चरम पूँजीवादविरुद्ध विश्वव्यापी जनविद्रोह

  
  प्रकाशित मितिः सोमवार, मंसिर ५, २०६८       | 147 Views   ||

सुशील गौतम

पूँजीवादलाई अजम्बरी भन्दै समाजवादी चिन्तनविरुद्ध विजयको डङ्का बजाइरहेकै अवस्थामा पूँजीवादको नाभीस्थलमै उसको मानवद्रोही चरित्र विरुद्ध थालिएको आन्दोलन एक महिना पुग्दा नपुग्दै विश्वव्यापी जनविद्रोहको स्वरुप ग्रहण गर्दैछ । सोभियत संघको विघटनपछि विश्वमा एकछत्र राज गरेपछि थप मात्तिएको पूँजीवादको नवउदारवादी भनिने तर सारमा मुठ्ठीभर धनीहरुका लागि उदार तर आम जनताको घाँटी रेट्ने व्यवस्थाको विरुद्ध पूँजीवादी देशहरुमै देखिएको चरम असन्तोषपूर्ण अभिव्यक्ति सडकमा छताछुल्ल भएको छ । अमेरिकाको कर्पोरेट शक्ति र सट्टाबजारको केन्द्र वालस्ट्रिटबाट गत सेप्टेम्बर १७(३१ भदौ, २०६८) देखि शुरु भएको यो आन्दोलन अहिले विश्वव्यापी बनिसकेको छ । ९९ प्रतिशत जनतामाथि १ प्रतिशत सेठहरुको सत्ता, शक्ति र स्रोतको प्रतीकको रुपमा रहेको वालस्ट्रिटबाटै प्रदर्शन शुरु हुनु र प्रदर्शनकारीहरुले ‘वालस्ट्रिट कब्जा गर’ लाई आफ्नो नारा बनाउनुको प्रतिकात्मक महत्व त छँदैछ, पूँजीवादको मानवद्रोही आर्थिक, राजनीतिक शक्तिप्रतिको तीव्र असन्तोषलाई पनि प्रतिविम्बित गर्दछ । प्रदर्शनकारीहरुको नारा ‘एक प्रतिशत विरुद्ध ९९ प्रतिशतको विद्रोह’, ‘वालस्ट्रिटको असीमित शक्ति बन्द गर’ भावनात्मक रुपमा र दिशागत रुपमा पनि त्यत्तिकै महत्वपूर्ण छ । कम्युनिष्ट मुलुकहरुसँग विश्वव्यापी प्रतिस्पर्धा गर्दा आफ्नो मानवद्रोही चेहरालाई सौन्दर्य प्रशाधन प्रयोग गरी ‘मानवीय चेहरा’ दिन खोजेको पूँजीवादले सोभियत संघको विघटनपछि विश्वव्यापी एकाधिकार र प्रभुत्व पाएपछि आम जनतामा लादेको भेदभाव र कष्ट सहनै नसकेपछि असन्तोषले अहिले विस्फोटक रुप लिएको हो ।

सोभियत संघको पतनपछि पूँजीवादी क्याम्प अब आफ्नो प्रतिस्पर्धी नभएकोमा ढुक्क भयो । फलस्वरुप पूँजीवादी देशहरुमा चरम दक्षिणपन्थी शक्तिहरु बलियो हुँदै गए । उनीहरुको राजनीति र अर्थनीति खरबपतिकै स्वार्थतिर केन्द्रीत भयो । धनीहरुमाथि लगाइएको कर कटौती गरियो, गरिबहरुलाई राज्यबाट दिइदै आएका आधारभूत सुविधा एवम् लोककल्याणकारी कार्यलाई राज्यको खर्च कटौतीका नाममा झण्डै बन्द गरियो । पूँजीवादभित्र पनि चरम पूँजीवादले विजय प्राप्त ग¥यो । सत्ता, शक्ति, धन र प्रभुत्व केही व्यक्तिहरुमा केन्द्रीत भयो । आम जनताले असहायजस्तो अनुभूति गर्न थाले । राजनीति खासगरि  सत्ता राजनीतिमा खरबपतिको अह्रोटमा चल्न थाल्यो । प्रजातन्त्रको कथित अभ्यास पनि व्यवहारमा पङ्गु भयो । सत्ताको व्यवहारिक साँचो सीमित कुबेरहरुको हातमा कब्जा हुन पुग्यो ।

चरम पूँजीवादले सबै कुरालाई बजारमा केन्द्रीत ग¥यो । सबै कुराको लिलामी गरियो । मानवीय संवेदना मात्र होइन, मान्छेलाई समेत बजारको वस्तु बनाइयो । त्यसैले त वालस्ट्रिटबाट शुरु भएर सम्पूर्ण पूँजीवादी देशहरुमा फैलिएको वालस्ट्रिट जनविद्रोहका प्रदर्शनकारीको लोकप्रिय नारा भएको छ– ‘म बजारको वस्तु होइन, म मान्छे हुँ ।’ ‘मानवीय आवश्यकता पूरा गर, लोभी पापी कर्पोरेट पूँजीपतिको होइन ।’ यी नारा हेर्दा कतिपयलाई सामान्य लागेपनि यिनको मर्म र अर्थ असामान्य छ ।

वालस्ट्रिट कब्जा अभियानमा लागेका एक प्रदर्शनकारीले भने– ‘म वालस्ट्रिट कब्जा गरिरहेछु, किनकि यो मेरो भविष्य हो, मेरो पिढीको भविष्य हो, एक प्रतिशतद्वारा ९९ प्रतिशत मानिसमाथि गरिएको आर्थिक, सामाजिक थिचोमिचोको विरुद्ध हो ।’ नेपाललगायत गरिब देशहरुमा खासगरी कम्युनिष्टहरुले भन्ने गरेको एक प्रतिशतद्वारा ९९ प्रतिशत जनतामाथि शासनको अभिव्यक्ति दिन नेपालका कम्युनिष्टहरुले नै छोड्न थालेको बेला अमेरिका युरोपलगायत विश्वका एक सय बढी देशमा एकसाथ लागेको ‘९९ प्रतिशतमाथि एक प्रतिशतको अत्याचार बन्द गर’ नारा निकै महत्वपूर्ण छ ।

बजार अर्थतन्त्र र पूँजीवादले समृद्धि प्रदान गर्दछ र त्यसको फाइदा यो वा त्यो रुपमा आम जनताले पनि पाउँछन् भन्ने नेपाललगायतका पूँजीवादी अर्थशास्त्रीहरुको भनाईलाई झुठो साबित गर्दै पूँजीवादी देशहरुमा सीमित व्यक्तिहरुको हातमा मात्र धन केन्द्रीत भएको छ । अनियन्त्रित पूँजीवादले सीमित व्यक्तिहरुमा मात्र धन केन्द्रीत गर्दछ । यसरी उनीहरुमा केन्द्रीत पूँजीले क्रमशः सरकार र राज्यलाई नियन्त्रण गर्दछ । अन्ततः त्यहाँको राजनीति पनि उनीहरुको कब्जामा आउँछ । सरकार र राज्यको व्यवहारिक रिमोट कन्ट्रोल उनीहरुकै हातमा हुन्छ अर्थात् बाहिर जे जस्तो देखिएपनि व्यवहारिकरुपमा सत्ता कब्जा ती पूँजीपतिहरुले नै गरिरहेका हुन्छन् । अमेरिकालगायत पूँजीवादी मुलुकमा त्यही भइरहेको छ । सत्तामा आउनुअघि जे जस्ता कुरा गरेपनि सत्तामा पुगिसकेपछि ती सीमित पूँजीपतिलाई डेग चलाउने त के कुरा उनीहरुकै संरक्षण गर्नुको विकल्प रहदैन । यसको पछिल्लो उदाहरण अमेरिकाका प्रथम अश्वेत राष्ट्रपतिका रुपमा धेरैले ठूलो आशा र विश्वासका साथ हेरेका बाराक ओबामा हुन् । चुनाउताका धनीहरुलाई धेरै कर लगाउने र राज्यको लोककल्याणकारी गतिविधि बढाउने लोकप्रिय नारा दिएका ओबामा अहिले धनीहरुमाथिको कर घटाउने र गरिबलाई राज्यले दिदै आएको सुविधा कटाउने कार्यमा संलग्न छन् । जसले गर्दा अमेरिकामा गरिबहरुको संख्या निकै ठूलो मात्रामा बढेको छ । ओबामा चाहेर पनि केही गर्न सक्ने अवस्थामा छैनन् किनकि अमेरिकाको सत्तामा बस्न वालस्ट्रिटको आर्शिवाद अनिवार्य छ । अमेरिकाको चुनाव विश्वकै सर्वाधिक खर्चिलो चुनाव हो । अझ चुनावपूर्व जसले धेरै आर्थिक चन्दा लिन सक्यो त्यसैलाई राम्रो मान्ने र उम्मेदवार बनाउने प्रचलन अमेरिकामै छ । त्यसले गर्दा व्यवहारिक रुपमा सत्ता ९९ प्रतिशत जनताप्रति होइन एक प्रतिशत महाधनीहरुप्रति वफादार हुन्छ र उनीहरुको संकेत विरुद्ध उनीहरुको स्वार्थविरुद्ध केही गर्न सक्दैन । त्यसैलाई संकेत गर्दै प्रदर्शनकारीहरुले नारा तय गरेका छन्– ‘अब अति भो ।’ हुन पनि पूँजीवादी विश्वमा अति नै भएको छ । असमानता हेरौँ– अमेरिकाको कूल आधा सम्पत्ति एक प्रतिशत धनीहरुको कब्जामा र बाँकी आधा सम्पत्ति ९९ प्रतिशतको भागमा पर्दछ । १५ करोड अमेरिकी जनताको कूल सम्पत्तिभन्दा बढी सम्पत्ति त्यहाँका चार सय जना धनीहरुसँग रहेको छ । त्यसैले त पूँजीवादको केन्द्र अमेरिकामा पूँजीवादले उत्पन्न गरेको यो क्रूरता विरुद्ध आन्दोलन शुरु भएको छ । जनता भोक, प्यास नभनी एक महिनादेखि वालस्ट्रिटलाई कब्जामा लिइरहेका छन् । टाइम पत्रिकाका अनुसार ५४ प्रतिशत अमेरिकीहरु यस आन्दोलनको समर्थनमा छन् । ६७ प्रतिशत न्यूयोर्कबासीहरु यस आन्दोलनको पक्षमा देखिएको जनमत सर्वेक्षणले देखाएको छ ।

आन्दोलन अमेरिकामा मात्र सीमित छैन । अमेरिकामा आन्दोलन शुरु भएको एक महिना मात्र पुगेको छ तर आन्दोलनले विश्वव्यापी स्वरुप ग्रहण गरिसकेको छ । आन्दोलन एक महिनामै अमेरिकाका एक सय बढी शहर र विश्वका एक हजार पाँच सय बढी शहरमा फैलिइ सकिएको छ । एक महिनाको अल्पअवधिमै चरम पूँजीवाद र त्यसले उत्पन्न गरेको आर्थिक अन्यायविरुद्ध विश्वभरि १५ हजारभन्दा बढी प्रदर्शन भइसकेका छन् । प्रदर्शन युरोपको लण्डन, रोम, इटाली, पेरिस, एथेन्स, बर्लिनलगायत सबै शहरहरुमा एसियाको टोकियो, सिउल, हङकङ, बम्बैलगायतका सबै प्रमुख औद्योगिक एवम् व्यापारिक केन्द्रहरुमा अमेरिकी महादेशका ओटावालगायत सबै प्रमुख शहरहरुमा मात्र होइन दक्षिणी अमेरिकी महादेश, अफ्रिका, इजराइललगायतका शहरहरुमा फैलिएको छ ।

बेलायतको लण्डनमा प्रदर्शनकारीले आन्दोलनको प्रतिकको रुपमा एउटा स्तम्भ खडा गरेका छन् र त्यहाँ लेखेका छन्– REVOLUTION (क्रान्ति) । वास्तवमा यो पूँजीवादको अति अत्याचारविरुद्ध क्रान्ति नै हो र यसले पूँजीवादलाई एकचोटि नग्न मात्र पारेको छैन, पूँजीवादलाई अजम्बरी ठान्दै उसको पाउमा पर्ने हीन मानसिकतालाई पनि प्रहार गरेको छ । तर, विडम्बना कम्युनिष्टहरुको देश मानिने नेपालका कम्युनिष्ट नेता र कम्युनिष्टप्रति सहानुभूति र समर्थन राखेको भन्ने दावी गर्ने प्रेससमेत विश्वको यति महान र युगान्तकारी हलचलबारे झण्डै बेखबरजस्तै देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *