‘टाउकाहरुको थान गन्ती नेताहरुको बिलो’

  
  प्रकाशित मितिः बिहिबार, अशोज ५, २०६८       | 123 Views   ||

-[नरबहादुर अधिकारी]

यतिबेला एकीकृत नेकपा माओवादीभित्रको आन्तरिक विवाद र त्यसबाट उत्पन्न क्रिया प्रतिक्रिया सर्वाधिक चर्चामा छन् । ‘धोबीघाट’ भेला, चाबी प्रकरणपश्चात् मधेशी मोर्चासँगको सम्झौता बारेमा पछिल्लो अवस्थामा आएर पार्टीभित्र चर्को मतभेद सृजना भएको छ । एउटा विषय समाधान नहुँदै र सेलाउन नपाउँदै अर्को विषयमा जसरी मतभेदहरु उत्पन्न भएका छन् र ती सार्वजनिक भएका छन्, त्यसबाट सहजै अनुमान गर्न सकिन्छ कि माओवादी पार्टी यतिबेला आफ्नो जीवनको सबैभन्दा ठूलो संकटबाट गुजि्ररहेको छ । यो समस्याको गाँठो कहाँनिर छ र त्यसलाई कसरी फुकाउन सकिन्छ ? या यी र यस्तै प्रकारले आउने समस्याहरुको वैज्ञानिक निरुपण के हो ? एउटा कम्युनिष्ट पार्टी विपरितहरुको एकत्व हो । यसभित्रको अन्तरसंघर्ष एकता-संघर्ष-रुपान्तरणको प्रक्रियामा कसरी अगाडि बढ्न सक्दछ ? यिनै विषयहरुमा आम शुभेच्छुकहरुको चिन्ता यतिबेला व्याप्त छ ।

नयाँ नेपाल निर्माणको महाअभियानमा दश बर्षसम्म सफल जनयुद्ध सञ्चालन गरेर हजारौँ नेता, कार्यकर्ता, सेना, लाखौँ-करोडौँ समर्थक जनतासहित शान्ति प्रक्रियामार्फत् वर्गसंघर्षको भिन्न एवम् मौलिक तरिकाबाट स्थापित यो पार्टीमा भिन्न परिस्थितिमा अन्तरसंघर्ष पनि भिन्न प्रकारको र उच्च हुनु स्वाभाविक छ । संगठनको स्वरुप फौज र संघर्षको स्वरुप युद्ध हुने परिवेशमा पार्टीभित्रको अन्तरसंघर्ष अहिले जसरी बाहिर नआउने कारणले पनि अहिले परिस्थिति अप्रत्यासित जस्तो लाग्न सक्छ । संक्रमणकालीन भिन्न परिवेशमा व्यक्त अन्तर संघर्षको करिब-करिब यो विष्फोटक अवस्थामा नेतृत्वपंक्ति यदि सजग र संयमित नहुने हो भने फुटद्वारा विभिन्न टुक्रामा विभाजित भएर या नफुटेरै पनि आन्तरिक विवादको अन्तहीन अकर्मण्यतामा फसेर पार्टी विसर्जन हुने सम्भावना प्रबल देखिन्छ । यो परिवेशमा आम कार्यकर्ता तथा शुभेच्छुक बुद्धिजिवी र आमजनताको संयमित राय, सुझाव र खबरदारी हुन जरुरी छ ।

आज पार्टी केन्द्रमा देखिएका वैचारिक मतभेदहरु हल गर्नै नसकिने खालका छैनन् । एउटा जीवन्त पार्टीमा यस प्रकारका कार्यनीतिक मतभेदहरु हुनु स्वभाविक छ । मतभेदहरुलाई हल गर्ने सिंगो मालेमावादी पद्धति पनि हामीसँग छ तर पद्धति र प्रक्रिया आम पार्टीमा लागू भइरहेका छैनन् । पार्टीभित्रका विभिन्न विचार समूह बीच यति धेरै अविश्वास र आशंका छ कि एकले अर्कोमाथि प्रभुत्व कायम गर्न जसरी पनि आफ्नो पक्षमा बहुमतसिद्ध गर्ने, बहुमतका निम्ति अराजनैतिक गठबन्धन गर्ने, पद प्रतिष्ठाका निम्ति जहिले जता लाग्दा फाइदा हुन्छ, निमेषभरमा कित्ता परिवर्तन गर्ने, भावना एवम् आवेगमा कसैप्रति असहिष्णु बन्ने, मिथ्या आरोपको पगरी गुथाउनेसम्मका काम भएका छन् । यो निम्न पूँजीवादी, अधैर्यताको सटिक नमूना हो ।

कसैले कसैलाई आरोप लगाएर मात्र छुट्टी पाइने रहेनछ भन्ने कुरा पुष्पलाललाई गद्दार अनि निर्मल लामालाई दक्षिणपन्थी पञ्चायत परस्त भनेर लगाएको आरोप समयक्रममा उल्टो सावित भएपछि दशकौँपछि आएर सच्चाउन बाध्य हुनु हाम्रो कम्युनिष्ट आन्दोलनको विडम्बना हामीसामु छ । त्यतिमात्र होइन सामन्तवादका विरुद्ध काँग्रेससँग संयुक्त मोर्चाको प्रस्ताव राख्दा पुष्पलाललाई गद्दारको पगरी गुथाउने मोहनविक्रम सिंह प्रवृत्ति आजपर्यन्त राष्ट्रिय राजनीतिका यावत विषयमा वाम ध्रुवीकरणका विरुद्ध काँग्रेस बलेनीमा ओत लागेर अग्रगमनका विरुद्ध उभिएका छन् । कम्युनिष्ट आन्दोलनभित्रको यो मजाकबाट हामीले के शिक्षा लिने ?

प्रचण्डलाई नोकरशाही, किरणलाई संकीर्ण, बाबुरामलाई भारतपरस्त आदि फतुरका पगरी गुथाएर हामी कार्यकर्ता आफ्नो विचार समूहका नाममा गुटका झण्डा बोकेर गुट निर्माणको चिन्ता होइन्, समग्र पार्टी, जनता र राष्ट्रको चिन्ता गरौँ । कतिपय हामी कार्यकर्ताका एकाङ्की सोच, स्वार्थले समेत पार्टी एकतामा समस्या पैदा भइरहेको त छैन ख्याल गरौँ । विभिन्न परिस्थितिले मन फाटेका हाम्रा सबै आदरणीय नेताहरुलाई झन् फुटाउनतिर होइन विद्यमान शंका, असमझदारीहरुलाई खुला बहस, अन्तरंग र छलफलबाट मनपेट माझेर हार्दिक बहसमा उत्रन उत्प्रेरणा प्रदान गरौँ । सबै नेताहरुका कमी कमजोरी एवम् सीमाहरुका विषयमा केही छन् भने पार्टी पद्धतिअनुरुप छलफल चलाऔं, कसैको अन्धभक्त भएर होइन । नेपाली कम्युनिष्ट आन्दोलनमा हाम्रा सबै नेताहरुले पुर्‍याएको सापेक्षित योगदानको उचित सम्मान गरौँ । पार्टीभित्रका वैचारिक बहसहरुमा सामूहिक छलफल चलाऔं । तथ्यद्वारा सत्यको अन्वेषण गर्ने पद्धतिलाई आत्मसात गरौँ । कार्यकर्ताका टाउका गनेर नेताका भाग लगाउने टाउकाहरुको थान गन्ती अनुसार पद र अवसरहरुको बिला लगाउने, बिलाहरुमा एकाध चोक्टा तल-माथि भए त्यसलाई सैद्धान्तिकरण गरी पार्टीभित्र बाइसे-चौबीसे भुरेटाकुरे राज्य स्थापना गर्ने कार्य नगर्न नेताहरुलाई पनि खबरदारी गरौँ । हामी कार्यकर्ता पनि सचेत बनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *