देश बनाउने छापामार सुनिताको सपना

  
  प्रकाशित मितिः बुधबार, भदौ ७, २०६८       | 117 Views   ||

कुनैबेला गाउँमा जमिन्दारको घरमा कम्लरी बसेर भाँडा माझ्ने सुनिता अहिले जनमुक्ति सेनाको एक कमाण्डर भएर सेना समायोजनमा जान तयार भएर बसिरहेकी छिन् । त्यो पनि आफू एक्लै होइन, आफूले कमाण्ड गर्ने ९० जनाको टिमसँगै । जनमुक्ति सेनामा कार्यरत सुनिता चौधरी ‘मेलिना’ कम्पनी कमाण्डरको हैसियतमा ज्वार स्मृति बिग्रेड तिलामा कार्यरत छिन् ।

जनयुद्धमा लड्दा उनको दाहिने हातमा लागेको २ वटा गोलीमध्ये एउटा अझै पनि निकाल्न पाएकी छैनन् उनले । करिब २ दर्जन युद्धमोर्चामा लडिसकेकी सुनिता कुशल फाइटर महिलामा गनिन्छिन् । युद्धका बेला आफूलाई एसाल्ट गुप (फाइट टिममा) मा नराख्दा आफ्ना कमाण्डरसँग रोएरै पनि लडाईको व्याटलमा पुगेर लडेको अनुभूति उनी सुनाउँछिन् । दाङको धनौरी गाविस खैरेनीकी सुनिता हेर्दा जति फरासिली देखिन्छिन्, त्यत्तिकै आँटिली पनि ।

यहाँ प्रस्तुत छ- जनमुक्ति सेनाको पाँचौँ डिभिजनअन्र्तगत ज्वार स्मृति बिग्रेड तिलामा कार्यरत सुनितासँगको जम्काभेट ।

तपाईको नाम र पृष्ठभूमि बताइदिनुहोस् न ?

मेरो नाम सुनिता चौधरी । घर दाङको धनौरीमा पर्छ । म एक गरिव किसानकी छोरी हुँ । मेरो आमाले जमिन्दारको घरमा काम गर्न नसक्ने भएपछि मैले गाउँकै देवीप्रसाद न्यौपानेको घरमा कम्लरी भएर काम गर्थे ।

अनि जनयुद्धमा कसरी लाग्नुभयो त ?

म ०५७ सालदेखि गाउँस्तरबाटै संगठनमा कमिटेड भएकी थिए । त्यसपछि जिल्लामा कार्यरत सेनाको फर्मेशन स्क्वायडमा जाने अवसर मिल्यो र चान्सबस त्यहि साल मैले पहिलो लडाई दाङको पञ्चकुलेबाटै शुरु गरे ।

यहाँसम्म आउँदा कति वटा लडाई लडेको अनुभव छ नि तपाईसँग ?

०५७ मा पञ्चकुलेदेखि ०६२ रुपन्देहीको तौलिहवासम्म करिव २ दर्जन युद्धमोर्चामा लडेको अनुभव छ ।

के-कस्ता अनुभव छन् त युद्धका ?

मसँग लडाई लड्दाका सबै पक्षको अनुभव र अनुभूति छ । म आफूमात्रै होइन आफूसँगै रहेको टिमलाई लडाउँदै र लड्ने काम सँगसँगै गरेको छु । उतिबेला सेनाको विशेष फोर्स (एसटीएफ) थियो, त्यसमा महिला सेना म मात्र थिएँ । रुकुमको खारा आक्रमणमा बमको धमाकाले घाइते हुन पुगेँ भने रोल्पाको कोटगाउँ भिडन्तमा मेरो दाहिने हातमा २ वटा गोली लाग्यो । त्यसमध्ये एउटा निस्केर गयो र अर्को यहिभित्र नसामा रहेको छ, निकालेकी छैन ।

पीडा भइरहेको छैन त ?

युद्धमा आफ्नै साथीलाई गुमाएको भ्न्दा त कम पीडा छ । अब अप्रेसन गरेर गोली निकाल्ने तयारी भइरहेको छ ।

युद्धमा रहँदाको सबैभन्दा बढी पीडादायी अनूभूति ?

उद्देश्यमा समर्पित भएर लागेपछि अन्य सबथोक सामान्य लाग्दा रहेछन् । एक पटक सायद कृष्णनगरको सेना व्यारेक हान्न जाने क्रममा हुनुपर्छ, म लड्ने एसाल्टमा परेन । मलाई लडाईमा नपारेकोमा धेरै पीर लाग्यो र म आफ्नो कमाण्डरसँग धेरै रोएँ र त्यसपछि मलाई एसाल्टमा हालिएको थियो । युद्धमा मैले आफैसँग एउटै थालीमा भात खाएका धेरै साथी र आफ्नै कमाण्डरलाई पनि गुमाएको छु । त्यति मात्र होइन मैले आफ्नै प्रेमीलाई समेत गुमाएको छु । विवाहको लागि मेरो प्रस्तावित साथी विरुलाई मैले ०६२ सालमा रुपन्देहीको घोडामा गुमाउँदा निकै पीडाको महशुस गर्न पुगेँ ।

अनि अहिले प्रेम र विवाहबारे ?

अहिले केही सोचेकी छैन । म प्रेममा विश्वास गर्छु र प्रेम विवाहलाई रुचाउँछु । प्रेमले जीवनलाई सरल, सहज र सहयोगी बनाउनुपर्छ भन्ने मान्यता म राख्छु ।

राजनीतिबारे ?

हामी भन्छौँ- जीवन संघर्ष हो, मलाई लाग्छ राजनीति पनि त्यही हो । विभिन्न उतार-चढाव, माइनस-प्लस भएर यो अगाडि बढ्छ । तर, हाम्रो राजनीतिमा भने अहिले अलि बढी निराशा छाएको छ ।

तपाई समायोजन वा पुनःस्र्थापना कहाँ जान चाहनुहुन्छ ?

युद्धमा रगत धेरै बगाई सकिएको छ । मेरो रुचि सैन्य क्षेत्र नै हो । म आवश्यक सबै प्रकृया पूरा गर्न सक्छु भन्ने आत्मविश्वास छ । चाहना पनि सेनामै जानेछ ।

कहिलेकाहीँ ‘म महिला कमजोर छु’ भन्ने फिल हुन्छ कि हुँदैन ?

अहँ, म आफूलाई महिला भएर कमजोर ठान्दिन र अरुबाट हेपिन पनि चाहन्न । म लडाईमा पनि कहिल्यै डिफेन्सिभ भइन । म अरुसरह गर्न सक्छु भन्ने पूर्ण आत्मविश्वास छ र गर्दै पनि आइरहेकी छु ।

देश बनाउने बारेमा के सोच्ने गर्नुहुन्छ ?

म यही चाहन्छु कि सबै मिलेर देशमा समान्ता ल्याऔँ र देशलाई समृद्धितिर डोर्‍याऔँ । हाम्रो देशलाई सबै मिली सुन्दर  बनाउन पाए र सबै खुसी भएर बाँच्न पाए कति राम्रो हुन्थ्यो । हाम्रो त्यो सपना कहिले पूरा होला ?

प्रस्तुति : अजयदीप शर्मा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *