चिहान र सपनाहरु

  
  प्रकाशित मितिः सोमवार, साउन १६, २०६८       | 114 Views   ||

-[भीम कुमाखी]

एक दशकसम्म
म माटोमुनि चिहान बनेर बसेँ
मेरा कंकालहरुमा
किलो सेरा टू का बुटहरु बजि्रए
तानाशाहहरुका गोलीका पर्राहरुले
मेरो छाती छिया-छिया पारेर
माटोमा मिलाए
म एक चिहान
म भौतिक दुनियाँबाट
अलग भएको जिउँदो चिहान ।

मैले सपना देखेको छु
एक दर्जन वर्षसम्म
मेरो हाड छाला गलेर के भो ?
मेरो प्राण उडेर के भो ?
आखिर मेरो चेतनाको दियो
निभ्ने छैन यो दुनियाँमा
मेरो सपनाको संसार
मर्ने छैन कुनै परिवेशमा
मेरो लाखौँ अनुयायीले
बोकेका छन् अधुरो सपना
हो म चिहान हुँ
म मरिसके भौतिक दुनियाँबाट
तर जिउँदो छ मेरो अमर सपना ।

आँधी चलेकै छ
कसिंगर बढारिरहेछ निरन्तर-निरन्तर
फटाहाहरुको धूर्त महल
जलिरहेछ मेरो सपनाको आगोले
म चिहान भित्रैबाट लडिरहेछु
मेरा वैरीहरु विरुद्ध
यो पल ज्वारभाटाका सन्तानहरु
हार्न थाले भने
मेरो सपनाको दुनियाँमा
अझै पाखण्डको खेल हुन्छ भने
म चिहान स्वीकार्ने छैन
म माटोमुनि सडिरहने छैन
म चिहान
मेरो सपना मर्न नदिन
म ज्वारभाटा बन्नेछु
सपना बचाउने मेरो अभियान
लासको संसारबाट चल्नेछु
अस्थिपञ्जरहरुको दुनियाँबाट चल्नेछ
र, अमर छ एक चिहान
र, अजम्बरी सपना ।

०६७ चैत्र ५, भावाङ, रोल्पा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *