नदी किनारको ढुङ्गा

  
  प्रकाशित मितिः बिहिबार, साउन २६, २०६८       | 106 Views   ||

-[महेन्द्र महक]

हतारमा हुन्छ यो नदी
गन्तव्यसम्म पुग्न
जङ्गलका कापकापबाट
पहाडका खोंच खोंचबाट
सधैँ उर्लेर दौडिन्छ नदी
सागर पुग्न
हतारमा हुन्छ यो नदी ।

थाहा छ नदीलाई
सागरसम्म पुग्नु छ
र बन्नु छ शान्त, गहिरो रहस्यमयी
नुनिलो सागरको गर्भमा
सीपी अनि टर्टराउने भ्यागुता
मोती अनि विषालु सर्प
अक्टोपस अनि हृवेल
पालेर बस्छ यो नदी ।

ठिङ्ग उभिएको चट्टान
र गतिहीन ढुङ्गालाई
धेरै पछाडि छोड्दै
नदी सागरसम्म पुग्छ
र स्थिर उभिएको ढुङ्गा
नदीको बाटो छेक्ने
असफल प्रयास गरी बस्छ ।

सीपी र मोती टिप्न
ढुङ्गा सागर पुग्दैन
सागर त केवल
वेगवान नदी मात्र पुग्छन ।
त्यसैले त हरेक पल
क्षयीकरण भइरहेछ यी ढुङ्गाको
हरेक पटक जब नदी खहरे बनी उर्लिन्छ,
यस्ता केही ढुङ्गा बगरमा भासिन्छन
टुक्रिन्छन,
भेलसँगै बग्छन् र किनारमा मिल्काइन्छन

ऊ हेर त
नदी किनारको ढुङ्गामा
एउटी आईमाई
फोहोर लुगा पखालिरहेकी छ ।
०६८/०३/०९ घोराही, दाङ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *