माओवादी ‘महाविवाद’ र व्यवस्थापनबारे

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 119 Views   ||

-[लेखराज रेग्मी]

यतिबेला पार्टीभित्र जुन ढंगले राजनैतिक÷वैचारिक वहसहरु सिर्जना भइरहेका छन् त्यसको उपयुक्त व्यवस्थापनको अभावमा बहसहरु अराजक, ध्वंसात्मक र प्रतित्युत्पादक बन्दै गइरहेको महसुस भइरहेको छ । आन्दोलनको आवश्यकताका कोणबाट बहस केन्द्रित हुनुपर्ने मूल विषयवस्तु ओझेल पर्ने र तपसिलका माथापच्चिसी देखेर कार्यकर्ता र जनता रनभुल्ल पर्ने स्थितिलाई तत्काल सच्याउन सकिएन भने अनपेक्षित परिणामको दिशामा लादैन भन्न सकिने स्थिति छैन । अतः नेतृत्वदेखि कार्यकर्तापङ्ति सबै सचेत र संवेदनशील बन्न आवश्यक छ ।

यतिबेला विवाद विचार, सिद्धान्त, रणनीति र कार्यनीतिका ठोस मुद्दाहरुमा देखा पर्दैन । विश्वास, आचरण, व्यवस्थापन र सम्बोधनका क्षमता, योग्यता र अभिव्यक्तिमा व्यक्त भइरहेका छन् । कार्यविभाजनभित्र अवसरहरुको सन्तुलित वितरणको मुद्दा अन्तरवस्तुमा प्रवेश गर्ने र यसले मनोवैज्ञानिक द्वन्द्व र विभाजनको विजारोपण गर्ने गरेको छ । सेना समायोजनको समय विषयभित्र ‘चाबी’ एउटा तपसिलमात्र हो । आपसी अविश्वासले तपसिलको विषयलाई मूल वस्तुमा फेरिदिन्छ र मुठभेड वा विभाजनको मनोविज्ञानसम्म पु¥याउँछ । नवउदारवादी विश्व अर्थतन्त्र, नवउपनिवेशवाद र कुटनैतिक हस्तक्षेपसँगै बढिरहेको राष्ट्रिय आत्मसमर्पणवादसँग विद्यमान चरणको नेपाली जनताको संघर्षको स्थिति, संघर्षका रुपहरु र हाम्रा कार्यभारहरुबारे ठोस निष्कर्षमा पुग्न हुनुपर्ने बहसले सिङ्गो पार्टी पंक्तिलाई प्रशिक्षित गर्न सक्छ । नवउदारवाद र साम्राज्यवादी पूँजीविनेशबारे मौन रहने तर ‘विप्पा’को विरुद्ध सडकसम्म पुग्ने जस्ता विवाद श्रृंखलाले देखाइरहेका छन् कि हामीले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अर्थतन्त्र, प्राकृतिक साधनस्रोतहरुको उपयोग र परिचालनबारे आम र ठोस नीतिहरु आम सहमति वा जनअनुमोदनसहित व्यवस्थित गर्न सक्नुपर्दछ । यसको लागि कमसेकम पार्टीभित्र समान बुझाई र निर्दिष्ट कार्यसूचीको विकास हुन आवश्यक छ । यसको अभावमा हामी मूल कामबाट अलग–थलग पर्ने र तपसिलका सवालहरुमा अनावश्यक अल्झिने स्थिति पैदा गर्दछ र अहिले यही नै भइरहेको छ ।

संविधान र शान्तिबारे पनि पार्टीभित्र बुझाइका सीमाहरु देखापरेका छन् । युद्धलाई लामो समयसम्म निरन्तरता दिन नमिल्ने, तत्काल युद्धको प्रक्रियाबाट केन्द्रीय सत्ता हस्तान्तरण गर्न नसकिने तर सामाजिक राजनैतिक अन्तरविरोधहरुका तात्कालिक विशिष्टतालाई पक्रदा एक स्तरको परिवर्तन सम्भव हुने वस्तुगत तथा आत्मगत आधारहरुको यथार्थताको स्थिति देखा परिसकेपछि दोस्रोलाई पक्रन र पहिलोको लागि आधारभूमि तयार गर्न पार्टीले शान्ति प्रक्रियाको बाटो अलम्बलन गरेको हो । जनआन्दोलनको सफलता र संविधानसभा निर्वाचनपछिको स्थितिको वस्तुवादी मूल्याङ्कन, आवश्यकता र सम्भावनाका कोणबाट हाम्रा कार्यभार र कार्ययोजनाबारे व्यापक बहसको माग हुनु स्वभाविक छ । हामीले हाम्रा सफलताका सीमालाई नजरअन्दाज गर्न सक्दैनौँ । यही विषयलाई खुलस्त ढंगले कार्यकर्तामाझ बहस चलाउन तथा जनतालाई सूसुचित गर्ने र सम्बोधन गर्ने सवालमा जो कमी देखा परेका छन्, यसले नेतृत्वका सीमा र सफलतालाई उजागर गरेको छ । संविधानसभाको सीमा वुर्जुवा गणतन्त्र नै हो । संविधानसभामा हाम्रो कार्यभार ‘जनवादको पूर्णता र समाजवादको सम्भावनालाई अनुकूलन गर्न संविधानसभाको अत्यधिक उपयोग’ हो । यो भन्दा धेरै सपनाहरु संविधानसभाभित्र देख्न सम्भव छैन । जान्दाजान्दै हामी यो वस्तु सत्यबाट बहकिन खोजेका छौँ । या त यही वुर्जुवा राज्यव्यवस्थाभित्र आर्थिक, सामाजिक उन्नयनका सपना वा आफैले प्राप्त गरेका उपलब्धिहरुको अवमूल्यनका यो वा त्यो दिशामा वहकावका लक्षणहरु पटक–पटक न्यूनाधिक देखा पर्ने गरेका छन् । यसले हाम्रो बीचमा खुलस्त वस्तुपरक तथ्यपूर्ण तार्किक र सैन्द्धान्तिक बहसको माग गर्दछ । तर, संविधानसभाको समयसीमा, बुर्जुवा राजनैतिक शक्तिहरुसँगको कुटनैतिक संघर्षको स्थिति, बाह्य अभिरुचि र चलखेलले हामीलाई व्यवस्थित हुन दिइरहेका छैनन् र एकहदसम्म  हामीमा त्यसप्रतिको इच्छाशक्तिको कमी देखापरेको पनि छ ।

शान्ति र सेनाको विषयमा हामीमा सैद्धान्तिक विमति कहाँ हो देख्न सकिन्न । तर विवादहरु छताछुल्ल छन् । क्रान्तिलाई निर्णायक विन्दुसम्म पु¥याउन जनताको सेना जनताको बीचमा विलय गर्ने र आवश्यकताका आधारमा पुनर्गठित गर्ने नीति र क्षमता नेतृत्वमा हुनुपर्ने हो, यसका विपरित हामी ठूलो संख्यालाई प्रतिक्रियावादी सेनामा विलय गर्न पाउनुपर्ने चिन्ताले ग्रस्त छौँ । यही नै ठीक हो भने पनि बृहत शान्ति सम्झौताको मर्मअनुसार जनमुक्ति सेनाको व्यवसायीकरणको काममा योजना हामीले कहिल्यै पनि मुद्दा बनाएनौँ । शिविरहरुभित्रै व्यवसायिक क्षमताको अभिवृद्धि सम्झौताको मर्मअनुसार राज्यको दायित्वको विषय बन्नुपथ्र्यो । यसले मात्र समायोजनको तह निर्धारणमा जनमुक्ति सेनालाई अपेक्षित अग्रता दिलाउन सक्थ्यो । यसो गर्न नसकिएको हो भने पारदर्शी ढंगले सुसूचित गरिनु आवश्यक हुन्छ । प्रतिक्रियावादीहरु अपराजित मुक्तिसेनाको ठूलो हिस्सालाई जनताकै बीचमा विकेन्द्रीत गरिदिन चाहन्छन् । यो काम उनीहरुका लागि प्रत्युत्पादक हुने कुरामा पटक्कै सचेत छैनन् । तर, उदेकलाग्दो कुरा के छ भने हाम्रो नेतृत्वपंक्ति नै यसबाट आन्दोलनले कति लाभ वा क्षति उठाउन सक्ला वा पर्ला भन्नेबारे या त अनभिज्ञ छन् या त मौन । समायोजनको विषय प्रतिष्ठाभन्दा कुटनीतिको विषय बन्नुपथ्र्यो, यसमा पार्टीभित्र देखिएका अन्तरविरोधहरु रहस्यमय लाग्दैछन् । समायोजन गर्ने नै हुँदा (जो भइपनि रहेको छ) केही उठिरहेका प्राविधिक सवालहरु सकेसम्म हल गरेर जान आवश्यक र उपयुक्त हुनेछ ।

शान्ति प्रक्रियाको अर्को ज्वलन्त मुद्दा भू–स्वामित्वको मुद्दा हो र यो वुर्जुवा आन्दोलनको अन्तरवस्तु नै हो । नेपालमा २०६२÷६३ को जनआन्दोलनको क्रममा देखिएको शक्ति सन्तुलन अन्तर्राष्ट्रिय अन्तरविरोधका तुलनामा फरक ढंगले देखा प¥यो । राजतन्त्रको समाप्तीपश्चात् सामन्तवाद राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा वुर्जुवा वर्गको नेतृत्वमा जीवितै रहन प्रयत्नशील छ । भूमिसम्बन्धलाई वुर्जुवा रुपान्तरणका आधारमा हल गर्दा दुइवटा विकल्प देखा पर्दछन् । एक, जोताहालाई मालिक बनाएर सामन्ती अर्थतन्त्रका अवशेषलाई अन्त गर्ने । दुई, वुर्जुवा उत्पादनका साधनको रुपमा पुनःस्र्थापित गर्ने । हाम्रो विकल्प पहिलो विकल्प बन्नुपर्दछ । तर, दोस्रो वुर्जुवा विकल्पलाई समेत छोडेर जमीनलाई बजार विनिमय श्रृंखलामा लैजाने र अनपेक्षित योजनाविहीन ढंगले खण्डीकरण र मुनाफाको साधनमा फेर्ने काम तेस्रो विकल्पको रुपमा निर्वाध र अनियन्त्रित ढंगले बढिरहेको छ । यसले ठूलो संख्यामा जोताहाहरुलाई बेदखल गर्दै बेरोजगार बनाइरहेको छ । यसलाई रोक्न र हतोत्साहित गर्न पार्टी सरकारमा रहँदासमेत कुनै प्रयत्न गरेको पाइएन, यसको विपरित तेस्रो विकल्प पार्टी सञ्चालनको स्रोत बनेका समाचारहरु प्रकाशित भैरहे । यसले पुष्टि गर्छ कि हामी जमीनको सवालमा सचेत आन्दोलनको पक्षमा काम गर्न सकिरहेका छैनौँ । र, भन्नैपर्ने हुन्छ हामी कुनै पनि ‘समूह’मा ‘सचेत संगठित जोताहाहरुको आन्दोलन’को व्यवस्थित उठानमा सरोकार देखा परिरहेको छैन । बाँकी विवादहरु यस सन्दर्भमा अर्थहीनजस्तै छन् भन्नुपर्ने हुन्छ ।

उपरोक्त परिचर्चाको आधारमा पार्टीको आन्तरिक जीवनमा पुष्टि हुने सत्यलाई यसरी व्यवस्थित गर्न सकिन्छ ।

१– पार्टी नेतृत्वमा कुनै पनि व्यक्ति एक्लै पूर्ण र प्राधिकारको स्तरमा छैन । सामुहिक नेतृत्वको अभ्यास तथा सकारात्मक वहस र छलफलद्वारा नेतृत्वलाई पूर्णता दिनु आवश्यक छ । सामुहिक नेतृत्वको अर्थ तालुकको बाँडफाँड होइन । सामुहिक निर्णय र व्यक्तिगत जवाफदेहिता हो । सबै समुहका अगुवाहरु पार्टी कार्य विभाजनका जिम्मेवारीप्रति पूर्ण जवाफदेही बन्न सक्नुपर्छ । एक अर्काको टाउकोमा फोहोर थुपार्ने तरिकाले काम चल्दैन भन्ने कुरा विगत पाँच वर्ष खासगरी पछिल्ला तीनवर्षले राम्रै पाठ सिकाइसकेका छन् । तर, तत्काल नेतृत्वको विकल्प खोज्ने, विभाजन रोज्ने वा अराजकतालाई प्रोत्साहन गर्ने कुराले नेतृत्व तहका जिम्मेवार कमरेडहरुलाई नै आत्मिक ढंगले कमजोर बनाउने छ । वस्तुसत्यसँगका ठोक्काईहरुमा पटक–पटक हाम्रा अहम्हरु चक्नाचुर हुने गर्दछन् । र हाम्रा तुष्टिहरुले मात्र देश र जनतालाई फाइदा गर्दैनन् भन्ने कुरा पनि देखिदै भोगिदै आएको कुरा हो ।

२. परिवर्तित समय सन्दर्भले थप उँचाईका साथ वैचारिक राजनैतिक बहसको माग गरिरहेको छ । यो चुनौतीलाई पार्टी नेतृत्वले टार्न सक्दैन । त्यसैले प्राविधिक ढंगले गरिने एकताका घोषणाहरुले पार्टीलाई जीवन्त बनाउन सक्दैनन् । खुला र व्यापक ढंगले समग्र बहसको श्रृङ्खलामा पार्टी प्रवेश गर्न आवश्यक छ । अराजकता ‘पार्टी जनवाद’ होइन । यसलाई व्यवस्थित गर्दै विधि र पद्धति निर्धारण गरिनु आवश्यक छ ।

३. हाम्रा समयसीमा, दबाब र पहलका चुनौतीहरुको बीचमा तात्कालिक सवालहरु हल नगरी बहसलाई लम्ब्याइराख्न पनि सम्भव छैन । अन्तरपार्टी जनवादको अभ्यासको छरितो र व्यवहारिक विधि–पद्धति प्रयोग गर्दै जान आवश्यक छ । समस्याको चाङ थुपार्ने र पार्टीलाई अपरिचालित अनिर्णयको बन्दी बनाउने काम हानिकारक हुन सक्छ । यसले विश्वासको संकटलाई बढाउँदछ र अनपेक्षित परिणामतिर लैजान सक्छ ।

४. नेतृत्व जिम्मेवार र जवाफदेही बन्दै तात्कालिक कार्यनीति र कार्यभारलाई वस्तुनिष्ठ ढंगले टुङ्गाउन आवश्यक छ । यसको अन्यौलग्रस्तता अविश्वास र निरासाको कारण बन्दै गएको छ ।

५. पार्टी एकता, वर्गीय प्रतिवद्धता, विचार सिद्धान्तप्रतिको निष्ठा, समर्पणपूर्ण तदारुकता, वस्तुनिष्ठ निकास र आम परिचालन, पार्टी जीवन तथा देश र जनताको हितका लागि आवश्यक छ ।
आशा गरौँ, हाम्रो पार्टी सक्षम र जिम्मेवार पार्टीको रुपमा निरन्तर विकसित हुँदै वर्गविहीन समाज सिर्जना गर्ने अभियानमा अग्रणी भूमिका निर्वाह गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *