पहाडी लोकमार्गले बढायो जग्गाको मूल्य

  
  प्रकाशित मितिः सोमवार, भदौ १९, २०६८       | 86 Views   ||

गिद्ध संरक्षणमा सक्रियता

दाङ/तेस्रो अन्तर्राष्ट्रिय गिद्व संरक्षण सचेतना दिवस शनिबार दाङलगायत देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । गिद्ध संरक्षण दिवसको अवसरमा दाङमा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले बिजौरीमा र्‍याली तथा कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय गिद्व संरक्षण सचेतना दिवस मनाएको हो ।

२००९ मा अमेरिकाको न्यूयोर्क शहरस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको विश्वभरिका गिद्ध संरक्षणमा लागेका २५ वटा संघसंस्थाको भेलाले सेप्टेम्बर ३ लाई गिद्ध संरक्षण सचेतना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रद्वारा गठित विभिन्न महिला बचत समूह तथा सरोकारवालाहरुको सहभागिता रहेको र्‍याली बिजौरीको मानपुरचोकबाट शुरु भई जनता संस्कृत उच्चमावि बिजौरीमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केएल पीडितको प्रमुख आतिथ्य एवम् नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले गिद्व प्रकृतिको निःशुल्क कुचिकार भएकाले जैविक विविधता संरक्षण एवं वातावरणीय सन्तुलन कायम गर्न गिद्धको महत्वपूर्ण योगदान रहेको भन्दै गिद्धको संरक्षणमा लाग्नुपर्ने बताएका थिए । उनीहरुले गिद्व संरक्षण कार्यलाई सामुहिक दायित्व एवं साझा अभियानको रुपमा लैजानुपर्ने र राज्यले डाइक्लोफेनिक औषधी निषेध गर्न र त्यस्तो औषधी प्रयोग गर्नेलाई दण्डनीय गर्ने व्यवस्था कानुनमा समावेश गरेर लैजानुपर्ने बताएका थिए ।

सो अवसरमा जिल्लामा गिद्ध संरक्षणका लागि कलमको माध्यामबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाँच जना सञ्चारकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मानित हुनेमा नयाँ युगबोध दैनिकका उदय बीसी र श्रीधर भावुक, रेडियो स्वर्गद्वारीका बसुन्धरा गौतम, नेपाल टेलिभिजनका परशुराम शर्मा र लेखक एवं सञ्चारकर्मी बसन्तविवश आचार्य रहनुभएको छ । कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरुलाई प्रमुख अतिथि केएल पीडित, विशिष्ट अतिथि टीकाराम रेग्मी र डिल्लीबहादुर रावतले संयुक्तरुपमा अबीर, प्रमाण-पत्रसहित नगद पुरस्कारले सम्मान गर्नुभएको थियो । केन्द्रकी सदस्य बालिका तिवारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका सचिव गणेश ओलीले गर्नुभएको थियो ।

पहाडी लोकमार्गले बढायो जग्गाको मूल्य

मेगराज खड्का/रुकुम

केहि समयअघि गाई चरनका रुपमा रहेका जग्गाहरु पहाडी क्षेत्रबाट पूर्व-पश्चिम जोड्ने लोकमार्ग निर्माण हुने भएपछि अहिले घडेरीका रुपमा धमाधम बिक्री हुन थालेका छन् । सरकारले पूर्व-पश्चिम जोड्ने लोकमार्ग निमार्ण कार्य थालेपछि रुकुम राजमार्ग आसपासका जग्गाहरुको मूल्य अहिले तेब्बररुपले वृद्धि हुन पुगेको छ ।राजमार्ग आसपासका जग्गाहरु घडेरीको रुपमा बिक्री हुन थालेपछि त्यसको मूल्यमा तेब्बर वृद्धि हुन थालेको हो ।

महेन्द्र राजमार्गको विकल्पका रुपमा निर्माण हुन थालेको उक्त लोकमार्ग रुकुमको सदरमुकाम खलङ्गालाई जोडी पूर्व-पश्चिम बिस्तार गर्न थालिएको छ । एक वर्षपहिले एक सय वर्गमिटरको घडेरीको मूल्य ७ लाख थियो भने अहिले त्यही बराबरको घडेरीलाई २० लाख मूल्य पर्न थालेको छ । सदरमुकाम जोडिएर राजमार्ग निर्माण हुनु र राप्ती राजमार्गअन्तर्गत तुलसीपुरदेखि रुकुमको खलङ्गासम्म नियमित गाडी चल्न थालेपछि यहाका घडेरीको मूल्य आकासिन पुगेको हो । लोकमार्गले गर्दा सदरमुकाममात्र नभएर रुकुमको व्यापारिक केन्द्र मानिने चौरजहारी, रुकुमकोट, सोलावाङ, झुल्नेटालगायतका ठाउँमा समेत जग्गाको मूल्य बढ्न पुगेको छ ।

रुकुममा सरकारले तोकेभन्दा बढी मूल्यमा जग्गा खरीद बिक्री भइरहेको छ । जिल्ला सदरमुकामसागै अन्य ठाउको मूल्य पनि आकासिएको छ । बजारभन्दा टाढा एउटा सामान्य घडेरीलाई पनि ८ देखि १२ लाखसम्म मूल्य पर्ने गरेको छ । जिल्ला मालपोत कार्यालयले सदरमुकाम आसपासका घडेरीको मूल्य ५ देखि ७ लाखसम्म तोकेपनि दलालले धेरै महङ्गोमा खरीद बिक्री गरिरहेका छन् । पछिल्लो समयमा रुकुममा व्यवस्थित शहरीकरण र व्यापारिक केन्द्रका रुपमा विकास हुन थालेकाले जग्गाको मूल्य पनि बढेको घर जग्गा व्यवसायीहरुले बताएका छन् । लोकमार्ग र बजार वरपरका घडेरीको मूल्यमा तेब्बर वृद्धि भएको व्यवसायी खेमराज खड्काले बताए । उनले भने- ‘गाउँको सबै सम्पत्ति बेचेर पनि सदरमुकाममा एक वटा घडेरी किन्न नसकिने भयो ।’ जग्गाको मूल्य आकासिएपछि जिल्लाको खेती योग्य जमिन पनि प्लटिङ गरेर घडेरीको रुपमा विक्रीवितरण हुने गरेको रुकुम उद्योग वाणिज्य संघका उपाध्यक्ष रविलाल नेपालीले जानकारी दिए । उनले भने- ‘जनसंख्या बढ्दै जानु र जिल्लाका दुर्गम गाविसबाट सदरमुकाममा बसाईसराई गरी आउनेको संख्यामा पनि वृद्धि हुनुले घडेरीको मूल्य आकासिएको हो ।

दाङ धर्नाबासी आकाशे पानीको भरमा

जनक नेपाली/दाङ

दाङको धर्ना गाविस वडा नं. २ का बासिन्दा आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका छन् । सिचाईको वैकल्पिक स्रोत नहुँदा यहाँका बासिन्दा आकाशे पानीको भरमा खेती गर्नुपरेको हो । हिउँदको समयमा कुनैपनि बाली नहुने र वषर्ातको समयमा मात्र धान बाली आकाशे पानीको भरमा हुने गरेको धर्नाबासीको भनाई छ । २ सय ५० घरधुरी रहेका यस क्षेत्रका बासिन्दाले अहिलेसम्म सिचाई सुविधा नपाएको स्थानीय प्रकाश नेपालीले बताउनुभयो । धर्ना गाविसका अन्य वडामा डिपबोरिङको व्यवस्था भएपनि २ नम्बर वडाको करिब एक सय बिघा जमीन आकाशे पानीको भरमा खेती गर्नुपरेको उहाँको भनाई छ ।

सिचाईको वैकल्पिक श्रोत नभएपछि आफूहरु मर्कामा परेको र जिल्ला विकास तथा गाविसका सरोकारवाला निकायले पनि वेवास्ता गरेको धर्ना वडा नं. २ का भीमलाल पाण्डेले बताउनुभयो । आफूहरु पटक-पटक डिपबोरिङका लागि जिल्ला विकास समितिमा माग गरेपनि केही सुनुवाई नगरेको उहाँको आरोप छ । डिपबोरिङ खन्न भनेर स्थानीयबासीले दुई वर्ष पहिले ८० हजार रुपैयाँ उठाएपनि कतैबाट योजना नपरेपछि काम अघि बढ्न सकेको छैन । दुई वर्ष पहिले उठाएको रकम अहिले बैङ्कमा जम्मा गरिएको स्थानीय नन्दलाल खड्काले जानकारी दिनुभयो । दुई वर्ष पहिले नै जिविस दाङले डिपबोरिङ निमार्णका लागि भनेर २० वटा फलामका पाइप दिएको बताउँदै खड्काले काम शुरु नहुँदा ती पाइपहरु अलपत्र परेको बताउनुभयो । आर्थिक वर्ष ०६८/६९ का लागि जिविसले १५ लाख विनियोजन गरेकाले आउँदो असोजदेखि डिपबोरिङ खन्न शुरु गरिने स्थानीय प्रकाश नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वडा नं. २ को रामघाटमा डिपबोरिङ निर्माणको तयारी भइरहेको छ ।

पुल नहुँदा स्थानीय बासिन्दालाई सास्ती

प्रकाश चौधरी/धर्ना, दाङ

धर्नाको रामघाट र सौडियारको लखवार जोड्ने बबई नदीमा पुल नहुदा स्थानीय बासिन्दाले निकै सास्ती भोग्नुपरेको छ । नदीमा पुल नभएपनि आवतजावत गर्नको लागि घुमेर जाँदा धेरै समय लाग्ने भएकोले बबईपारिका हजारौँ बासिन्दालाई दैनिक समस्या झेल्नुपरेको हो । हरेक वर्ष पुल निर्माणको लागि सर्वे गरेपनि अहिलेसम्म पुल बन्न नसकेको धर्ना गाविस वडा नं. २ का नन्दलाल खड्काले बताउनुभयो । ‘कहिले झोलुङ्गे पुल निर्माण गरिदिने भन्छन्, कसैले पक्की पुल बनाउने कुरा गर्छन्,- खड्काले भने- ‘आश्वासन त धेरै पाइयो तर पुल भने अहिलेसम्म बन्न सकेन ।’

नदीमा पुल नहुदा आवतजावत गर्न दैनिकरुपमा सास्ती खेप्दै आएको र दैनिक कामकाज सदरमुकामसँग जोडिएको हुनाले आवतजावत गर्नको लागि सधैँ बबई नदी तर्नैपर्ने बाध्यता रहेको खड्काले जानकारी दिनुभयो । दिनहुजसो कसैको चप्पलदेखि सरसामान नदीले बगाइदिने गरेको उहाँले दुखेसो पोख्नुभयो । उसो त ०६४ मा धर्नाका एकै घरका २ जना दिदीबहिनीलाई यही बबई नदीले बगाएको थियो । नदी तर्दै गर्दा ती दुइबहिनी र दुई वर्ष पहिले एकजना डाक्टरलाई बबई नदीले बगाएको घटना स्थानीयबासीले बिर्सिएका छैनन् ।

नदीमा पुल नभएकै कारण कुन दिन आफूहरु पनि बबईको शिकार भइन्छ भन्ने डरले सताइरहने स्थानीय भीमलाल पाण्डेले बताउनुभयो । पुल निर्माणका लागि २४/२५ पटक जिल्ला विकास समितिको कार्यालयमा डेलिगेशन पनि गएपनि केही उपलब्धि नभएको पाण्डेले बताउनुभयो । पटक-पटक राजनीतिक दलका नेता, इञ्जिनियरलगायतले पुल बनाउने आश्वासन र प्रतिबद्धता जनाएपनि आफूहरुको समस्या जस्ताको तस्तै रहेको धर्नाबासीको गुनासो छ । पुल नहुदा सबैभन्दा बढी मारमा विद्यार्थीहरु परेका छन् । दैनिक विद्यालय जाँदा र घर फर्किदा बबई नदी तर्नुपर्ने बाध्यता छ । पुलको समस्याले वषर्तको समयमा पानी परेको थाहा पाउनेबित्तिकै नदी तर्नुपर्ने विद्यार्थीहरुलाई स्कूलबाट बिदा दिने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश नेपालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *