‘सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन’ क.माओको यही सुप्रसिद्ध भनाइलाई आत्मसात गर्दै नेकपा माओवादीले २०५२ सालबाट जनयुद्ध घोषणा र सञ्चालनको प्रक्रियासँगै जनताको सेना निर्माणको प्रक्रिया आरम्भ गर्यो । थुप्रै आरोहअवरोह र विभिन्न प्रक्रिया पूरा गर्दै निकै कष्टप्रद ढंगले नेपालमा क्रान्तिको तुफानी प्रक्रियासँगै जनमुक्ति सेनाको जन्म र विकास भयो । पछिल्लो विश्व सर्वहारा वर्गीय आन्दोलनको क्रममा नेपालमा जनयुद्ध र जनमुक्ति सेनाको विकास निकै आश्चर्यजनक ढंगले भयो । चिनियाँ क्रान्तिपछि यति ठूलो जनमुक्ति सेनाको फर्मेशन निर्माण र परिचालनमा नेपाली क्रान्ति पहिलो क्रान्ति बन्यो । सिङ्गो विश्व सर्वहारा वर्गले जनमुक्ति सेना नेपालको भिषणता, वलिदान र स्पि्रडबाट सम्पूर्ण मुक्तिको सपना सजाए र अभिलाषा पाले । पछिल्लो विश्वमा हेर्दा नेपालमा पहिलो पटक रणनीतिक रुपलेनै फरक चरित्र र उद्देश्य भएका दुईवटा सेना अस्तित्वमा देखा परे । रणनीतिक रुपले सामन्तवादी, दलाल तथा नोकरशाही वर्गको रक्षा र विकासको लागि स्थापना गरिएको पुरानो सेना र नयाँ जनवादी व्यवस्था स्थापना गरि देश र जनताको मुक्तिको उद्देश्य सहित निर्माण गरिएको जनमुक्ति सेना दुई चरित्र र उद्देश्य भएका सेना आफ्ना चरित्र र उद्देश्य अनुरुप युद्धको भीषणतासँगै स्थापित हुँदै गए । आफ्नो वर्गप्रतिको उत्तरदायित्व सहित जनमुक्ति सेना युद्धका अनेकौं कीर्तिमान इतिहासमा स्वर्ण अक्षरले लेख्दै जनताको आशा, अपेक्षा, अभिलाषा र आदर्शको रुपमा परिभाषित हुँदै गयो । उता पुरानो सेना जनताको शत्रु हुँदै जनघाती र राष्ट्रघातीको रुपमा स्थापित हुँदै गयो । आफ्नो विजय यात्राले जनमुक्ति सेना अभिजित पर्खाल बन्यो भने पुरानो सेना पराजयको यात्री बनिरहेको थियो ।
यसरी हेर्दा जनमुक्ति सेना नेपालको स्थापना, विकास र प्रयोग क्रान्तिको उद्देश्य र विकाससँग जोडिएर आएकोछ । यसको निर्माणको अर्थ क्रान्तिको -जनयुद्ध)को औचित्यसँग जोडिएको छ । यसको विकासको उद्देश्य क्रान्तिको विजयसँग जोडिएको छ । यसको रक्षा क्रान्तिको रक्षासँग जोडिएको छ । अझ अघि बढेर भन्दा यसको स्थापना प्रतिक्रान्ति रोक्ने साधनको उद्देश्यसँग जोडिएको छ । विश्वका पछिल्ला र मुलतः चिनियाँ प्रतिक्रान्तिको अनुभवसँग जनमुक्ति सेनालाई हेर्दा जति ठुलो र भिमकाय फर्मेशन निर्माण भएपनि त्यसको सही विचार र परिचालनको विधि विकास गर्न नसक्दा जनसेना प्रतिक्रान्ति रोक्ने साधन बन्नुको बदला प्रतिक्रान्तिको साधन बन्न जाने खतराबाट रोक्न क्रान्तिपूर्व र क्रान्तिपछि यसको परिचालन विधिको विकास गर्नुपर्ने नयाँ अवधारणा पनि तत्कालिक पार्टीले अगाडि सारेको थियो । त्यसका लागि जनमुक्ति सेनालाई लगातार जनता र जनसेवासँग जोडि राख्ने विधिको निर्माण गर्ने, लगातारको ब्यारेकीकरण र उच्च प्रविधिमा मात्र भरपर्ने विधिलाई क्रमशः कम गर्दै जनतालाई कमजोर ठान्ने र आफूलाई मात्र शक्तिशाली ठान्ने विचारको अन्त्यगर्दै साँच्चिकै जनतालाई पनि आवश्यक पर्दा राष्ट्र रक्षाको लागि भिड्न सक्ने आधारभूत सैन्य तालिम र प्राविधिक ज्ञानको विकासगर्दै लैजाने विधि निर्माण गर्ने अवधारणाको विकास गर्दै गएको थियो । यसरी हेर्यो भने क्रान्ति र जनमुक्ति सेना एउटै सिक्काका दुईपाटा हुन् । यिनलाई अलग गनै सकिदैन र एउटा बिना अर्कोको कुनै अर्थ र औचित्य रहादैन र हुँदैन । त्यसले सहजै के बुझ्न सकिन्छ भने एउटाको अन्त्यसँगै अर्काको अन्त्य अनिवार्य छ, एउटाको अन्त्य र अर्का जिवित छ भन्नु मुर्खता सिवाय अरु हुन सक्दैन । यो अहिलेसम्मको माक्र्सवादी, लेनिनवादी र माओवादी बुझाई हो । माओवादी यहि बुझाईबाट अगाडि बढेको पार्टी हो । यसै कारणले नै माओले जनमुक्ति सेनालाई जनताको सम्पूर्ण र अन्तिम सम्पत्तिको रुपमा परिभाषित गर्नु भएको हुनुपर्दछ । यसैबाट प्रष्ट हुन्छ कि सेनानिर्माण र परिचालनको प्रक्रिया र विधि क्रान्तिको परिचालन र विधि अनुरुप अघि बढ्छ । दुनियाँमा क्रान्ति जसरी अगाडि बढे सेना निर्माण र परिचालन पनि सोही अनुसार अगाडि बढेका छन । क्रान्ति प्रतिक्रान्तिमा परिणत हुँदा सेना पनि प्रतिक्रान्तिकारी सेनामा परिणत भए । क्रान्ति विघटन हुँदा सेना पनि विघटन भए । सेना विघटन हुँदा क्रान्ति पनि विघटित भए । क्रान्ति नबन्दा सेना बनेन, सेना नबन्दा क्रान्ति बनेन । क्रान्ति बन्यो, सेना बन्यो, सेना बन्यो क्रान्ति बन्यो । यो माक्र्सवादी प्रक्रिया हो । यो सबै ठाउँमा सापेक्ष रुपमा अनिवार्य लागू हुन्छ ।
अहिले नेपाली क्रान्ति शान्ति प्रक्रियाबाट अगाडि बढिरहेको छ । त्यसैले जनमुक्ति सेना पनि अस्थायी सैन्य शिविरमा हतियार कन्टेनरमा राखेर बसेको छ । क्रान्तिको चरित्र शान्तिपूर्ण भएजस्तै सेना चरित्र पनि शान्तिपूर्ण नै रहेको छ । अर्को पक्षसँग सम्झौतामा जे सुकै लेखिएपनि सहमतिहरु जस्तासुकै भएपनि माओवादी पार्टीभित्र आजसम्म क्रान्ति नगर्ने सहमति भएको छैन । क्रान्ति पुरा भएको र पूरा गर्न नसकिने सहमति पनि भएको छैन । त्यसैले शान्ति प्रक्रियाको अर्थ क्रान्ति नगर्ने अर्थ होइन । शान्ति प्रक्रियामा पार्टी आउँदा दुईवटा कार्यभार लिएर आएको थियो । पहिलो कार्यभार शान्तिपूर्ण ढंगले संविधान सभाको माध्यमबाट नयाँ संविधान निर्माण गरी जनताका सम्पूर्ण -वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय) समस्याको समाधान गर्नु । यदि शान्तिपूर्ण र नयाँ संविधान निर्माणको प्रक्रियासँगै जनताका समस्या समाधान हुन सकेनन् भने जनताको विद्रोहद्वारा यी समस्याको समाधान गर्नु वा आफ्नो कार्यभार पूरा गर्नु । यसैसँग सम्बन्धित रहेर यदि शान्तिपूर्ण ढंगले समस्याको समाधान हुने स्थितिमा जनमुक्ति सेनाको सम्मानजनक ढंगले समायोजन गर्नु, यदि शान्तिपूर्ण ढंगले समस्या समाधान हुन नसक्ने स्थितिमा विद्रोह सम्पन्न गर्ने फौजी ताकतको रुपमा जनमुक्ति सेनाको विकास गर्नु । यसबाट स्पष्ट के बुझ्न सकिन्छ भने शान्ति प्रक्रियाको हाम्रो अर्थ एकीकृत नेकपा माओवादीको निरपेक्ष रुपले जसरी पनि र जस्तो पनि एक थान संविधान बनाउनु र जस्तो सुकै प्रकृया अपनाएर अनिवार्य रुपमा सेनाको जस्तो सुकै समायोजन गर्नु भन्ने होइन । यो क्रान्तिको उद्देश्य र क्रान्ति प्रतिको प्रतिबद्धतासँग जोडिएर आएको प्रश्न हो । क्रान्तिको अर्थ शान्ति र अनिवार्य सेना समायोजन होइन । सेना राज्यको मेरुदण्ड हो । जनमुक्ति सेना जनवादी राज्यको मेरुदण्ड हो भने पुरानो सेना पुरानो राज्यको मेरुदण्ड हो । त्यसैले माओवादीको शान्ति प्रक्रियामार्फत् दुबै राज्यको संयोजन र दुबै सेनाको संयोजन गर्ने उद्देश्य हो । राज्यको संयोजन नयाँ संविधानमार्फत् राज्यको पुर्नसंरचना,वर्गीय समस्याको समाधान, लैंगिक समस्याको समाधान, शासकीय स्वरुप, निर्वाचन प्रणाली मार्फत गर्न खोजिएको कुरा हो भने सेनाको संयोजन नयाँ राष्ट्रिय सुरक्षा नीति,पुरानो सेनाको लोकतान्त्रिकरण जनमुक्ति सेना व्यवसायिककरण गरी नयाँ राष्ट्रिय सेना निर्माणको उद्देश्य हो । त्यसैले सेना समायोजनको हकमा हामीले डिडिआरको विरोध गर्यौँ । यहाँ हामीले बुझ्ने विषय राज्यको संयोजन भनेको माओवादी पुरानो राज्यमा विलय/आत्मसमर्पण र जनमुक्ति सेना पुरानो सेनामा विलय वा आत्मसमर्पण कदापी होइन र यो हुन पनि सक्दैन । यदि यसो भयो भने यो समस्याको समाधान पनि होइन ।
हालसम्म पार्टी सेना समायोजनको प्रक्रियामा अस्थायी शिविरमा रहेका कन्टेनरका चाबी विशेष समितिलाई हस्तान्तरण गर्ने प्रक्रिया पूरा गरेको छ र यो विषय पार्टीभित्र बहसको विषय बनेको छ । आसन्न केन्दि्रय समितिको बैठकले यसको बारेमा वैज्ञानिक निर्णय गर्ला । तर, हामीले बुझ्ने कुरा के हो भने साँचो हतियारको स्वामित्व हो । साँचो बुझाउने कुरा हतियारको स्वामित्व हस्तान्तरण गर्ने कुरा हो । यो सामान्य विषय होइन । यो क्रान्तिको उद्देश्य र औचित्य, सेना निर्माणको उद्देश्य र औचित्यसँग जोडिएको प्रश्न हो । पार्टीमा सेना संयोजनको विषयमा कुनै पनि विवाद छैन । सेना संयोजन गर्नुपर्दछ । तर उद्देश्यअनुरुप गर्नुपर्दछ । यदि शान्ति प्रक्रियामा पार्टी आउने र आउँदा लिइएको उद्देश्य पूरा भयो भने यो औचित्यपूर्ण छ । यदि त्यसो होइन भने हामीले कतै गम्भीर त्रुटि त गर्दै छैनौँ ? अहिले कार्यनीतिक वा तात्कालिक लाभका लागि रणनीतिक विषयसँग सट्टाबाजी भयो भने इतिहासलाई भोलि दिने जवाफ हामीसँग रहन्छ कि रहँदैन् ? १०औँ हजार सहिदको रगत र वलिदानलाई पुष्टि गर्ने हामीसँग नैतिक आधार रहन्छ कि रहँदैन ? यो कुनै गुट विषेशको विषय वा अल्पमत बहुमतको विषय बन्नु हुँदैन । सिंगै पार्टीले एकमतका साथ निर्णय गरे पनि गल्ती गल्तीनै हुन्छ । पार्टीले निर्णय गर्यो भनेर हामी इतिहासबाट भाग्न सक्दैनौ । यो कुरा विश्व कम्युनिष्ट आन्दोलनमा भएका प्रतिक्रान्तिबाट पुष्टि भइसकेकोे छ । यदि आफ्नो गल्तीलाई गल्ती र ठिकलाई ठीक भन्न सकेनौ भने अर्कोलाई ठिक र बेठिक भन्ने अधिकार हामीसँग रहँदैन । त्यसैले हजारौँको वलिदानमा उभिएको यो क्रान्तिलाई विजयसम्म पुर्याउन सबैले गम्भीर रुपमा सोच्ने बेला आएको छ र त्यसै अनुसार नै सोचौँ ।