पशुपालनमा घाँस खेतीको महत्व

  
  प्रकाशित मितिः सोमवार, साउन १६, २०६८       | 179 Views   ||

-[केबिसेन बस्नेत]

सबै किसिमका पशुहरुलाई आहाराको जरुरत पर्दछ । त्यसमा पनि पेट भर्ने र जीवन निर्वाह गर्ने किसिमका आहाराहरु मात्र नभई पौष्टिक दृष्टिकोणले भरिपूर्ण भएका पौष्टिक घाँसहरु पशुहरुलाई दैनिक आहाराको रुपमा खुवाउन सकेमात्र पशुपालन व्यवसाय सफल बनाउन सकिन्छ ।

परम्परागत पशुपालनलाई हेर्ने हो भने संख्यात्मक पशु पाल्ने तर उत्पादन र गुणात्मक क्षमता अति नै कम भएका पशु बथानहरुका रुपमा हामी पाउँछौँ । त्यस्ता उत्पादन क्षमता कम भएका पशुहरुलाई पर्ति ऐलानी जग्गा, खोलाको बगर, गौचरण, वनजंगल आदि स्थानमा चराएर जीवन निर्वाह गराएको पाइन्छ । तर, अब साँच्चै नै कृषि पेशाको पशुपालन पेशालाई राष्ट्रको मेरुदण्डको रुपमा उभ्याउने हो भने व्यवसायिक पशुपालनलाई कृषकसमक्ष पुर्‍याउनुपर्दछ । उत्पादन र नाफामुखी पशुपालनलाई पछ्याउनु कृषकहरुको अपरिहार्य आवश्यकता भइसकेको छ । किनकि अब अनुत्पादक पशु विस्थापन गरि धेरैभन्दा धेरै उत्पादनशील पशु स्थापित गर्न कृषकहरु अगाडि बढ्नुपर्ने देखिन्छ । पशुपालनलाई सहायक पेशा होइन मुख्य पेशा बनाउनुपर्दछ । राष्ट्रको नीति पनि यही हो ।

उन्नत पशुपालन गर्ने हो भने सर्वप्रथम घाँस खेतीमा जोड दिनुपर्दछ । दाङ जिल्लाको सन्दर्भलाई हेर्ने हो भने घाँस खेतीतर्फ पशुपालक कृषक/समूह/समिति निकै अगाडि बढेको पाइन्छ । तर, एक दुई जना अगुवा कृषक समूह/समिति भन्दा पनि सबै पशुपालक कृषकहरुको घाँस खेतीतर्फ चेतनाको वृद्धि विकासमा प्रचारप्रसारको कमी देखिन्छ । पर्ति जग्गा, खोला, बगर र गौचरणहरु मासिदै जानु, वनहरु सामुदायिकमा परिणत हुनुले पनि पशुपालन व्यवसाय संकटमा परेको एक कोणबाट देखिन्छ । यस्तो अवस्थामा पशुपालक कृषकहरु चनाखो भई पशुपालन व्यवसायमा आहाराको कमी हुन नदिन आफै जग्गामा समय सिजनअनुसारका घाँस खेती गर्नुपर्ने देखिन्छ ।

बषर्ातको समयमा गरिने घाँस खेतीमध्ये एक हो- स्याइलो घाँस । यो घाँस खेती नेपालको तराईदेखि मध्य पहाडसम्म सफलताका साथ गर्न सकिन्छ । यो घाँस पोसिलो र पशु आहाराको राम्रो स्रोत मानिन्छ । यसको खेती जेठदेखि असारसम्म गर्न सकिन्छ । यसको बीउ मसिनो भएको कारण धेरै फारो हुन्छ, प्रतिहेक्टर ५ केजी लाग्दछ । यो घाँस खेती गर्दा खेर गएको जमीन, कान्ला, पाखो बारी, सामुदायिक वन आदिमा लगाउन सकिन्छ । यो घाँस बहुवषर्ीय घाँस हो । एकपटक लगाएमा ३-४ वर्षसम्म लगाउनु पर्दैन । यसको लहरा हुने हुँदा जमीन पूरै ढाकेर आउँछ । करिब ३-४ फिटसम्म अग्लो हुनुका साथै झाँगिएर आउँछ । खनजोत पूरै गर्न नसकिने ठाउँमा प्याच-प्याच बनाएर खनी बीउ छर्न सकिन्छ र पूरै खाली भागमा भरिएर आउँछ । यसको बीउ सानो हुने हुँदा बीउलाई गहिरो गरि पुरिएमा उमि्रन सक्दैन । १-२ सेमी मात्र पुर्नुपर्दछ । यो घाँस छरेको करिब २ महिनामा काट्नलायक हुन्छ । स्याइलो घाँसमा पराल मिसाई खुवाउँदा पशुको पाचन प्रक्रिया सन्तुलन राख्नुका साथै उनीहरुले पौष्टिक पदार्थ पनि प्राप्त गर्दछन् ।

स्याइलो घाँसलाई सुकाएर राखेमा हे को रुपमा प्रयोग गर्न सकिन्छ । घाँसको अभाव भएको बेला स्याइलोबाट तयार गरिएको हे खुवाउँदा पशुहरुको उत्पादन, प्रजनन, वृद्धि विकासमा समेत मद्दत पुग्दछ । साथै जोत्ने, गाडा तान्ने पशुहरुका लागि शक्ति प्रदान गर्दछ । प्राकृतिक रुपमा उमि्रएका घाँसहरुको तुलनामा यस्ता उन्नत घाँसहरु अति नै पोसिला हुन्छन् । उन्नत घाँसहरुको बीउ जिल्ला पशु सेवा कार्यालयबाट कृषकहरुलाई उपलब्ध गराइन्छ । यस्ता उन्नत घाँसहरु खुवाई पशुहरुबाट बढीभन्दा बढी लाभ लिनसक्नु पशुपालक कृषकहरुको बुद्धिमानी हुन्छ ।
(लेखक जिल्ला पशु सेवा कार्यालय दाङका पशु स्वास्थ्य प्राविधिक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *