प्रथम भयो घोराही नगरपालिका

  
  प्रकाशित मितिः बिहिबार, साउन २६, २०६८       | 119 Views   ||

३ करोड ८९ लाख अनुदान पाउने

-[जनक नेपाली/दाङ]

नगरपालिकाहरुको न्यूनतम शर्त तथा कार्यसम्पादनका आधारमा देशभरिकै ५८ वटा नगरपालिकाहरु मध्ये दाङको घोराही नगरपालिका प्रथम भएको छ । न्यूनतम शर्त र कार्य सम्पादन मापनका आधारमा स्थानीय विकास मन्त्रालयको मूल्याङ्कनमा घोराही नगरपालिका उत्कृष्ट भएको हो ।

घोराही नगरपालिकाका कार्यकारी अधिकृत दुर्गाभक्त शर्मा ढकालका अनुसार न्यूनतम सर्त मापनका ५ वटा कार्य क्षेत्रका १५ वटा सुचक र कार्य सम्पादन मापनका ५ वटा कार्यक्षेत्रका ४० वटा सुचक पूरा गरेमा मात्र उत्कृष्ट नगरपालिका हुने प्रावधान रहेको छ । यसरी न्यूनतम शर्त मापनका ५ वटा कार्यक्षेत्रका १५ वटा सुचकहरुमा स्थानीय शासनअन्तर्गत योजना तथा बजेट स्वीकृत गर्ने, प्रगति समीक्षा गर्ने, वित्तीय व्यवस्थापनअन्तर्गत नगरपालिकाको कोष स्थापना गर्ने, करका श्रोतको अभिलेख राख्ने, लेखा परिक्षण राख्ने, जिन्सी व्यवस्थापन गर्ने, बेरुजु अभिलेख फछ्र्योट गर्ने पनि स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको हुन्छ ।

त्यसैगरी सेवा प्रवाह र पारदर्शीताअन्तर्गत  नागरिक वडापत्र, भवन निर्माण तथा नक्सा पास व्यवस्थापन, आय व्यय करको दर सार्वजनिक रहेको छ । यसैगरी समितिहरुको गठन तथा क्रियाशीलता अन्तर्गत लेखा समिति गठन, नगरस्तरीय राजश्व परामर्श समिति गठन, सुपरिवेक्षण अनुगमन समिति गठन तथा पदपूर्ति समिति गठन गरे/नगरेको आधारमा स्थानीय विकास मन्त्रालयले अनुगमन गर्ने प्रावधान नगरपालिकाका कार्यकारी अधिकृत ढकालले बताउनुभयो । नगरपालिकाका अनुसार कार्य सम्पादन मापनका ५ वटा कार्यक्षेत्रअन्तर्गत स्थानीय स्वायत्त सुशासन, वित्तीय व्यवस्थापन, योजना तथा कार्यक्रम व्यवस्थापन, संगठन तथा जनशक्ति व्यवस्थापन र शहरी व्यवस्थापन गरी ४० वटा सुचकको एक सय पूणर्ाङ्कमा घोराही नगरपालिकाले ८७ अङ्क प्राप्त गरेको थियो ।

प्रथम भएसँगै यस वर्ष घोराही नगरपालिकाले ३ करोड ८९ लाख रुपैयाँ अनुदान पाउने भएको छ । गत वर्ष देशैभरिमा दोस्रो भएको घोराही नगरपालिकाले २ करोड ४५ लाख अनुदान पाएको थियो ।देशैभरिका ५८ नगरपालिकामध्ये घोराही नगरपालिका प्रथम भएकोमा खुसी व्यक्त गर्दै कार्यकारी अधिकृत ढकालले आफ्नो काँधमा थप जिम्मेवारी आएको बताउनुभयो । नगर र पूरै दाङबासीको सहयोगले मात्र नगरपालिका पहिलो भएको भन्दै उहाँले अझैँ विकास निर्माणका कार्यहरुलाई अगाडि बढाउन सबैको सहयोग, सद्भावको आवश्यकता औल्याउनुभयो ।

उता गत वर्ष देशैभरिमा तेस्रो स्थान प्राप्त दाङको तुलसीपुर नगरपालिका भने यस वर्ष कमजोर कार्यसम्पादनका कारण १० प्रतिशत अनुदान कटौतीमा परेको छ । त्यस्तै स्थानीय विकास मन्त्रालयको मूल्याङ्कनमा उत्कृष्ट जिल्लाको रुपमा पूर्वको धनकुटा परेको छ भने ६६ देखि ८० अंक ल्याई राप्तीका प्यूठान र सल्यानले २५ प्रतिशत थप अनुदान प्राप्त गरेका छन् । त्यसैगरी ५१ देखि ६५ अंकसम्म ल्याएर रुकुम र रोल्पाले २० प्रतिशत थप अनुदान पाएका छन् । तर, न्यूनतम शर्तसमेत पालना नगरेका कारण दाङलगायत १४ जिल्ला विकासले थप अनुदान गुमाएका छन् ।

पीडितको गीति एल्वम उत्सर्ग आउने तयारीमा

दाङ/नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं गीतकार के.एल. पीडितको गीति एल्वम उत्सर्ग छिट्टै आउने तयारीमा रहेको छ । शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी पीडितले सो को जानकारी गराउनु भएको छ । उत्सर्ग एल्बममा ८ वटा गीत रहेका र सबै गीतको संगीत भइसकेको गीतकार पीडितले जानकारी दिनुभयो । उहाँका गीतमा संगीतकार शक्ति बल्लभ, डा.गोविन्द आचार्य, सन्तोष श्रेष्ठ, विकास चौधरी र माधव चौधरीले संगीत दिनुभएको छ ।

यसअघि विभिन्न साहित्यिक कृति प्रकाशन र चलचित्र समेत निर्माण गरिसक्नु भएका पीडितले गीति एल्वम् प्रकाशन सहयोगका लागि भदौ १७ गते आफैले निर्माण गरेको चलचित्र भूइँहृयारको विशेष प्रदशनी गर्ने जानकारी दिदै त्यसका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । गीतहरुको पूर्व समीक्षा गर्न शनिबार आयोजित कार्यक्रमका सहभागीहरुले गीतहरु विविधतायुक्त भएको बताएका थिए । गीतमा आफूहरुले राष्ट्रप्रेम, समाज परिवर्तन र नवजागरणको हुटहुटी पाएको उल्लेख गर्दै वक्ताहरुले जीवन र श्रमसँग जोडिएका यी गीतहरुले समाजलाई उर्जाशील बनाउने टिप्पणी गरेका थिए । कार्यक्रममा प्रताप रेग्मी, सुशील गौतम, केवी मसाल, डा. गोविन्द आचार्य, डा. कृष्णराज डिसी, गिरिराज शर्मा, पुरुषोत्तम खनाल, भुवन देवकोटा, टीकाराम उदासी, उदय जी.एम., अजयदीप शर्मा, शरद अधिकारी, लक्ष्मी आचार्य, कमलमणि देवकोटा, नरेन्द्र केसी, सविन पि्रयासन र वसन्त ‘विवश’ आचार्यले गीति एल्वम प्रकाशनको शुभकामना दिनुभएको थियो ।

कष्टकर बन्दै पहिरो पीडितको दिनचर्या

रुकुम/पूरै गाउँ नै बाढी पहिरोको उच्च जोखिममा परेपछि रुकुम पूर्तिमकाँडाका ४ वटा वडाका विस्थापितहरुको दिनचर्या कष्टकर बन्दै गइरहेको छ । गाविसका वडा नं. १, २, ३ र ४ का दर्जन बढी गाउँहरु पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका झण्डै दुई सय घरपरिवार अहिले स्थानीय ३ वटा विद्यालयमा बसिरहेका छन् ।

विस्थापितहरु वडा नं. १ को जनकल्याण निमाविमा ६० घरपरिवार, वडा नं. २ को ज्ञानोदय प्राविमा ७० घरपरिवार र वडा नं. ३ को बालज्योती माविमा ६० घर परिवार बस्दै आएका छन् । उनीहरुले दिउँसो मौसम हेरी घरव्यवहारको कामकाज गर्ने र राती विद्यालयमा आएर बस्ने गरेको बालज्योती माविका प्रधानाध्यापक पूर्णबहादुर ओलीले बताउनुभयो । पहिरोको उच्च जोखिममा रहेका गाउँहरुमा वडा नं. १ का सिमखोली, सिमलगैरा, खिरखिरेडाँडा र गैरागाउँ रहेका छन् भने वडा नं. २ का हल्लेरी, सल्लेरीपाखा, घर्तीगाउँ र फल्लेबगर रहेका छन् । त्यस्तै, वडा नं. ३ का मुलपानी, परिगाउँ, गोगनेरी, टल्के र चारगाउँ रहेका छन् भने वडा नं. ४ साक्छाखोला र जगेटाकुरी रहेका छन् । ती गाउँमा जमीन ठाउँ-ठाउँमा चिरा परेको र मकैबाली पूरै नष्ट भएको स्थानीयबासीले बताए । स्थानीयबासीका अनुसार एकअर्काको बारी नै छुट्याउन नसक्ने गरी पाखाबारीहरु मिसिएका छन् भने सिमपाखो गाउँका २५ घर परिवारको मकै खेती बाढीले बगाएर सानीभेरीमा मिसाइदिएको छ ।

फोहर पानीको प्रयोग गर्नुपर्ने बाध्यता, बसोबास एवम् उचित खाद्यान्नको अभावका कारण विस्थापितहरुमा झाडापखाला, निमोनिया, टाइफाइड, रुघाखोकी लगायतका विभिन्न रोगहरु समेत देखापरेको र तत्काल त्यसको नियन्त्रण नगरे महामारीकै रुपमा फैलिन सक्ने खतरा रहेको पनि स्थानीय समाजसेवी विष्णु विकले बताउनुभयो ।विद्यालयमा आश्रय लिएर बसिरहेका विस्थापितहरुलाई एकातिर विभिन्न रोगहरुले सताउन थालेको छ भने अर्कोतिर मानसिक रुपमा त्रसित जीवन बाँचिरहेका छन् । जीवनयापनका लागि दैनिक घरव्यवहारको चिन्ता त छँदैछ, कतिबेला के हुने हो भन्ने सन्त्रासले उनीहरु ढुक्कसँग बस्न पनि सकिरहेका छैनन् ।

बिहान मिर्मिरेमै घरको काममा जाने र साँझ झिसमिसे नहुदै विद्यालयमा फर्किने जनकल्याण निमाविमा बस्दै आएका विस्थापित टेकबहादुर पुनले बताए । उनले भने- ‘घर त छ तर कतिबेला के हुने हो केही भर छैन, ३ हप्ता बितिसक्यो न राम्ररी सुतिएको छ न खान नै पाइएको छ ।’ जनकल्याण निमाविमै बसेका धनसिंह घर्तीले पहिरो गएको दिन कहिल्यै बिर्सन नसक्ने बताउँछन् । उनी भन्छन्- ‘पुर्खौँदेखि बस्दै आएको घरबारसहित दुई छोरी र एक छोरा आाखैअगाडि बगेको दिन कसरी बिर्सन सकूँला र ?’ पहिरोबाट घरबारविहीन भएकाहरुलाई प्रशासनले सक्दो सहयोग गरेको र विभिन्न निकायमा पहल गरिरहेको जिल्लास्थित सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

गएको असार ३१ गते बिहान ३ बजे आएको पहिरोले पूर्तिमकाँडा वडा नं. ३ का उदिराम बुढाको १० जनाको परिवार र धनसिंह घर्तीका २ छोरी र १ छोरा गरी १३ जनाको ज्यान लिएको थियो भने गत साउन १४ गते पहिरोमा परि पूर्तिमकाडा वडा नं. २ का ४२ वषर्ीय कालीबहादुर पुनको मृत्यु भएको थियो ।

बाढी पहिरोकै कारण रुकुमको चौखावाङ-८ चौरगाउँको साँरापोलेबाट वडा नं. ६, ७ र ८ का बासिन्दाको लागि वितरण गरिएको खानेपानीको पाइप बगाउँदा खानेपानीको अभाव भएको छ भने चौरगाउँका १५ घर परिवार विस्थापित भएका छन् । पहिरोका कारण चौखावाङ-८ चौरमा शेरबहादुर ओली, लिलबहादुर ओलीलगायत ६ जनाको घर पुरिएको छ भने वडा नं. ६ चुन खड्का टोलमा आधा दर्जन घरको पिढीसम्म पहिरोले बगाइसकेकाले भत्किने स्थितिमा रहेका छन् । फुल्नै आँटेको मकै बाली ३५ प्रतिशत बढी पहिरोले बगाएर, पुरिएर नष्ट भएको स्थानीय शेरकुमार खड्काले बताउनुभयो । उता रोल्पाको तेवाङमा पनि पहिरोका कारण गत मंगलबार एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ ।

पहिरो पीडितहरुलाई राहत वितरण

रुकुम/रुकुमका विभिन्न गाविसमा गएको पहिरोबाट विस्थापित भएका घरपरिवारहरुलाई शनिवार राहत वितरण गरिएको छ । सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी जिल्लाका एक सय ३१ घर परिवारलाई राहत बितरण गरिएको हो । जिल्लाको पुर्तिमकाँडा गाविसका एक सय १४, चौखावाङ गाविसका १४ र स्यालापाखा गाविसका २ घरपरिवारलाई अनन्त ज्योती ध्यान केन्द्र काठमाण्डौले राहत वितरण गरेको हो ।

पहिरोबाट विस्थापित तथा प्रभावितहरुले राहतस्वरुप ३० किलो चामल, २ किलो दाल, १ किलो नुन, १ थान त्रिपाल, २ थान चटै पाएका छन् । मृतक ४ घरपरिवारका आफन्तलाई पाँच हजार र विस्थापितहरुलाई ३ सयका दरले नगद पनि वितरण गरिएको छ ।विस्थापितहरु राहत लिन सदरमुकामसम्म आउँदा लाग्ने यातायात खर्चवापत नगद वितरण गरिएको अनन्त ज्योती ध्यान केन्द्र काठमाण्डौंका सदस्य बाबुराम श्रेष्ठले वताउनु भयो । जिल्लाको पूर्तिमकाँडा, चौखावाड र स्यालापाखा गाविसका एक सय ३१ घरपरिवार पहिरोले घर जग्गामा क्षति पुर्‍याएपछि विस्थापित जीवन विताइरहेका छन् ।

राहत वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, निमित्त स्थानीय विकास अधिकारी चिन्तामणि दाहाल, एकीकृत नेकपा माओवादी रुकुमका इन्चार्ज शरुण वाँठामगर, राप्रपा नेपालका जिल्ला अध्यक्ष गणेश शाहीलगायतको उपस्थिति थियो ।

माटो परिक्षणका लागि धान खेती

-[प्रकाश चौधरी/दाङ]

माटोको परिक्षणका लागि लक्ष्मीपुरका किसानहरुले सामूहिक रुपमा विविध किसिमका धानबालीको खेती गरेका छन् । कारितास नेपाल संस्थाको सहयोग र मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रमार्फत् सञ्चालित आइ.पि.एम. पाठशाला कार्यक्रम अन्तर्ग्ात लक्ष्मीपुर-२ झिङ्नी समूहका स्थानीय बासिन्दाले विविध किसिमका धानवाली खेती शुरु गरेका हुन् ।

विषादी युक्त रासायनिक मलको बढी प्रयोग भइरहेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि सो अभियानको थालनी गरिएको उनीहरुले बताएका छन् । त्यहाँका स्थानीय बासिन्दाले डाँफे आइ.पि.एम. पाठशाला समूह गठन गरी धान रोपाइसँगै बीउ उत्पादन, प्राङ्गारिक मल उत्पादन र तरकारीका बेर्नाहरु उत्पादन गर्दै आएका छन् ।अहिले बढी धान उत्पादन गर्नका लागि धेरैजसो रासायनिक मलको प्रयोग बढी भइरहेकाले माटोमा खराबी देखा परेकाले परिक्षणका लागि ३ कट्ठा जग्गालाई भाडामा लिएर विविध जातका धानहरु लगाइएको डाँफे पाठशाला समूहकी अध्यक्ष निर्मला चौधरीले बताउनुभयो ।

चौधरीले दिएको जानकारीअनुसार एक्स-रे, आपतकालीन र धुले गरी ७ किसिमका धानहरु र प्रजनन, मुल, उन्नत र प्रमाणित गरी ४ किसिमका विऊहरु उत्पादन गरिएको छ । ३० जनाको संख्यामा समूहमा आबद्ध सदस्यहरुले गरेको खेती गर्दा ‘ख’ आकारमा एक इञ्च गहिराई खनेर ‘श’ आकारमा ८ ठाउँबाट माटो निकालेर परिक्षण र उत्पादनबारे जानकारी लिने काम भइरहेको चौधरीले जानकारी दिनुभयो । त्यसो त त्यहाँका किसानहरु धान र मलको उत्पादन मात्रै नभई तरकारी खेतीको लागि पनि उत्तिकै लागिपरेका छन् । सिजन अनुसार तरकारी खेती र धानवाली उत्पादन कार्यमा लागेको समुहकी अध्यक्ष निर्मला चौधरीले जानकारी दिनुभयो । अहिलेसम्म धानको फल प्राप्त नगरेपनि उत्पादन हुने आशामा रहेको उहाँले बताउनुभयो । तरकारी खेतीबाट भने राम्रै फल पाउँदै आएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

उता संस्थाले हाइब्रेडको प्रयोग माटोको लागि खतरनाक बन्दै गएकाले प्रमाणित गर्नका लागि विभिन्न ठाउँमा पाठशाला समूह गठन गरी परिक्षणमा लागेको जानकारी दिएको छ । संस्थाले अर्गानिक खेतीअन्तर्गतको कार्यक्रम तय गरी दाङका ५ ठाउँमा यस्ता कार्यक्रम गरिरहेको र ५७ ठाउँमा कार्यक्रम समूह गठन गरिसकेको प्राविधिक तथा प्रशिक्षक गिरिराज देवकोटाले जानकारी दिनुभयो । अब धानबालीसँगै तरकारी खेती र कृषिजन्य क्षेत्रलाई बढी प्राथमिकता दिएर लैजान समूहलाई प्रशिक्षण दिइरहेको पनि देवकोटाले जानकारी दिनुभयो ।

मकै र धानमा गवारो देखियो

-[गोविन्द खड्का/दाङ]

यस वर्ष वर्षायामको शुरुमै मकै र धानको कलिलो मुनामा गवारो देखापरेको छ । मकै र धान फुल्ने बेला कलिलो गुवालाई खाने र परागसेचन हुन नदिने गवारो वर्षायामको शुरुमै देखापरेको हो । धानमा लागेको किराको समस्या र लक्षणहरु लिएर किसानहरु कार्यालयमा आएपछि गवारो लागेको थाहा भएको जिल्ला कृषि विकास कार्यालय दाङका बाली संरक्षण अधिकृत एवम् पेष्टिसाइड इन्सपेक्टर सहसराम चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘पसाउनै लागेको धानको गुवो (जिरे) खाइदिन्छ, धानको बाला सेतो हुन्छ र मर्दै जान्छ । अचम्म लागेको छ अहिले यति चाँडै गवारो किन लाग्यो ?’ उहाँका अनुसार अविरल वर्षा भइरहर्‍यो भने गवारो भित्रै थुनिएर आफै मर्न सक्छ । गवारोले रोपाई जागेर पलाउन लागेको अवस्थाको कलिलो पातलाई पनि खाने भएकाले गवारो लागेको हुनसक्ने उहाँको भनाई छ । उहाँका अनुसार गवारोले पलाउन लागेको कलिलो पात खाएर छिद्र-छिद्र पार्ने र क्रमशः डाठमा गएर खाने गर्छ ।

यसैगरी मकैमा पनि गवारो देखिएकाले किसानहरु ठूलो मर्कामा परेको तुलसीपुर दमारगाउँ चुलेसेका किसान चिन्तामणि भुसालले बताउनुभयो । उहाँले भन्नुभयो- ‘पहिला गाँठो हरियो भयो, अनि ओइलायो, त्यसपछि दुई/तीन दिनमै ढल्यो । मकैभरि बर्बादै हुन लाग्यो ।’ गवारो लागेको नलागेको मकै नहेरेर सुनेकै आधारमा विषादी दिन नसकिने अधिकृत चौधरीले बताउनुभयो । ‘मकै फुल्न लागेको अवस्थामा जिरेमा लाग्ने गवारो कहि कहि गाँठोमा प्वाल पारेर खाने गरेको हुन सक्छ, त्यो हेर्नुपर्छ’- उहाँले भन्नुभयो- ‘सबैभन्दा नरम भाग खाने फुल्दै गरेको अवस्थामा गुवो खाइदिदा परागसेचन हुन नदिएर उत्पादनमा कमी हुने गर्छ ।’

रोगको उपचार गर्न कार्यालयको तर्फबाट सामान्य विषादीको सिफारिस गरिने चौधरीले बताउनुभयो । ‘हामीले किसानमा विश्वास कायम गरी व्यापार बढाउने उद्देश्यले विषादी सिफारिस गर्दैनौँ ।’ तर, कतिपय एग्रोभेट व्यवसायीहरुले किसानहरुलाई कडा बिसादी दिने गरेको चौधरीको भनाई छ । त्यस्तो विषादीले एकैचोटी ठिक गरेपनि मानव स्वास्थ्यमा असर गर्ने चौधरीको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *