लमही बजारलाई व्यवस्थित शहर बनाउन पहल

  
  प्रकाशित मितिः सोमवार, साउन २, २०६८       | 130 Views   ||

-[प्रकाश चौधरी/देउखुरी, दाङ]

तीव्र बसोबासको चापसँगै अव्यवस्थित बन्दै गएको लमही बजारलाई सरसफाईयुक्त व्यवस्थित शहरको रुपमा विकास गर्न थालिएको छ । पूर्व-पश्चिम मुख्य लोकमार्गमा पर्ने लमही बजार यातायात एवम् देउखुरी क्षेत्रकै मुख्य व्यापारिक केन्द्र भएकाले यसको व्यवस्थित विकास गर्न थालिएको हो । अव्यवस्थित बसोबास र सडक सााघुरो हुनु र त्यही साँघुरो सडकमै फुटपाथ व्यापारीहरुले ठेला र ढ्याब्ली राख्न थालेपछि बजार भद्रगोल बन्दै गएको थियो ।

बजारको अस्तव्यस्तता र बढ्दै गएको फोहरलाई नियन्त्रण गरी व्यवस्थित शहर बनाउन अहिले लमही नगर विकास समिति, देउखुरी उद्योग वाणिज्य संघ र सडक विभागले संयुक्त रुपमा लागेका छन् । लमहीलाई व्यवस्थित शहरका रुपमा विकास गर्न फराकिलो सडक बनाउने, जथाभाबी राखिएका फुटपाथका ढ्याब्ली, घरटहराहरु हटाउने र सडक सफा गर्ने काम तीव्रताका साथ अघि बढाइएको छ । करिब ३६ लाख बराबरको लागतमा लमही बजारको पूर्वमा हस्पिटल रोड र पश्चिममा नगर विकासको भवनसम्म सडक चौडा बनाउन थालिएको लमही नगर विकास समितिका अध्यक्ष माधवप्रसाद घिमिरेले बताउनुभयो ।

उद्योगी, व्यापारी एवम् स्थानीयबासीको सुझावअनुसार अहिले रहेको सडकबाट २५/२५ मिटर दायाँवायाँ सडक फराकिलो बनाउन थालेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । व्यापारिक केन्द्रको रुपमा विकास भइरहेको लमही बजारलाई सुन्दर नमूना शहरको रुपमा विकास गर्न आफूहरु लागिपरेको भन्दै अध्यक्ष घिमिरेले सबैको सकारात्मक सोँच र सहयोग भएमा आफू सफल हुने बताउनुभयो । फुटपाथका ढ्याब्ली र ठेलागाडाहरुमा गरिने व्यापारलाई सडक छेउछाऊबाट हटाएर उनीहरुका लागि निश्चित ठाउमा व्यवस्थापन गर्ने तयारी गरिरहेको पनि घिमिरेले जानकारी दिनुभयो । सडक बिस्तार कार्य असार मसान्तभित्र सक्ने लक्ष्य भएपनि काम ढिलो शुरु भएकाले साउन पहिलो साताभित्रै सम्पन्न गरिसक्ने योजना रहेको उहाँको भनाई छ ।

बढ्दो जनसंख्याको चापसँगै लमही बजारलाई व्यवस्थित र सुन्दर शहरको रुपमा विकास गर्ने कार्यप्रति स्थानीय व्यापारीहरु उत्साहित भएका छन् ।त्यसो त लमही नगर विकास समितिले फुटपाथका घरटहरा र ढ्याब्लीहरु हटाएर उनीहरुको उठीबास लगाउने काम नगरेको समितिले बताएको छ । फुटपाथमा घरटहरा बनाई जिविकोपार्जन गरिरहेका साना व्यापारीको लागि नगर विकास समितिले ३९ वटा पक्की स्टलहरु निर्माण गरी व्यवस्थापन गर्ने अभियान पनि थालेको छ । २५ लाख बढीको लगानीमा ती स्टलहरु अहिले निर्माण गर्न थालिएको छ । डेढ महिनाभित्र लमही बजारको व्यवस्थापन एवम् विकासका कार्यहरु सम्पन्न गरी छाड्ने लक्ष्यका साथ लागिरहेको समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

मदिरा नियन्त्रणमा सफल बन्दै सौडियारका महिला

-[गोविन्द खड्का/सौडियार]

गाउँले महिलाहरुको सक्रियतामा मदिरा नियन्त्रण अभियान शुरु गरेपछि सौडियारमा पहिलेभन्दा धेरै जाँडरक्सीको किनबेच र रक्सी खाएर होहल्ला गर्नेहरु कार्य बन्द भएको छ । सौडियार गाविसलाई मदिरामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ केही साताअघिदेखि यहाँका महिलाहरुले संगठितरुपमा अभियान थालेपछि मदिराको किनबेच र सेवनमा नियन्त्रण भएको हो ।

महिलाहरुको मदिरामुक्त गाविस घोषणा गर्ने अभियानपछि अबेरसम्म पसलहरु खुल्लै राख्ने र रक्सी बेच्नेहरु पनि आजभोलि सबेरै पसल बन्द गर्ने गरेको र गाडीहरु पनि समयमै आफ्नो गन्तव्यतिर लाग्ने गरेको स्थानीय सौडियार वडा नं. ८ निबासी पवित्रा केसीले बताउनुभयो । उहाँले भन्नुभयो- ‘राति १ बजेसम्म पनि रक्सी खाएर हल्ला गर्थे, गाडीका लाइन हुन्थे, आजभोलि सुख पाएका छौँ । ‘जाँडरक्सीको विक्री वितरण र सेवनले घरपरिवारमा कलह बढ्दै गएको, गाउँ समाजकै बेइज्जत भएको र आर्थिक स्थिति पनि कमजोर बन्दै जान थालेपछि स्थानीय महिलाहरु संगठितरुपमै मदिराविरोधी आन्दोलनमा लागेका थिए ।

जाँडरक्सीकै कारण पीडित महिला दिदीबहिनीहरुले गाउँमै गत असार १३ गते मदिरा नियन्त्रणसम्बन्धी कार्यक्रम गरी ‘पहिला आफ्नो घरको फालौँ, अनि कसैका घर बाँकी नराखौँ’ भन्दै मदिरा नियन्त्रण अभियानमा लागेका थिए । मदिरा नियन्त्रण मूलसमिति सौडियारले आयोजना गरेको कार्यक्रममा सहभागी महिलाहरुले जाँडरक्सीकै कारण आफूहरुले भोग्नुपरेका महिला हिंसाका घटनाहरु सुनाउँदै मदिरा नियन्त्रणका लागि आफूहरुले जुनसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । गाउँभरिकै सबैभन्दा बढी रक्सी व्यापार हुने रेग्मी पसल र केसी पसलमा आजभोलि जाँडरक्सीको कारोबार बन्दजस्तै भएको छ । असारको खेतीपातीको चटारोलाई छोडेर जाँडरक्सी नियन्त्रणका लागि भेला भएका महिलाहरुले रक्सीका कारण आफूहरुले निकै ज्यादती सहनुपरेको र अति नै भएपछि मुख फोड्नुपरेको बताए । ‘श्रीमानलाई राजा मानेर के गर्नु ? घरको इज्जत हामीले मात्रै जोगाएर हुँदोरहेनछ । मेरो त सम्पत्ति सकिन लाग्यो, हुक्किएँ, मैले त अब दुःख गर्न सक्दिन ।’ स्थानीय सुशीला रावतले भनिन् ।

तीन लाख रुपैयाँमा जग्गा बेचेर सबै रक्सीमै सकिन लागेको उनले बताइन् । जग्गाको पैसा आएदेखि बिहान ४ बजे रक्सी पसल पुग्ने र राती १२ बजे घर फर्किने, हलो जोत्दाजोत्दै पनि रक्सी पसलतिर सोझिनले निकै आफू निकै पीडित भएको उनले बताएकी थिइन् । उनलाई मात्रै होइन स्थानीय पदमा खत्रीलाई दिनभरि काममा जोतिएर सुतेको बेला रातको १२ बजे रक्सी खाएर पाहुनासहित पतिलाई खाना पकाउन उठ्नुपर्ने नत्र कुटाइ खानुपर्ने बाध्यता रहेको थियो । पछिल्लो समयमा मदिराविरोधी आन्दोलन शुरु भएपछि त्यस्ता घटनामा केही नियन्त्रण भएको उनको भनाई छ । पतिले जाँडरक्सी सेवन गरी कुटपीटसमेत गर्ने गरेको भन्दै खत्रीले भनिन्- ‘रक्सी खाएर सम्पत्ति सकिने भएमात्रै त हुन्थ्यो, अलिकति बोल्यो कि ७/८ वटा लठ्ठी भाँचिन्छन् । माइतबाट पठाइदिएको तेलसमेत रक्सीसँग साटेर खाएछन् । त्यतिमात्रै होइन, मिलमा कुटाउन पठाएको चामल आधा उतै बेचेरसमेत रक्सी खाने श्रीमानहरुको कमी नभएको महिलाहरुले बताएका थिए । घर बनाउन ल्याएका र बाँकी रहेका काठपातहरु समेत श्रीमानज्यूहरुले बेचेर रक्सी खाएर उनीहरुले बताए । तर, खाना खाने बेला भने पति परमेश्वर भनेर सबै टकार्नुपर्ने पीडा रहेको भन्दै स्थानीय शान्ता महराले भनिन्- ‘नुन तेल किन्न पैसा छैन । खाने बेलामा मिठो-मिठो टकार्नुपर्छ ।’

महिलाहरुको अधिकांश समय के गर्दा गाउँमा रक्सी सेवन कम गर्न सकिन्छ र घरपरिवार सुखसाथ बस्न सकिन्छ भनी चिन्तामा बिताउने गरेका छन् । रक्सी खाएपछि जुवातास चाहिने र जुवातास शुरु भएपछि घर जग्गासमेत दाउमा राख्ने तालले गाउँ समाज नै बिगि्रएकाले मदिराविरोधी आन्दोलन अनिवार्य भएको स्थानीय कमला थापाले बताइन् । मदिरा नियन्त्रण अभियानमा प्रहरी चौकी सर्राले महत्वपूर्ण सहयोग पुर्‍याइरहेको छ । रक्सी खाएर होहल्ला गर्नेलाई सामाजिकरुपमा बेइज्जत गराउनेदेखि जरिवाना र कार्बाही गर्ने गरेको सर्राका प्रहरी इन्चार्ज लिला विकले बताए । गाविस सचिव सूर्यप्रसाद वेल्वासेले सौडियार गाविसलाई मदिरामुक्त क्षेत्र बनाउने अभियानलाई सहयोग गर्ने भन्दै स्थानीय रक्सीको लाइसेन्स बनाउन नपाइने, रक्सी बेचविखनका लागि कसैले लाइसेन्स बनाएको भए त्यसको लाइसेन्स नवीकरण नगर्ने, दर्ता गर्नेलाई सिफारिस नदिने प्रतिवद्धता जनाएका छन् ।

अधिकांश बाहुन, क्षेत्री र मगर समुदाय रहेको सो बस्तीमा जाँडरक्सी उत्पादन, वितरण गर्ने र खानेलाई कार्वाही गरिने मदिरा नियन्त्रण मुल समितिका संयोजक बुद्धिप्रकाश चौधरी ‘सचिन’ले बताए । एकीकृत माओवादीका गाविस ईन्चार्जसमेत रहेका चौधरीले आफ्नो पार्टीले जनयुद्धकालमा मदिरा नियन्त्रणका लागि रक्सीविरोधी आन्दोलन चलाएको स्मरण गर्दै आफूहरु जाँडरक्सीको पूर्णतः निषेध गरी सभ्य समाज निर्माणको पक्षमा रहेको बताए । उसो त कांग्रेसका कर्णबहादुर बुढाथोकीले पनि आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।पवित्रा केसीको अध्यक्षतामा गठन गरिएको मदिरा नियन्त्रण समितिले आन्दोलन शुरु गरेपछि गाउँमा रक्सीको कारोबार तथा सेवनमा कमी आएको छ भने दैनिक सर्रा प्रहरी चौकीले चेकजाच गर्न थालेको छ । जसले गर्दा स्थानीय पसलेहरुले रक्सी राख्न छोडेका छन् भने रक्सी खाएर होहल्ला गर्नेहरु पनि डराउन थालेका छन् ।

पहिरोमा पुरिएर १३ को मृत्यु

घटनाप्रति माओवादीद्वारा दुःख व्यक्त

-[बीरबहादुर मल्ल/रुकुम]

रुकुमको पूर्तिमकाँडामा बिहीबार गएको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ । पूर्तिमकाँडा-३ गिठाकोटका उदीराम बुढाको १० जनाको परिवार र पूर्तिमकाँडा-१ बसनडाँडाका धनसिंह घर्तीका ३ जना छोरीहरुको पहिरोमा पुरिएर ज्यान गएको हो ।

पुरिएर मृत्यु हुनेहरुमा ५३ वर्षका उदिराम, उनकी श्रीमती ४८ वर्षकी काली, छोरा ४० वर्षका खड्कबहादुर बुढा, ज्वाई सिम्लीका ३३ वर्षका रुद्रबहादुर बुढाथोकी र छोरी २६ वर्षकी गीता रहेका छन् । त्यस्तै, बुहारी २३ वर्षकी केवली बुढा, नातिनी २ वर्षकी जीवना बुढा, नातीहरु ५ वर्षका रोशन, २ वर्षका एकराज र ४ वर्षका नवराजको पनि पुरिएर मृत्यु भएको थियो । त्यस्तै, पुर्तिमकाडा-१ बसनडाँडास्थित धनसिंह घर्तीका छोरीहरु १८ वर्षकी अमृता र ९ वर्षकी सबिना तथा ४ वर्षका छोरा रमेशको पहिरोमा पुरिएर ज्यान गएको हो । राती सुतिरहेको बेला पहिरो आएपछि उनीहरुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताउनु भयो । मृतकहरुको शनिबार दाहसंस्कार गरिएको छ । घटनामा उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी, वाइसिएल र स्थानीय बासिन्दा खटिएका थिए । सदरमुकामबाट घटनास्थलमा गएको नेपाली सेना र नेपाल प्रहरीको टोली शनिबार नै सदरमुकाम फर्किसकेको छ ।

यसैबीच मृतकका आफन्तलाई शनिबार तात्कालिक राहतस्वरुप राहत रकम वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहितको टोलीले घटनास्थलमा पुगि जनही २५ हजारका दरले राहत वितरण गरेको हो । टोलीले विस्थापितहरुको पुनःस्थापनाका विषयमा छलफल गर्नुका साथै ८० भन्दा बढी विस्थापित घरपरिवारहरुलाई खाजा वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । घर जोखिममा रहेपछि विस्थापित भएका घरपरिवारहरु अहिले स्थानीय एक विद्यालयमा बस्दै आएका छन् । शनिबार नै उनीहरुको स्वास्थ्य जाच पनि गरिएको छ ।

यसैबीच रुकुमको पूर्तिमकाँडामा पहिरोमा परी १३ जनाको ज्यान गएकोप्रति एकीकृत नेकपा माओवादीका विभिन्न तहका नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् । उनीहरुले शनिबार शोक वक्तव्य जारी गर्दै सिङ्गो बस्ती नै विस्थापित हुने गरी भएको घटनाले आफूहरुलाई ज्यादै मर्माहत र दुःखी बनाएको जनाएका छन् । आफूहरुले पीडितको राहत र पुनस्र्थापनाका लागि पहल जारी राखेको जनाउँदै विज्ञप्तिमा संयमतापूर्वक धैर्यधारणा गर्दै थप क्षति हुन नदिन सचेतता अपनाउन आग्रह गरिएको छ ।

‘प्राकृतिक प्रकोपबाट हुन गएको धनजनको क्षति, यसका कारण परेको सामाजिक असर, प्रभाव र क्षति तथा पुनस्र्थापनाका सम्बन्धमा हामी आफ्नो ठाउँबाट कटिवद्ध भएर लागिपरेको जानकारी गराउँदै पीडितहरुलाई राहत, उद्धार र पुनस्र्थापनाका सम्बन्धमा यथाशक्य छिटोछरितो पहलकदमीका लागि सरकारसमक्ष जोडदार माग गर्दछौँ’- वक्तव्यमा भनिएको छ । यसरी वक्तव्य जारी गर्नेहरुमा जनार्दन शर्मा ‘प्रभाकर’, लोकेन्द्र विष्ट मगर, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, जगप्रसाद शर्मा, पूर्ण घर्ती मगर, गणेशमान पुन, कमला रोका, तेजबहादुर ओली, जुनुकुमारी रोका र विमला केसी रहनुभएको छ । वक्तव्यमा नेताहरु लेखराज भट्ट र टेकबहादुर बस्नेतले पनि हस्ताक्षर गर्नुभएको छ ।

रुकुमको कोटजहारी गाविसमा शनिबार एक वेवारिसे शव भेटिएको छ । कोटजहारी-३ नार्जीमा स्थानीयवासीले शव फेला पारेका हुन् । जहारीखोलाको छेउमा अन्दाजी ५० वषर्ीय पुरुषको शव भेटिएको हो । उता पहिरोमा पुरिएर जाजरकोटको दुर्गम गाविस रग्दा वडा नम्बर ५ का लङ्कबहादुर विश्वकर्माको मृत्यु भएको छ ।

सुधारिएको चुलो निर्माणमा रुकुमेलीहरुको आकर्षण

[भुपेन्द्र केसी/रुकुम]

बढ्दो आधुनिकीकरणसँगै रुकुमेलीहरु सुधारिएको चुलो निर्माणप्रति आकषिर्त भएका छन् । खाना पकाउन थोरै दाउरा लाग्ने तथा धुँवारहित चुलो हुने भएको कारण रुकुमका अधिकांश गाविसका स्थानीय बासिन्दा सुधारिएको चुलो निर्माणतर्फ आकषिर्त भएका हुन् । परम्परागत चुलोभन्दा सुधारिएको चुलोमा धुवाँ कम हुने, कमै दाउराले खाना पकाउन सकिने र स्वास्थ्यका लागि लाभदायिक हुने भएकाले बाँफीकोट, मग्मा, दुली, आठविसकोट, स्यालापाखा, चौखावाङ, साँख, खलंगा, छिवाङ, सिम्ली, गरायला, रुकुमकोट, काँडा, मोरावाङ, महत, पीपल, पोखरा, प्वाङलगायतका गाविसहरुमा सुधारिएको चुलो निर्माण गरिएको छ ।

यसरी नै चुनवाङ, जाङ, पूर्तिमकाँडा, खोलागाउँ, कोटजहारी, विजयश्वरी गाविसका अधिकांश घरहरुमा पनि सुधारिएको चुलो प्रयोग गर्न थालिएको छ । परम्परागत चुलोभन्दा आधुनिक चुलोमा छिटो खाना पाक्ने र दाउराको बचत हुने भएकाले पनि आफूले आधुनिक चुलो निर्माण गरेको बाँफीकोट-३ दहनिवासी हेमन्त दाहालले बताउनुभयो । बाँफीकोट गाविस पर्यटकीय दृष्टिकोणले पनि अगाडि रहेका कारण यहाँका प्रत्येक घरहरु नछुटाएर सुधारिएको चुलो निर्माण गर्ने अभियान सञ्चालन गर्न लागेको बाँफीकोट- ८ निवासी समाजसेवी चन्द्रबहादुर केसीले बताउनुभयो ।

सुधारिएको चुलो निर्माण गर्न आवश्यक सामग्री जुटाउन सम्बन्धित व्यक्तिले ४० प्रतिशत, गाविसले ६० प्रतिशत र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुकुम, नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र उर्जाको आर्थिक सहयोग एव्म विकास सरोकार समाजको प्राविधिक सहयोगमा चुलो निर्माण कार्य भइरहेको राजीमाया पुनले जानकारी दिनुभयो । यसैबीच चौखावाङ, साँख, खारा गाविसमा नेपाल रेडक्रस सोसाइटी रुकुम र रुकुमेली समाज विकास केन्द्र रुकुमको आर्थिक तथा प्राविधिक सहयोगमा ‘एक घर एक चर्पी, जुठ्यान, मछ्यान र सुधारिएको चुलो निर्माण’ एकैसाथ गरिरहेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष नेपालीका अनुसार-चौखावाङ गाविसका अधिकांश वडाहरुलाई खुल्ला दिशामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

रुकुममा प्रसुति गृह निर्माण

रुकुम/महिला सरोकार समिति रुकुमको अगुवाईमा निर्माण गरिएको सल्लेस्थित प्रसुति गृह एक कार्यक्रमका बीच उद्घाटन एवम् हस्तान्तरण गरिएको छ । भवनको निर्माण कार्य सम्पन्न भएपछि निर्माण समितिले प्रसुति गृह जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको हो । जिल्ला विकास समितिको लक्षित वर्ग महिलाको लागि विनियोजन गरिएको बजेट, जीटीजेटको सहयोग र श्रमदान गरि करिब ४० लाखको लगानीमा प्रसुति गृह निर्माण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले रिबन काटेर तथा डाक्टर युधिष्ठर खड्काले मुल गेटको ताला खोलेर संयुक्तरुपमा गृहको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा स्थानीय विकास अधिकारी केदारनाथ शर्माले लक्षित वर्ग महिलाको लागि विनियोजन गरिएको बजेटबाट प्रसुति गृह निर्माण गरिएको जानकारी दिनभयो । भवन निर्माण गर्नुमात्र ठूलो नभएको भन्दै यसलाई व्यवस्थित गर्न सरोकारवाला जागरुक भैरहनुपर्ने स्थानीय विकास अधिकारी शर्माले सुझाव दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयमा मासिक ३५ देखि ४० सुत्केरी हुने गरेको जानकारी दिदै डाक्टर युधिष्ठर खड्काले प्रसुति गृह निर्माण भएपछि सुत्केरीले सहज तरिकाले बच्चा पाउने बताउनुभयो । आवश्यक सामग्रीको अभावमा अहिलेसम्म अस्पतालमा भएका सुत्केरीहरुले निकै कठिन तरिकाले बच्चा जन्माउने गरेको डाक्टर खड्काले बताउनुभयो । सो अवसरमा जिल्लास्थित राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जिल्लामै प्रसुति गृह स्थापना भएकोमा खुसी व्यक्त गर्दै आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘श्रमजीवी पत्रकार दोहोरो असुरक्षामा’

-[नारायण भण्डारी/तुलसीपुर]

क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणि दुःखीले श्रमजीवी पत्रकारहरुले दोहोरो असुरक्षाका बीच आˆनो भूमिका निर्वाह गर्नुपरेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङ पश्चिम क्षेत्रीय समितिको शनिबार तुलसीपुरमा सम्पन्न भेलामा बोल्दै उहाले श्रमजीवी पत्रकारहरुले आर्थिक र शारीरिकरुपमा आफूलाई सुरक्षित महसुस गर्ने अवस्था नरहेको बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका दुःखीले राज्यले पत्रकारलाई चौथो अंगका रुपमा स्वीकार गरेपनि त्यसअनुरुपको व्यवहार नगरेको भन्दै दुःख व्यक्त गर्नुभयो । क्रान्तिकारी पत्रकार संघ नेपाल दाङका अध्यक्ष हुमप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न भेलाले शान्तराज गौतमको अध्यक्षतामा ९ सदस्यीय क्रान्तिकारी पत्रकार संघ पश्चिम क्षेत्रीय समिति गठन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष दोर्ण केसी, सचिव घनश्याम बुढाथोकी, सह-सचिवमा प्रेम पुन र कोषाध्यक्ष दिपक कुमाल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा शरण घर्ती मगर, राकेश बस्नेत, सन्तोष बुढाथोकी र विष्णुप्रसाद देवकोटा रहनुभएको छ ।

क्रान्तिकारी पत्रकार संघ नेपाल दाङका सदस्य नारायण भण्डारीले सहजीकरण गर्नुभएको भेलाले श्रमजीवी पत्रकार ऐन बनेको लामो समय बितेपनि दाङका सञ्चार माध्यमले श्रमजीवी पत्रकार ऐन लागु नगरेकाले तत्काल श्रमजीवी पत्रकार ऐन लागू गर्न जिल्लाका सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।

त्यसैगरी भेलाले सरकारको आर्थिक बर्ष ०६८/६९ को बजेटमा ल्याएको श्रमजीवी पत्रकारको जीवन विमा कार्यक्रमको स्वागत गर्दै तत्काल लागू गर्न अनुरोध गरेको छ । भेलाले रुकुमको पूर्तिमकाडा लगायत देशभर प्राकृतिक प्रकोपमा परि ज्यान गुमाएका र धन-जनको क्षति व्यहोरेका परिवारप्रति सहानुभूति प्रकट गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।क्रान्तिकारी पत्रकार संघ नेपाल दाङका उपाध्यक्ष गणेश वलीको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा एकीकृत नेकपा (माओवादी) थारुवान राज्यसमिति सदस्य शीतल, क्रान्तिकारी पत्रकार संघ दाङका कोषाध्यक्ष कुन्ता भण्डारीलगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

घाइते जनसेनाहरु बङ्गुर पालन व्यवसाय गर्दै

-[जनक नेपाली/संक्राम]

दाङको संक्रामस्थित दीर्घ स्मृति बिग्रेडको घाइते शिविरमा रहेका घाइते जनसेनाहरुले बङ्गुर पालन व्यवसाय थालनी गरेका छन् । शिविरमा बसेको खाली समयलाई सदुपयोग गरी उनीहरुले बङ्गुर पालन व्यवसाय गरेका हुन् ।सरकारले दिएको मासिक भत्ताले परिवारको भरण पोषण गर्न गाह्रो भएको र आफूहरु घाइते भएपछि अन्य काम गरी जिविका चलाउन गाह्रो भएपछि घाइते साथीहरु र परिवारका सदस्यहरु मिलेर बङ्गुर पालन गर्न थालेको रुकुम हुकाम-९ का घाइते जनसेना सूर्य रोकाले बताउनु भयो ।

परिवारको भरण पोषण र छोराछारीको पढाई खर्च जुटाउन बङ्गुर पालन व्यवसायले केही सहयोग गरिरहेको उहाँको भनाई छ । ४ जनाको परिवार पाल्न र छोराछोरीलाई पढाउन धौ-धौ भएकाले तीन हजारको लगानीमा बङ्गुरपालन व्यवसाय शुरु गरेको रोकाले बताउनुभयो । आफ्नो परिवार पालनपोषण गर्नका लागि रोकाकी श्रीमती हिरा रोकाले पनि सिलाई कटाई व्यवसाय गर्नुभएको छ । फुर्सदको समयमा कपडा सिलाउने र बङ्गुरपालन व्यवसाय गर्दै आएको हिराले बताउनुभयो । कपडा सिलाएर आफूले दैनिक २ सय रुपैयाँ आम्दानी गरिरहेको उहाँले बताउनुभयो । सिलाई कटाई र बङ्गुर पालनबाट भएको आम्दानीले श्रीमानको उपचार खर्च जुटाउन लागिपरेको उहाँले बताउनुभयो । श्रीमानको मासिक ४ हजार तलब आउने गरे पनि त्यसले खाना खर्च जुटाउनै गाह्रो पर्ने भएकाले सकिनसकि अरु व्यवसाय गर्न बाध्य भएको उहाँको भनाई छ ।

श्रीमान् घाइते भएको १० वर्ष भएपनि उपचार हुन नसकेकोले आफूहरु निकै समस्या रहेको र श्रीमानलाई शौचालय लिनेदेखि नुहाउनेसम्म आफैले गराउनुपर्ने बाध्यता रहेको उहााले बताउनुभयो । २०५९ भदौमा अर्घाखाँचीको सन्दिखर्कमा भएको दोहोरो भिडण्तमा घाइते भएका सूर्यको टाउकोमा अझै पनि गोली रहेको छ । टाउकोमा गोली रहेकाले हात खुट्टा लाग्न छोडेको र मानसिक सन्तुलन पनि गुम्न थालेको सूर्यकी श्रीमती हिराले दुखेसो सुनाउनुभयो ।घाइते भएको १० वर्ष भइसक्दा पनि सरकारले औषधी उपचारमा चासो नदेखाएकाले आफूहरु मर्माहत भएको घाइते सूर्य रोकाले बताउनुभयो । सरकारले घाइतेहरुका लागि रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने र छोराछोरीलाई उच्च शिक्षासम्म पढाउनुपर्ने घाइतेहरुको माग छ ।

बलात्कारीदेखि मतियारसम्म जेलमा

-[गोविन्द खड्का/दाङ]

युवतीलाई अपहरण गरी जबर्जस्ती करणी गर्नेसहित मतियारलाई समेत दोषी ठहर गर्दै जिल्ला अदालत दाङले जेल चलान गरेको छ । गत वर्ष असार १५ गते तुलसीपुरको एक होटेलमा बास बसेकी किशोरीलाई अपहरण गरी बलात्कार गर्नेहरुलाई अदालतले फैसला गरी जेल चलान गरेको हो ।

तुलसीपुरको न्यू राप्ती गेष्ट हाउसमा बास बसेकी रुकुमकी एक  किशोरीलाई राती ११ बजे अपहरणपछि पातुखोलाको बगरमा लगेर बलात्कार गर्ने बुद्धि केसी, सुनिल ओली, यादव टण्डन खत्री र सुरेश केसीलाई १० वर्ष कैद र ५० हजार रुपैयाका दरले जरिवानासहित अदालतले फैसला गरेको छ । त्यसैगरी अहिलेसम्म पक्राउ गर्न नसकिएका नबीन बस्नेत, चन्द्र विएम र राजीव कोइरालालाई अपहरणतर्फको मुद्दामा ४ वर्ष कैदको फैसला गरेको छ । अदालतका श्रेष्तेदार शाखा अधिकृत खिमबहादुर कार्कीका अनुसार जबर्जस्ती करणीको मुद्दालाई मुल्तवीमा राखिएको छ । उनीहरु अदालतमा आई हाजिर भएर बयान दिनुपर्नेछ र त्यसका आधारमा फैसला गरिनेछ । त्यसका लागि उनीहरुको अंश जायजेथा अदालतले रोक्का गरिदिनेछ ।

घटनामा सहभागी भएका तर पीडितलाई सहयोग नगरेकामा कृष्ण सागर ओली, मिनकेतन गिरी र सचिन योगीलाई मतियार भन्दै २/२ वर्ष जेल सजाय तोकेको छ । तर, पीडित किशोरीले भने उनीहरु पनि बराबर अपराध गरेकाले समान सजाय हुनुपर्ने प्रतिकृया दिएकी छिन् ।किशोरी बलात्कारको घटनापछि पीडितको पक्षबाट दिपिका पुनको अध्यक्षतामा पीडित संघर्ष समिति गठन गरी आन्दोलन गरिएको थियो । आन्दोलनलाई रुकुमेली सेवा समाज, महिला मानव अधिकारहरुको रक्षक सञ्जाल, ओरेक, डिम्याक, हरप्लेस लगायतका संघसंस्थाले साथ दिएका थिए भने दोषीलाई कानुनी कठघरामा ल्याउन भन्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाइएको थियो । पीडितहरुले सर्वोच्च अदालतमा समेत लिखित गुनासो पुर्‍याएका थिए । गत फाल्गुनदेखि पेसी शुरु गरेको अदालतले झण्डै सात पटकसम्म पेसी सारेर गत आइतबार फैसला सुनाएको हो । जेष्ठ १९ मा न्यायधिशको अनुपस्थितिका कारण एक साताका लागि सरेको पेसीका क्रममा मुद्दा फैसला भएको हो ।

झण्डै चार घण्टा लगाएर चलेको बहसमा पीडितका पक्षमा सरकारी वकिल न्यायधिवक्ता धु्रवमणि ज्ञवाली, अधिवक्ताहरु पदम वैद्विक, मदन पोख्रेल र अनिरुद्र गिरीले बहस गरेका थिए भने विपक्षमा अधिवक्ता रेवतीरमण भट्टराई, प्रवीण लम्साल र विष्णु धितालले बहस गरेका थिए । जिल्ला अदालतका न्यायधिस मोहमद जुनैद आजादको इजलासले सो फैसला गरेको थियो ।

जनसेनाद्वारा वृक्षारोपण

रोल्पा/जनमुक्ति सेना नेपालको पाचौँ डिभिजन मातहतको रोल्पा उँघास्थित मंगलसेन स्मृति बि्रगेडले व्यारेकको कम्पाउण्ड तथा कम्पाउण्ड बाहिर १ हजार विभिन्न बोटविरुवाहरु वृक्षारोपण गरेको छ । वि्रगेडले गत साता सल्ला, मालागेडी, पैयूँ र रिठ्ठाका गरी १ हजार बोटविरुवा कम्पाउण्डभित्र तथा आसपासका क्षेत्रमा रोपेको हो ।

वि्रगेडले रोल्पाको जसपुर जुकेपानी नर्सरीबाट ३५ सय रुपैयाँ बराबरका सल्लाका २ सय वटा, पैयूँका २ सय, मालागेडी र रिठ्ठाका ५०/५० वटा बेर्ना खरिद गरी कम्पाउण्ड र आसपासको क्षेत्रमा रोपेको वि्रगेड सह-कमाण्डर रायनले जानकारी दिनुभयो । त्यसैगरी सैवाङ सामुदायिक वनले सहयोगस्वरुप दिएका ५ सयवटा सल्लाका बेर्ना पनि रोपिएको उहाले बताउनुभयो । बि्रगेड सह-कमाण्डर रायनले विरुवा रोपी उद्घाटन गर्नुभएको वृक्षारोपण कार्यक्रममा सबै बटालियनका जनसेनाहरु सहभागी भएको वि्रगेड कार्यालयका दीपले जानकारी दिनुभएको थियो ।

चार जोडी जनसेनाको जनवादी विवाह

-[नवीन लोचन मगर/(दहवन) रोल्पा]

जनमुक्ति सेनाको पाचौँ डिभिजन मुख्यालय दहवनमा गतसाता जनवादी विवाह सम्पन्न भएको छ । बाजागाजा र सैनिक व्याण्डसहित जनसेनाका ४ जोडीले जनवादी विवाह गरेका हुन् । विवाहित जोडीहरुले दिप प्रज्वलनका साथै एक-अर्कालाई अविर माला लगाएर वैवाहिक सम्बन्धमा गाँसिएका थिए ।

विवाह कार्यक्रममा रुकुम रुँघा-४ घर भई दहवन सुरक्षा विभागमा कार्यरत प्लाटुन कमाण्डर नारायण बुढाथोकी ‘शम्भु’ र रोल्पा कुरेली घर भई दीर्घ स्मृति बि्रगेड दाङमा कार्यरत प्लाटुन सह-कमाण्डर प्रेमसरि बुढामगर ‘जुनतारा’, रोल्पा जेलवाङ घर भई सुनिल स्मृति बि्रगेडमा कार्यरत कम्पनी कमाण्डर जीतबहादुर पुनमगर ‘प्रतिरोध’ र रोल्पा जेलवाङ घर भई चौथो डिभिजन सलिम-मण्डल-निशान स्मृति बि्रगेड नवलपरासीमा कार्यरत प्लाटुन सह-कमाण्डर जानी रोकामगर ‘भूमिका’को जनवादी विवाह भएको थियो ।

त्यसैगरी जैमाकसला रोल्पा घर भई ज्वार स्मृति बि्रगेड तिलामा कार्यरत प्लाटुन सह-कमाण्डर खिमराज पुनमगर ‘इतिहास’ र जेलवाङ घर भई पाचौँ डिभिजन मुख्यालय दहवनमा कार्यरत सेक्सन कमाण्डर संगीता रोकामगर ‘संगीता’, जेलवाङ रोल्पा घर भई पाचौँ डिभिजन मुख्यालयमा कार्यरत प्लाटुन सह-कमाण्डर इन्द्र रोकामगर ‘इन्द्र’ र कोटगाउ रोल्पा घर भई पाचौँ डिभिजन मुख्यालय दहवनमा कार्यरत पाचौँ डिभिजनका महिला खेलाडी एवं सेक्सन कमाण्डर विमला जिसी ‘रचना’ बीच विवाह भएको थियो । पाचौँ डिभिजनका सह-कमाण्डर अविनाशको अध्यक्षता एवम् डिभिजन सह-कमाण्डर मदनको सञ्चालनमा शुरु भएको कार्यक्रममा एकीकृत माओवादीका केन्द्रीय सदस्य सिजल, दोस्रो डिजिभन सिन्धुली दुधौलीका कमाण्डर शरद, छैठौँ डिभिजन सुर्खेतका सह-कमाण्डर विवेक, सञ्जीवकुमारलगायतले नव जोडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

दाङका ४ स्थानमा नमुना कृषि बगैँचा स्थापना गरिदै

दाङ/जिल्ला कृषि विकास कार्यालय दाङले जिल्लाका विभिन्न गाविसका ४ स्थानमा नमूना कृषि बगैँचा स्थापनाका लागि ४ हजार विभिन्न फलफूलका विरुवा वितरण गरेको छ । यसरी वितरण गरेका विरुवाहरुमा आाप, लिची, अम्बालगायतका विरुवा वितरण गरेको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार रौतहट, सर्लाही, नेपालगञ्जलगायत स्थानबाट ल्याई कृषि सेवा केन्द्र लमही, कृषि सेवा केन्द्र तुलसीपुर र विभिन्न सहकारी मार्फत् वितरण गरिएको जनाएको छ ।

दाङको हापुर गाविस वडा नं. १ सिस्नेरीनिवासी वेदकुमारी रोकाले ३ सय ५६, लक्ष्मीपुर गाविस वडा नं. ७ मा रहेको सहकारी महिला समूहले १ सय १५, लक्ष्मीपुर ४ गोग्लीमा रहेको साना किसान सहकारी संस्थाले १ सय १५ र नारायणपुरमा रहेका स्थानीय कृषकहरुले १ सय १५ विरुवा लगि नमुना कृषि बगैँचा स्थापना गर्न लागेको जिल्ला कृषि विकास कार्यालय दाङका मुकुन्द देवकोटाले जानकारी दिनुभयो । देवकोटाका अनुसार अहिले बजारमा रहेका विभिन्न एग्रोभेट सेन्टरभन्दा सस्तो मूल्यमा विरुवा खरिद गरी वितरण गरेको जानकारी दिनुभयो । वितरण गरेका आापका जातहरुमा दशहरी, आम्रपाली, कटहरलगायतका विरुवा वितरण गरेको बताउनु भयो । यसका साथै छिमेकी जिल्ला रोल्पाको होलेरी, मसिना, सैवाङलगायतका स्थानमा वितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयले ती विरुवा ३० रुपैयाँदेखि ६० रुपैयाँसम्मको मुल्यमा वितरण गरेको कार्यालयका देवकोटाले जानकारी दिनुभयो ।

खुत्रुकेको पैसा असहाय बालकलाई

दोर्ण केसी, तुलसीपुर/जोखिममा परेका बालबालिकाको लागि शैक्षिक खुत्रुके अभियान दाङले यस वर्षदेखि एक जना असहाय बालकलाई पढाउने भएको छ । एक रुपैयााबाट आर्थिक संकलन शुरु गरेको अभियानका संयोजक देविराम कुसारीले बावुको मुत्यु र आमा अर्कैसँग बिहे गरी गएको हुँदा कोही पनि संरक्षक नभएका तुलसीपुर पातुखालास्थित ज्ञानज्योती प्राविमा कक्षा ४ मा अध्ययनरत बालक विकास नेपालीलाई पढाईमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

रिपोट्र्स क्लव नेपाल दाङको आयोजनामा शनिबार तुलसीपुरमा जोखिममा परेका बालबालिकाका लागि शैक्षिक खुत्रुके अभियान, यसको प्रभाव र भावी योजनाविषयक अन्तक्रिर्या कार्यक्रममा अभियानका केन्द्रीय संयोजक कुसारीले अभियानबाट हालसम्म १४ हजार ४ सय रुपैया आर्थिक संकलन भएको जानकारी दिनुभयोे । रिपोट्र्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा खुत्रुके अभियानका केन्द्रीय संयोजक कुसारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अभियानले द्वन्द्वपीडित, गरिब तथा असहाय बालबालिकाहरुलाई शिक्षा आर्जनका लागि सहयोग गरेकामा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका मध्यपश्चिम संयोजक नवराज लामिछानेले एक वर्षको दैनिक एकका दरले ३ सय ६५ रुपैया अभियानलाई सहयोग गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा फोडिएको रेडियो तुलसीपुरको खुत्रुकेमा ५ सय ६२ र गणतन्त्र दैनिकको शाखा कार्यालयको खुत्रुकेको ३६ रुपैया गरी शनिबारमात्रै एक रुपैयाबाट ९ सय ६३ रुपैया संकलन भएको छ । जम्मा भएको रकमलाई अभियानको सिद्धार्थ बिकास बैकको तुलसीपुर शाखामा रहेको ०१४१५०१५६५१ नम्बरको खातामा जम्मा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *