-[गणेश शाह]
डाक्टर र वैद्यका प्रचण्ड दृष्टिमा
किन अचेल धूलो परेजस्तो छ
संगठन र अनुशासनको नानीमा
कतै फुलो परेजस्तो छ
देख्दैनौ कि स्याउला र काँडाका अवस्था अचेल
जसले ती दिनहरूमा आफ्ना हाङ्गा भाँचेर
तिमीलाई फल ख्वाएका थियौँ
स्याउला बनेर आफ्ना छातीमा सुताएका थियौँ
घोचेनौँ हामी ठोसाहरू, बिझेनौँ हामी काँडाहरू
किनकि हामीलाई लाग्थ्यो
यिनी नै हुन् हाम्रो परिवर्तनका भगवान
हाम्रा भाग्यविधाता ।
बिर्सिएछौ क्यार त्यसबेला गरेका वाचा
ती झाडीहरूका माया
जसले सँगै ढलेका साथीको लास लुकाउन सघाएका थियौँ
बुझ्दैनौ ती डाँडा र खोलाका स्याँठ र सिरेटो अचेल ?
जसले पवित्र आशा र विश्वासको दम भरेर
अप्ठ्यारा गल्छीहरूमा कुदाएका थियौँ
खै हामी त सधैँका स्याउला कुहेर माटोमा मिल्ने
तिमीलाई अझै उँचो बनाउन जरामा उकेरा बनिरहने छौँ ।
सुनिन्छ-हिजो आज
तिमी त बदलिएका छौ रे
सत्ता र भत्ताको मादलेहिजोका सबै कुरा बिर्सिएका छौ रे
अचेल त तिमी आपसमा जुझ्छौ रे
फुट्ने र सक्किनेतिर पो जोडतोडले कुद्छौ रे
सुनेर साह्रै पीर लाग्यो/मनमनै घृणा जाग्यो
तैपनि धैर्य गरेका छौँ
हामीलाई अर्को हसियाले नफाँडोस
हामीले अर्को बिरुवा रोप्न नपरोस ।
०६८ साउन, दाङ
यही हो नेपाली जनताको अपेक्षा ?
-[अपराजय]
नवीन समाज सृजना गर्न
सर्वहारा वर्गको मुक्ति गर्न
हजारौँ सहिद भए
अमूल्य जीवनको आहुति दिए
लालाबालाको थेग्दै रोदन
आमा र बाबाको आग्रह सुन्दै नसुनी
क्रान्तिको मोर्चामा लामबद्ध हुँदै
अटल आस्थापुञ्जहरु फैलाउँदै
उत्सर्गका गीत गाउँदै
पहाडी झुप्राहरुमा अँध्यारो चाल्दै
पलपल लालटिन बाल्नेहरु
अजम्मरी मृत्युवरण गरेका छन
जसको बलिदानीलाई बिर्सन खोज्दैछन् यहाँ ।
महान क्रान्तिका उपलब्धिलाई
एक हुल बाँदरहरुले
प्रतिक्रान्तिको संगीन रोप्दैछन
के यही हो आजको आवश्यकता ?
के यही हो नेपाली जनताको अपेक्षा ?
यो त केवल पथभ्रष्ट मनका कलुषित विचारहरु
सम्प्रेषण भइरहेछ किन यहाँ ?
शहीद परिवारमा विखण्डन गराउन
घाइते आत्माहरुलाई नुनचुक हाल्न
अपाङ्ग योद्धाहरुलाई दिग्भ्रमित पार्न
गुट र फुटको गुलिया नारा लिएर
जडसुत्रवादी विचारको चारो खाएर
बुर्कुसी मार्ने पण्डितहरु खबरदार ।
०६८ साउन, रोल्पा