भद्दा र अशोभनीय

  
  प्रकाशित मितिः मङ्लबार, साउन १७, २०६८       | 88 Views   ||

-[सुशील गौतम]

नेपालको सबैभन्दा ठूलो राजनीतिक दल मात्र होइन अग्रगामी नेपालको बलियो संवाहकका रुपमा धेरैले आशा र विश्वास गरेको एकीकृत नेकपा (माओवादी) अत्यन्त कष्टकर आन्तरिक राजनीतिक अन्तरविरोधलाई कमसेकम तत्कालका लागि हल गर्न सफल भएको छ । तर, माओवादीले यो ‘सफलता’ धेरै गुमाएर पाएको छ । अन्तरविरोध चरममा पुगेर जुन शैलीमा छताछुल्ल भयो र एउटा नेताको धुपौरे भएर अर्को नेताको जुन शब्द, शैलीबाट चरित्र हत्या गरियो त्यसले यस बीचमा माओवादीले धेरै गुमाएको छ । यो गुमाईलाई पुनस्र्थापित गर्न माओवादीलाई लामो समय लाग्ने छ ।

हरेक राजनीतिक दलभित्र अन्तरविरोध स्वभाविक छ । अझ अग्रगामी, क्रान्तिकारी एवम् जीवन्त पार्टीभित्र त्यस्तो अन्तरविरोधलाई अन्यथा रुपमा लिनु हुँदैन । तर, यस्ता अन्तरविरोध चलाउने विधि र प्रक्रियाका सन्दर्भमा कम्युनिष्टहरुको आफ्नै मान्यताहरु छन् । यी विधि र मान्यताको आधारभूत पक्ष व्यक्तिगत होइन सैद्धान्तिक बहस हो । रणनीतिक एवम् कार्यनीतिक छलफल हो । अन्तरविरोध हल गर्ने लेनिनवादी पद्धति हो । तर, माओवादीको गत अन्तरविरोधका परिदृश्य हेर्दा ती माओवादी-लेनिनवादी त के एउटा बुर्जुवा पार्टीमा हुनेभन्दा पनि तल्लो स्तरका थिए । खासगरी सार्वजनिक सञ्चारमाध्यामहरुको प्रयोग गरेर एउटा शीर्ष नेतृत्वलाई काखी च्यापेर अर्को शीर्ष नेतृत्वलाई जुन तल्लो स्तरको गालीगलौज, व्यक्तिगत चरित्रको हत्याको अभियान चलाइयो त्यो गर्नेलाई भन्दा देख्नेलाई लाज लाग्ने थियो । माओवादी र यसको उपल्लो तहको नेतृत्वहरुप्रति आशा गर्नेहरुको लागि मर्माहत, विस्मयकारी एवम् विडम्वनापूर्ण थियो । भद्दा र अशोभनीय थियो ।

विचार र सिद्धान्तका विषयमा निर्मम हुनै पर्दछ । विचारका आधारमा यो वा त्यो नेताको नजिक वा टाढा हुनु अस्वभाविक होइन । तर, नजिक वा टाढा रहेतापनि प्रस्तुत हुने शैली मर्यादित हुनुपर्दछ । अन्धभक्तिको पूजा संस्कृति होइन, विचारका आधारमा, मुद्दाका आधारमा समर्थन र विरोध हुनुपर्दछ । समर्थनका नाममा कमैयाले मालिकलाई पुजेजस्तो नेतालाई पुज्न हुँदैन । न त विरोधका नाममा आफ्नै पार्टीका अर्का शीर्ष नेतालाई मध्ययुगमा शत्रुसेनामाथि गरेको आक्रमण गर्न मिल्छ । तर, माओवादीमा पछिल्लो कालखण्डमा जुन परिदृश्य देखियो, बडो दुःखका साथ भन्नुपर्दछ परिदृश्य त्यस्तै थियो । एउटा नेताको नजिक भएर वा नजिक हुन खोजेर अर्को त्यत्तिकै सम्मानित नेताको हुनसम्म उछित्तो काढियो । भन्नु नभन्नु भनियो । विचारको प्रतिरक्षा तर्क र विवेकले हुन्छ भन्ने सामान्य मान्यतालाई समेत वेवास्ता गर्दै भए नभएको आरोप लगाएर अर्को पक्षलाई झम्टनुलाई वैचारिक प्रतिबद्धताको प्रदर्शन ठानियो ।

प्रचण्ड, किरण वा बाबुराममध्ये एउटाको पक्षधरता देखाउने नाममा अर्को नेतालाई निकृष्ट गालीगलौज र चरित्र हत्या गर्नेहरुले ती सबै नेता नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका उपज भएको बिर्सिए । इतिहासको थुप्रै कालखण्डमा उनीहरु एकअर्काका पुरक  रहेको र ठूलो मतमतान्तरबीच पनि पार्टीलाई अघि बढाउन उनीहरु फेरि एक अर्काका पुरक भएर भविष्यमा हिड्नुपर्ने अनिवार्यतालाई गुटको अन्धतामा डुबेर बेवास्ता गरे । तीनवटै नेता आकाशबाट खसेका होइनन्, उनीहरुलाई यो स्थानमा ल्याउन धेरै सामान्य कार्यकर्ताहरुको रगत र पसिना लागेको छ र तीनवटै नेताले प्राप्त गरेको उँचाई उनीहरु वा उनीहरुका धुपौरेहरुको मात्र होइन, सिङ्गो आन्दोलनको सामुहिक पूँजी हो भन्ने कुरातर्फ कुनै मतलब राखिएन । गुटको अन्धता र त्यसबाट प्राप्त हुने फलमा लोभिएर धेरैले आवेगमा विवेक गुमाए । प्रचण्ड, किरण वा बाबुराम जसलाई पनि खुइल्याउनु अन्ततः आफूहरुलाई र सिङ्गो आन्दोलनलाई नै खुइल्याउनु हो भन्ने कुरातर्फ हेक्का राख्ने फुर्सद धेरैलाई भएन ।

जब मान्छेलाई स्वार्थले अन्धो बनाउँछ, उसलाई आन्दोलनभन्दा गुट पि्रय हुन्छ । जब कम्युनिष्ट चरित्र सकिदै जान्छ, कम्युनिष्टभित्र पनि मालिक भक्तिको सामन्ती संस्कृति हावी हुँदै जान्छ । त्यो बेला अन्धभक्ति र अन्धविरोधको गैरकम्युनिष्ट चरित्र बलियो हुँदै जान्छ र त्यसले कम्युनिष्ट आन्दोलनलाई विनाश गरेको उदाहरण नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासबाट सिक्न सकिएन भने त्यसको परिणाम अहिले नभए भोलि भयानक हुन सक्छ ।
विचारका आधारमा सहमति वा असहमति, समर्थन वा विरोध स्वभाविक हुन्छ । तर एउटा नेतालाई काखी च्यापेर अर्कोलाई थुक्नु आकाशमा थुकेजस्तै हो जो अन्ततः आफैतिर फर्किन्छ । लामो प्रक्रियाबाट नेता बनेका जोसुकैलाई पनि आवेग वा गुटको अन्धताले ग्रस्त भएर बीच सडकमा नाङ्गो पार्न खोज्नु सिङ्गो आन्दोलन र यसको भावी सम्भावनालाई नाङ्गो पार्नु हो । विरोधको नाममा निकृष्ट गालीगलौज, न्यूनतम मर्यादाको उल्लङ्घन, घोर चरित्रहत्या गर्नु बुर्जुवाभन्दा पनि तल गिर्नु हो । समर्थनका नाममा अन्धता प्रकट गर्न धर्मान्ध भएझैँ हुनु हो । तर त्यही नहुनुपर्ने कुरा माओवादीमा देखियो ।

आज एकीकृत नेकपा (माओवादी)मा सहमति भएको छ । पार्टीका नेताहरुबीच बिस्तारै सौहार्दता कायम स्थापित भइ सिङ्गो पार्टी एकढिक्का बन्ला । पार्टी नेता कार्यकर्ता, शुभचिन्तकहरुले आम जनतामा त्यस्तो एकताको सन्देश दिने प्रयास पनि होला । तर, यसबीच शीर्ष नेताहरुको जुन तहको छताछुल्ल हुने गरि सार्वजनिक रुपमा चरित्र हत्या गरियो, त्यसको पुनःस्थापना हुन लामो समय लाग्नेछ । किनकि आम जनताले सबै परिदृश्य देखेका छन् । तथापि अब समीक्षा गरेर भविष्यमा फेरि त्यस्तो नगर्ने वाचा गर्नुभन्दा अरु विकल्प छैन । विचारमा सामिप्यता स्वभाविक छ, धुपौरे हुनु र विचारमा समाप्ती बेग्दै कुरा हो । विचारमा असहमतिलाई स्वभाविक छ तर असहमतिको नाममा निकृष्ट गालीगलौज र चरित्रहत्या गर्नु सिङ्गो आन्दोलनकै चरित्र हत्या गर्नु हो । अन्तमा, त्यो परिदृष्यमा पनि जनउभार साप्ताहिकले खेलेको सन्तुलित एवम् मर्यादित भूमिकाको भने प्रशंसा गर्नैपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *