संक्रमणकालमा चक्कर काटिरहेको देशको राजनीति

  
  प्रकाशित मितिः सोमवार, साउन २, २०६८       | 97 Views   ||

-[अजयदीप शर्मा]

देशमा बढ्दै गएको बेरोजगारी, महङ्गी र अभावभन्दा बढी अहिले  यो दिशाहीन चक्रमा चक्कर काटिरहेको राजनीतिबाट आम मानिसले दिक्क मान्न थालेका छन् । नयाँ परिवर्तनको ऐतिहासिक घडिमा उभिएको भएपनि राजनीतिको दिशा उही यथास्थानमा चक्कर काटिरहेको छ । परिणाम राज्य अस्थिरता, अराजकता, दण्डहीनता र गुण्डाराजको अँध्यारो सुरुङभित्र हुत्तिदै गइरहेको छ । राज्यलाई अँध्यारो सुरुङभित्र हुत्याउने काम पनि राजनीतिक वृत्तबाटै भइरहेको छ ।

जनआन्दोलन २०६२/०६३ पछि जनताको खुसी र आशा धेरै ठूलो थियो । सदियौँ वर्षदेखि सामन्ती उत्पीडन र दमनमा पिल्सिएका जनता देशमा संरचनागत ढंगले नै आमूल परिवर्तन चाहन्छन् । सोही मार्गमा अग्रसर भएर नै परिवर्तनका पक्षधर सारथी दलहरु गणतन्त्रको घोषणा, विस्तृत शान्ति सम्झौता हँुदै यहाँसम्म आइपुगेका हुन् । हामीले बुझेको र बुझाइएको कुरा एउटा अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्नेबीचको संक्रमणकालीन अवधि निकै छोटो हुन्छ । तर, परिभाषाभन्दा विपरित नेपालमा संक्रमणकालको अवधि तानिदै र गहिरिदै गइरहेको छ । यसो हुनुमा राजनीतिको जटील वस्तुगत स्थिति एउटा कारण त हुन सक्छ तर प्रमुख कारण परिवर्तनका सारथी दलहरुमा देखिएको असमझदारी, अकर्मण्यता र राजनीतिक व्यवस्थापन गर्नमा देखिएको अक्षमता नै हो । दलहरुको कार्यशैली र व्यवहारले जनताको आशामाथि क्षय उत्पन्न गराइरहेको छ । दलहरु उद्देश्यप्रति अलमलिदै आफ्नो स्वार्थपूर्तिको खेलमा लाग्दा जनतामा उनीहरुप्रति घट्दै गएको विश्वास र अनास्थाको फाइदा हिजोका तिनै जनविरोधी शक्ति र त्यसका पृष्ठपोषकहरुले लिइरहेका छन् र उनीहरु सतहमै देखिएर परिवर्तन पक्षधर दलहरुका विरुद्ध राजतन्त्रको वकालत गर्दै आएका छन् । अन्योलपूर्ण राजनीतिको भूमरीभित्र असामान्य पीडाको चक्कर काटिरहेका जनता यतिबेला न ती प्रतिगामीलाई तिरष्कार गर्ने अवस्थामा छन् न ती परिवर्तनका सारथी दलहरुलाई स्नेह दर्शाउने पक्षमा छन् । जनताको प्रतिनिधित्व गर्ने दलहरुले परिवर्तनका एजेण्डालाई केन्द्रविन्दुमा राखि अघि बढ्न नसक्दा संक्रमणकालीन अवस्था छोटिनुको साटो अप्ठ्यारो दलदलमा राजनीतिक मिसन फस्दै गइरहेको अनुभूति भइरहेको छ । यसो हुनुमा दलहरुको इच्छाशक्ति अभावको कुरा मात्र नभएर आफ्नो अस्तित्वर क्षाको प्रश्नसँग पनि गाँसिएको छ ।

शान्ति र संविधान अहिलेका राजनीतिक केन्द्रका मुख्य एजेण्डा हुन् । यी विषयहरु दलहरुका वर्गीय एजेण्डासँग पनि जोडिएकाले निकै पेचिला र अप्ठ्यारा बन्दै गइरहेका छन् । अहिले वर्गसंघर्ष राजनीतिक एजेण्डाको रुपमा दलहरुबीच केन्द्रमा टक्राइरहेको अवस्था छ । जनआन्दोलनमा एकसाथ अघि बढेका दलहरु विचारको आधारमा कुनै न कुनै वर्गीय पक्षधरताको पक्षपोषण गर्दछन् । उत्पीडित जनताको  पूर्ण हिस्सा आमूल परिवर्तनको पक्षमा छ, त्यसको प्रतिनिधित्व र नेतृत्व क्रान्तिकारी शक्ति एकीकृत माओवादीले गरिरहेको छ । अर्को शक्ति, जसले जनताको बलमा परिवर्तनका एजेण्डालाई त स्वीकार्छ तर आफ्नो पुरानो अस्तित्व मेटाएर अगाडि बढ्न चाहँदैन यथास्थितिमा सामान्य सुधार गर्न चाहन्छ । त्यसको  प्रतिनिधित्व र नेतृत्व काँग्रेसले गर्दै आइरहेको छ । त्यो प्रतिनिधित्वको हिस्सा पुराना सबै संसदीय दलहरुभित्र रहेको छ । यही दुई वर्गीय पक्षधरताको विचारमा अहिलेको राजनीति टकराइरहेको छ । अग्रगमन र यथास्थितिको बीचमा परिवर्तनका एजेण्डाहरु अल्झिराखेका छन् । जसका कारण यो अन्योलपूर्ण राजनीतिक स्थितिको श्रृजना हुन पुगेको छ । संरचनागत परिवर्तनका मुलभूल एजेण्डा मानिएका संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा दलहरुबीच अहिलेसम्म सहमति जुट्न नसक्नुको कारण पनि त्यही हो ।

देशभित्रको वस्तुगत अवस्थालाई हेर्ने हो भने जनताको पूर्ण हिस्सा माओवादीले उठाएको एजेण्डाबाट अग्रगामी परिवर्तन चाहन्छ । तर, ती एजेण्डाअनुसारको परिवर्तन नरुचाउने हिस्सा कम भएपनि त्यसले मुलुक बाहिरबाट पाइरहेको आडभरोसामा शक्ति सन्तुलन गरिरहेको छ । नेपालमाथि आफ्नो स्वार्थको प्रभूत्व कायम राखिराख्न भारतले नेपाललाई पुरानै यथास्थितिको अवस्थामा राखिराख्न चाहन्छ र त्यसै अनुरुप उसले आफ्नो स्वार्थसिद्धि गर्न पुरानो यथास्थितिवादी शक्ति र पात्रलाई बलियो अवस्थामा राख्न राजनीतिक हस्तक्षेपलाई बढाउँदै गएको छ । माओवादीको नेतृत्वमा सरकार बन्न नदिन भारत नाङ्गो रुपमा लाग्नुको कारण पनि त्यही हो । यो जटीलतालाई चिर्दै परिवर्तनमुखी संविधान बनाउने कुरा नेपाली जनताका पक्षधर शक्तिहरुका लागि निकै चुनौतीपूर्ण भएर उभिएको छ । यथास्थितिलाई बलियो बनाउन प्रयत्नरत शक्ति केन्द्रहरु हिजोदेखि नै माओवादीलाई निषेध गरी आफ्नो पुरानो हैकमी पकड जमाउन चाहिरहेका छन्, जुन सम्भव छैन । निषेधको सिद्धान्त लिई उनीहरु हरतवरले माओवादीलाई एक्लाउने रणनीति लिइरहेका छन्, त्यसले समाधानको दिशा नभई यही अन्योलपूर्ण राजनीतिक निरासालाई बढाउने काम मात्र गर्दछ । अहिले ती शक्तिहरु शान्तिको नारा जपेर त्यसको केन्द्रविन्दु माओवादीसँगको हतियारलाई बनाएका छन् । तर, उनीहरु कत्ति पनि चिन्तनशील र गम्भीर छैनन् कि युगौंदेखि पछाडि पारिएका सीमान्तकृत वर्ग, जाती, क्षेत्र र लिङ्गका जनतालाई पूर्ण अधिकार र स्वतन्त्रताको ग्यारेण्टी नगरिकन स्थायी शान्ति प्राप्त हुने कुरा क्षणिक मात्र हो भन्ने कुरा । शान्तिसम्झौता अनुसार माओवादीले आफ्ना हतियार अवश्य राज्यलाई त बुझाउँछ नै तर स्थायी शान्तिका लागि ती पुराना दलहरुले जनतालाई अधिकार सम्पन्न गराउने दिशातिर अग्रसर हुन्छन् कि हुँदैनन भन्ने कुरा महत्वपूर्ण हुन्छ । यसका लागि शान्ति र संविधानलाई सँगसँगै अघि बढाई दुबैलाई सँगै टुङ्ग्याउने कुरा नै वैज्ञानिक र हितकर छ अन्यथा राजनीतिलाई आफ्नो पोल्टामा पार्ने दाउको रणनीति मात्र हुनेछ ।

संविधानसभाको निर्वाचनपछि शान्ति र संविधान निर्माणको मुद्दा बोकी अघि बढेको देशको राजनीति अहिलेसम्म पनि उही फेरोमा घुमिराखेको छ । जनउत्तरदायी बन्नेभन्दा आफू खुसी दलहरु चल्न खोज्दा उनीहरुप्रति नै जनताको वितृष्णा फैलिन पुगेको छ । युग परिवर्तनको यो मोडमा अडिएको राजनीतिलाई अघि बढाउन यतिबेला परिवर्तनकामी शक्तिहरु एकढिक्का हुनुपर्ने अनिवार्यता छ र मात्रै समृद्ध नेपाल बनाउने सपनालाई संस्थागत गरी जनताको अपेक्षा पूरा गर्न सकिन्छ । तर, परिवर्तनका एजेण्डा बोकेका दलका नेताहरुमा नै जनतालाई अधिकार सम्पन्न गराउनेभन्दा स्वार्थको चिन्तन बढ्दै जानुलाई विडम्बना मान्नुपर्छ । जनताको अपेक्षा एउटा तर पार्टीभित्रका नेताहरु आ-आफ्नै स्वार्थमा विभक्त हुन थालेका छन् । परिवर्तनकारी दलहरु आन्तरिक रुपमा कचिङ्गलमा फस्नु भनेको समाज रुपान्तरणको अभियान अवरुद्ध हुनु हो र यथास्थितिवादीहरुलाई हावी हुन दिनु हो । तसर्थ क्रान्तिकारी शक्तिहरु जनताप्रतिको जिम्मेवारीलाई आत्मसाथ गर्दै हिजोका दिनमा उनीहरुसँग गरेको प्रतिवद्धताअनुसार चल्नु आवश्यक छ । त्यसका लागि ती दलहरु जसले सबैभन्दा बढी जनताको हिस्साको नेतृत्व गरेका छन्, उनीहरु आफैमा रुपान्तरण भएर जनतासँगको सम्बन्धलाई सुदृढ पार्नु आवश्यक छ ।

अग्रगामी परिवर्तन वा समाज रुपान्तरण चाहने र नचाहने शक्तिबीचको यो टकरावमा रुपान्तरणकारी शक्तिहरुको बल नै जनता हो । जनतालाई निराश पारियो भने त्यसको फाइदा अथवा बल अर्को यथास्थितिवादी वा प्रतिगामी शक्तिलाई पुग्न जान्छ । केन्द्रमा क्रान्तिकारी शक्ति र यथास्थितिवादी शक्तिबीच भीषण वर्गसंघर्षको टकरावमा क्रान्तिकारी शक्तिका पछाडि बहुसंख्यक जनताको हिस्साले बल पुर्‍याइरहने कुराले मात्र यो परिस्थितिलाई सहीरुपले निकासतिर अघि बढाउन सकिनेछ । त्यो पहलकदमीको इच्छाशक्ति, सामथ्र्य र दायित्वको जिम्मेवारी जनताले माओवादीलाई नै सुम्पिदिएका छन् । तसर्थ यो चर्खाले झैँ एउटै फन्कोमा चक्कर काटिरहेको राजनीतिक चक्रलाई तोड्न जनपक्षीय शक्तिहरु बीचको बलियो मोर्चा र गठबन्धनले मात्रै सकारात्मक परिवर्तनको पहलकदमी लिन सक्छ । नत्र यो संक्रमणकाल जति लम्बिदै जान्छ, त्यति नै परिवर्तनका पक्षधर शक्तिको सन्तुलनमा ह्रास आउँदै जान्छ । परिवर्तन नचाहने प्रतिकृयावादीहरु यही अवस्थालाई जारी राखी आफ्नो कुत्सित अभिष्ट पूरा गर्न चाहिरहेका छन् । यसमा सबै जनपक्षीय शक्ति सचेत भई इतिहासको अभिभारा पूरा गर्ने दिशामा एकजुट भएर लाग्नु अनिवार्य र अपरिहार्य छ ।

 

 

 

One Comment

  • Everjyoti

    …जनतालाई निराश पारियो भने त्यसको फाइदा अथवा बल अर्को यथास्थितिवादी वा प्रतिगामी शक्तिलाई पुग्न जान्छ ।…

    Yo kura Maobadi le gahiro gari bujna jaruri dekhin6. Aapas ko khichatani hoina jutera agi badne bela vayeko 6.

Leave a Reply

Your email address will not be published. Required fields are marked *