पार्टीको अप्रष्ट मार्गचित्र विवादको प्रमुख कारण

  
  प्रकाशित मितिः आइतवार, भदौ १८, २०६८       | 116 Views   ||

सन्दर्भ : माओवादीको पछिल्लो विवाद

-[सुशील गौतम]

लामो तिक्ततापूर्ण एवम् अपि्रय अन्तरसङ्घर्ष समाप्त भएको भनिएको केही साता बित्न नपाउँदै एकीकृत नेकपा माओवादी आफ्नो आन्तरिक जीवनमा फेरि एकपटक संकटमा परेको छ । जनमुक्ति सेनाका शिविरमा राखिएका कन्टेनरहरुको साँचो बुझाउने निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा गठित सेना समायोजन विशेष समितिले गरेपछि पार्टी अहिले गम्भीर आन्तरिक संकटमा छ । शान्ति प्रक्रियाको एउटा पक्षको साथै मुलुकको सर्वाधिक महत्वपूर्ण राजनीतिक शक्तिभित्रको यो किचलोको प्रभाव स्वभाविकरुपमा उसको आन्तरिक जीवनमा मात्र सीमित रहन सक्दैन । त्यसैले यस प्रकरण हल गर्ने कुनै साँचो तयार गर्न माओवादी पार्टी र यसको शीर्ष नेतृत्वमा रहेकाहरु सफल हुन सकेनन् भने यसको प्रभाव नेपालको समकालीन राजनीतिमा मात्र होइन दीर्घकालीन राजनीतिमा समेत पर्ने निश्चित छ । कुनै पनि पार्टीको आन्तरिक जीवन कठीनाई मुक्त हुन सक्दैन । त्यसमा पनि लामो संघर्ष, थुप्रै उतार-चढाव, असङ्ख्य आरोह-अवरोह, ऐतिहासिक बलिदान र युगान्तकारी सपना बोकेको एकीकृत नेकपा माओवादीभित्रको आन्तरिक जीवन सलल बग्ने आशा र भरोसा त गर्न सकिन्छ, तथापी सधै त्यस्तो सम्भव हुँदैन । त्यसमा पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले धक्का खाएको, कतिपय सन्दर्भमा क्रान्तिका पुराना मोडेलहरुका सन्दर्भमा पनि थुप्रै प्रश्नचिन्ह उठेको र वर्तमान विश्व परिवेश र आफ्नै मुलुकको बदलिदो धरातलीय यथार्थबीच अगाडि बढ्न चाहेको एकीकृत नेकपा माओवादीभित्र बेला मौकामा तरंगहरु उठ्नुलाई चाहेर पनि नचाहेर अस्वभाविक मान्न सकिदैन ।

अहिले प्रसङ्ग साँचो हस्तान्तरणको छ । हेर्दा सामान्य विवाद जस्तो लाग्छ । सम्पूर्ण शिविर सेना समायोजन विशेष समितिलाई हस्तान्तरण गर्न सहमत भएपछि साँचो राख्नु के को अर्थ भन्ने प्रश्न पनि छ भने सेना समायोजन अरु सम्पूर्ण मुद्दाबारे अर्का पक्ष सामान्यभन्दा सामान्य कुरामा सहमत नहुँदै एकपक्षीयरुपमा साँचो बुझाउनु एकपक्षीय आत्मसमर्पण भयो भन्ने तर्क पनि छ । झ्वाट्ट हेर्दा दुवै तर्कसँग आ-आफ्ना बलिया पक्षहरु पनि छन् । तर, यस प्रकरणमा दुवै पक्षका तर्कका साथै पार्टीको आन्तरिक जीवन अझ त्यो भन्दा पनि माओवादी पार्टीको भावी गन्तव्यको मार्गचित्रबारेको अप्रस्टता धेरै हदसम्म जिम्मेवार छ ।

यस प्रकरणले माओवादी पार्टीको आन्तरिक जीवनमा पछिल्लो चरम अन्तरविरोध समाधान भएको भनिएपनि ती थामथुममात्र भएको थियो, समाधान भएको रहेनछ भन्ने प्रष्ट आभास दिन्छ । यसैगरि पार्टीको आन्तरिक जीवन, यसको निर्णय प्रक्रिया, विधि र प्रक्रियाबारे पनि गम्भीर प्रश्नहरु उठेका छन् । यसैगरि माओवादी शीर्ष नेतृत्वबीच आपसी विश्वास, सु-सम्बन्ध, सामूहिकता अझै अपेक्षितरुपमा पुनःस्र्थापित भइनसकेको भन्ने प्रष्ट सन्देश दिन्छ । उनीहरुबीच कम्युनिकेशन ग्याप कति चरमरुपमा छ भन्ने कुरा साँचो प्रकरणले देखाउँछ । यसैगरि यस प्रकरणमा धेरै थोरै नेताहरुको व्यक्तित्वको टक्करको रुपमा पनि कतिपयले बुझ्ने गरेका छन् । यसैगरि काँग्रेस, एमाले, अमेरिका, भारतलगायतको शान्ति प्रक्रियाबारे अन्यायपूर्ण विभेदपूर्ण र एकोहोरो पेलाई पनि यो समस्या बल्झनु र चर्किनुमा जिम्मेवार छ । यो अन्यायपूर्ण पेलाईलाई प्रतिवाद गर्न माओवादी एकढिक्का भएर प्रतिवाद गर्नुपर्नेमा विपक्षीहरुसामू राम्रो छवि देखाउने लोभले प्रेरित भएको विश्लेषण पनि गर्न सकिन्छ ।

एकीकृत नेकपा माओवादीभित्र बेला मौकामा देखिने विवादको लागि सबैभन्दा जिम्मेवार कुरा उक्त पार्टीको भविष्यको मार्गचित्रबारे अप्रस्टता नै हो । गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्धका माध्यमबाट क्रान्ति सम्पन्न गरि सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने उद्देश्यले लामो र सफल जनयुद्ध लडेको माओवादी विस्तृत शान्ति सम्झौतामा आइपुगेपछि उसको रणनीति र कार्यनीतिमा अलमल देखापरेको छ । पार्टी नेतृत्वमा नै शान्ति प्रक्रियाबारेको बुझाईमा एकरुपता छैन भने तत्कालीन नारा, रणनीति र कार्यनीतिमा एकातिर अस्थिरता, अर्कोतिर यी बीच राम्रो तालमेल पनि हुन सकेको छैन । जसले गर्दा ऊ दुई ढुङ्गामा खुुट्टा राख्न विवश छ । जसले गर्दा पार्टीमा बेलामौकामा यस्ता कम्पन आउनु स्वभाविक छ ।

नेपाली क्रान्तिको भविष्यका लागि एकीकृत नेकपा माओवादी एकढिक्का हुन जरुरी छ । तर, सधै थामथुमले मात्र पार्टी चल्न सक्दैन । उसले कठोर निर्णय गर्नुपर्दछ । अस्थिरता र अप्रस्टताले कुनै पनि गतिशील पार्टी अघि बढ्न सक्दैन । शान्ति प्रक्रिया र संविधान निर्माण उसको आस्था हो कि तत्कालीन नारा हो ? जनमुक्ति सेनालाई यो वा त्यो रुपमा कायमै राख्ने हो कि यो वा त्यो रुपमा विघटन गर्ने हो ? जनयुद्ध जारी छ क्रान्ति जारी छ कि ? वा जनयुद्धको चरण हाललाई समाप्त भयो क्रान्तिको चरण अहिलेलाई स्थगित जस्तै छ ? जनविद्रोहको लाइन पार्टीको हो भने त्यही अनुसार नारा कार्यनीति र रणनीति अख्तियार गर्नुपर्‍यो । शान्ति र संविधान नै विश्वास हो भने पनि त्यहीअनुसार जानुपर्‍यो । तर, माओवादीमा त्यो प्रस्टता देखिएन, पालुङटारमा जनविद्रोह भन्ने माओवादी पेरिसडाँडामा पुग्दा शान्ति र संविधान भन्न पुग्यो ।

जनमुक्ति सेना कुनै हालतमा विघटन हुनुहुँदैन भन्ने माओवादी साँचो बुझाउन पुग्यो । भावी मार्गचित्रमा नेताहरुबीच मुलभूतरुपमा एकरुपता नहुँदासम्म माओवादी अझै अलमलमा पर्नेछ र अहिलेका जस्ता विवाद फेरि पनि उठिरहनेछन् । विवाद थामथुम त फेरि पनि पर्ने सम्भावना छ र माओवादीले आफ्नो गन्तव्य र गन्तव्यमा पुग्ने प्रस्ट मार्गचित्र बनाउन अनिवार्य छ । अप्रस्ट र र टालटुले कुरा धेरै दिन टिक्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *