किन नियन्त्रण हुँदैन चेलीबेटी बेचबिखन

  
  प्रकाशित मितिः मङ्लबार, साउन १७, २०६८       | 474 Views   ||

-[सुशीला आचार्य]

मानव जीवनकै कलंकको रुपमा रहेको चेलिबेटी बेचबिखन नेपालको सन्दर्भमा जटील विषय बन्दै गइरहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाको प्रकृतिहरु फेरिएपनि सारभूतमा एउटा मानवले मानवीय व्यवहार गर्नुको साटो दानवीय व्यवहार गर्नाले समस्याको रुपमा चेलिबेटी बेचबिखन, बलात्कार, यौनक्रिडालगायतका थुप्रै समस्याहरु झेल्दै आइरहेका थिए । विगत केही समयदेखि वैदेशिक रोजगारीको लागि बाहिरिने तर त्यसबारे पर्ने समस्याका बारेमा चेतना नभएका चेलीहरु अधिकतम रुपमा बेचबिखनको उच्च जोखिममा छन् । चेलिबेटी बेचबिखन न्यूनीकरणका प्रयासहरु नभएका पनि होइनन् तर त्यसको प्रभावकारिता त्यति भएको पाइदैन ।

दाङ जिल्लाको सन्दर्भमा महिला विकास कार्यालय, नेपाल परिवार नियोजन, ओरेक नेपाल, पारालिगल, सीप विकास मञ्च लगायतका थुप्रै सरकारी वा गैरसरकारी संस्थाद्वारा विभिन्न गाविसमा चेलिबेटी बेचबिखन न्यूनीकरण कार्यक्रमहरु लागू भएका छन् । तर पनि यस न्यूनीकरणमा पर्याप्त पहल पुगेको छैन । वैदेशिक रोजगारीको प्रलोभनमा फसेर धेरै चेलीहरु अहिले पनि बेचबिखनको उच्च जोखिममा छन् । बेचबिखनको चपेटामा विशेष गरी किशोरीहरु भएपनि अहिले ८ बर्षका बालिकादेखि ५० बर्षकी आमाहरु समेत जोखिममा परेका छन् । विशेषगरी बेचबिखन न्यूनीकरण गर्न त्यसको वास्तविक कारणहरु पत्ता लगाउन जरुरी हुन्छ ।

कमजोर आर्थिक अवस्था : विशेष गरी आर्थिक प्रलोभनमा परेर नै महिलाहरु बढी मात्रामा बेचबिखनमा परेका छन् । बढ्दो महंगीसँगै मानवीय आवश्यकता बढ्दै जान्छन् । तिनी आवश्यकताहरु पूर्ति गर्न विभिन्न दलालहरु मार्फत् वैदेशिक रोजगारीको लागि विभिन्न मेनपावर कम्पनीमा धाउँदै गर्दा धेरै चेलीहरु आफू बेचबिखनमा परेको थाहा नपाई बेचिन्छन् । छोटो समयमा धेरै पैसा कमाउने उद्देश्यबाट प्रभावित बनेका महिलाहरु जीवनका सबै रहरहरु खोसिएको पत्तै पाउँदैनन् ।

शैक्षिक अवस्था : जुन देशमा आफू जाने हो, त्यो देशको भाषा थाहा नहुनु, शैक्षिक रुपमा शिक्षित नभएका महिलाहरु समेत वैदेशिक रोजगारीमा जान खोज्नु, जिल्ला प्रशासनमा किर्ते कागज बनाउनु, आफूलाई जानकारी नभएको विषयमा पनि विषय विज्ञता भएको नक्कल गर्नु आदि कारणहरुबाट महिला बेचबिखनको उच्च जोखिममा छन् । अरु माथि आवश्यकताभन्दा बढी विश्वास गर्नुले पनि यो समस्या न्यूनीकरण हुन सकेको छैन । शैक्षिक बेरोजगारीले गर्दा पढे पनि जागिर पाइदैन किन पढ्नुपर्‍यो विदेशबाट पैसा ल्याएर राम्रो घर बनाउने, छोराछोरीलाई शिक्षा, स्वास्थ्य दिने रहरहरु बिलाएको थाहा नपाएर कति दिदीबहिनीहरु आफूहरु कोठीमा पुगिसकेपछि मात्र आफू बेचिएको थाहा पाउँछन् ।

चेतनाको कमी : विदेश भनेको के हो ? त्यहाँ पुगेर के काम गर्ने हो ? त्यहाँ समाज कस्तो हुन्छ ? आफ्नो तलब कति हो ? भन्ने जस्ता न्युनतम शर्तहरु समेत थाहा नपाएर एउटा दलालको भरमा आफ्नो सबै सुरक्षाबारे जानकारी नलिइकन वैदेशिक रोजगारीमा जानुले यो समस्या न्यूनीकरण हुन सकेको छैन । आफ्नै देशमा केही काम गरौँ जति पुग्छ उति खाउँला भन्ने सोचको अभावले गर्दा कलिला नानीहरु समेत बेचबिखनको भूमरीमा परेका छन् ।

राजनीतिक अवस्था : राजनैतिक चेतनाको अभावले गर्दा पनि यो समस्या एकातिर जटिल बन्दैछ भने अर्कोतिर देशको राजनैतिक अस्थिरताले देशमा उद्योग फस्टाउन नसक्नु उद्योगीले लगानी गर्न डराउनुले गर्दा बेरोजगारी समस्या हल हुन सकेको छैन । जसको कारण धान रोप्नको लागि भनेर ८ बर्षको साना सानीहरु समेत स्कूल विदाको समयमा केही पैसा हुन्छ कि भनेर छिमेकी देश भारतमा हजारौँ संख्यामा गइरहेका छन् । देशको विकास गर्नुभन्दा पनि राजनैतिक स्वार्थ कसरी पूरा गर्ने भन्ने महत्वकांक्षा राजनैतिक दलमा पलाउनले पनि यो समस्या न्यूनीकरण हुन सकेको छैन ।

अपराधीले सजाय नपाउनु : विशेष गरी बेचबिखन गर्ने गिरोहहरु पत्ता लाग्न नसक्नु, पत्ता लागे पनि उसलाई कानूनी दण्ड नहुनुले गर्दा यो समाजमा अपराधीहरु खुल्लारुपमा हिडिरहेका छन् । आफूले अपराधीलाई चिन्दाचिन्दै पनि प्रशासनिक निकायले त्यसलाई दण्डित नगर्नु, दण्डित गरेपनि आजीवन कारावास, भौतिक सम्पत्ति सर्वश्वहरण जस्ता कडा कानूनको दायरामा अपराधीलाई बस्न नपर्ने भएकोले पनि अपराधीहरु यो काममा लागिरहेका छन् भने अर्कोतर्फ पीडितहरु न्याय नपाएर जीवन सुरक्षाकै जोखिममा परेका छन् । जसका कारण बेचबिखन न्यूनीकरण हुन सकेको छैन ।

महिला हिंसा न्यूनीकरण नहुनु : समाजमा महिला भएकै कारण महिलाहरु सामाजिक न्याय पाउन नसकेर विभिन्नखाले हिंसाको शिकार बन्दै गएका छन् । जसको कारण सामाजिक सुरक्षाको अभाव रोजगारीको नाममा धेरै महिलाहरु विदेशिन विवश हुन्छन् । जसको कारण आफूहरु बेचिदासमेत उनीहरुलाई आफूहरु बेचिएको थाहा नै हुँदैन । न्यायको लागि भीख माग्दै गर्दा उनीहरु बेचिन्छन् । कानूनी उपचारको अभावमा धेरै हिंसापीडित महिलाहरु एकपछि अर्को गर्दै दलालको भूमरीमा फसेर आफ्नो जीवन बर्बाद गर्न विवश हुन्छन् ।

मानव बेचबिखनमा न्यूनीकरण कार्यक्रम प्रभावकारी नहुनु : नेपाल सरकारले पनि मानव बेचबिखन न्यूनीकरणको लागि भनेर थुप्रै कार्यक्रम ल्याएको छ । तर, सीमित जागिरे मानसिकता बोकेका व्यक्तिहरुको हातमा उक्त कार्यक्रम पर्न जान्छ । कामको अनुगमन गर्नुभन्दा पनि उक्त बजेटबाट कुन कुन व्यक्तिमार्फत् खर्च गर्ने भन्ने मानसिकताले गर्दा दाङमा मानव बेचबिखन न्यूनीकरणका लागि आएको बजेट खर्च नभएर त्यत्तिकै थन्किएको छ ।

नेपालको सीमा समस्या : विशेष गरी नेपाल-भारतको सीमा समस्या चेलिबेटी बेचबिखनको मुख्य समस्या हो । खुला सिमानाले गर्दा धेरै नेपाली चेलीहरु बेचिएका छन् भने सिमानामा बस्ने धेरै चेलीहरु बेचबिखनको उच्च जोखिममा छन् । सानो-सानो सामान लिन पनि भारतमा जानुपर्ने भएकाले पनि यो समस्या बढी देखिएको हो । बिहान घाँसपात गएका चेलीहरु साँझ घर आउन समेत पाउँदैनन् । उनीहरु उतै बलात्कारको शिकार हुन पुग्छन् भने कति त उतैबाट बेचिन्छन् । यसरी भारतले नेपालमाथि गर्ने ज्यादतीको प्रत्यक्ष शिकार बनेका छन् नेपाली चेलीहरु । मानव बेचबिखनको उच्च जोखिममा परेका सीमा बस्तीहरु नेपाली हुनुको अपनत्व पाउन नसकेर पनि धेरै महिलाहरु बेचबिखनमा परेका छन् ।

यसरी मानव बेचबिखन न्यूनीकरणमा पर्याप्त प्रयासको अभावले धेरै नेपाली चेलीहरु  बेचबिखनको उच्च जोखिममा छन् । चेलीबेटी बेचबिखन न्यूनीकरणमा काम गर्ने संघसंस्थाहरुले अनुगमनको पाटोलाई सशक्त बनाउन सक्नुपर्छ । यो कार्यक्रम हाम्रो लागि हो भन्ने गरी बेचबिखनको उच्च जोखिममा परेका गाउँहरुलाई विशेष निगरानी गर्दै जिल्ला तहबाट समस्या समाधान गर्न सके मात्र यो समस्यालाई निर्मुल पार्न सकिएला कि ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *