कमरेड हाम्रा सपना विचल्लीमा त पर्ने होइनन् ?

  
  प्रकाशित मितिः सोमवार, भदौ १२, २०६८       | 104 Views   ||

-[हिक्मत गोठालो]

टुङ्गिएको छैन अभियान, पुगिएको छैन गन्तव्य । पराजित भएका छैनन् वैरीहरु । हिजो हामी थोरै थियौँ तर शक्तिशाली थियौँ । हामी अभावमा गौरव गथ्यौर् किनकि उद्देश्य महान थियो । नेता, कार्यकर्ता एक साथ हुन्थ्यौँ । विचार मन्थन गथ्र्यौँ र युनिफाइड कमाण्डमा लड्थ्यौँ । जीतमा पनि सँगै हुन्थ्यौँ र असीम खुसीका पहाडहरु चढ्थ्यौँ अनि हारमा पनि सँगै हुन्थ्यौँ र समीक्षा गथ्र्यौँ । यस्तो गहिरो आत्मीयता थियो कि खाँदा सँगै र भोकमा पनि सँगै । नेता, कार्यकर्तासँग र कार्यकर्ता नेताकहाँ पुग्थे र समस्या बिसाउँथे । सबै कार्यकर्ता मायालु लाग्थे र नेता आदरणीय हुन्थे ।

सबैमा अदम्य आँट र असीम साहस थियो अनि वेगवान गति । पहाड फोड्ने उत्साह थियो र नयाँ बाटो खन्ने सङ्कल्प । र, थियो हिमाल चढ्ने उद्देश्य । हामी स्पष्ट मन बोकेका थियौँ । जनता, कार्यकर्ता र नेताबीचको गजबको सम्बन्ध हुन्थ्यो- जुन भरोसायोग्य थियो । जनता भन्थे- कार्यकर्ताले हामै्र लागि दुःख उठाएका छन्, मायाको पछ्यौरीले छोप्नुपर्छ । कार्यकर्ता भन्थे- नेता विचार र योजना हो, त्यो नभए दिशाविहीन भएर सकिन्छौँ । नेता भन्थे- कार्यकर्ता पेच र किला हुन्, जसरी पनि जोगाउनुपर्छ । फेरि कार्यकर्ता भन्थे- जनता आधार हुन्, उनैका लागि समर्पित हुनुपर्छ ।

नेता, कार्यकर्ता र जनताबीचको यो बुझाईमा चट्टानी एकता थियो र भीमकाय दुश्मनसँग लड्ने शक्तिशाली हतियार थियो । ती हतियारले आगोका लप्काहरु ओकल्थे र दुश्मनलाई छिया-छिया बनाउँथे । संगठन परिवारजस्तै थियो । हामी आफ्नो लागि मात्रै लड्ने छैनौँ, संसारभरिका शोषित पीडितका लागि लड्छौँ- त्यतिबेला हाम्रो प्रतिज्ञा थियो । योजना कोथ्र्यौँ राज्यसत्ताबाहेक अरु सबै भ्रम हो । एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग र आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ थियौँ । र भन्थ्यौँ- लडाई आंशिक सुधारका लागि सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापी दिने छैनौँ । अठोट थियो हामीमा र गौरवले छाती सगरमाथाझैँ चुलिन्थ्यो । उत्साह कोशीझैँ बग्थ्यो र जाँगर वायुपङ्खी घोडाझैँ कुद्थ्यो ।

देश र जनतालाई छातीमा राखी कसम खाँदा उतिबेला हामीले पढाई छुटाउने कुरा गर्‍यौँ र छोड्यौँ पनि । निजी सम्पत्ति त्याग्ने कुरा गर्‍यौँ र त्याग्यौँ पनि । परिवार मोहमा नफस्ने कुरा गर्‍यौँ र फसेनौँ पनि । सक्नेले रुपान्तरणसँगै राजनीतिकरण पनि गर्‍यौँ, नसक्नेले सम्बन्ध तोड्यौँ । सबै पुराना सम्बन्धहरु भत्काउने निर्णय र आदेशसँगै कक्षाहरु छाड्यौँ, प्रमाण-पत्रहरु मिल्कायौँ । कुर्सीहरु त्याग्यौँ र पेन्सनपट्टाहरु पार्टीलाई बुझायौँ । परिवार, इष्टमित्र, नातागोताको इच्छाविपरित कुम्लाकुम्ली बोकेर चे ग्वेभाराझैँ संसार जित्ने अठोटका साथ मुठ्ठीहरु उठाएर सपथ खायौँ- ‘हामी मारिन सक्छौँ र पार्टी पूरै शहीद बन्न सक्छ तर हाम्रो विजय यात्रा रोकिने छैन । क्रान्ति मर्दैन र परिवर्तनको न्यानो घाम हाम्रो भूमिमा उदाएर छाड्नेछ । त्यो उज्यालो भविष्य ल्याउनका लागि योद्धाहरु संग्राममा एक ढले सयौँ रक्तबीज उमि्रनेछन् र सयको ठाउँमा हजार अनि लाखौँ लाख क्रान्तिकारी उत्तराधिकारीहरु जन्मिनेछन् र मुक्तियुद्धमा लामबद्ध हुनेछन् ।’ यही भन्दै सबैको हात समात्थ्यौँ, मुठ्ठी दह्रोसँग कस्थ्यौँ र बिगुल फुक्थ्यौ- ‘कि मुक्त जीवन कि सधैँ बाँच्ने शहीद’ ‘जिते संसार, हारे हत्कडी र नेल ।हाम्रा नसा-नसामा तातो रगत सल्बलाउँथ्यो र नाप्नै नसकिने पर्खाल नाघिन्थ्यो । मनहरु प्रशन्न हुन्थे र हजार माइलको यात्रामा चल्ने पाइलाहरु नितान्त नयाँ हुन्थे र जीवनका रङ्गहरु गुलाबले पोतिएझैँ क्रान्तिमय हुन्थे ।

आज हामी निकै धेरै भएका छौँ तर छितरिएजस्तो, कमजोर भएजस्तो छौँ । स्रोत र साधनले अमिर भा’छाँ तर हिनताबोधले लखेटिरहेजस्तो । किनकि हाम्रो गन्तव्यमा तुँवालो लागेजस्तो अन्योल छाएको छ । नेताहरु हजारौँमा र कार्यकर्ता लाखौँमा छौँ तर कसैले कसैको मतलब राख्दैन । गोटीहरु छरिएका जालजस्तो नेताहरु आफ्नै सुरमा, कार्यकर्ता आफ्नै ध्यानमा । न भेटघाट न छलफल, न त अनुगमन न त मूल्याङ्कन नै । भेटघाटमा किन समय खर्चिने ? छलफल किन र के का लागि ? अनुगमन छाता ओढाउनेले गरी हाल्छ, मूल्याङ्कन कैची चलाए भइहाल्छ । भावनात्मकता औपचारिकतामा मात्र सीमित छ । नेतालाई कार्यकर्ता घाँडो भएजस्तो, कार्यकर्तालाई नेता बेइमान बन्दै गएजस्तो । आकाशबेलीझैँ जेलिएको छ अविश्वास । न गति न अन्वेषण नै । हिड्नका लागि त बाटो सुल्टो चाहिन्छ तर बाटै फेला नपरेजस्तो । अन्वेषणले त स्पष्ट गन्तव्य देख्छ तर गन्तव्य आफै भ्रमित भएजस्तो । हिडाइमा रोकावट छ, बोलाइमा व्यथिति । त्यसैले हामी अस्पष्ट भविष्य छाम्ने मरुभूमिका हरिणजस्ता भएका छौँ ।जनता बिचरा मुक्तिदाता मानेर आफ्नै गाँस खुवाए, आफ्नै ओछ्यानमा सुताए र चिसा रातभरि गल्लीमा बसेर दुश्मनबाट जोगाए तर अहिले सबै शहर पसे र गाउँका जनता छायाँमा त परे नै अहिले त गन्तीमै आउन छाडे । रामारोशन, चुनवाङ र थवाङहरु यतिबेला कुन अवस्थामा होलान् ? गुम्चाल, रिठेपानी र अनेकोटको घाउमा मलम लाउने कोही बाँकी होलान् कि नहोलान् ? भन्न गाह्रो छ ।

कार्यकर्ता भविष्यको खोजीमा चौबीसै घण्टा छट्पटाइरहेको स्थिति छ । उनीहरु जनताको मुक्तियुद्धमा सामेल भएर अनेकन दुःख र पीडालाई पचाउन तयार भए । नेतृत्वको निर्देशनमा मर्न तम्सिए र एकैचोटीमा दर्जनौँ र सयौँ भएर बलिदानी गरे । संयोगले नमरेकाहरु घाइते जसरी छट्पटाइरहेका छन् । कतै गल्ती पो गरिएछ कि ? भित्र मनमा शंकाको सियोले चसक्क घोचेजस्तो नयाँ भनिएकोतिर लम्कने कि पुरानोतिर र्फकने दिमागमा दुविधाको सुल बेस्कन मडारिएर गहिरोसँग गम खान्छ । न घर समालियो न परिवारसँग सम्बन्ध सुधारियो, न त संघर्षमा जीवन नै सिंगारियो । कता-कता चौबाटोमा उभिएको बटुवाजस्तो, बेवारिसे बालक सडकमा अलपत्र परेजस्तो भएको छ हाम्रो जीवन । जीवनपर्यन्त लड्ने हाम्रो बाचामा स्खलन आएको छ । यो भन्दा पीडा सायद आगोमा जल्दा नै हुन्छ होला । अझ नपुरिने पीडा त अयोग्यको कालो टिका लगाएर क्याम्पबाट बाहिरिनेहरुलाई होला । यो बेला नेता किंकर्तव्यविमुढ भए जस्ता- क्रान्तिमा अग्रसर हुने कि सम्झौतामा हस्ताक्षर गर्ने ? कुनै छेउ टुप्पो समाउन नसकेजस्तो देखिरहेको छ ।दृष्टिकोणमा निखारपन ल्याउने कि जोड घटाउमै मरिमरी दौडिरहने ? ओल्लो घाट न पल्लोतिर भएजस्तो गरी अलमलको तिरमा नै हाम्रा सपनाहरु बिलाउने त होइनन् ? प्रश्नसँगै आशङ्का र आलोचनाहरु मुल फुटेझैँ फुटिरहेका छन् ।

ताली खाँदा रमाउने, चाकरी र चाप्लुसी रुचाउने संस्कृतिको स्रोत अहिले पार्टीमा मौलाउदै गइरहेको छ । ती संस्कृतिको संरक्षण गर्ने टाउकाहरुले मजदुरलाई भेट्छन् कि मालिकलाई ? जनताकोमा जान्छन् कि प्रभुकोमा ? ओ मेरा कमरेड यसरी हामी आखिर कहाँ पुग्छौँ ? के हामी यसरी नै उज्यालो संसारको निर्माण गर्न सकौँला र ? अभिष्टमा पुग्ने क्रान्ति जारी छ कि अन्त्य भयो ? जारी छ भने हामी बेकम्मा किन छौँ, अन्त्य भएको हो भने के पायो नेपाली समाजले ? दुश्मन भयानक भएर आउँदैछ, हाम्रो तयारीमा मन्दी छ । मनहरुमा शंका साउने भेलझैँ उर्लिरहेका छन् । आफैभित्रको मनले प्रश्न गरेको गर्‍यै छ- कतै हामीले हाम्रै चिहान त खन्दै छैनौँ ?

पार्टीभित्र फोहरको डुंगुर थुपि्रदै गइरहेको छ । हिजो वर्गसंघर्षमा हाम फालेका निमुखा गरिब यो बेला झन ठूलो विपत्तिमा परेका छन् । यही पार्टीभित्रका माथिल्ला ओहदाका मान्छेहरुमा धनपति हुने होड चलेको छ । त्यसैले कमरेड  फेरिएका यी दृश्यहरुले भनिरहेका छन् हामी कही न कही बिगि्रदै र स्खलित हँदै गइरहेका छौँ र चिप्लिरहेका छौँ । हाम्रा कमरेडहरुका बदलिदै गएका जीवनहरुले गिज्याइरहेजस्तो लाग्छ, मुक्तिका लागि आहुति दिने ती वीरहरु शहीद हुन् कि मरेका मान्छे । बेपत्ता योद्धाहरु वर्ग स्वार्थमा बेनाम भए कि आफ्नै लहडमा हराए ? घाइतेहरु साँच्चै जनक्रान्तिका योद्धाहरु हुन् कि अपाङ्ग मात्र । यी सबै-सबै तस्बीरहरु के हुन् कमरेड बलिदानका किर्तिमान वा खरानीको थुप्रो ? छद्म भेषमा बैरीहरु दुधले नुहाएको स्वाङ गर्दै हाम्रै टुप्पीतिर उक्लिरहेका छन् तर हामी रातो कार्पेट ओछ्याउन छाड्दैनौँ । कोही चैते, कोही कात्तिके, कोही बेमौसमे । न शुद्धिकरण न प्रशिक्षण न पारदर्शीता ? साँस्कृतिक रुपान्तरणको नाममा प्रदुषित मनहरुलाई पर्दाले ढाकेर हुन्न कमरेड । गफ ठोकेर र झोक पोखेर क्रान्ति हुने भए भक्तपुरे र प्यूठानी रजौटाहरुले उहिल्यै गर्ने थिए तर हुँदैन कमरेड जोखिम नउठाएर ।

उल्टो बाटो हिड्दै गरेको समाज, कानुन र राज्यलाई सुल्टो बाटोमा हिडाउने हाम्रो संकल्पमा धमिरा पस्न दिनुहुन्न । अभाव, दुःख, पीडा, विद्रोह, मुक्ति स्वतन्त्रताका लागि लड्ने समय हाम्रै हो र अवसर पनि हामीलाई नै छ । तागत पूरै केन्दि्रत गरौँ र लडौँ । टुक्रा-टुक्रा परी भ्रमित नहोऊ कमरेडहरु गाउँ, गाउँले र गाउँको युद्ध आधार हो, यसलाई बिर्सिएर जित्न सकिदैन । शहर, सदन र सरकार मात्रै भनियो भने न टेक्ने हाँगो न समाउने डालोजस्तो हुन जान्छ । क्रान्तिकारी विचार, बाटो र कर्तव्यलाई सर्वोपरि राखी सर्वहारा क्रान्तिको गीत सबैले गाउन थालौँ । संघर्षमा निष्ठावान, वर्गप्रति इमान्दार र भविष्यप्रति विश्वस्त सबै जनहरु एक भएर जुटौँ र चुनौतीका दुई ठूला पहाडहरु पन्छाऔँ । अनि मात्र सजिला दिनहरु ल्याइन्छ । हिजोको जस्तै संकल्प बोकौँ त छिनभरमा मिल्काइन्छ यो सडेर मक्किएको सत्तालाई । सबैले एक स्वरमा भनौँ कमरेड, मेरो रगत, पसिना र जीवन क्रान्तिका लागि । मेरो सीप, योग्यता र क्षमता अग्रगामी परिवर्तनका लागि । अनि  मेरो धन, सम्पत्ति र परिवार सम्पूर्ण कम्युनिष्ट व्यवस्था स्थापनाका लागि निरन्तर … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *