लमहीलाई सुन्दर, सफा र व्यवस्थित शहर बनाउने परिकल्पना गरेको छु

  
  प्रकाशित मितिः सोमवार, साउन १६, २०६८       | 133 Views   ||


 

-[माधवप्रसाद घिमिरे ‘संगम’, (अध्यक्ष) लमही नगर विकास समिति

तपाई लमही नगर विकास समितिको अध्यक्षमा नियुक्त भएको केही समय भएको छ । नगर विकासका लागि के कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?

नगर विकास समितिको तत्कालका योजनाहरुमा नगर विकासको कार्यक्षेत्रभित्र र प्लानिङ क्षेत्रभित्र पक्की नालाहरु, ग्रावेल, नयाँ बाटो निर्माण, पिच बसपार्क निर्माण र लमही बजारको बाइपास रोड र लामो समयमा प्रयास भएका राजमार्ग -लोकमार्ग) को २५/२५ मिटर दायाँ-बायाँको बाटो फराकिलो बनाउनुका साथै लमहीको मुटुमा एक सुविधासम्पन्न डिपार्टमेन्ट स्टोर -पार्कसहित) बधशाला, क्रिकेट मैदानजस्ता कामको शुरुवात हुँदैछ । साथै लमहीलाई व्यवस्थित गर्नका लागि जग्गा विकास कार्यक्रमजस्ता योजनाहरु लागू गर्नका लागि एक विशेष अध्ययन टिम निर्माण गरिएको छ ।

तपाईकै नेतृत्वमा लमही बजार वरपरको सडकलाई फराकिलो बनाउन थालिएको छ । लमही नगरलाई कस्तो बनाउने परिकल्पनासहित अघि बढिरहनुभएको छ ?

लमहीलाई एक सुन्दर, सफा र  व्यवस्थित शहरको परिकल्पना गरेको छु । जसमा लमही पूर्व-पश्चिम राजमार्ग भएको र जनतासँगको व्यापारलाई जोड्ने ठाउँ भएको हुँदा यस ठाउँलाई पूर्व बनगाउँसम्म पश्चिममा अर्जुनखोला र उत्तरमा राजमार्ग दक्षिणमा राप्तीसम्मको जग्गालाई एकीकरण जग्गा विकास कार्यक्रम गरी त्यसभित्र राम्रो, व्यवस्थित सहर निर्माण गर्ने र केही भागलाई औद्योगिक क्षेत्र विस्तार गर्ने राप्तीको भागलाई पर्यटनक्षेत्रको रुपमा विकास गर्नुका साथै राजमार्गको उत्तरी क्षेत्रको जंगल छ, त्यसलाई एक नमूना पार्कको रुपमा विकास गर्नु साथै हामीसँग राष्ट्रिय क्रिकेट ग्राउण्ड भएको हुँदा उत्तरमा एयरपोर्ट निर्माण गर्ने जस्ता कुराहरु मेरो परिकल्पनाभित्र परेका छन् । यसका साथै विभिन्न संघ, संस्थाका जग्गाहरुलाई नगर विकास समितिमा लिनको लागि आवश्यक प्रयास गर्दै यस क्षेत्रलाई नगरपालिका निर्माण गर्ने मेरो परिकल्पना रहेको छ ।

सडक किनारमा रहेका साना पसल र ढ्याप्लीहरुलाई हटाउनुभएको छ तर उनीहरुको जिविर्कोपार्जन गर्ने व्यवसायको बाटो त बन्द भयो नि ? उनीहरुलाई व्यवसाय गर्ने ठाउको विकल्प के दिनुभएको छ त ?

सडक किनारमा रहेका ढ्याब्ली वा साना पसलहरुलाई केही समयका लागि वञ्चित हुनुपरेको पक्का हो तर उनीहरुलाई व्यवस्थित साना व्यापारको लागि ४० लाखको स्टल निर्माण गरिदैछ । त्यसले उनीहरुको भविष्यमा राम्रो जिविकोपार्जन गर्न सघाउने अनुमान गर्न सकिन्छ ।  उनीहरुको आयआर्जनको बाटो बन्द भएको होइन तर केही निर्माणकालीन अवस्थाको सवालमा परेको असुविधाप्रति म र नगर विकास समिति क्षमा चाहन्छौँ ।

जिल्लाका अन्य नगर विकास समितिहरुभन्दा तपाई अध्यक्ष रहेको नगर विकास समिति व्यवस्थित र सम्पन्न मानिन्छ तर त्यहाको समग्र विकासका लागि नगर विकासको बजेट सदुपयोग हुने गरी राम्रो योजनासहितको काम विगतदेखि अघि बढ्न सकेको देखिदैन । नगर विकासलाई व्यवस्थित, सुन्दर र हराभरा बनाउन यहाको सोच के छ र सोही अनुसार नगरवासीहरुबाट कत्तिको सहयोग पाइरहनु भएको छ ?

अहिले हाम्रो नगर विकास  समिति हिजोको तुलनामा अलि कमजोर नै छ । तर, यो राजनैतिक नियुक्ति भएको हुँदा कतिपय दल, व्यक्तिकै अनौठा खालका विमति रहेकै कारण काम अगाडि बढ्न नसकेको हो, जस्तो मलाई लाग्छ । नगर विकासलाई हराभरा र सुन्दर बनाउनको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा मैले माथि नै उल्लेख गरेको छु । मैले लमही नगरबाट जनताको न्यानो स्याबासी पाएको अनुभूत हुन थालेको छ, बरु राजनैतिक तरलताको उपजले नै विकासमा समस्या पैदा गरेको छ ।

यसअघिको नगर विकास समितिले बनाउन शुरु गरेको क्रिकेट खेल मैदान निर्माण कार्य किन अन्य संस्थालाई जिम्मा दिने निर्णय गर्नुभएको त ?

यसअघिको नगर विकास समितिले निर्माण गर्न थालेको क्रिकेट ग्राउण्डलाई अन्य संस्थालाई दिने निर्णय त भएकै छैन, बरु त्यस क्रिकेट ग्राउण्डलाई त हामी अब राष्ट्रिय क्यानलाई हस्तान्तरणको लागि केही पूर्वाधार बनाई खेल्नलायक बनाउने सोच र निर्णय भएको छ र सम्झौतापछि हामी निर्माणको प्रक्रियामा जान्छौँ ।

लमही क्षेत्रलाई नगरपालिका बनाउन तपाईहरु डेलिगेशन पनि जानुभयो, सरकारले यसलाई नगरपालिका घोषणा गर्न किन नचाहेको होला ?

लमही क्षेत्रलाई नगरपालिका निर्माणको लागि बुझ्न गयौँ तर सत्य  कुरा यो हो कि यस क्षेत्रमा राजनीति गर्ने नेतृत्वले बेवास्ता गर्दा सरकारमा दबाव कम परेको कारण पनि हो र स्थानीय विकास मन्त्रालयमा जाँदा २०५८ सालभन्दा उताको मात्र हो भनेर जवाफ पायौँ तर त्यस स्थानीय विकास मन्त्रालयमा लमही नगरपालिकाको लागि पहिले केही पहल भएको पाएनौँ । अब सबै मिलेर पहल गरौँ भन्ने म विनम्र अनुरोध गर्दछु ।

नगरपालिका घोषणाका लागि चाहिने भूगोल, जनसंख्या र त्यहाको आर्थिक अवस्थाको मापदण्ड के-कस्तो हुनुपर्ने रहेछ ?

नगर विकास समितिलाई नगरपालिका बनाउनको लागि चाहिने भूगोलको लागि आवश्यक छलफल गरि कम क्षेत्रलाई नक्साङ्कनको मापन गरी जानुपर्छ वा (वाउडरी) जसमा रहने जनसंख्या ४० हजार भएमा राम्रो हुन्छ र नगरपालिकाभित्रको आर्थिक मापदण्डभन्दा सुविधासम्पन्न र भौतिक पूर्वाधारहरु जस्तै- यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, व्यापार, औद्योगिक क्षेत्रजस्ता पक्षहरु आवश्यक मापदण्डभित्र पर्दछन् ।

लमही नगरविकास समितिको नाममा रहेको जग्गा कार्यसमितिका सदस्यहरुले आफ्नो नाममा बनाएर खान्छन् भन्ने हल्ला पनि बाहिर चल्ने गर्छ, वास्तविकता के हो ?

लमही नगर विकास समितिको नाममा भएको जग्गालाई हालको समितिबाट त्यस्तो कुनै पनि काम  भएको छैन बरु यो भन्दा अगाडिको भन्न खोज्नुभएको हो भने त्यसको विषयमा अहिले म बोल्न चाहँदैन । तर, जुन हल्लाको कुरा छ त्यो कुरा राजनैतिक विचार विरोधीबाट मञ्चन गरिएर आएको हल्ला मात्र हो र सत्य भएको भए प्रमाण पेश गर्न म अनुरोध गर्दछु ।

नगरभित्र रहेको लमही कृषिउपज केन्द्र र त्यहाको अस्पताल व्यवस्थित हुन सकेको देखिदैन । नगर विकासले पहल गरी त्यहाको अस्पतालको स्तरवृद्धि गर्न सक्दैन ?

नगरभित्र रहेको लमही कृषिउपज केन्द्र र त्यहाँको अस्पताल व्यवस्थित त अहिले पनि छ तर त्यसको स्तरवृद्धि र भौतिक संरचनाको सवालमा भने नगर विकास र अन्य सबै दलहरुको सचेत प्रयत्न भएमा त्यो निर्माण गर्न सकिन्छ र हस्पिटलको उन्नतिका लागि नगर विकासले कुनै कसुर बाँकी राख्ने छैन ।

लमही नगर विकासले बसपार्कलाई व्यवस्थित गर्न नसकेको गुनासो आइरहन्छ । सडकमा जथाभाबी गाडीहरु पार्किङ भइरहेका हुन्छन्, तपाईहरुले बसपार्क बनाएर पनि त्यसलाई किन उपयोगमा ल्याउन सक्नुभएको छैन ?

लमही नगर विकासले बसपार्कलाई व्यवस्थित गर्न नसकेको सत्य होइन बरु बसपार्कका सबै प्रकारका भौतिक संरचना निर्माण गर्दा अलि ढिलो भएको मानिएको होला र जुन २५/२५ मिटर बाटोमा ठेला, रिक्सा, साना गाडिहरु पार्किङ भएका छन्, त्यसका लागि संगठनहरुलाई पत्र नगर विकासको तर्फबाट पठाइएको छ र त्यसलाई तत्काल व्यवस्थित गरिने छ । बसपार्क बनाउने केही काम बाँकी छ, त्यो तत्काल पूरा गरेर अब बस सञ्चालन प्रक्रिया तत्काल थालिने छ ।

र, अन्त्यमा हाम्रो नौलो जनउभार पत्रिकामार्फत् भन्न छुटेका कुरा केही छन् भने …….?

पहिले त म नौलो जनउभारलाई सम्मान प्रकट गर्न चाहन्छु । म नगरविकास समितिको अध्यक्ष भएको २ महिना आधा भएको छ र जुन म आएर थालिएको काम छ, त्यसको फल यहीका नागरिकहरुलाई हुनेछ । त्यस कारण विभिन्न राजनीतिक दलका प्रतितिधिहरुलाई यो अभियानमा सहयोग गर्न अनुरोध गर्दछु । साथै त्यस क्षेत्रमा रहेका विभिन्न निकाय, संघसंस्था अड्डा र आम नागरिकलाई अनुरोध गर्दछु । साथै कामकाजका लागि योजनामा सहयोग पुर्‍याउने, सुझाव दिने अनि सकारात्मक रुपले आलोचना गरिदिने मित्रहरुलाई पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु । अन्त्यमा, गौरवमय गाथा बोकेको नौलो जनउभार साप्ताहिक टीमलाई म विशेष धन्यवाद प्रकट गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *