समुदायभन्दा टाढा दाङका सामुदायिक रेडियो

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 96 Views   ||

-[गणेश ओली]

समुदायको समाचार तथा विचार समुदायकै लागि समुदायिक भाषा र भाषिकामा समुदायका अगुवाद्वारा दिनकोको लागि सामुदायिक रेडियोको स्थापना गरिएको हो । तर दाङका सामुदायिक रेडियो भने न त समुदायको स्वामित्वमा छन् न त समुदायका समाचार, विचार, जनताले चाहेअनुसार पस्कन सकेका छन् । हुन त केही नै नगरेका भने हैनन् तर जति गर्नुपर्ने हो त्यसको तुलनामा प्रयास एकदमै थोरै छ । यहाँका सामुदायिक रेडियोमा सरलभन्दा क्लिष्ट र जनताले नबुझ्ने भाषाशैली, व्याकरणमा व्यापक त्रुटी समाचार कार्यक्रममा जनताका भन्दा केन्द्रीय नेताको आवाज र विषय आउने गर्दछ भने यी रेडियोमा जनताको सहज पहुँच र स्वामित्व पनि छैन तसर्थ यहाँका सामुदायिक रेडियो समुदायभन्दा टाढा रहेका छन् । दाङमा पहिलोपटक खुलेको सामुदायिक रेडियो स्वर्गद्वारी र व्यवसायिक अवधारणा लिएर खुलेको रेडियो इन्द्रेणीसहित हाल तुलसीपुर क्षेत्रलाई आधार मानेर प्रसारण भएका ४, देउखुरी क्षेत्रलाई आधार मानेर प्रसारणमा रहेका ३ र घोराही क्षेत्रलाई आधार मानेर प्रसारण भइरहेका ५ गरी जम्मा १२ वटा रहेका छन् । तर, यी सबैमा प्रसारण हुने समाचार, कार्यक्रमका विषयवस्तु, सामग्री, शैली, तौरतरिका मिल्दोजुल्दो पाइन्छ । समाचारमा अनलाइनबाट काठमाण्डौका कपि गरेर बजाउने, बजार आसपास त्यसमा पनि औपचारिक कार्यक्रम धेरै पस्कने यहाँका रेडियोको विशेषताजस्तै भएको छ । ग्रामीण भेगका कृषि, शिक्षा, स्वास्थ्य, विकास, वन, वातावरण, कला, संस्कृति, भाषा, रहनसहन, धर्म, परम्पराका विषय रेडियोहरुले अपवादको रुपमा खोजेरभन्दा आफै आइलागेमा वा औपचारिक अवसर परेमा मात्र बजाउने गर्छन् । यहाँका जनताले दाङका सामुदायिक रेडियोबाट आफ्ना कुराभन्दा नेताका गतिविधिहरु, बजारमा एनजिओ र आइएनजिओका औपचारिक कार्यक्रमको जानकारी जबर्जस्त रुपमा सुन्न बाध्य छन् । त्यसकारण पनि राजनीतिभन्दा टाढाका जनताले रेडियो नै सुन्दैनन् भन्दा पनि हुन्छ । त्यसैगरी यहाँका रेडियोले उत्पादन गर्ने कार्यक्रम पनि समुदायका रुचि, चासो, समुदायका विषयवस्तुभन्दा गीतसंगीत, टेलिफोन कुराकानी त्यसमा पनि शिक्षामूलक भन्दा उत्तेजक र भड्किलो या राजनीति केन्द्रित हुने गर्दछन् ।

यहाँको आदिबासी र बाहुल्यताका हिसाबले थारु जाति धेरै छ । त्यस्तै मगर, खसलगायतका जाति रहेका छन् । तर, यहाँको मुख्य जातिको थारु भाषामा कुनै काठमाण्डौंका कपिपेष्ट र सरकारी तथा गैरसरकारी संघसंस्थाका औपचारिक कार्यक्रमका ५–१५ मिनेटसम्मका समाचार यहाँका रेडियोले दिने गर्छन् । थारु भाषामा उत्पादन हुने कार्यक्रममा पनि उनीहरुको गहिरो अध्ययन र सहभागीमूलक हुँदैनन् । त्यसैगरी शिक्षा, स्वास्थ्य, वन, वातावरण, कृषिका सन्दर्भमा साप्ताहिक कार्यक्रमसम्म छन् । ती पनि बजार र आसपासका समाचार, सरकारी तथा गैरसरकारी कार्यालयका हाकिम र उपल्ला तहका कर्मचारीका अन्र्तवार्तामै सीमित छन् । सम्भवतः त्यसैले होला दाङका रेडियोहरु आर्थिक हिसाबले पनि कमजोर छन् । सामुदायिक रेडियो आचारसंहिता–२०६४ ले सामुदायिक रेडियोले गर्न हुने १९ वटा र गर्न नहुने १३ वटा बुँदा रहेको आचार संहिता बनाएको छ ।

गर्न हुने कुराहरु :
लोकतन्त्र, विधिको शासन, मानवअधिकार, समावेशीकरण, सामाजिक न्याय र पारदर्शीताको सिद्धान्तलाई आत्मसात गर्ने ।
समुदायको सशक्तिकरण, सामाजिक सदभाव, मेलमिलाप, भाइचारा तथा सदाचार बढाउने सामग्री दिने ।
लोक साहित्य तथा गीतसंगीत, स्थानीय कला संस्कृतिको जर्गेना, स्थानीय सम्पदा, भाषा, उद्योगधन्दाको समेत वचावट, प्रवद्र्धन, प्रचार प्रसार र विकासमा जोड दिने ।
जनभावना र जनसहभागी समाचार कार्याक्रम उत्पादन, प्रसोधन गर्ने ।
असक्त र असहाय, निमुखा, सामाजिक उत्पीडनमा पारिएका हरुको हकअधिकारको रक्षाका लागि आवाज उठाउने ।
सबै भाषाभाषी, जातजाति, वर्ग, लिङ्ग र समुदायको समावेशी प्रतिनिधित्व गराउने छन् ।

गर्न नहुने कुराहरु :
कुनै पनि एउटा भाषा, वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदाय र दलको बन्न नहुने ।
समाजमा गलत सन्देश, वातावरण र विकासमा असर पर्ने सामग्री पस्कन नहुने ।
पीडा वा अन्यायमा तथा उत्पीडनमा परेकालाई होच्याउने, घृणा गर्ने, तथा पीडा पर्ने कुरा प्रसारण गर्नु नहुने । अश्लील, घृणा वा दुरभावना फैलाउने प्रसङ्ग नपस्कने ।

यी र विश्वका सामुदायिक रेडियोको अनुभवबाट के प्रमाणित हुन्छ भने सामुदायिक रेडियो भनेका गाउँका (कटुवाले) हुन् , जसको लालनपालन गर्ने जिम्मा समुदायको हो भने यसले समुदायमा वीचबाटै समुदायको हित र आवश्यकता अनुसार चल्नुपर्छ । खासमा सामुदायिक रेडियोको अवधारणा यस्तो हो तर यहाँ वेवास्ता गर्दै नाफा कमाउन खोज्ने प्रवृतिले दाङका मात्रै होइन नेपालकै सामुदायिक रेडियोले समुदायको माया र लोकप्रियता पाउन सकेका छैनन् ।देखासिकीमा रेडियो खुल्दैमा सामुदायिक रेडियोको विकास भएको मान्न सकिन्न । यसका लागि त दिगो समयसम्म समुदाय र कर्मचारीलाई सन्तुष्ट पार्दै चलाउन सक्नुपर्छ ।

सामुदायिक रेडियोले गर्नुपर्ने काम :
समुदायको कथा व्यथा समाचार र कार्यक्रम दिनुपर्ने ।
धेरैजसो कार्यक्रम र समाचार शुद्ध स्थानीय भाषा र भाषिकामा प्रसारण गर्ने ।
समुदायको आवश्यकता, मौलिकता र  चाहनाको आधारमा कार्यक्रम उत्पादन गर्ने ।
विभिन्न भाषा, धर्म, कलासंस्कृित, रहनसहन सामाजिक अवस्थालाई मुख्य विषय बनाउने ।
५० प्रतिशत कार्यक्रम सोही समुदायमा आधारित रहि सोही समुदायको सहभागिता र समन्वयमा उत्पादन, प्रसारण र बाँकी समय राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि र विज्ञापन बजाउने ।
कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, विकास, मानवअधिकारको अवस्था, पिछडिएका वर्ग, जाति, लिङ्ग र क्षेत्रलाई फाइदा हुने विषयवस्तु उत्पादन र प्रसारण गर्ने ।
समुदायको रेडियो संचालन उत्पादन र सहभागितामा जोड दिने ।
पारदर्शीता, जवाफदेहिता, विधिको शासन र लोकतन्त्रप्रति आफू पनि पूर्ण प्रतिबद्ध हुने र अरुलाई पनि गराउने ।
समाजको सर्वाङ्गीण विकास नै मुलमन्त्र ठान्ने ।
चुनौतीहरु :
सामुदायिक रेडियोका आन्तरिक र वाह्रय अर्थात व्यवसायिक र अन्य गरी दुई प्रकारका चुनौतीहरु रहेका छन् ।

बाह्रय चुनौतीहरु :
उचित कानुनको अभाव ।
सरकारी प्राथमिकतामा नपर्नु ।
हचुवाको भरमा अनुमति दिने प्रबृति ।
संचालकको योग्यता र क्षमताको बारेमा ऐन कानुन स्पष्ट नहुनु । जसले गर्दा कालो धन कुम्ल्याउनेदेखि समाजका खराब र दलालको समेत प्रवेश भएर रेडियो तथा संचारको ओज र गरिमा पनि घटेको छ भने श्रमजीवी पत्रकार ठगिएका र हेपिएका छन् ।
नवीकरण दस्तुर र प्रसारण तथा रोयल्टी तिर्ने व्यवस्था हुनु ।
दण्दहिनताले पत्रकार र संचालक असुरक्षित हुनु ।
सरकारी योजना र सहयोगको अभाव ।
समुदायको नियन्त्रण, संचालन र सहभागिता नहुनु ।

आन्तरिक चुनौतीहरु :
व्यवसायिक दक्षताको विकास गरेका पत्रकार र कार्यक्रम संचालनको अभाव ।
रेडियो संचालकको हस्तक्षेप (सम्पादकीय स्वतन्त्रतामा समेत)
पारिश्रमिक समयमा र उचित नपाउनु ।
तालिम दिने निकायको अभाव, तालिम लिने अवसर आएपनि रेडियोले अवसर नदिनु ।
पत्रकारमा समाज र बाह्य ज्ञानको अभाव ।
भौतिक सुरक्षा र सामाजिक सुरक्षाको समस्या ।
सञ्चारबारे अनविज्ञ सञ्चालकका कारण आफ्ना योजना लागू गर्न नसक्नु ।
रेडियो स्थापना गर्दा निश्चित योजना नहुनु ।
पत्रकार र कार्यक्रम सञ्चालकमा अध्ययनशीलता, सृजनशीलता र परिश्रम गर्ने बानी नहुनु ।
रेडियो संचालक, पत्रकार र कार्यक्रम उत्पादकमा अंग्रेजी÷हिन्दीजस्ता विश्वका मुख्य भाषाको ज्ञान नहुनु र आधुनिक सुचना प्रविधिको ज्ञान र प्रयोगमा कमी ।
व्यवस्थापन, समाचार, कार्यक्रम उत्पादक, प्राविधिक र संचालकमा एकता, मैत्रीपूर्ण सहकार्य र सम्मानभन्दा असहयोग, दुश्मनीपूर्ण सम्बन्ध हुनु ।
सामुदायिक रेडियो भएर पनि समुदायसम्म पुगेर समुदायको सहभागितामा समुदायलाई उपयोगी हुने समाचार र कार्यक्रम दिन नसक्नु ।

अन्त्यमा सामुदायिक रेडियो भनेका समुदायका सम्पत्ति हुन् । यिनलाई राज्यले समुदायलाई नै चलाउने गरी जिम्मा दिनुपर्छ । अहिले समाजका केही ‘टाँठाबाँठा’ले सामुदायिक रेडियोको नाममा पैसा लगाएर नाफाआर्जन गर्न खोज्ने तर ज्ञान र क्षमता तथा योजनाको अभाव हँुदा धेरै सामुदायिक रेडियो भन्नेहरु बन्द हुने अवस्थामा छन् । यिनले स्वामित्व, अपनत्व कार्यक्रम उत्पादन, प्रसारणलगायतमा समुदायलाई सहभागी नबनाए डुब्ने पक्का हुन्छ । त्यसकारण दाङमा सामुदायिक रेडियो र संचारकर्मीले यी रेडियो हाम्रा हैनन् न त हामी समुदायभन्दा पृथक हौं भन्ने बुझेर समुदायप्रति समर्पित भएर संचालन गरे हाम्रो भविष्य उज्ज्वल र समुदायलाई फेर्ने, विकास गर्ने, राष्ट्रिय लक्ष्य पुरा गर्न सहयोग समेत पुग्नेछ ।

लेखक रेडियो गणतन्त्र राप्तीमा संलग्न हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *