तीजलाई विकृत नबनाऔँ

  
  प्रकाशित मितिः सोमवार, भदौ १२, २०६८       | 126 Views   ||

हिन्दू महिलाहरुले महान् चाडको रुपमा मनाउँदै आएको तीज पर्व आउन अब ३ दिन मात्र बाँकी छ । तीज पर्व जति नजिकिदै छ, शहर बजारमा निकै चहलपहल बढिरहेको छ । हिन्दू धर्मप्रति आस्था राख्ने सम्पूर्ण महिला दिदीबहिनीहरुले तीज पर्वलाई परापूर्वकालमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वासमा व्रत बसेर, दिदीबहिनी एकै ठाउँमा जम्मा भई नाचगान, रमाइलो गरेर मनाउने गरेको पाइन्छ । तीज पर्वको ऐतिहासिकता र शुरुवातलाई हिन्दू धर्मग्रन्थअनुसार पार्वतीले शिव पति पाउँ भनी व्रत बसेको र व्रत बसेकै कारण उनले शिव पति पाएको धार्मिक विश्वास छ । सोही किंवदन्तीलाई विश्वास मान्दै अविवाहित महिलाले योग्य पति पाउन र विवाहित महिलाले पतिको दिर्घायूको कामना गर्दै व्रत बस्ने परम्पराको थालनी भएको पनि धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । जे होस्, त्यसको निरन्तरता अहिले हाम्रो समाजमा जुनसुकै रुपमा भएपनि चल्दै आएको छ ।

समाज विकासको प्रक्रियासँगै तीज पर्वको परिभाषा, मूल्यमान्यता, विश्वास र तीज पर्व मनाउनुको औचित्यका सन्दर्भमा थुप्रै बहसहरु भइरहेका छन् । कसैले तीज पर्वलाई महिला स्वतन्त्रता दिवसको रुपमा लिदै समयानुकूल यसको समाज रुपान्तरणमा प्रयोग गर्नुपर्ने बताउँछन् भने कोही वर्ष दिनमा एकपटक आउने तीजमा रमाइलो गर्ने, सुख-दुःखका भारी बिसाउने र टाढा-टाढा रहेका दिदीबहिनी र संगीहरुसँग भेटघाट गर्ने पर्वको रुपमा लिने गर्दछन् । कतिपयले भने तीज पर्वलाई आफ्नो धनसम्पत्ति, गरगहना र हैसियत प्रदर्शन गर्ने पर्वको रुपमा पनि लिने गरेको पाइन्छ । नेपाली समाजमा तीज पर्व मनाउने सन्दर्भमा परम्परागत सोंच र चिन्तनमा धेरै परिवर्तन त भएको छ तर परिवर्तन सकारात्मक दिशातर्फ भन्दा नकारात्मकतातिर बढी मौलाएको छ । विशेष गरी शहर बजारमा तीज आउनुभन्दा झण्डै दुई/तीन हप्ताअघिदेखि हुलका हुल जम्मा भएर दर खाने कार्यक्रम, होटेल, रेष्टुरेण्ट र पार्टी प्यालेसहरुमा तीज मिलन समारोहको नाममा हुने जाँड पार्टी, भड्किला र अश्लील गीतसंगीतको तालमा हुने नाचगान, अरुको देखासिकी गर्ने प्रवृत्ति, महंगा साडी, गरगहना र आफ्नो हैसियतभन्दा माथिको फेसन गर्नुपर्ने होडबाजीजस्ता प्रवृत्तिले तीज पर्वको मौलिकता र सद्भावलाई समाप्त मात्रै पारेको छैन, समाजलाई नै विकृतिको दलदलमा फसाइरहेको छ । उसो त कतिपय ग्रामीण क्षेत्रमा वर्ष दिनभरि काममा जोतिएर फूर्सद नै नपाउने महिला दिदीबहिनीहरु एक दिनमात्र भएपनि जमघट भएर नाचगान गर्ने, दुःख सुख साट्ने र आपसी सहयोग, सद्भाव र आफ्नोपन व्यक्त गर्ने पर्वको रुपमा मनाउँदै आएको पनि पाइन्छ । कतिपय सचेत महिला दिदीबहिनीहरुले समाज रुपान्तरण, महिलाका हक अधिकारको ग्यारेन्टी गर्न दबाब दिने र महिला मुक्तिका लागि आन्दोलनको एक अभिन्न अङ्गको रुपमा पनि तीज पर्वलाई मनाउने गरेको देखिन्छ । तैपनि तीज पर्वको यो सकारात्मक पक्षलाई शहर बजारमा देखिएको तीजको भड्किलो रौनक, स्थानीय टीभी च्यानल, एफएम रेडियोलगायतले तीज गीत बजाउने नाममा प्रशारण गरिरहेका विभिन्न भड्किला, दोहरीजस्ता गीत र भिजुअलले पूरै ओझेलमा पारिदिएका छन् ।

जे होस्, तीज पर्वको नाममा भइरहेका विभिन्न विकृति, विसंगति र भड्किला पक्षहरुलाई एउटा निश्चित मापदण्ड बनाएर त्यसको नियमन र नियन्त्रणको जरुरी भइसकेको छ । विशेष गरेर सरकारी तथा गैरसरकारी क्षेत्र, संघ संस्था र समूहहरुले गरिरहेका तीजमिलन कार्यक्रमलाई हेर्दा तीज पर्वलाई विकृत बनाउने काम आफूलाई सभ्य, ठूला र शिक्षित ठान्ने समूहबाटै भइरहेको छ । त्यसैले समाजको अगुवा हौँ भन्नेहरुले नै आफूहरुले गरिरहेको भड्किलो फेसन, धनसम्पत्ति र गरगहना प्रदर्शनको रवाफ र होडबाजी त्याग्नैपर्छ । तीज पर्वलाई महिलाहरुको स्वतन्त्रताका लागि हक अधिकार प्राप्त गर्ने र एकताबद्ध हुने दिनको रुपमा मनाऔँ । यसको मूल्यमान्यता र सद्भावको ख्याल गर्दै समयअनुकूल परिवर्तन गरौँ, जुनसुकै बहानामा यसलाई विकृत नगराऔँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *