बम बिर्सिदाको बेहाल

  
  प्रकाशित मितिः बिहिबार, साउन २६, २०६८       | 554 Views   ||

-[डिल्ली मल्ल]

दुई चार दिन हामीलाई सुरक्षित हुनु थियो- सरकारी सेनाको नजरबाट छलिनु थियो । तर कसरी ? चारैतिरको घेराबन्दी, बाहिर निस्कने मुख्य नाकाहरुमा सेनाको उपस्थिति र गाउँ-गाउँमा परिचालन गरिएका सिआइडीहरुको निगरानीबाट बच्न बडो मुश्किल थियो हामीलाई- फलामको च्यूरा चपाएजस्तै ।

पूर्व कता हो अनि कता हो पश्चिम ? बिहान र साँझ भए पो सूर्य उदाएको र अस्ताएको हेरेर केही भेउ पाइदो हो, अन्धकार रातको यात्रा । त्यो पनि जेठमासमै वषिर्एको झरीमा कसरी पत्तो लगाउनु पूर्वपश्चिम । अहँ, केही मेसो छैन, थाहा छ त केवल स्थानीय साथीहरुको भनाईमा हामी पूर्व जाँदैछौँ- पूर्वी तनहुँ ।

०६१ को ग्रीष्मकाल । जेठको दोस्रो साता हुनुपर्छ सायद- हामी थियौँ तनहुँको पश्चिम क्षेत्र कालीगण्डकीको आसपास पहाडी गाउँमा । न कहिल्यै आएको न त जाने सुनेको ठाउँ नै । ‘आधारइलाका’ -रोल्पा) बाट पुग्नै त एक महिना लागेको थियो हामीलाई । सरकारी सेनाका दर्जनौँ घेराबन्दी र शाही क्याम्प नजिकैबाट उनीहरुलाई झुक्याउँदै दिनरात सबै बरोबरी ठानेर कति हण्डर र दुःख कष्ट झेल्दै पुगेका थियौँ हामी गण्डकमा ।

संकटकालको तेस्रो वर्ष चलिरहेको थियो देशमा । संकटकालका संकटमय दिनहरुका बीच हामी ‘आधारइलाका’ छोडेर बिस्तारको इलाकामा पुगेका थियौँ- क्रान्तिका लागि । हामी अर्थात् आधारइलाकामा कार्यरत जनकलाकारहरुको टोली- प्रतिरोध साँस्कृतिक परिवार । टोली कमाण्डर थिए- मोहलाल चन्द ‘आधार’ । साथमा थियौँ हामी रोल्पा, रुकुम, सल्यान, दाङ, प्यूठान, बाग्लुङ, कपिलवस्तु, गुल्मी र म्याग्दीका गरी २२ जना कलाकारहरु ।

हाम्रो एउटै उद्देश्य थियो- क्रान्तिकारी गीतसंगीतको माध्यामबाट जनचेतना जगाउनु । मुख्यतः सामन्ती निरंकुश राजतन्त्रका विरुद्धमा जनमत तयार पार्नु अनि न्याय, समानता र गरिब वर्गको मुक्तिका लागि जारी जनयुद्धका पक्षमा आम मानिसलाई आकषिर्त गर्नु । साथै पश्चिमा मुलुकबाट आयातित छाडा, अश्लील र भ्रष्ट संस्कृतिको अन्त्य गरी सभ्य, समुन्नत र प्रगतिशील संस्कृतिको स्थापना गर्नु ।

अँ, हामी थियौँ पश्चिम तनहुँको विकट बस्तीमा ।

जानु थियो हामीलाई पूर्वी तनहुँमा । जहाँ सरकारी सेनाको उपस्थिति न्यून थियो । र, हामीलाई दुई/चार दिन सुस्ताउनु पनि थियो । तर, पूर्व जाने दुई-दुई पटकको प्रयास असफल भएपछि कता-कता डर लागेर आउन थालेको थियो भित्रैदेखि । कालीगण्डकीको किनार होस् या पहाडी क्षेत्रको कच्ची मोटरबाटो र सहायक नाकाहरु सबैतिर सेनाले बन्द गरेर बसेको थियो ।

लाग्थ्यो- कतै हामी उपलब्धिहीन, अनपेक्षित क्षतिको शिकार हुने त होइनौँ ? आवेगमा आएर वा हतास भएर अघि बढ्न खोज्दा वा पछि हट्न खोज्दा सेनाको फन्दामा परिने त हैन ? त्यतिखेर हामीले अलिकति सचेतता र सर्तकता गुमाएको भए …. सायद अहिले बाँचेका साथीहरुले हाम्रो नाममा पनि एक मिनेट मौनधारण गर्नका लागि घडिको सुई हेरिरहेका हुन्थे कि ?

गोल्ड स्टार जुत्ता, -हरियो कपडाको मिल्ट्री बुटबाट हामी ‘माथि’ उठिसकेका थियौँ त्यतिखेर ।) वान पोलार झोला, झोलामै झुण्ड्याइएको स्लिपिङ व्याग, नुहाउन, धुन नपाएको फुस्रो, मैलो शरिर र कपडाहरु अनि दुई मिटर टाढै भएपनि नाकमै ठोक्किन आइपुग्ने पसिनाको गन्ध….. । आखिर जति लुकाउन खोजे पनि माओवादी हुलिया कहाँ ढाकिन्थ्यो र ?

हुलिया लुकाउन नसके पनि दुई/चार दिन लुक्नैपर्ने भएको थियो हामीलाई । किनकि माओवादी जनसेनाको खारा आक्रमणको असफलतापछि सरकारी सेना गण्डकका पाल्पा, तनहुँ र स्याङ्जामा खनिएको थियो । स्थानीयबासीका अनुसार सेनाहरु भन्थे रे- ‘आजभोलि यता बन्दुकेहरु छैनन्, खारातिर गा’छन्, यी झोलेहरुलाई त लखेटी-लखेटी सिध्याइन्छ ।’ हुन पनि भएको थियो त्यस्तै । सेनाले हाम्रो अवस्था राम्रैसँग बुझेको थियो । र, ‘झोले’हरु खोज्दै निस्पिmक्रीका साथ दुर्गम गाउँ-गाउँसम्म पुगेको थियो ।

एकदिन अघिमात्र कालीगण्डकीको किनार करुवाटार पुगेर एकछिन सुस्ताउने, पानी पिउने र अघि बढ्ने मनसायले अघि बढेको हाम्रो टोलीलाई गोठालो बाले जंगलमै नरोकेको भए सायद हामीले पानी पिउन नपाउँदै सरकारी सेनाले हाम्रो ज्यान लिइसकेका हुने रहेछन् । धन्न ती गोठालो बा समयमै भेटिएर मृत्युको मुखैबाट हामीलाई फिर्ता गरिदिएका थिए ।

जेठको दोस्रो साता थियो । दिनभरको चर्को गर्मी, सेनाको घेराबन्दीबाट बच्न दिनभर स्थानीय कुमाल बस्तीमा छिपेर बस्यौँ । र, साँझ खाना खाइसकेपछि तेस्रोपटक पूर्वी यात्राका लागि झिटी गुन्टा बोकेर बाटो लाग्यौँ । आखिर जानु नै थियो- पहिलो र दोस्रोपटक जंगल र सहायक बाटो अपनाएर जाँदा फर्किनु परेकाले यसपटक मोटर बाटैबाटो जाने निर्णय भयो । बाटोमा आइपर्ने जस्तोसुकै चुनौतीको सामना गर्ने र रातभरमा जोखिमपूर्ण नाका पार गर्ने योजनासहित साँझ ८ बजेतिर नै हिडियो ।

विडम्बना, चैतदेखि नपरेको पानी त्यसै रात पर्नुपर्ने ? हिडेको एक घण्टा नबित्दै ठूल्ठूलो पानी पर्‍यो । एकातिर पानी, अर्कोतिर सेनाको तीव्र घेराबन्दी । हाम्रा लागि सबै शत्रु नै भैदिए । तैपनि माओवादी न परियो- प्रधान शत्रु र सहायक शत्रुलाई छुट्याउन जानेकै थियौँ क्यारे । प्रधान शत्रु (सरकारी सेना) बाट बच्न सहायक शत्रु (पानी)को उपयोग गरियो ।

पानी-पानीमा रुझेर के पाउनलाई गौडा कुरेर बस्थे र सेनाका जवानहरु । उनीहरुलाई हामीप्रति सद्भाव थियो/थिएन ? त्यो त उनैले जानून् । तर, उनीहरुले पानीमा रुझ्दै दुःख कष्ट बेहोरेर रातभर हामीलाई कुरिरहन सकेनन् सायद । त्यसदिन हामीले प्रयोग गरिरहेको बाटोमा उनीहरु बसेका रहेनछन् । हामी भने पानी-पानीमा रुझ्दै, भिज्दै प्लाष्टिक ओढेर रातभरमा जोखिमपूर्ण नाका र सेनाको घेराबन्दी पार गर्‍यौँ ।

जम्मा जम्मी २४ जनाको संख्यामा थियौँ हामी । सैन्य फौजसँग मुकाबिला गर्न हामीसँग त्यस्तो कुनै हातहतियार थिएन । थिए त मात्र- मादल, सारङ्गी, गिटार र त्यस्तै १०/१५ वटा सकेट बम । अनि केही बन्दोबस्तीका सामानहरु । त्यसैले हिड्दा सुरक्षा अवस्था ख्याल गर्दै केही परि आए पनि कम क्षति हुने गरी मुख्य टोलीलाई बीचमा पारेर ५०/६० मिटरजतिको दूरीमा ३ जना अगाडि हिड्ने र २ जना पछाडि हिड्ने गरी फर्मेशन मिलाएका थियौँ ।

फर्मेशनमा त्यस दिन म र एकजना रोल्पाली साथी ‘मुक्तिआहृवान’को जिम्मा पछाडि परेको थियो । साथमा दुई/दुईवटा सकेट बम बोकेर हामी टोलीभन्दा अलि पछि-पछि हिडिरहेका थियौँ- ताकि हाम्रो पीछा कोही लागेमा पत्तो पाउन वा पछिको गतिविधि बुझ्नलाई सजिलो होस् र पछिबाट आक्रमणै गरिहाले पनि मुख्य टोलीलाई क्षति पुर्‍याउन नसकोस् ।

हिड्दा टर्चलाइट बाल्नु, बोल्नु त आफैमा आत्मघाती कदम थियो, सामान्य खोक्ने र हिड्दा खुट्टा जोडले बजाउने स्थिति पनि थिएन । पूरै चुपचाप निस्पष्ट अन्धकारमा अगाडिको कालो आकृति हेर्दै अनुमानको भरमा पाइला चाल्नु कम्ति कष्टकर थिएन ।

झण्डै रातको १ बजेतिर तनहुँको रिसिङ रानीपोखरी भन्ने ठाउँभन्दा अगाडि पुगियो । त्यसभन्दा अगाडिको गाउँ पार गरेपछि स्थानीय साथीहरुले जोखिमपूर्ण नाका क्रस गरिएको भन्दै १५ मिनेटजति आराम गर्न भन्नुभयो । ४/५ घण्टादेखिको लगातारको हिडाई, वर्षे झरीलाई नै बिर्साउने मुसलधारे पानी, निस्पट अँध्यारोमा भेलले चिरा पारेका खाल्डाखुल्डीमा परेर ढल्दै, उठ्दै हिड्नुपर्दाको हालत र ‘बन्दोबस्तीका सामान’ अनि ‘आतंककारी दस्तावेज’ बोकेका गह्रौँ झोलाहरुको थिचाइले थिचिएका हामी यति थाकेका रहेछौँ कि आराम गर्ने भनेका त निदाउन पो थालेछौँ ।

१५/२० मिनेट आ-आफ्नो लाइनमै बसेर सुस्ताएका हामी फेरि गन्तव्यका लागि पाइला बढायौँ । थकान र निन्द्राले अर्धचेतजस्तै भएको मैले हातमा समाएको सकेट बम बसेकै ठाउँमा छोडेर हिडेछु । हिडेको त्यस्तै ५ मिनेटजति भएको थियो होला, आफैलाई केही छुटेजस्तो न केही हराएजस्तो कस्तो-कस्तो महसुस भयो । झोला छामेँ, गोजी छामेँ, यसो कम्मरतिर हात लिएको त गि्रनेड पर्समा एउटै मात्र बम छ ।

त्यसपछि पो निन्द्रा खुल्यो । लौ बर्बाद भयो, हातमा समाइराखेको बम त कता छोडिएछ कता ? सँगै हिडिरहेको साथी मुक्तिआहृवानलाई बम हराएको र भर्खर बसेको ठाउँमा छुटेको हुन सक्ने बताएँ । लिन जाउँ कि के गरौँ-गरौँ भयो ।

पछिबाट त्यत्रो टोलीलाई के भनेर रोक्न लगाउनु ? बम नै बाटोमा बिर्सेको खबर पठाए कमाण्डरले के भन्लान् ? नरोकेर एक्लै खोज्न जाउँ त पछि टोलीलाई भेट्न सकिएन र हराइयो भने ? न त कतै चिनेको ठाउँ, न जानुपर्ने ठाउँ नै थाहा छ । झन् त्यसमै चारैतिर सेनाको घेराबन्दी छ, गाउँ-गाउँमा सिआइडीहरु परिचालित छन् । अलिकति मात्रै तलमाथि भयो भने दुश्मनको पञ्जामा पर्न के बेर ?

तर, यतिका धेरै सोच विचार गर्ने समय नै कहाँ थियो र ? यता उता कतै नसोचिकन झोला सँगै हिडिरहेको साथीको हातमा दिएर पछिल्तिर यसरी कुँदे कि मानौँ म यो बाटोमा सयौँ पटक हिडिसकेको छु, जहाँ आँखा चिम्लेर पनि दौड्न सक्छु ।

त्यतिखेर सेनाको डर, त्रासभन्दा पनि बम भेटिन्छ कि भेटिन्न भन्ने सुर्ताले ओठ मुख सुकिसकेका थिए । एकातिर अनिकालको बेला बम हराउनु, अर्कोतिर त्यही बमका कारणले हुने सम्भावित मानवीय क्षतिको चिन्ताले म बेहोसजस्तै भएको थिएँ ।

अघिसम्म आएको पानी केही कम भएपनि आकाशमा बादलले पूरै ढाकेको थियो । पारि-पारि क्षितिजमा पहाडका काला ढिस्काहरुले आकाश र जमीनको फरक त्यही हो भन्ने छुट्याउन सक्ने बाहेक अरु केही देखिदैनथ्यो । म पहिले आएको बाटैबाटो दौडिए बेस्मारी ।

त्यस्तै दुई तीन मिनेटको दौडाईपछि जहाँ म बसेको थिएँ, त्यही पुगेछु, त्यसको एउटै संकेत म बसेको सिधै अगाडिको ठूलो रुख थियो । रुख के को हो थाहा भएन तर त्यही निशानाका कारण मैले बिर्सेर गएको बम यतै होला भन्ने अनुमान गर्दै भुँईमा छामछुम गरेँ । नभन्दै मसिना ढुङ्गा भएको जमीनमा अलि हात लाग्ने त्यही बम नै रहेछ । बम भेटिएपछि छाती ढक्क फुलेजस्तै भयो, शरिरभरि जिङरिङ्ग काँडाहरु उमि्रए, हातगोडा लगलग काँपे ।

भोलिपल्ट दिउँसोको समीक्षात्मक बसाईमा रातीको त्यो ‘बमकहानी’ गुपचुप पारियो । ‘जे भयो-भइसक्यो, कमाण्डरलाई जानकारी गराए गाली पाइन्छ, आखिर बम भेटिहाल्यो, कमाण्डर र टीमलाई नभन्नू’ भनेर सँगैको साथीलाई मनाइसकेको थिएँ पहिले नै ।

त्यो घटना सम्झँदा अहिले पनि कता-कता डर लागेर आउँछ- यदि त्यस रात त्यो बम नभेटिएको भए ?

२०६८ साउन २०, दाङ

7 Comments

  • KAMAL DANGI

    niekai ramro chha gaurab purna atit katahotalera jhaskaiyko chha.saral bhasama kata kata sankaraman ma bhuleraheka bastiparti sankraman mai moj gariraheka netaharule pani yk patak sabai hamra gaurab purna atit samjhanu parchha natra janata ra garib basti birsadako behal pheri lekhne thau nai rahane chhaina.

  • Jaya Deep

    That’s heart touching story, I feel never tired reading such emotional life-like incidences in the form of a story. I would like to thanks the writer for sharing the utmost experiences of his life.

  • mero mutu

    एकातिर पानी, अर्कोतिर सेनाको तीव्र घेराबन्दी । हाम्रा लागि सबै शत्रु नै भैदिए । तैपनि माओवादी न परियो- प्रधान शत्रु र सहायक शत्रुलाई छुट्याउन जानेकै थियौँ क्यारे । प्रधान शत्रु -सरकारी सेना) बाट बच्न सहायक शत्रु -पानी)को उपयोग गरियो । पानी-पानीमा रुझेर के पाउनलाई गौडा कुरेर बस्थे र सेनाका जवानहरु । उनीहरुलाई हामीप्रति सद्भाव थियो/थिएन ? त्यो त उनैले जानून् । तर, उनीहरुले पानीमा रुझ्दै दुःख कष्ट बेहोरेर रातभर हामीलाई कुरिरहन सकेनन् सायद । त्यसदिन हामीले प्रयोग गरिरहेको बाटोमा उनीहरु बसेका रहेनछन् ।

    really, dilli jee ko lekhai ramailo parako 6……. saral tara mutu chasakka banaune… it’s great.. lekhdai janus nirantar.

  • sandesh nepali

    हजुरले झै सबै कम्ररेड हरुले सम्झे कोत राम्ररै हो तर के गर्ने दुख लाग्छ ति दिन मा नेताहरु ले बोलेका शब्द ति बेवहार कहां गए हजारैा शहिद भए शोसक र सामन्ति बाट मुक्त दिलाउने बचन जनतालाइ दिएको शहिद को बाटो कुन हो भनि सोध्दा अलमल परेकाछन यि नेता धिक्कार छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *