दलहरु प्रमुख कार्यभारमा जुट

  
  प्रकाशित मितिः मङ्लबार, साउन १७, २०६८       | 85 Views   ||

मुलुक परिवर्तनको दिशामा अग्रसर देशको राजनीति यतिबेला गतिशून्य अवस्थामा चक्कर काटिरहेको छ । र, परिवर्तनका सहयात्री दलहरु आफ्नै फरिया स्याहार्नमा समय खर्चिरहेका छन् । दलहरुबीचको आपसी असमझदारीले बढेको राजनीति अन्योलको उकुसमुकुसमा देश गुम्सिराखेको छ । पुग्ने गन्तव्य बिराएको यात्रीझैँ दलहरु आफैभित्र हराइरहेका छन् । आफ्नो कार्यभार बिर्सेर स्वार्थगत चिन्तनमा दलहरु अल्झिरहँदा प्रतिक्रियावादीहरुले टाउको उठाउने अवसर पाउने मात्र नभई देश नै अप्ठ्यारोको दलदलमा भासिदै जाने खतराको अनुभूति जनतालाई हुँदै गइराखेको छ ।

अब भदौ १४ आउन एक महिनाको समय मात्र बाँकी छ । शान्ति र संविधानका मुल विषयवस्तुमा दलहरु पस्नै सकिरहेका छैनन् । जनतालाई पूर्ण अधिकारसम्पन्न गराउने संविधान निर्माण र शान्ति प्रकृयालाई स्थायी शान्तिमा रुपान्तरण गर्ने सोचबाट भन्दा स्वार्थ र आग्रहपूर्ण दृष्टिबाट शान्ति र संविधानलाई किनारा लगाउने कोशिस गरिदैछ । एक पक्ष शान्तिको कुरा उठाएर माओवादी सेनालाई कसरी बिसर्जन गर्ने भन्नेमा छ भने अर्को पक्ष जनताको दबाबले सुधारमुखी संविधान बनाएर आफ्नो स्वार्थमुखी सत्ता चलाउने अवसर खोजिरहेको छ । यो अवस्थामा परिवर्तनसहित जनताको पूर्णअधिकारसम्पन्न संविधानको पक्षमा उभिने क्रान्तिकारी शक्ति आफैमा विश्वस्त भएर लाग्न सकिरहेको छैन । अहिले सबै दलहरुभित्र देखिने विवादले प्रतिगामीहरु सल्बलाउँदै र दलहरुलाई कमजोर बनाउँदै देशलाई पुरानै अवस्थामा फर्काउने कोशिसमा बल गरिरहेका छन् । यो सत्य कुरा हो कि परिवर्तनको पक्षमा आन्दोलनरत यिनै राजनीतिक दलहरु जनताका प्रतिनिधि हुन् र अघि हुने परिवर्तनको नेतृत्व गर्ने दलहरु पनि यिनै हुन् । तर तिनै दलहरु आपसी स्वार्थको खिचातानीमा बल्झिराख्दा यो जटिलतामा उभिएको संक्रमणकाल भयङ्कर अराजकतामा फेरिने र देश नै अस्तव्यस्ततामा पुग्ने खतरा पनि त्यति नै रहेको छ । अब दलहरुका लागि अवसरको भन्दा परिक्षाको समय नजिक छ । जनताको आन्दोलनबाट स्थापित मुद्दाहरु टालटुले र समयको चाप भनेर धकेलेर देश अघि बढ्न सक्दैन । बर्षौँदेखि थिचिएका र पिसिएका जनताको चाहनाअनुसार परिवर्तनमुखी र अधिकारमुखी संविधान बन्नु अपरिहार्य छ र त्यसले मात्र शान्ति र स्थिरतालाई स्थायी बनाउन सक्छ ।

यतिबेला मधेशवादी दलहरु टुक्रा-टुक्रामा विभक्त बन्दै गइरहेका छन् भने हिजोसम्म अविश्वासमा रुमल्लिरहेका ठुरा राजनीतिक पार्टीहरु अहिले आफैभित्रको झगडामा गुजुल्टिरहेका छन् । जसले राजनीतिको सही ट्याकलाई छोड्दै शक्तिकेन्दि्रत राजनीतिमा लागिरहेका छन् । जसले गर्दा परिवर्तनप्रति आशामुखी जनता निराशाको सुरुङभित्र छट्पटाइरहेका छन् । अहिले दलहरुको निर्णय क्षमतामा समेत ह्रास आउन थालेको छ भने शान्ति र संविधानको विषयले समेत प्रमुख स्थान पाइरहेको छैन । अहिले माओवादीले मन्त्रीहरु फेर्न लागेको विषयले प्रमुखता पाएको छ । सरकारमा आफ्ना नेताहरुलाई २ वा ३ जति दिनका लागि भएपनि फेरेर मन्त्रीमा पठाउँछ  भने त्यो उसको निर्णयको कुरा हो, यसमा काँग्रेस र एमालेको टाउको दुख्नुपर्ने कुनै कारण छैन । रह्यो ५ बुँदे सहमतिका आधारमा प्रधानमन्त्रीको राजीनामा दिने कुरा, यसमा दलहरु सहमतिका लागि प्रयास गर्नतिर भन्दा यो सरकार ढाली देशलाई फेरि उही सरकारविहीन अवस्थामा राख्न उद्दत हुनु राम्रो होइन । पहिला राष्ट्रिय सरकारका लागि सहमति जुटाउने कुरा नै वैज्ञानिक र उपयुक्त हुन्छ । यतिबेला सत्ता र मन्त्री स्वार्थ पनि दलहरुका लागि प्रमुख कुरा होइन । दलहरु जिम्मेवार भएर अघि बढे देशले एउटा युग परिवर्तनको कोल्टो फेर्ने कुरा निश्चित छ । अब दलहरु ठूलो हृदयका साथ निमुखा जनतालाई आँखामा राखी सहमतिमा जुट्न र लक्ष्यमा पुग्नका लागि शान्ति र संविधानका अग्रगामी खाका पेश गर्न आवश्यक छ । त्यो खाकामा जनमत सिर्जना गरी जनताको बलमा नै अग्रगामी परिवर्तनको संविधान लेखिन आवश्यक छ । त्यो दिशामा देशलाई लैजान जनताले दलहरुलाई सुम्पिदिएको राष्ट्रिय कार्यभार नै शान्ति र संविधान हो, जसलाई दलहरुले जनताको अपेक्षाअनुसार निश्चित ठाउँमा नपुर्‍याई सुख छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *