वर्षको एक दिन, हिड्दाहिड्दै
बीच बाटोमा भासियो एक युगनायक
र सालिक बन्यो
अचानक,
हाहाकार फैलियो सहरमा
पछ्याउँदै सनसनीपूर्ण खबर ओइरिन थाले मान्छेहरू
ज-जसले छोए वा हेरे त्यो सालिकलाई
ती सबै- हिड्दै गरेकाहरू पूर्णकदका,
बसिरहेकाहरू अर्धकदका सालिक बने
सालिकै सालिकले भरियो सम्पूर्ण सहर
र, बाटोको छेउमा बग्यो भेल
सालिकहरू रोएको आँसुले
सालिकहरूले हेरे चुपचाप
धारामा खुकुरीको रगत पखालिरहेको युवक
शिर गिडिएका आमाबाबुको रगतको आहालमा
रुँदारुँदै निदाएका अबोध नानीहरू
र, गैँतीले बालुवा कोट्याउँदा निस्केका
मृत मानिसका तरुलजस्ता हात गोडाहरू,
धपाउन सकेनन् सालिकले
उनीहरूकै काँधमा बसेर बिस्ट्याइरहने गिद्ध
र, अनुहारमा भुन्भुनाइरहने हरियो झिङ्गा ।
शब्दबिनाका सालिकहरुको आँखामा अझै निखि्रसकेको छैन सपना
कोही आउँनेछ एक दिन
ब्यूँझाउनेछ सम्पूर्ण सालिकलाई आफ्नो स्पर्शले
फेरि जीवन फुल्नेछ सहरमा,
मनाइनेछ उत्सव अघि-अघि लाएर झाँकीहरू,
घन्किनेछ तुमुल ध्वनि-
जिन्दगी- जिन्दावाद
स्वाधीनता- जिन्दावाद
मानवता- जिन्दावाद, जिन्दावाद