व्यवस्थापिका संसदमा बजेटबारे छलफल

  
  प्रकाशित मितिः सोमवार, साउन २, २०६८       | 121 Views   ||

काठमाडौँ/सरकारले आर्थिक वर्ष २०६८/०६९ का लागि प्रस्तुत गरेको बजेटको आय-व्ययमाथि शनिबार व्यवस्थापिका संसद्मा बृहत छलफल गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०६८/०६९ को कूल ३ खर्ब ८४ अर्ब ९० करोड बजेटमाथि शनिबार व्यवस्थापिका संसद्मा बोल्दै सभासद्हरुले थुप्रै प्रष्टिकरण माग गरेका थिए । दिनभरजसो चलेको व्यवस्थापिका संसद्को बैठकमा सभासद्हरुले विभिन्न विषयमा प्रष्टिकरण मागेपछि अर्थमन्त्री भरतमोहन अधिकारीले शनिबार साँझ प्रष्टिकरण दिनुभएको थियो ।

अर्थमन्त्री अधिकारीले बजेटमा उठेका टिप्पणीको प्रष्टिकरण दिदै उत्पादन तथा उत्पादकत्व बढाउन, अर्थतन्त्रमा सुधार ल्याउन, लगानी बढाउन, सामाजिक न्याय कायम गर्न राज्य, उत्पादनमूलक सहकारी र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न आयकरलाई स्थायित्व दिइएको, पुजी बजारमा नेपाली मूलका विदेशीलाई खुला गरिएको, आर्थिक उन्नतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिएको, राष्ट्रिय हितका लागि ऊर्जा विकास तथा पर्यटन विकासमा विदेशी पुजी भित्र्याउन पहल गरिएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

छलफलमा एकीकृत नेकपा (माओवादी)का देव गुरुङले बजेट सकारात्मक रहेको बताउदै मुलुकको संक्रमणकालीन अर्थतन्त्रलाई सुधार गर्न बजेट सहयोगी हुने बताउनुभयो । बजेटले प्राथमिकता नतोकेको, शान्ति प्रक्रियाको जिम्मेवारी पूरा गर्न द्वन्द्वपीडितलाई दिनुपर्ने राहतका बारेमा उल्लेख नभएको, महङ्गी नियन्त्रण गर्न कुनै योजना नरहेको, राजश्व अनुमानको लक्ष्य पूरा हुन नसक्ने देखिएको माओवादी नेता गुरुङको भनाइ थियो । उहाँले बजेटले वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्ने, दुर्गम क्षेत्रमा विनियोजन गरिएको बजेट कार्यान्वयन हुनुपर्ने, योजनाहरुको प्रभावकारी अनुगमन र मूल्याङ्कन हुनुपर्ने, विगतमा भएका जलविद्युत परियोजनाको सम्झौताको परिमार्जन गर्नुपर्ने, मुलुक सङ्घीयतामा जान लागेको सन्दर्भमा नया ४१ वटा नगरपालिका घोषणा गर्ने कुरा विचारणीय रहेको र शिक्षा, स्वास्थ्यजस्ता सेवामुखी क्षेत्रमा राज्यले दायित्व लिनुपर्नेमा जोड दिनुभएको थियो ।

छलफलमा बोल्दै कांग्रेसका नेता रामशरण महतले बजेट राजनीतिक भाषणमुखीबाट मुक्त हुन नसकेको भन्दै उहाँले राजस्व घटेको तर, बजेटको आकार ठूलो भएकाले आन्तरिक ऋणमा भर पर्नुपर्ने अवस्था आएको छ भन्नुभयो । मध्यपहाडी, हुलाकी मार्ग र तराई जोड्ने द्रुतमार्गबाहेक अन्य आयोजना गफमात्र भएको बताउदै एक दर्जनजति जलाशययुक्त योजना अध्ययन गरिने भनिएपनि पर्याप्त बजेट नछुट्याइएकाले झुक्याउन खोजिएको आरोप लगाउनुभयो । एमाले नेता रवीन्द्र अधिकारीले बजेटले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गरेको, सामाजिक न्याय र सहकारीलाई जोड दिएको, ग्रामीण क्षेत्रको आय वृद्धिका लागि पुजी निर्माणमा जोड दिएको र पिछडिएका वर्ग जातिको उत्थानका लागि स्थान दिएको बताउनुभयो ।

छलफलमा फोरम लोकतान्त्रिकका तिलक रावल, फोरम गणतान्त्रिकका आत्मरामप्रसाद शाह, फोरम नेपालका जयराम यादव, तमलोपाका ब्रजेशकुमार गुप्ता, तमलोपा नेपालका अरविन्द शाह, सद्भावनाका लक्ष्मणलाल कर्ण, राप्रपाका प्रतिभा राणा, नेकपा मालेका सीपी मैनाली, नेकपा संयुक्तका चन्द्रदेव जोशी, राजमोका रश्मिराज नेपाली, राजपाका प्रकाशचन्द्र लोहनी, जनमुक्तिका मालवरसिंह थापा, नेमकिपाका सुनिल प्रजापति, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानलगायतले बजेटका विषयमा बोल्नुभएको थियो । शनिबार बिहानदेखि शुरु भएको बजेटमाथिको छलफलमा सभामुख सुवास नेम्बाङले दलीय आधारमा बोल्नका लागि सात घण्टाको समय निर्धारण गरेपछि छलफल शुरु भएको थियो ।

कुल विनियोजित बजेटमध्ये विकास कार्यक्रमका लागि २ खर्ब २ अर्ब ५६ करोड अर्थात् ५२.६२ प्रतिशत रकम छुट्याइएको बजेटमा साधारणतर्फ १ खर्ब ८२ अर्ब ३४ करोड अर्थात ४७.३८ प्रतिशत रकम विनियोजित गरिएको छ । अनुपातमा हेर्दा विकास बजेटको तुलनामा साधारण खर्चतर्फको रकम बढी देखिएको अर्थविद्वहरुले टिप्पणी गरेका छन् । बजेटमा अघिल्लो बर्षजस्तै शिक्षा, यातायात, कृषि, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । बजेटमा सबैभन्दा धेरै खर्च शिक्षा क्षेत्रमा ६३ अर्ब ९१ करोड छुट्याइएको छ । गतबर्षको तुलनामा यो झण्डै ७ अर्बले बढी मानिन्छ । अर्थमन्त्री अधिकारीले शुक्रबार व्यवस्थापिका संसद्मा पेश गर्नुभएको बजेट अघिल्लो बर्षको भन्दा झण्डै ५० अर्बले बढी छ ।

राप्तीमा थपिए २ नगरपालिका

दाङ/आर्थिक वर्ष २०६८/०६९ को बजेटमार्फत् सरकारले सल्यान सदरमुकाम र प्यूठान सदरमुकामसहित देशभरका ४१ वटा सहरोन्मुख क्षेत्रलाई नगरपालिका घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी ती क्षेत्रलाई नगरपालिका घोषणा गरिएको हो ।

त्यस्तै, सरकारले घोराही नगरपालिकालाई आधुनिक सहरको रुपमा विकसित गर्न चक्रपथ निर्माण गर्ने, घोराही नगरलाई हरित नगरको रुपमा विकास गर्ने, तुलसीपुरस्थित विमानस्थलको स्तरोन्नति गर्ने, राप्ती क्षेत्रका सडकहरुको कालोपत्रे, स्तरोन्नति गर्ने, जलजला, सिस्ने, पुपाललगायतका राप्तीका माथिल्ला क्षेत्रहरुको पर्यटकीय सम्भाव्यता अध्ययन गर्नेलगायतका विशेष कार्यक्रमहरु बजेटमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *