तीज पर्व मनाउनुको औचित्य

  
  प्रकाशित मितिः सोमवार, भदौ १२, २०६८       | 100 Views   ||

-[सुशीला केसी ‘आस्था’]

नेपाली हिन्दू महिलाहरुले महत्वका साथ मनाउने तीज पर्व नेपालीहरुको संघारमै आइपुगेको छ । जति-जति मात्रामा तीज पर्व नजिकिदै गइरहेको छ, उत्तिकै मात्रामा यसका तामझामहरु पनि बढ्दै गएका छन् । शहर बजारमा महिलाहरुको भिडभाड बढ्दै गएको छ । तीजको रौनक गाउँदेखि शहरसम्म, हिमाल, पहाड, तराई सबै ठाउँमा छाएको छ । बजारका क्यासेट पसलमा मात्र होइन सबैजसो होटल र पसलहरुमा तीजका गीत घन्किएका छन् । स्थानीय एफएमहरुदेखि लिएर गाडीहरुमा पनि तीजकै गीत सुन्न पाइन्छ । असार महिनादेखि पाखाहरुमा घाँस काट्दै तीजका भाकाहरु सुसेल्छन् गाउँका युवतीहरु । कृष्ण जन्माष्टमीदेखि मादल र बासुरीको तालमा टोल, छिमेकमा जम्मा भएर गीत गाउँदै र नाच्दै गाउँका महिलाहरु तीज पर्वको स्वागत गरिरहेका छन् । यता शहर बजारतिर भने तीजले बिस्तारै विकृतिलाई बढावा दिइरहेको छ । तीज आउनुभन्दा तीन हप्ता अगाडिदेखि नै एनजिओ/आइएनजिओ, संघ, संस्था र समूहहरुको आयोजनामा होटल तथा रेष्टुरेण्टहरुमा दर खाने कार्यक्रमको आयोजना गर्दै आधा रातसम्म भड्किलो पोशाक र गहनामा सजिएर हातमा वियर र हृविस्कीका गिलाससँगै चर्का-चर्का अश्लील गीतहरु बजाएर धुमधाम र तामझामका साथ तीजमिलन कार्यक्रमहरु गरिदैछ ।

हाम्रो समाजमा महिलाहरुलाई अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरिन्छ । घरका मुख्य कामहरुदेखि लिएर सामाजिक, आर्थिक कामहरुमा महिलाहरुलाई सहभागी हुन दिइन्न । सहभागी भइहाले पनि नेतृत्वदायी ठाउँमा होइन सामान्य सदस्यको रुपमा मात्र ठाउँ दिने गरिएको छ । अझै पनि महिलाहरुलाई पुरुषको तुलनामा कमजोर हुन्छन् र केही मानेका हुँदैनन् भन्ने ढंगले अबला, दया र करुणाकी प्रतिमूर्तिको रुपमा लिएको पाइन्छ । यो संस्कार हामीलाई हिन्दूवादी मनुस्मृतिग्रन्थले दिएको हो । तीज मनाउने संस्कार पनि सायद त्यतैबाट आएको हुनुपर्दछ । एक वर्षका ३ सय ६५ दिनहरुमा ३ सय ६३ दिन शोषण दमन गर्ने र २ दिन स्वतन्त्रता दिने यो परिपाटी आफैमा गलत त हुँदै हो । त्यसमाथि पनि तीज पर्वका रुपबाट हेर्ने हो भने महिला वर्गको लागि कतै पनि न्यायसंगत मान्ने ठाउँ छैन । अविवाहिता महिलाहरुले राम्रो श्रीमान पाउनको लागि र विवाहिताहरुले आफ्नो श्रीमानको लामो आयुका लागि निराहार व्रत बस्ने संस्कार हामीलाई यही हिन्दू धर्मले सिकाएको छ । हाम्रो सामाजिक संस्कारले महिलाहरुलाई एकातर्फ पतिभक्ता र पतिव्रता बन्न सिकाउँछ र अर्कोतर्फ मर्दका दश वटी हुन्छन् भनेर पुरुषलाई बहुविवाह गर्ने छुट दिएको छ । समाजमा एक रथका दुई पाङ्ग्राको रुपमा रहेका महिला र पुरुषको बीचमा विभेद र असमानताको सिको हामीले कहिलेसम्म गर्ने हो ? राम्रो र असल जीवनसाथी व्रत बसेर, भगवानको पूजा गरेर पाउन सकिन्न । जुन महिलाहरुले भगवानमा धेरै आस्था र श्रद्धा गर्दछन्, पूजाआजा र व्रतमा धेरै समय बर्बाद गर्दछन्, तिनै महिलाहरु श्रीमानबाट सबैभन्दा बढी पीडित छन् । श्रीमानले गरेको अत्याचारको विरुद्धमा बोल्न नसक्ने र भगवानले आफ्नो गलत आचरण भएको पतिलाई सुधारिदिऊन् भन्ने आशा गर्नु मूर्खतासिवाय केही होइन । समानताको लागि महिला स्वयम् आफै लागेर हरेक ठाउँमा संघर्ष गर्न जरुरी हुन्छ । राम्रो जीवनसाथी पाउन स्वयम् आफै अगाडि सरेर सम्बन्धित व्यक्तिसँग तर्क बितर्क र छलफल गरेर बुझ्न सकिन्छ ।

तीजको शुरुको दिनमा श्रीमानको लागि व्रत बसिदिने चलन छ भने ऋषिपञ्चमीको दिनमा भने पानीसमेत नखाएर सप्तऋषिको पूजा गर्ने चलन छ । सप्तषर्ीको पूजा गरेमा महिनावारी भएको बेलामा अञ्जानबस कोही व्यक्ति वा वस्तुलाई छोइएको भए त्यो पाप काटिन्छ भन्ने गलत धारणा रहेको छ । सबैभन्दा पहिले त यो बुझ्न जरुरी छ कि महिनावारी हुनु कुनै पाप होइन त्यो त प्रकृतिले महिलालाई मात्र दिएको एउटा वरदान हो । महिला महिनावारी हुनु भनेको उनी आमा बन्नको लागि -गर्भधारण)को लागि सक्षम छिन् भन्ने कुराको जानकारी हो । यो अत्यन्त वैज्ञानिक र साश्वत कुरालाई धर्मशास्त्रले नछुने भएकी आमालाई पशुसँग तुलना गरेको छ । महिनावारी भएको समयमा कुनै धार्मिक कार्य वा घरगृहस्थीका सबै कार्य गर्न वञ्चित छ । यो सही पक्ष हो कि त्यो अवस्थामा महिलालाई आराम गर्नुपर्नेछ । तर, जसरी पूरै कार्यमा निषेध गरिन्छ यो गलत संस्कार हो । अहिलेका पढे लेखे र शिक्षित भएका युवतीले यस्ता खाले धार्मिक संस्कारलाई त्याग्दै नयाँ तरिकाले मौलिकतामा तीज पर्व मनाउनु जरुरी छ ।

विभिन्नखाले सामाजिक बन्धनबाट मुक्ति प्राप्त गर्नका लागि तीजलाई एउटा अवसरको रुपमा प्रयोग गरेर मनाउन सकिन्छ । वर्षभरि भोगेका पीडाहरुलाई गीतको माध्यमबाट व्यक्त गर्ने र टाढा-टाढा बिहे गरेर गएका दिदीबहिनीहरु भेटघाट हुने माध्यम पनि तीजजस्ता चाडपर्वहरु बन्ने गरेका छन् । पारिवारिक झैझमेला सहेर आफ्ना सबै इच्छाहरु दबाएर बस्नुपर्दाको पीडालाई एक/दुई दिनमात्र भएपनि साटासाट गर्ने र सबै भेटघाट हुने अवसरको रुपमा लिदा तीजको महत्व र गरिमा विशेष प्रकारको छ । यसर्थ यो पर्वलाई पूरै गलत भनेर कम आँक्नु त्यति धेरै उचित नहोला । किनकि हाम्रो समाजका महिलाहरुको लागि यो पर्वको आफ्नै महत्व छ । परम्परालाई निरन्तरता दिने नाममा धर्मको आडमा सिङ्गो महिला वर्गमाथि थोपरेका गलत कुसंस्कारहरुलाई निरन्तरता दिनु आजको २१औँ शताब्दीका महिलालाई सुहाउने काम होइन । बरु यो दिनलाई महिलाहरुको मुक्ति र परिवर्तनको पक्षमा महिला अधिकार प्राप्तिको लागि एकजुट हुने खालका सन्देश दिने गरी मनाउनु समय सान्दर्भिक र उचित हुनेछ ।

बितेका केही वर्षयता स्वतन्त्रता र उन्मुक्तिभन्दा बढी फेसन र गरगहना प्रदर्शन गर्ने आफ्नो धनसम्पत्ति कति छ र  आफू अरुभन्दा धनी छु भन्ने देखाउन एकअर्काको बीचमा प्रतिस्पर्धा गर्ने माध्यम तीज बनेको छ । सामन्ती पुरुषप्रधान समाजले थोपरेका गलत संस्कारहरुलाई च्यालेञ्ज गरेर महिला अधिकार प्राप्तिको लागि काम गर्नु त कता हो कता उल्टै महङ्गा-महङ्गा साडी र गरगहनाले सजिएर आफूलाई संसारकै सबैभन्दा सुन्दरी देखाउन कम्मर कसेर लागेको देखिएको छ । हुनेखानेहरुको देखासिकी गर्दा धन नहुने, काम गरेर पेट पाल्ने गरीबहरुको परिवारमा पारिवारिक कलह फैलिएको छ । श्रीमती र छोराछोरीहरुको लागि गहना र फेसनवाला कपडा किनिदिन नसकेर कति श्रीमानहरु निरास बनेका छन् । ऋण काढेरै भएपनि परिवारलाई खुसी तुल्याउने नाममा कति गरीबहरु ऋणको दलदलमा फसेका छन् । सामाजिक रुपमा बढ्दै गएको यस्तो गलत संस्कारलाई चिर्ने कसरी हो ? यसको दायित्व कसको हो ? यसको बारेमा सबैले गम्भीर भएर सोच्ने बेला आएको छ ।

चाडपर्वहरु केवल भड्किलो महंगो पोशाक र गहनाहरु प्रदर्शन गर्ने र लाउने खाने मात्र नभएर पारिवारिक र सामाजिक मिलनका सद्भाव बोकेर आएका हुन्छन् । तर क्रमशः यी सद्भावहरु बिथोलिदैछन् । तीज मिलन कार्यक्रम गर्ने नाममा कसैले बाटो नै बन्द गरेर रमिता देखाएका छन् । कतिले होटल रेष्टुराहरुमा चर्काचर्का अश्लील गीतहरु बजाएर अरुलाई डिस्टर्व गरिरहेका छन् । यो प्रवृत्तिले समाजलाई क्रमशः गलत दिशातर्फ धकेलिरहेको छ । आफ्ना सामाजिक मूल्यमान्यता बिर्सेर पश्चिमा छाडा संस्कृतिमा रमाउनु हामी नेपालीहरुको लागि दुःखको कुरा हो यसतर्फ सोच्न जरुरी छ । इतिहासमा महिला वर्गले निकै ठूला-ठूला त्याग, तपस्या र बलिदान गरेको छ । निकै कष्टपूर्ण यातना सहेर सिङ्गो महिला मुक्तिको लागि कैयौँ महिला दिदीबहिनीहरुले रगत बगाएका छन्, शहीद भएका छन्, घाइते अपाङ्ग र बलात्कृत भएका छन् । यी सबै संघर्षको परिणाम आज महिलाहरु नीति नियम निर्माणको ठाउँमा ३३ प्रतिशत भएपनि पुग्न सफल भएका छन् ।

नयाँ नेपाल निर्माणको लागि अरु कति धेरै काम गर्न बाँकी नै छ । देश संक्रमणकालमा छटपटिरहेको छ । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न सकिरहेको छैन । भदौ १४ गते हामी तीजको उल्लासमा रमाइरहँदा उता लाखौँ नेपालीको भाग्य र भविष्यको फैसला गर्ने संविधानसभा भने विघटनको संघारमा पुगेको छ । जसरी भएपनि संविधानसभाको म्याद थप्ने र नयाँ संविधान छिटोभन्दा छिटो निर्माण गर्न दबाब दिने गरि हामीले तीज पर्व मनाउनु जरुरी छ । यो देशको भलो नचाहनेहरु संविधानसभाको बध गर्न तम्सिएका छन् । देश रहृयो भने, संविधान बन्यो भने, त्यसमाथि पनि महिलामैत्री संविधान बन्यो भने मात्र हामी स्वतन्त्रता र उन्मुक्तिको सास फेर्न सकाँैला, देशै नरहे हामी नेपाली रहन सक्दैनौँ । इतिहासको निकै गम्भीर मोडमा हामी उभिइरहेका छौँ । त्यसैले आउनुहोस्, महिला दिदीबहिनीहरु सबै मिलेर देशको लागि, संविधानसभाको लागि नयाँ बन्ने सरकारको लागि गीत गाऔँ र नाचौँ । यस्तो संवेदनशील घडीमा ‘झन् माथि सार्‍यो झन् तल र्झछ हाइ मेरो फरिया’ भन्ने गीत सुहाउँदैन । देश, काल र परिस्थितिलाई सुहाउने गीत गाऔँ तीजको अवसरमा सबैलाई शुभकामना ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *