटो कहाँ पुगिन्छ होला ? आज दुनियाँलाई खुसी तुल्याउन हिडेको मेरो बाटो दुनियाँ मेरो बाटो देखेर हाँसिरहेका छन् । एकमनले सोच्छु- के थाहा मेरो बाटोमा कतै पहिरो पो जाने हो कि ? चस्स हुन्छ मुटु र घुमाईफिराई उही विगत आँखा अघि उभिन्छ । कतै फेरि उही सहाराविहीन टुहुरो जिन्दगीको अर्को अध्याय शुरु हुने त होइन ? गर्छु क्रान्तिलाई प्रश्न- क्रान्ति तिमीले हार्‍यौ भने म मात्र होइन हजारौँ टुहुरा हुनेछन्, हजारौँ सहाराविहीन हुनेछन् । त्यसैले तिमीले हरहालतमा जित्नुपर्छ, विचारहरू जोड्नुपर्छ, भावनाहरू जोड्नुपर्छ ।

आज राष्ट्रिय सम्मानको गरिमासँगै यो उँचाईमा पुर्‍यायौ । महान यात्रामा अर्को अभिभारा सुम्पिएका छौ काँधमाथि । महान् शहीद कृष्ण सेन ‘इच्छुक’लगायत हजारौँ शहीदहरूले देखेका सपनाहरू पूरा गर्ने अठोट । अवश्य पनि म यो उँचाइबाट ती शहीदहरूका अधुरा सपना बोकेर निरन्तर यात्रामा डटिरहने छु, जबसम्म ती सपनाका मञ्जिलहरू भेटिने छैनन ।

One Comment

  • Mero mutu

    झन्कार जी,

    तपाइँको यो जीवन कहानी पढ्दा पढ्दै मेरो आँखाबाट आँसु आयो । तपाइले भोग्नुभएको दुःख, कष्ट, पीडा र अहिलेको अवस्था पढ्दै जाँदा मैले आफूलाई तुलना गरेँ र सोँचे- यदि तपाईको ठाउँमा म भएको भए खै यस्तो गर्न त के पो सक्थेô होला र ? जे जस्तो दुःख पीडाका साथ अहिलेको स्थानमा हुनुहुन्छ, यो स्थानमा पुग्नलाई तपाईको पार्टी, जनयुद्ध र तपाईको साहस, मृत्युलाई जित्ने सक्ने विचारले नै हो । तर, अहिले तपाईको पार्टी कस्तो कस्तो भएको छ । किनकि म तपाईको पार्टीको गतिविधि नजिकबाट देख्ने म एक दर्शक हुँ ।
    लाग्छ, तपाइ एउटा प्रतिनिधि मात्र हो, तपाइजस्ता दुःख कष्ट र पीडाका बीचबाट आएका तपाइको पार्टीमा कति छन् कति ? तर, अहिले पार्टीका नेताहरु पद, कुर्सी, मन्त्रिका लागि मारामार गर्दैछन्, तपाइजस्ता इमान्दार र तल्लो वर्गबाट आएका कार्यकर्ताहरुलाई नै यता र उता बनाएर, फुटाएर गुटबन्दी गर्दैछन्, यसले सबैभन्दा मारमा पर्ने तपाइहरु नै हो । जसले जति क्रान्तिका कुरा गरेपनि यी सबै चोरहरु एउटै ड्याङका मुलाहरु हुन् । माओवादीमा अहिलेसम्म प्रचण्ड अध्यक्ष भए, हजारौँको ज्यान जाने गरी चलेको जनयुद्धलाई कम्तिमा शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति त ल्याए । तर, अबको बाटो कता हो उनी नै अलमलमा छन् । हिजो प्रचण्डलाई देवता जस्तै बनाउने किरण विप्लवहरु अहिले प्रचण्डकै खोइरो खन्दै मन्त्री र कार्यविभाजनमा बार्गेनिङ गरिरहेका छन्, अनि बाबुराम र प्रकाशहरु पद नपाएको गुनासो गर्दै झगडा गर्छन् । खासमा यो बेला भनेको पार्टीभित्र झगडा गर्ने बेला होइन कि हिजाका उपलब्धि जोगाउने बेला हो । भाई फुटे गँवार लुटे भन्ने त उखानै छ । अहिले भाई भाई लड्ने बेला होइन । खासमा भाग खोज्ने बेला अझै भएको छैन ।
    Tapai le bhane jastai ……………..आज ती मीठा सपना र सुन्दर लक्ष्य बोकेर आएको मेरो पार्टी, मेरो आन्दोलन, मेरो क्रान्ति खै किन-किन अर्कै-अर्कै देखिरहेको छु, जहाँ भावना एउटै थियो, विचार एउटै थियो । मोर्चा एउटै, बास एउटै, आश एउटै थियो । आज उसैका विचारहरू मोडिएका छन्, उसैका भावनाहरू तोडिएका छन् । यसरी हिडेर साँच्चै यो बाटो कहाँ पुगिन्छ होला ? आज दुनियाँलाई खुसी तुल्याउन हिडेको मेरो बाटो दुनियाँ मेरो बाटो देखेर हाँसिरहेका छन् । एकमनले सोच्छु- के थाहा मेरो बाटोमा कतै पहिरो पो जाने हो कि ? चस्स हुन्छ मुटु र घुमाईफिराई उही विगत आँखा अघि उभिन्छ । कतै फेरि उही सहाराविहीन टुहुरो जिन्दगीको अर्को अध्याय शुरु हुने त होइन ?

    साँच्ची तपाईले गर्नुभएको चिन्ता गम्भीर छ, तपाईहरुले अहिले यो गुट र त्यो गुटको पछि लाग्नुभन्दा भागबण्डामा झगडा गर्ने नेताहरुलाई यस्तै यस्तै लेखनीका माध्यामबाट खबरदारी जरुरी छ । mero b4 kasto lagyo sir ko pani pratikriya pau hai ta.

Leave a Reply

Your email address will not be published. Required fields are marked *