बगरका जीन्दगीहरुसँग

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 246 Views   ||

-[अजयदीप शर्मा]

एकलास बगरका ढुङ्गासँग जीवन साटिरहेका मान्छेहरुका माझ उभिएर मैले सोचेँ– साँझ बिहान ढुङ्गासँग बज्रिराख्ने यी मान्छेहरुका पर्वहरु किन निस्ता भइराख्छन् ? खोलाको पानीजस्तै आँसु र पसिना बगाएर जीउने ती मान्छेहरुका जीन्दगीका मूल्यहरु किन सस्ता बनि राख्छन् ? सपनाहरु सबैका हुन्छन् तर ती बगरमा ढुङ्गा टुक्राउनेहरुका सपनाहरु ती ढुङ्गाझैं टुक्रिदै र बिछोडिदै किन गइरहेका हुन्छन् ?

दशैंको उमङ्ग थियो । मान्छेहरु सुकिला कपडामा राता रुमालले ढाकेको थालीमा अक्षता र फूलहरु राखी बजारबाट अम्बिकेश्वरी मन्दिरमा पुग्न कटुवा खोलाका ढुङ्गाहरु छिचोल्दै अगाडि हुत्तिरहेका थिए । तर, घोराही–६ फुर्सेखालीकी हिरा विक भने त्यही कटुवा खोलाको बगरमा एकाबिहानै पसिनाले नुहाइरहेकी थिइन् । खोलाका ढुङ्गालाई गिट्टी बनाएर बेच्ने  पेसा उनले १२ बर्षदेखि अंगाल्दै आएकी छिन् । उनले तयार पारेका गिट्टीबाट बनेका घरहरुले आज घोराही झिलिमिली शहरमा बदलिएको छ तर त्यही झिलिमिली बनाउने हिराहरुको जीवन बगरको बगरमै बितिरहेको छ ।

कुरा असोज १५ गतेको हो । दशैंको चापले मान्छेहरुलाई व्यस्त बनाउ“दै लगेको थियो । तर, बगरमा बिहानैदेखि घनले ढुङ्गा फोर्दैको आवाज एकनासले आइरहेको थियो । दशैंको रमझममा विवशताको जीवन बाँचिरहेका मजदूरहरुको दशैं कस्तो छ भनी रिपोर्टिङका लागि हामी गएका थियौं । रिपोर्टिङकै क्रममा हिरा विक जुन एकलास बगरमा अग्लो ढुङ्गाको चाङमा एकोरिएर गिट्टी कुटिरहेकी थिइन् । जब म त्यहाँ पुगे उनको एकोहोरोपन भङ्ग भयो । मैले विस्तारै भलाकुसारीको शुरुवात गरे ।

‘दिदी नमस्ते’ उनी बोलिनन् ।
‘घर कहाँ पर्छ दिदीको ?’
‘फुर्सेखाली ।’
‘कति बर्षको हुनुभयो ?’
‘५० बर्ष ।’
अनि यसरी गिट्टी कुटेको नि ?
‘१२ बर्ष’ ।
‘परिवार ?’
छन्, ५ भाई छोरा र श्रीमान् ।’

उनले प्रश्नको जवाफ मतिर नहेरेरै दिइरहेकी थिइन् । मैले परिवारका बारेमा बुझ्ने कोशिस गरेँ– ‘श्रीमान् के गर्नुहुन्छ त ? अनि ५ भाइ छोरा भएर पनि तपाई नै गिट्टी कुट्न आउनुपर्ने ?’ मेरा प्रश्नहरुले बिराम नलिदै उनी रुन थालिसकेकी थिइन् । उनी यसरी रोइन कि मानौं त्यो बगर नै शोकाकुल बनिरहेको छ ।

उनी आफ्ना दुःखका आँसुसमेत पोख्ने ठाउँ नै कतै नपाएको जस्तो लाग्यो । दुःख पनि कहाँ बिसाउने निर्जीव ढुङ्गाहरुले मान्छेका मनहरुलाई बुझ्न सक्दैनन् । साँझ अँध्यारोले छोपेपछि ओत लाग्न पुग्ने उनी उज्यालो खुल्न नपाउँदै बगरमा आइपुग्छिन् । ढुङ्गा कुट्दा धूलोमा मोलिएर फुस्रा भएका हातहरुले आँखा वरिपरिबाट बगिरहेका आँसु पुछ्दै हिराले भन्न थालिन्– ‘छोराहरु धेरै छन् बाबु तर आ–आफ्नो कामधन्दा गरेर छोराछोरी र जहान पाल्न ठिक्क छ हामीलाई कसरी हेरुन्, श्रीमान्लाई रक्सीले सिध्याएको छ । मैले दिनभरि गरेको दुःख साँझ श्रीमान्को रक्सीका लागि हुन्छ । त्यसैमा पिटाई खाएर बाँच्नुपर्छ । सधैं दुःख भोग्ने मान्छेलाई के को दशैं मान्ने हुन्छ र ?’ उनी ढुङ्गाको ढोकान बिछ्याएर आफ्ना बेदनाहरु पोख्दै गर्दा मभित्रको हृदय पनि छाती माथि–माथि उछालिदै थियो । हरेक दिन श्रीमान्को अत्याचार सहन नसकेर उनले काइला छोरासँग बस्दै आइरहेको बताइन् । भावनात्मक सम्बन्ध पनि टुटेकाले श्रीमान्को कुरा आउँदा उनी त्यसरी रोएकी रहेछन् भन्ने मलाई लाग्यो ।

ढुङ्गा फोर्दा चर्किएका हातहरुले कमाएको पौरखले साँझ र बिहान उनीहरुले अगेनोमा आगो त बालेका छन् तर मनभरि चाङ लागेर उभिएका पीडाका घाउँहरुलाई मेट्न सकिरहेका छैनन् । म अगाडि बढ्छु । उनै दुःखले मुछिएका अनुहार जहाँबाट पसिनाको नदी बगिरहेको छ । छोराछोरीकै लागि भनेर रुकुमको तकसेराबाट दाङ झरेका रुबी बुढा र मनबहादुर बुढाका दम्पती गिट्टी कुटेरै आफ्नो जिविका चलाइरहेका छन् । ढुङ्गाको खोजीमा बगरहरु चहार्दा फुटेका कुर्कुच्चा र घनले थिचेर डाम परेका मजदूरी हातहरुले आपसमा सहयोगी प्रेम बाँड्दै जीन्दगीको उकालो काटिरहेका थिए । संघर्ष उहि थियो दैनिक एक चोइली भातका लागि बगरका ढुङ्गासँग जुध्नु । तर, हिरा विकभन्दा फरक ती बुढाबुढीले आफ्ना पीडा र वेदनाहरुलाई बराबर गरी आपसमा पे्रम बाँडेर ढुङ्गा फुटालिरहेका छन् । शहरमा ल्याएका छोराछोरी आ–आफ्नै बाटो लागेपछि बाँकी जीन्दगी बुढाबुढी एक–अर्काको सहाराले हिड्नुपर्ने बाध्यता त कसैको बगरसँगै एक्लै बाँच्नुपर्ने जीन्दगीका अप्ठयारा भङ्गालाहरु । गिट्टी कुटेर शहरको कठिन जीवन गुजारिरहेका ती बुढा दम्पतीले दशैंमा भने छोराछोरी र आफन्त आफूहरु बसेको ठाउँमा आउने भन्दै खर्च जुटाउने जोहोमा बिहानै खाना बोकेर गिट्टी कुट्न आएको उनीहरुले बताएका थिए ।

रझेनामा बस्ने भिमसरी मल्ल हुन् वा प्यूठानको उदयपुरबाट छोराछोरी पढाउन भनेर नवलपुरमा बस्दै आएकी रुक्मा विक हुन्, उनीहरुलाई बिरामीले थला पारेर च्याप्दासमेत गिट्टी कुट्ने पेशाले छाडेको छैन । श्रीमान् गुमाएर बेसहारा बनेकी रुक्मा विक साना बच्चाबच्चीलाई कसरी पढाउने भन्ने कुराले पिरोलिरहेकी छिन् । खुसीसाथ दशैं मान्ने रहर भएर के गर्नु पैसा नभएपछि दशैंलाई पनि बिर्सेर खोलामा गिट्टी कुटिरहेको अभिव्यक्ति दुवैले दिए । ‘आफूले चित्त बुझाएपनि छोराछारीले दशैंमा मिठो खान र नयाँ लगाउन खोज्दा मन धर्केर आउँछ ।’ रात दिन गरेर भएपनि दशैंसम्म एक ट्याक्टर गिट्टी बनाएर बेच्ने र दशैं मान्ने योजना आफूहरुको रहेको रुक्मा र भिमसरीले बताए ।

गिट्टी कुटेर जिविका चलाउनेहरुका कथा र व्यथाहरु आ–आफ्नै छन् । उनीहरुको जीवन बगरमा ढुङ्गा फोर्दैमा बित्ने गरेको छ । हरेक साल आउने ठूला चाडपर्वहरुमा सेल पकाएर आफ्ना बालबच्चालाई खुसी तुल्याउने सपना बढ्दो नुन तेलको भाउसँगै सुकेर जाने गर्छन् । झिलिमिली शहरमा पनि दुर्गम बनेका यी जीवनहरु आशा र भरोसा हराइरहेका जस्ता लाग्छन् । सबैतिर दशैंको रन्को लागेपनि हरेक दिन ढुङ्गासँगै जीवन बिताइरहेका यी बगरका मान्छेहरुको अभाव र निस्तो भएपनि भोक टार्न नसकिने यो विवशताको लामो चक्रमा निमुखा गरिबहरु कहिलेसम्म  निचोरिराख्ने हु ? कहिले हट्ला यो दुनियाँको कालो मैलो असमानताको बादल ? आफैभित्र प्रश्नमाथि प्रश्नहरुको चाङ लगाउँदै बेल्चाबाट गिट्टी बेचेर छाक टारिरहेका दुःखान्त ती जिन्दगीहरुलाई औपचारितामै दशैंको शुभकामना दिदै उनीका कथा व्यथाहरु कापीका पानामा उतारेर म फर्किए आफ्नो कामतिर ।

०६८ असोज २० घोराही, दाङ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *