राप्तीमा बढ्दैछ अनलाइन क्रेज

  
  प्रकाशित मितिः आइतवार, अशोज १५, २०६८       | 123 Views   ||

-[डिल्ली मल्ल]
दाङ, असोज १५ । पत्रपत्रिका होऊन् या रेडियो नै, आजभोलि समाचार र विज्ञापन सँगसँगै आफ्नो सेवा संसारभरका पाठक/स्रोताहरुका लागि शुरु भइसकेको लेख्न र भन्न प्रायः छुटाउँदैनन् । अखबारहरुले पहिलो पृष्ठमै वा मास्ट हेडको छेउमै आफ्नो वेवसाइट लेखिरहेका हुन्छन् भने रेडियोहरुले बिहान बेलुकाका मुख्य समाचारदेखि हरेक घण्टाका बुलेटिनको शुरुमै अनलाइनमा संसारभर सुन्न सकिने भनिरहेका हुन्छन् ।

विगत एक/दुई वर्षकै बीचमा सूचना प्रविधि र इन्टरनेटको सहज पहुँचसँगै राप्ती क्षेत्रबाट धमाधम अनलाइन सेवा सञ्चालन भइरहेका छन् । राप्तीलाई आधार बनाएर यस क्षेत्रका सूचना, विविध गतिविधि र खबर विश्वभर पुर्‍याउन साथै यहाँको सामाजिक, आर्थिक, साँस्कृतिक, राजनीतिक, पर्यटकीय एवम् विविध क्षेत्रलाई विशेष प्राथमिकता दिदै अनलाइनको दुनियाँमा राप्ती क्षेत्रको परिचय र स्पष्ट पहिचान दिन वेवसाइटहरु खोलिएको उनीहरुले बताउने गरेका छन् ।समाचारमूलकरुपमा केही समयअघिदेखि राप्ती अञ्चललाई केन्द्रविन्दु बनाएर राप्तीखबर डट कम, रुकुम अनलाइन डट कम, हाम्रो दाङ डट कम, सल्यान अनलाइन डट कमले नियमित अनलाइन सेवा दिदै आइरहेका छन् । तीन वर्षपहिले खुलेको हल्कारा डट कम भने अहिले बन्द रहेको छ ।

यही क्रममै पछिल्लोपटक रुकुम रोल्पाका केही युवाहरु मिलेर राप्ती हेडलाइन्स डट कम शुरु गरेका छन् । उक्त वेवसाइटमा राप्तीको सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक, पर्यटकीय तथा सबै क्षेत्रको पहिचान झल्किने गरी सामग्रीहरु राख्ने र नियमित समाचार पनि अपडेट गरिने तयारी भइरहेको वेवसाइट सञ्चालकहरुले बताएका छन् । सञ्चालकका अनुसार उक्त वेवसाइटको डिजाइनिङ पूरा भइसकेको र अहिले परिक्षणकै क्रममा रहेको छ । त्यस्तै, दाङका युवा पत्रकार उदय जीएमले ऐरावती डट कम डट एनपी भर्खरैमात्र सञ्चालन गरेका छन् ।

उसो त दाङ घोराहीमा कार्यालय रहेको सिआइटी नेपालले अहिले दाङलगायत राप्तीका सबै जिल्ला र केही बाहिरी जिल्लाका दैनिक तथा साप्ताहिक पत्रपत्रिका, रेडियो, गैरसरकारी संघ, संस्था एवम् शैक्षिक संस्थाका गरी २७ वटा वेवसाइटहरु निर्माण गरिसकेको र झण्डै एक दर्जनजति वेवसाइटहरु निर्माणाधीन अवस्थामा रहेको सिआइटी नेपालका आइटी मेनेजर चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा केही व्यक्तिगत र केही जनयुद्धका शहीदहरुको नाममा पनि वेवसाइट सञ्चालन गर्ने तयारी भइरहेको छ । जनयुद्धको शुरुमै डोल्पा त्रिवेणी चौकी आक्रमणमा शहीद हुनुभएका रुकुम खाराका दौलतराम घर्ती (कमरेड विजय घले)को नाममा उहााका छोरा जेसिसले विजय घले डट कम सञ्चालन गर्ने तयारी गरिरहनु भएको छ ।

बितेका दुई/चार वर्षकै अवधिमा ग्रामीण क्षेत्रसम्म अनलाइनतर्फ क्रेज बढ्नुमा जिल्लास्तरमै सबै सुविधा प्राप्त हुनु मुख्य कारण भएको सूचना प्रविधि र इन्टरनेटसँग नजिकबाट खेलिरहेका युवा पत्रकारहरुको बुझाई छ । इन्टरनेट सेवा प्रोभाइडरहरुको संख्यामा वृद्धि, जिल्लामै वेबसाइट निर्माण र होस्टिङको सुविधा, विश्वसँग नजिकिने मानिसहरुको उत्कट चाहना र स्वदेश तथा विदेशका ताजा समाचारहरुको उपलब्धताका कारणले अहिले अनलाइन क्रेज बढिरहेको पत्रकार उदय जीएमले बताउनुभयो । उसो त इन्टरनेटले विश्व नै एउटा गाउँघरजस्तो बनाइदिएको अहिलेको परिवेशमा एक/दुई दिनमात्र इन्टरनेटको दुनियाँभन्दा टाढा भएमा के-के बिर्सिएकोजस्तो हुने उहाँको आफ्नै अनुभव छ ।

सूचना प्रविधि र इन्टरनेटको सहज पहुँच र नयाँ-नयाँ प्रयोगमा रमाउने युवा पुस्ताको क्रियाशीलताले अनलाइन सेवा लोकपि्रय बन्दै गइरहेको रुकुम अनलाइन डट कमका सम्पादक नरेन्द्र केसी बताउनु हुन्छ । ‘अहिलेको युवा पुस्ता नयाँ-नयाँ प्रयोग गर्न चाहन्छ, उहाँले भन्नुभयो- ‘त्यसलाई सहज बनाउने र विश्वमा के भइरहेको छ भन्ने क्षणभरमै जानकारी दिने काम इन्टरनेटले पूरा गरिरहेको छ, त्यसैले अनलाइनको दुनियाँतर्फ सबैको क्रेज बढिरहेको छ ।’ राप्ती क्षेत्रलाई केन्द्रविन्दु बनाएर यहाँका युवाहरुले अनलाइन क्षेत्रतिर बढाएको क्रियाशीलताले विश्वमै राप्तीको पहिचान दिन सहज हुने उहाँको विश्वास छ ।

सूचना प्रविधिको विकास र यसको सहज पहुँच हुन थालेपछि सबैतिर अनलाइन सेवातर्फ आकर्षण बढेको र विशेष गरी युवा वर्ग वेवसाइट सञ्चालनतर्फ आकषिर्त भएको सिआइटी नेपालका आइटी मेनेजर चन्द्र श्रेष्ठको भनाई छ ।घोराहीमा एक वर्षअघि स्थापना भएको कम्प्युटर इन्फरमेसन टेक्नोलोजी अफ नेपाल -सिआइटी नेपाल)ले अहिले वेव डिजाइनिङ, वेव होस्टिङ, डोमेन रजिष्टूशन र अनलाइन विज्ञापनका साथै सूचना प्रविधिसम्बन्धी विभिन्न जानकारी, तालिम तथा सेमिनार गोष्ठीहरु सञ्चालन गर्दै आइरहेको मेनेजर श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसो त यस क्षेत्रमा बढ्दै गएको इन्टरनेट सेवाप्रदायक संस्थाहरुको वृद्धिले सर्वसाधारणलाई अनलाइनको दुनियाँमा नजिक बनाइदिएको छ । दाङलगायत राप्तीमा अहिलेसम्म नेट सेवाप्रदायक संस्थाहरु नेपाल टेलिकम, वल्र्ड लिङ्क, प्राइम नेट, बागेश्वरी नेट, जेबी नेट र सुविसु नेटले सेवा दिइरहेका छन् भने स्काई रिम, युटिएल र एनसेलबाट पनि उपभोक्ताले इन्टरनेट सेवा लिइरहेका छन् ।

One Comment

  • Milan Subedi

    It’s Good news for Rapti. Thank you Chandra ji and CIT Team who is leading Rapti to explore Rapti through the internet. Good job. Chandra is expert by yar…

Leave a Reply

Your email address will not be published. Required fields are marked *