गण्डक अभियानको संक्षिप्त शब्दचित्र

  
  प्रकाशित मितिः आइतवार, भदौ १८, २०६८       | 129 Views   ||

डायरी लेखन व्यक्तिको निजी भावना, भोगाई र दैनिकजसो आफूले देखे-भोगेका विषयमा व्यक्त गरिने विचारको सरल अभिव्यक्ति हो । तर, डायरी लेखन कसैको निजी विषय भएपनि समय, परिवेश, पात्रको जिम्मेवारी र घटनाक्रमअनुसार डायरीले आफ्नो समयको इतिहासको साक्षीका रुपमा काम गर्न सक्दछन् ।

नेपाली साहित्यको क्षेत्रमा एकाध जेल डायरीहरु लेखिएपनि उल्लेख्य मात्रामा डायरी लेखनको प्रचलन रहेको देखिदैन । पछिल्लो समयमा यही डायरी लेखनकै निरन्तरतामा जनमुक्ति सेनाका योद्धा क्षितिज मगरले १० वर्षे जनयुद्धको उत्तरार्द्धकालमा सञ्चालित गण्डक अभियानको दैन्दिनीलाई जस्ताको तस्तै पुस्तकाकाररुपमा पाठकमाझ ल्याएका छन् ।झण्डै साढे दुई सय पृष्ठमा बिस्तारित ‘गण्डक अभियान’ पुस्तकमा लेखक क्षितिज मगरले जनयुद्धको रणनैतिक प्रत्याक्रमणको योजनाअन्तर्गत ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ माओवादी फौजी रणनीतिअनुसार गण्डक क्षेत्रमा सञ्चालित साढे तीन महिने अभियानमा आफूले अनुभूत गरेका घटनाक्रमलाई सर्सती र क्रमबद्धरुपमा प्रस्तुत गरेका छन् ।

पुस्तकमा लेखक क्षितिज मगरले आफू संलग्न रहेको जनमुक्ति सेनाको पाँचौँ डिभिजनको गण्डक अभियान, सो अभियानमा आफू सहभागी भएर भोगेका सुखान्त तथा दुःखान्त अनुभूतिहरु, विभिन्न फौजी कार्बाहीहरु, उपलब्धि, समस्या तथा विविध घटना परिघटनाहरुलाई दैनिकीमा जस्ताको तस्तै उतारेका छन् । पुस्तकमा २०६२ पुस १९ गते प्यूठानको नारीकोटबाट शुरु भएको जनमुक्ति सेनाको गण्डक अभियान पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, तनहुँ, नवलपरासीलगायतका जिल्लामा विभिन्न फौजी, गैरफौजी कार्बाही तथा विविध कार्यक्रममा सहभागी भएर २०६३ बैसाख १३ गते प्यूठानकै तिराममा आइपुगेर टुङ्गिएको कुरा उल्लेख छ । कुनै दिन समयको चापका कारण दुई/तीन दिनको दैनिकी एकैपटक लेखेका उनले अभियानको क्रममा बितेका १ सय १३ दिनलाई १ सय २ भागमा पूरा गरेका छन् ।झट्ट हेर्दा पुस्तक दैनिकीको रुपमा देखिएपनि यसको उचाई सामान्य दैनिकीको रुपमा मात्रै छैन । दैनिकी लेखिएको समय, परिवेश र लेखक पात्रको जिम्मेवारीले गर्दा पुस्तक ऐतिहासिक र महत्वपूर्ण छ । माओवादी जनयुद्ध, युद्धकालका जनमुक्ति सेना र उनीहरुको दैन्दिनी, जनमुक्ति सेनाले गरेका फौजी कार्बाही, क्षति, उपलब्धि, समस्यालगायतका भित्री तथ्यहरुको चाख राख्ने जो कसैलाई पनि यस पुस्तकले केही प्यास मेटाउन सक्छ ।

देशमा जारी ज्ञानेन्द्रको शाही शासन, संसदवादी राजनीतिक दलमाथिको प्रतिबन्ध, सडकमा शाही शासनका विरुद्धमा बढ्दै गएको जनआक्रोश एवम् माओवादी जनमुक्ति सेनाको शहरकेन्द्रीत हमलाले तहसनहस बन्दै गएको शाही सरकारको मनोदशा र दिनदिनै विकसित भएका घटनाक्रमहरुलाई पनि लेखकले पुस्तकमा समेटेका छन् । कहिले कहा आक्रमण भयो ? क्षति, उपलब्धि र समस्याहरु के-के रहे ? राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा के कस्ता राजनीतिक घटना भइरहेका छन् र त्यसले नेपालको राजनीतिलाई के-कस्तो प्रभाव पारिरहेको छ ? जनताको माझमा रहेर लडाई लड्नुको मज्जालगायतका विविध पक्ष र घटनाजन्य अनुभूतिहरुलाई बमगोला बोकेर लडाईमा कुदेको जनमुक्ति सेनाको एउटा सदस्यले कसरी लिइरहेको हुदोरहेछ र उसको उत्साह, साहस, आवेग, जोश जागर वा मनोदशा कस्तो हुँदोरहेछ भन्ने कुरा क्षितिजको पुस्तक पढेपछि सहजै बुझ्न सकिन्छ ।

‘गण्डक अभियान’ पुस्तक पढ्दै जाँदा कतिखेर शरीरभरि काँडा उमि्रन थाल्छन् भने कतिखेर पीडा, आक्रोश र भावनाले आँखा रसाउन थाल्छन् । यसभित्र कुनै नाटकीयता, कल्पना र खोक्रो आदर्श छैन । लेखकले जे जति लेखेका छन्, तत्कालीन समय, परिवेश र परिस्थितिमा उनीहरुले भोगेको यथार्थ र जीवन्त घटनालाई सरल एवम् सटिक शब्दमा उतारेका छन् । डायरी लेखनको विशेषता नै तत्कालीन परिवेशको रिपोर्टिङ हो, जीवन्त प्रस्तुति र यथार्थ घटनाको स्पष्ट चित्रण हो । त्यसमा लेखक क्षितिज प्रष्ट र सक्षम देखिएका छन् । २०६२ फागुन ३ गते नवलपरासीको जंगलमै बिताउँदाको एक रातलाई उनले दैनिकीमा यसरी लेखेका छन्- ‘दक्षिणतिरको केही ओरालो झरेर सालघारीको जङ्गलमा सुत्यौँ । रातको साढे दुई बजे आकाशमा उडेको हेलिकोप्टरको कर्कश आवाजले आँखा खुल्यो । आकाशमा फेरो मार्दै थियो हेलिकोप्टर । त्यो घनाजंगलमा बमबारी भइरहेको थियो, हाम्रो वरिपरिको डाँडाकाँडामा धेरैपटक बम खस्यो । एकपटक त हाम्रो नजिकै करिब तीन सय मिटर जतिको दूरीमा दुइवटा सेल खसालियो । कसो नभेटाएको हामीलाई…….. ।

समय, घटनाक्रम र तत्कालीन परिवेशका रुपमा हेर्दा डायरी लेखिएको समय निकै जोखिमपूर्ण, उथलपुथलकारी र देशको राजनीतिक अवस्था निकै संगीनमय परिस्थितिका बीचबाट गुजि्ररहेको थियो । त्यसले गर्दा पनि त्यतिबेलाको प्रत्येक पल निकै संवेदनशील थियो । त्यस्तो संवेदनशील र जोखिमपूर्ण अवस्थामा पनि बन्दुक बोकेर युद्धमोर्चामा उत्रिएको एउटा सिपाहीले नियमित डायरी लेख्न सक्नु र त्यसलाई सुरक्षितरुपमा बचाउन सक्नु निकै कुशलता एवम् डायरी लेखन र इतिहासको रक्षाप्रतिको गम्भीर सचेतता हो । यस अर्थमा पनि क्षितिजको यो गण्डक डायरी ऐतिहासिक र भारी महत्वको छ ।रोल्पाको जेलवाङमा जन्मिएका जनमुक्ति सेनाका बि्रगेड सहायक कमाण्डर रायन मगर नै साहित्यकार क्षितिज मगर हुन् । गण्डक अभियानमा हिड्नुअघि मात्र उनले ‘आस्थाका पर्खालहरु’ संयुक्त कविता संग्रह प्रकाशन गरेका थिए भने २०६४ मा ‘सुनछहरीको ऐनामा’ कथा संग्रह प्रकाशित गरेका छन् । कथा, कविता र निबन्धमा उत्तिकै कलम चलाइरहेका क्षितिजले ‘गण्डक अभियान’ लेखनीको सेरोफेरोमा भने जनमुक्ति सेनाको बटालियन सहायक कमाण्डरको जिम्मेवारी सम्हालिरहेका थिए ।

बालबच्चा बोकेकी महिला छापामारदेखि सयौँ जनमुक्ति सेनाको लावालस्करसहितको आकर्षक आवरण र साहित्यकार तथा पत्रकार हिरामणि दुःखीको भूमिकाले पुस्तकको गरिमालाई झनै बढाइदिएको छ । जम्माजम्मी १ सय ४० पेजमा विस्तारित पुस्तकको प्रकाशन उनी कार्यरत जनमुक्ति सेना नेपाल पाँचौँ डिभिजनअन्तर्गतको मंगलसेन स्मृति बि्रगेडले गरेको छ भने पुस्तकको सम्पादन हिरामणि दुःखीले गर्नुभएको छ । पुस्तकमा समेटिएका सामग्री, विषयवस्तु र आकर्षक लेखनशैली एवम् देशकै ऐतिहासिक राजनीतिक घुम्तीका बेला जनमुक्ति सेनाको योद्धाद्वारा लेखिएको गहन कृतिको मूल्य २ सय रहनु जायज नै मान्नुपर्छ ।

समग्रमा पुस्तक माओवादी जनयुद्धको उत्तरार्द्धकालमा सञ्चालित ढाडमा टेकेर टाउकोमा हान्ने गण्डक अभियानको स्पष्ट शब्दचित्रको रुपमा आएको छ । यसले जनमुक्ति सेनाको चातुर्यता, मनोबल र उत्साह, कठीन परिस्थितिसँग लड्ने साहस र चुनौतीसँग खेल्ने कुशलतालाई उजागर गरेको छ । साथै लेखक पुगेका गाउँबस्तीहरुको अवस्था, रहनसहन र परम्परा एवम् गरिबी, बेरोजगारी, अभावमा तड्पिएका बासिन्दाहरुको चित्कार पनि पुस्तकले कोट्याउने कोशिस गरेको छ । विशेषतः लेखक आफै युद्धमोर्चाको अग्रपङ्तिमा रहेर लडेका योद्धा भएका नाताले यस पुस्तकले तत्कालीन समयको ऐतिहासिक तथ्य एवम् जनमुक्ति सेनाका योद्धाहरुको मनोदशालाई नजिकबाट बुझ्न सहयोग पुर्‍याउँछ ।

प्रस्तुति : डिल्ली मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *