समाज रुपान्तरणमा कला साहित्य

  
  प्रकाशित मितिः सोमवार, साउन १६, २०६८       | 104 Views   ||

-[श्रीधर भावुक]

नेपाली समाज बिस्तारै पुराना चिन्तन, मूल्यमान्यता आदिलाई छाडेर नयाँ चिन्तन र मूल्यमान्यतालाई आत्मसाथ गर्ने प्रक्रियामा छ । यही प्रक्रियामा समाजमा लामो समयदेखि चलनचल्ती वा संस्कृतिका रुपमा रहेका कुराहरु पनि रुपान्तरणको प्रक्रिया तीव्रगतिमा भइरहेको छ । यो रुपान्तरणले यतिबेला नेपालको आर्थिक, भौतिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतका थुप्रै प्रक्रियाहरुलाई हेलिरहेको छ । यही प्रक्रियाअन्तर्गत कला साहित्य पनि नवीन चिन्तन र नवीन आयामका साथ विकसित भइरहेको छ ।

कलासाहित्यले समाजलाई जिवित तुल्याउँदै छ । यदि कला साहित्य नहुँदो हो त समाज अग्रगतिमा बढ्ने नै थिएन वा भनौँ समाज सभ्यतातर्फ उन्मुख हुने थिएन । आज समाज विभिन्न चरणहरु पार गर्दै अगाडि बढिरहेको छ । यसबीचमा कलासाहित्यको स्वरुप पनि समाजकै स्वरुप अनुसार विकास भइरहेको छ । समाजको स्वरुपअनुसार कला साहित्यको विकास हुने भएकाले सामन्तवादी उत्पादन स्वरुप भएको समाजको कला साहित्य पनि सोही प्रकारको हुन्छ । पूँजीवादी उत्पादनस्वरुप भएको समाजको कला साहित्य पनि पूँजीवादी उत्पादनस्वरुपको प्रभावमा हुन्छ भने समाजवादी उत्पादनस्वरुप भएको समाजको कला साहित्य समाजवादी उत्पादन स्वरुपकै हुन्छ ।

नेपालमा सामन्ती उत्पादनस्वरुप अझै पनि पूर्णतः परिवर्तन हुन नसक्दा यहाँको कला साहित्य जुन ढंगले फस्टाउनुपर्ने हो सो ढंगले फष्टाउन सकेको छैन । यसको कारण स्पष्ट छ- सामन्तवादी उत्पादनस्वरुपले हरेक क्षेत्रमा लामो समयदेखि प्रभुत्व जमाउँदै गयो । हाम्रो कला साहित्यमा पनि उत्तिकै प्रभाव पार्‍यो । फलस्वरुप यहाँ स्तुतिवादी, भाग्यवादी, रुढीवादी जस्ता चिन्तनहरुले हाम्रो कला साहित्यमा स्थान पाए । अझ भनौँ सोही चिन्तन नै नेपाली कलासाहित्यको केन्द्रबिन्दु बन्न पुग्यो । यसको उदाहरणको रुपमा नेपालमा लामो समयदेखि एकछत्र राज गर्दै आइरहेको सामन्तवादी समाजको संरक्षण राजतन्त्रको पक्षमा थुप्रै लेखक, साहित्यकारहरुले स्तुतिगान गर्दै कलम चलाए ।

अझ दुःखको कुरा त आफूलाई जनपक्षीय लेखक, साहित्यकार भन्नसमेत नचुक्ने कथित साहित्यकार समेत उसको शरणमा परि त्वम् शरणम् गर्न पुगे । तर, पनि नेपाली कलासाहित्य आफ्ना विभिन्न चरणहरु पार गर्दै संघर्षका साथ अगाडि बढिरहेको छ । भीमकाय चुनौतीका अजङ्गका पहाडसँग संघर्ष गर्न सक्नु पनि यसको सफलता नै मान्नुपर्छ । यसैले त नेपाली कला साहित्य जीवित हुँदै अगाडि बढिरहेको छ भनेर गर्वका साथ भन्न सक्ने ठाउँ रहेको छ ।

आज मानिसहरुले कला साहित्यलाई विभिन्नरुपले परिभाषित गर्ने गरेका छन् । यो स्वभाविकै हो किनकि मानिस जुन सार्वजनिक संरचनामा जन्मेको हुन्छ, त्यही संरचनाबाट उसले जिउने कला सिक्दछ । त्यही उसको जिउने कला वा भनौँ उसले अवलम्वन गर्ने संस्कृतिले उसलाई सोहीअनुरुप कला साहित्यलाई परिभाषित गर्न उत्प्रेरित गर्दछ । यसैले त आज महलमा बस्नेहरुको आफ्नै किसिमको संस्कृति र झुपडीमा बस्नेहरुको आफ्नै किसिमको संस्कृतिको विकास भएको छ । अभावमा बाँच्नेहरुले अभावलाई नै आफ्नै कला संस्कृतिको मूल विषयवस्तु बनाउँछन् भने सुखसयलमा बस्नेहरु सुखसयललाई नै उनेर कला साहित्य सिर्जना गर्ने गर्दछन् । यी दुईबीच एकलाई अर्काको कला साहित्य नूनबिनाको तरकारीजस्तो वा भनौँ अमिलो र बेस्वादिलो लाग्दछ, जुन स्वभाविकै पनि हो ।

२०५२ फागुन १ गतेदेखि नेपालमा गरीब जनताको राज्यसत्ता स्थापना गर्ने भनेर जनयुद्ध शुरु भयो । जनयुद्ध नेपाली भूमिमा करीब १२ वर्षसम्म कायम रहृयो अर्थात् १२ वर्षसम्म शोषितपीडित जनताको सत्ता स्थापनाका लागि सशस्त्र संघर्ष सञ्चालित गरियो । यही जनयुद्धलाई आज एकथरीहरु मान्छे मार्ने नृशंस खेलको संज्ञा दिन्छन् भने अर्कोथरिले वर्गसंघर्षमा वर्गदुश्मनलाई गरिएको सफायाको संज्ञा दिन्छन् ।

तर, चीज त एउटै हो जनयुद्ध ।

यद्यपी यसले पारेको प्रभावलाई बुझ्ने सवालमा भएको फरक नै ती दुई चिन्तन राख्ने वर्गबीचको फरक हो । एकथरी लेखक, साहित्यकारहरुले जनयुद्धमा भएका घटनाक्रमलाई समेटेर समाज विकासको एउटा चरणमा उत्पीडित वर्गले आफ्ना हक हितका लागि बन्दुक उठाएको भन्दै त्यहाँभित्रका पात्रलाई लिएर आफ्नो कला साहित्यमा उन्ने गरेका छन् । तर, अर्कोथरी लेखक, साहित्यकारहरुले त्यो सिर्जनालाई कुरुप देखिरहेछन् । र, उनीहरुले जनयुद्धलाई मान्छे मार्ने खेलको संज्ञा दिदै त्यसलाई विभत्सरुपमा आफ्ना सिर्जनामा उतारिरहेछन् ।

यसको उत्कृष्ट नमूना नारायण वाग्लेको पल्पसा क्याके नामक उपन्यासलाई लिन सकिन्छ । आफ्नो वर्गअनुरुप कला साहित्यको सिर्जना गर्नुलाई अन्यथा मान्न सकिदैन ।

कला साहित्य समाजलाई अगाडि बढाउने औजार अवश्य हो । किनकि कला साहित्यले समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढ्न भूमिका निर्वाह गर्छ । यसर्थ कला साहित्यको समाज विकासमा महत्वपूर्ण भूमिका छ । हामी टाढा नजाऔँ, जनयुद्धलाई नै उदाहरण मानेर हेर्‍यौँ भने जनयुद्धलाई चरमबिन्दुमा पुर्‍याउन साहित्यकार, लेखकहरुले गर्ने आफ्ना सिर्जनाले धेरै प्रभावकारी भूमिका निर्वाह गरेको पाउन सक्छौँ ।

जनयुद्धलाई विषयवस्तु बनाएर लेखिएका कथा, कविता, गजलले र जनयुद्धका बारेमा गाइएका गीतले सर्वसाधारण जनता जो शोषण, उत्पीडनको जालोमा कहिल्यै बाहिर ननिस्कने गरी फसेको छ, उसलाई समेत सबै दासताका जालोहरु च्यातेर मुक्तिका निम्ति होमिन उत्प्रेरित गरेको हामी सबैलाई थाहा छ । यसबाट पनि हामीले समाजको विकासका निम्ति कला साहित्यको भूमिका वा आवश्यकता कस्तो हुन्छ भन्ने कुरामा स्पष्ट हुन सक्छौँ ।

तर, हाम्रो जस्तो देशमा कला साहित्यलाई त्यति सम्मानित रुपमा लिइदैन । यसको मूलकारण समाजले अझै कला साहित्यको महत्वलाई राम्रोसँग बुझेको छैन भन्ने नै हो । त्यसैले यहाँका साहित्यकारहरुलाई केही कथित बुद्धिजिवीहरुले अर्धपागल भन्ने उपनामसमेत दिन पछि पर्दैनन् ।

यही कथित बुद्धिजिवी वर्गकै प्रभावका कारण आम जनतामा कला साहित्य फुर्सदमा रहनेहरुले मात्र सिर्जना गर्ने हो भन्नेजस्तो गलत कुराको छाप परेको छ । यो छापलाई बिस्तारै मेटाएर कला साहित्य समाजको अनुत्पादक होइन बरु यो त अझ बढी उत्पादक काम हो जसले समाजलाई अग्रगति दिन हाम्रा भोलिका सन्ततिलाई सत्मार्गमा लाग्न र मानिसमा मौलाउँदै गएको उपभोक्तावादी चिन्तनका ठाउँमा सामुहिक चिन्तनको विकास गर्नका लागि सशक्त भूमिका कला साहित्यको हुन्छ भन्ने कुरा पनि यस क्षेत्रमा लाग्ने साहित्यकार, लेखकहरुले अझ बढी आम जनमानसमा प्रसारित गर्न आवश्यक छ ।

यसो हुन सक्यो भने कला साहित्यलाई हेर्ने दृष्टिकोण सबैको सकारात्मक हुनेछ ।

युरोपतिर कला साहित्यको विकासका लागि त्यहाँको सरकारले लगानी गर्ने गरेको छ । अनि त्यहाँका जनताले पनि कलाकार, साहित्यकारलाई विशेष किसिमको सम्मान गर्ने गर्दछन् तर हाम्रो देशमा त्यहाँको परिस्थितिभन्दा ठीक उल्टो छ । यहाँ सरकारले पनि कला साहित्यको लागि केही सहयोग गर्ने भनेपनि परिणामुखी खास सहयोग हुन सकेको छैन ।

त्यसैले यहाँका स्रष्टाहरु जीवन जिउने सन्दर्भमा विभिन्न उपेक्षाहरुसँग संघर्ष गर्न बाध्य छन् । अझ वृद्धावस्थामा र विरामी भएको अवस्थामा त उनीहरुको हेरचाह गर्नका लागि सम्बन्धित निकायको खासै चासो पुग्न सकेको छैन । यो स्थितिको अन्त्य गर्दै कलाकार, साहित्यकार, लेखकहरुको जीवन सहजरुपमा सञ्चालनका लागि राज्यमात्र नभएर समाजमा अन्य पक्षहरुले पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । यसो भयो भने नेपाली कला साहित्य अझ बढी समृद्ध हुनेमा कुनै शङ्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *