पानी र स्वास्थ्य

  
  प्रकाशित मितिः सोमवार, साउन ९, २०६८       | 349 Views   ||

-[डा. विक्रम ज्ञवाली]

दुई मात्रा अक्सिजन र एक मात्रा हाइड्रोजनको मिश्रण नै पानी हो । मानव जीवन रक्षाको निम्ति पानीको भूमिका धेरै नै महत्वपूर्ण छ भन्नेमा सायद दुईमत नहोला ।

१. घरायसी प्रयोगमा पिउन, खाना पकाउन, भाँडावर्तन धुन, चर्पी सफा गर्नका साथै बोटविरुवामा हाल्न पानी चाहिन्छ ।
२. आम समुदायको लागि बाटो सफा गर्न, दमकलमा प्रयोग गर्न, स्वीमिङ पुल र फोहारा आदिको लागि ।
३. ठूला कल कारखानाहरुमा पानी अत्यधिक मात्रामा चाहिन्छ ।
४. नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्रमा बालीनाली उब्जाउन पानी चाहिन्छ ।
५. हाइड्रोपावर साथै स्टिमपावरबाट बिजुली बत्ती निकाल्न साथै घर निर्माण, ठूला कलकारखाना निर्माण गर्न पानीको अति नै आवश्यक पर्छ ।

खानेपानी : मानिसको शरीरमा बाहिरी वातावरण जस्तै- पानी, हावा, आहार, विहार, राम्रो सरसफाई र आन्तरिक वातावरणबीच अन्तरक्रियाको तालमेलमा कुनै प्रकारको व्यवधान उत्पन्न भएमा रोग लाग्दछ । मानिसको स्वास्थ्यमा असर गर्ने तत्वहरु जस्तैः जैविक तत्व, हानिकारक रासायनिक तत्व, पिउन अयोग्य स्वाद भएका पानीहरु हुन् । पानीका विभिन्न स्रोतहरु हुन्छन् जस्तै- वर्षाको पानी, जमीनबाट निकालिएको पानी, त्यसमा पनि समतलमा नल्कीको, तराईमा इनारको र पहाडमा कुवाको पानी । त्यस्तै सतहमा पाइने पानीमा जम्मा गरेर राखेको पानी, पोखरीको पानी साथै नदी र तलाउ आदि स्रोतहरु हुन् ।

पानीको प्रदुषण : प्रदुषणरहित पानी हामीलाई प्रकृतिले दिन सकेको छैन । यसलाई प्रदुषणरहित बनाउने काम हामी मानवकै हो । प्राकृतिकरुपमा भेटिएका पानीमा विशेष गरी नाइट्रोजन, कार्बनडाइअक्साइड, हाइड्रोजन सल्फाइडजस्ता रसायनहरु वर्षाको बेलामा माटोमा मिसिन पुग्छन् । तर, यी रसायनहरु बढी खतरनाक भने हुँदैनन् । उचित ढल निकास नहुनु, फोहोर फ्याँक्ने ठाउँको अभाव, बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास, बढ्दो ठूला कलखारखाना आदिको कारणले पानीका स्रोतहरुमा फोहोरमैला मिसिन गई पानी प्रदुषण हुन जान्छ । औद्योगिक क्षेत्रबाट निस्किने फोहोर तथा रसायनिक पदार्थहरुको कारणले र कृषिमा प्रयोग भएका किटनासक विषादी, मल आदिबाट निस्कने जैविक तथा रसायनिक तत्वको कारणले स्वास्थ्यमा प्रतिकूल पर्न जान्छ । मानिसको स्वास्थ्यमा पानीको प्रदुषणले प्रत्यक्ष र खानाबाट अथवा अरु कृयाकलापहरु नुहाउँदा, भाँडा माझ्दा विभिन्न रोगहरु लाग्न सक्दछ ।

पानीमा जैविक तत्वहरुबाट लाग्ने रोगहरु :
१. भाइरस जिवाणुको संक्रमणले हेपाटाइटिस ए, हेपाटाइटिस बी र पोलियो रोल भाइरसले बच्चामा झाडापखाला लगाउँछ ।
२. व्याक्टोरियाबाट हुने रोगमा टाइफाइड, पाराटाइफाइड, ज्वरो, झाडापखाला, हैजा आदि ।
३. प्रोटोजोवल एमोवियासिस, नियार्डियासिस जस्ता Churna हरु बनाउँछ । जस्तै : पेट दुख्ने, पखाला लगाउने गर्दछ ।
४. हेवमिन्थिक भन्नाले विभिन्न किसिमका जुकाहरु : नाम्ले जुका, अंकुसे जुका आदि ।

रसायनिक कारणबाट हुने प्रतिकूल असरहरु :
१. दन्तरोग : पानीमा फ्लुराइड १ लिटरमा १ मिलिग्रामभन्दा बढी भएको खण्डमा दाँतको इनामेल बिस्तारै नष्ट हुँदै जान्छ ।
२. बच्चाहरुमा रक्तअल्पता : बढी मात्रामा नाइटेट्र मिसिएको पानी भएमा मेथाहेमोग्लो बिल्ने क्रिया हुन्छ, यो अत्यन्त न्यून छ तर खेतको पानीमा बढी देखिने हुन्छ ।
३. मुटुरोग : पानीको कडापनाले गर्दा मुटुमा समस्या देखा पर्न सक्छ । जस्तै- लुगा धुने बेला साबुनमा फिज नआउने तथा साबुन धेरै लाग्ने कुराले कडापन निर्धारण गर्न सकिन्छ । क्याल्सियम र म्याग्नेसियमको मिश्रणले पानीमा कडापन आउँछ ।
४. केही रोगहरु पानीको प्रयोग कम हुन गएमा ट्राकोमा, आँखा रातो हुने, लुतो आदि हुन्छ । यी विभिन्न रोगहरुबाट बच्नको निम्ति पानीको शुद्धिकरण हुन जरुरी हुन्छ । शुद्धिकरण भन्नाले पानीलाई जिवाणुरहित र हानीकारक रसायनरहित पिउनका लागि उपयुक्त विधि हो । पानीको शुद्धिकरण दुई तरिकाबाट हुन्छ ।
१. सानो परिमाणमा शुद्धिकरण गर्ने तरिका  उमालेर : पानीलाई ५-१० मिनेटसम्म उम्लिरहन दिएमा त्यसमा भएका किटाणु र जिवाणुहरु मर्नुका साथै रसायनहरु थेगि्रन्छन् । रसायनिक प्रक्रिया ब्लिचिङ पाउडर : क्लोरिन घोल, High test typochloride, क्लोरिन ट्याब्लेट, आयोडिन । पानी छानेर : विभिन्न किसिमका फिल्टरहरु प्रयोगमा आएका छन् । तिनको प्रयोग गरेमा पानी शुद्धिकरण हुन्छ ।
२. बृहत शुद्धिकरण : यस विधिद्वारा शहर तथा गाउँहरुमा पानीको वितरण हुने जस्तै- कुवा, मुहान, इनार आदिको प्रयोग गरिन्छ । पिउन योग्य पानीको शुद्धिकरण गरी निम्न गुणहरुयुक्त बनाउनु पर्दछ । विश्व स्वास्थ्य संघकाअनुसार जैविक तत्वविहीन, हानिकारक तत्वविहीन, स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका पदार्थविहीन, रेडियो विकिरणको प्रभावरहित र उपभोक्ताले ग्रहण गर्न योग्य ।  तसर्थ पानी नै मानव प्राणको मुख्य आधार हो भन्ने यथार्थलाई स्वीकार्दै यसको व्यवस्थापन र महत्वलाई बुझ्नु आजको आवश्यकता हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *