तमाली सहकारी र गमाली मनहरुसँग

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 100 Views   ||

-[हिरालाल केसी]

सञ्चार युद्धकै सिलसिलामा मौसम रोका र म २०६२ साल मंसिरमा रोल्पाको गाम पुगेका थियौँ । थवाङको लेकमा रेडियो खडा गरेको कुरा पुरानो सत्ताका गुप्तचरहरुलाई थाहा भएपछि नयाँ ठाउँको खोजी गर्नु जरुरी ठानेर जलजला क्षेत्रको हिउँ कुल्चदै हामी सेरम पुग्यौँ । सेरमको गाउँमा सामुहिक मेश चलेको रहेछ । समूहमै खाने, समूहमै बस्ने समूहमै कार्यक्रम गर्ने त्यहाँका मानिसको स्वभाव देख्दा साम्यवादको अभ्यासझैँ लाग्थ्यो । गाउँलाई वर्गवैरीबाट बचाउन नाका–नाकामा गाउँलेहरु पालो मिलाएर सेन्ट्री बसेका थिए । आगन्तुकलाई केरकारपछि मात्रै गाउँ प्रवेश गर्न दिइन्थ्यो । त्यसो नगरे घुसपैठियाहरु साख्खै क्रान्तिकारी बनेर पार्टी र जनताको कत्लेआम गर्ने सम्भावना निकै हुन्थ्यो । सेरममा एक रात र एक दिनको बसाईपछि हामी गामतिर लाग्यौँ । मौसमजीले जनसेनाद्वारा कब्जा गरेको ठाउँ गामबारे जानकारी गराउनुभयो । जहाँ जनसेनाले पुरानो सत्ताको सेनामाथि आक्रमण गरी ठूलो सफलता हात पारेको थियो । लाग्थ्यो– अझै पनि त्यो डाँडो र पाखाले वर्गदुश्मनका विरुद्ध औँला ठड्याइरहेको छ । दिनभरिको यात्रापछि हामी माओवादीको स्थानीय जनवादी सत्ताले सहकारी सञ्चालन गरेको तमाली गाउँमा पुग्यौँ । त्यहाँ जनवादी शिक्षा अध्ययनको लागि स्थानीय जनसत्ताद्वारा मोडेल विद्यालय पनि सञ्चालन गरिएको रहेछ । श्रमप्रति आस्था जगाउने खालको शिक्षा त्यहाँका बालबालिकाहरुलाई दिइदोरहेछ ।

तमालीहरुले सञ्चालन गरेकाले त्यहाँको  सहकारीको नाम पनि ‘तमाली सहकारी’ राखिएको थियो । हामी त्यो गाउँमा करीब एक हप्ता बस्यौँ । त्यहाँ समूहमा बाख्रा पालिएको थियो । मानिसले समूहमै घाँसपात, गोठ कुर्नेदेखि लिएर जंगलमा बाख्रा चराउनेसम्मको काम गर्थे । माओवादी पार्टीप्रति प्रतिवद्ध मानिसहरु व्यक्तिगत सम्पत्तिभन्दा पनि सामूहिक सम्पत्तिमा बढी आकर्षित भएका थिए । तमाली सहकारीमा आवद्ध हुँदा व्यक्तिगतभन्दा राम्रो आम्दानी भएको र झनै रमाइलो हुने गरेको अनुभव गाउँलेहरुले सुनाउँथे । बाख्राहरुको हेरचाहको लागि सहकारीमा आवद्ध सबै गाउँलेहरु पालो मिलाएर खट्नुपथ्र्यो । सहकारीको विकासको लागि गाउँका सबै मानिसहरुको बराबर उत्तरदायित्व हुने गथ्र्यो । यस्तो सुन्दर संसार निर्माण गर्नका लागि लडेको माओवादीका विरुद्ध किन हत्या र आतंकका श्रृंखलाहरु रचिन्छ होला ? सोच्दा अचम्म लाग्थ्यो । तर, पनि जनताको स्वतन्त्रताविरुद्ध उभिनु पुरानो सत्ताको धर्म नै थियो । मैले मौसमलाई भनेँ– मानिसलाई व्यक्तिगत र साँघुरो घेराबाट फराकिलो र सामुहिक भावनाले ओतप्रोत बनाउनु जनयुद्धको ठूलो उपलब्धि हो ।’ मौसमले त्यसैमा जोड दिदै भन्नुभयो– ‘यो उपलब्धिलाई बचाइराख्नु पनि हाम्रो अर्को जिम्मेवारी हो हिराजी ।’

रुकुम पीपल गाविसको झिजीकाँडा लेकमा जमीनमुनि बनाइएको ‘रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र’को स्टुडियोभित्र समाचारवाचन गर्दै लेखक । स्थानीय जनताले एक महिना लगाएर जमीनमुनि स्टुडियो बनाएका थिए ।

हाम्रो यात्राको उद्देश्य एफएम रेडियो सञ्चालनका लागि अत्यन्त गोप्य ठाउँको खोजी गरी संरचनासमेत तयार पार्ने थियो । स्थानीय जिम्मेवार कमरेडहरुसँगको सहकार्यमा मात्र त्यो काम सम्भव थियो । गाम गाउँ जनसमिति प्रमुख र अन्य जिम्मेवार कमरेडहरुले रेडियोको घर बनाउनका लागि जनशक्ति उपलब्ध गराउने बताउनुभयो । एकदिन हामी ठाउँ सर्वेको लागि गामको अग्लो पहाडतिर उक्लियौँ । हिड्दा हिड्दै बाटोमा अर्को रमाइलो दृष्य देखियो । सहकारीमार्फत् नै त्यहाँ स्याउ खेती पनि थालिएको रहेछ । हामी त्यो दिन त्यही बास बस्यौँ र आलु उसिनेर खायौँ । हाम्रो साथमा एकजना स्थानीय कमरेड पत्थर हुनुहुन्थ्यो । उहाँले स्याउको बगैचा हेरचाह गर्न बसेका सबैसँग परिचय गराउनुभयो । स्याउको बगैचा हेर्दा लाग्थ्यो– हामीले आँट्यौँ भने नेपालमा केही कुराको पनि कमी छैन । त्यति ठूलो स्याउको बगैचा निर्माण गरी पाखा नै हराभरा बनाउन सक्ने हामी नेपाली आखिर स्याउको भारी बोक्न भारतको हिमाञ्चल प्रदेशतिर किन भौतारिनुपरेको छ ? मनमनै यस्तै प्रश्नहरु उब्जिने गर्थे ।  तमाली सहकारी र स्याउका बोटहरु हेर्दैमा लोभलाग्दा थिए । त्यही भएर होला अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि नेपालतिरै तानिएको ।

बिहानको खाना खाएर हाम्रो यात्रा सुरु भयो । मलगायत मौसम रोका, कमरेड पत्थर र अरु दुई जना स्थानीय साथीहरु गामको धुरीतिर उक्लियौँ । निकै अग्लो रहेछ– गामको धुरी । बाग्लुङ्ग, रुकुम र रोल्पाको सिमानादेखि करीब एक किलोमिटर दक्षिणतिरको अग्लो लेकमा रेडियो स्टेशन निर्माणका लागि पुगेका थियौँ हामी । टुप्पातिर जलेर कोइला बनेका खर्सुका रुख देख्दा अचम्म लाग्यो । यी रुख किन जलेका भनेर साथीहरुलाई सोधेँ तर कसैले पनि जवाफ दिन मान्नुभएन । जवाफ नदिनको कारणचाहिँ अर्कै रहेछ । बादलसँगैको आँधी, हुरी, वर्षात् र हिमपातको बेला चट्याङ्ग परेका कारणले ती रुखहरु जलेका रहेछन् । रेडियो बजाउँदा मनोबल घट्छ भनेर हामीलाई त्यो कुरा नसुनाइएको रहेछ । हामीले रेडियो राख्ने स्थान निश्चित ग¥यौँ । दुइवटा ठूला ठूला ढुङ्गाको बीचमा खोंच परेको र वरिपरि बडेमानका खर्सुका रुखहरुले घेरेको जमीनमा रेडियो स्टेशनको लागि झुपडी बनाउने निधो ग¥यौँ । ठाउँ करिब ३ हजार ८ सय मिटर अग्लो भएकाले पूर्वमा बाग्लुङ्गका सबैजसो डाँडाकाँडा, दक्षिणमा दाङसँग सीमा जोडिएका प्यूठान र रोल्पाका गाउँहरु हेर्न सकिन्थ्यो । रुखको टुप्पामा पुगेर साथीहरुले गुल्मीको रेसुङ्गा लेक देखियो भन्दै हुनुहुन्थ्यो ।

सो दिनको हाम्रो बास त्यही लेकमा हुने भएकोले भात पकाउने तयारी गर्नुपर्ने भयो । वरपर नजिक कतै पनि पानी थिएन । हामी पानी खोज्दै वरपरका सबैजसो खोल्सा खोल्सीमा घुम्यौं । तर पानी कतै पनि फेला परेन । अब के गर्ने होला भनेर छलफल गर्दागर्दै  एक जना साथीले एउटा सानो खोल्सीमा हिउँ भेटिएको खबर ल्याउनुभयो । हामी फुरुङ्ग हुँदै हिउँ भएको खोल्सीतिर लाग्यौँ । हिउँ जमेको रहेछ । हामीले गाउँबाट बोकेर ल्याएका कोदाली, गैँटी, सप्पल सबै प्रयोग ग¥यौँ तर पनि हिउँ टुक्रिएन । निकै कडा भएकाले हिउँ निकाल्न हामीलाई हम्मेहम्मे प¥यो । अन्त्यमा केही सीप नलागी हामीले हिउँमाथि काठका ठूल्ठूला मुढा राखेर आगो सल्कायौँ अनि हिउँ पग्लियो । गाग्रीमा हिउँमिश्रित पानी भ¥यौँ । भेडी गोठालाहरुले छाडेर गएका खरका स–साना झुपडीमा खाना पकाई खायौँ र त्यो रात त्यहीँ बितायौँ ।

रेडियो बजाउने घर बनाउनुभन्दा पहिले हामीले खानेपानीको खोजी गरी पत्ता लगाउनु थियो । बिहान सबेरै उठेर हामी पहाडको उत्तर पूर्वी भागको भिरालो पाखोतिर लाग्यौँ– पानीको खोजी गर्दै । नजिकमा पानी कतै पनि फेला परेन । निकै तलसम्म पुग्यौँ । आधा घण्टाको ओरालो हिडेपछि पानी भेटियो । उकालोमा पानीको भारीसँग एक घण्टाभन्दा बढी समय लाग्ने देखियो । तैपनि त्यति टाढाबाट पानी बोकेर खानुको अर्को विकल्प थिएन । जंगलको बीचमा पानीको जरुवा भेटिसकेपछि हामी पहाडमा उक्लेर झुपडीहरु निर्माण गर्ने तरखरमा जुट्यौँ । सचिन सरसँग कर्डलेश मोबाइलमार्फत् एफएम रेडियो सञ्चालनका लागि उपयुक्त ठाउँ भेटिएको र घरहरु बनाउने काम पनि शुरु गरेको जानकारी गरायौँ । उहाँहरुले पनि जलजलाबाट छिट्टै रेडियोका सामग्री गामतिर ओसार्ने तयारी गरेको जानकारी गराउनुभयो । माओवादीले सञ्चालन गरेको एफएम रेडियोलाई कतिपयले नबुझेर ‘डोके रेडियो’ भन्ने गर्थे तर हामी डोकोमा बोकेर रेडियो चलाउँदैनथ्यौँ । हाम्रो सामान बोक्न २५ वटा भन्दा बढी खच्चड प्रयोग हुन्थे । जेनेरेटर, लाइव्रेरी, मेषका सामान, खाद्यान्न, रेडियोका सामान सबै मिलाएर भारी भर्कम नै हुन्थ्यो । एउटा ठाउँमा हामी कम्तीमा ४ महिनासम्म बस्न सक्थ्यौँ ।

गाम बसाईको १० दिनपछि हामी रेडियो स्टेशन निर्माण गर्नतिर लाग्यौँ । करीब २० जनाजति गमालीहरु रेडियो सञ्चालन गर्ने टहराहरु निर्माणमा जुटे । हामी सबैले कामको बाँडफाँड गरेर जुट्यौँ । कोही साथीहरुको काठ काटेर ओसार्ने जिम्मा प¥यो । कोहीले टाढाबाट निगालो काटेर ल्याउनुपर्ने भयो । हामीले झुपडीहरुका लागि जमीन समतल पार्ने काम गर्न थाल्यौँ । करिब एक दर्जन झुप्राहरुको लागि जमीन तयार पार्नु थियो । हिउँले जमेको माटो । कोदालो चलाउँदा चलाउँदा जाडोले हातहरु निदाउने गर्थे । केही दिनको जमीन खन्ने काम सकेपछि हामी काठ ओसार्ने काममा लाग्यौँ । मेरो काम प्रायजसो मेषको लागि टाढाबाट ३५ लिटरको घ्याम्पोमा पानी बोकेर ल्याउनुपथ्र्यो । बिहानै पानी ल्याउन भनी खोलातिर गएको १० बजेमात्रै डाँडोमा उक्लिन्थ्यौँ हामी । पानी बोक्दा मेरो साथमा गमाली भाइबहिनीहरु हुन्थे । उनीहरुसँग क्रान्ति र बलिदानका कुरा गर्दै पानीको भारीसँग उकालो काटिन्थ्यो । उनीहरुले आफ्नो गाउँमा २०५५ सालतिर सरकारको पक्षमा लागेका बदमासहरु र सुराकीहरुले गाउँमा प्रहरी बोलाएर निकै सताएको पीडा सुनाउँदै थिए । संघर्षबाट मिठो फल पाइदो रहेछ । निकै ठूलो त्याग बलिदानपछि गाउँमा अहिले गरीब निमुखाहरुको सत्ता चलेको छ । गाउँमा रहेको सरकार पक्षको सेनामाथि जनसेनाले विजय प्राप्त गरी भगाएको छ भनेर उनीहरुले खुसी व्यक्त गर्थे । एवम् प्रकारले तीन हप्ता बिते । घरहरु पनि करीब–करीब तयार भए । सबैभन्दा बढी मेहनत रेडियो सञ्चालन गर्ने घर निर्माण गर्दा लागेको थियो । किनकि अरु घरभन्दा त्यो घर व्यवस्थित बनाउने हाम्रो सल्लाह भएको थियो । गामका मेहनतकस सिकर्मीहरुले काठका फल्याकै फल्याकको चिटिक्क परेको घर तयार पार्नुभयो । विचार ठिक भयो भने सबै कुरा सम्भव हुँदोरहेछ । मालेमावादले लैस सिकर्मी दाईहरुले छोटो समयमै त्यति राम्रो घर निर्माण गर्न सफल हुनुभएको थियो ।

जलजलाबाट सामान पनि आइपुग्यो । हामी सबै मिलेर तमाली गाउँबाट रेडियोका सबै सामान ओसा¥यौँ । गाउँलेहरुले एकदम उत्साहका साथ सामान ओसार्ने काम गरे । उनीहरु आफ्नै गाउँमा रेडियो स्थापना हुन लागेको देखेर निकै उत्साहित थिए । सामान ओसारिसकेपछि नयाँ बनेको घरमा एन्टेना, ट्रान्समिटर, मिक्सचर सबै मिलाउने काम भयो । एन्टेना राख्ने रुख निकै अग्लो थियो । टुप्पासम्म पुग्न अप्ठ्यारो भएकोले खर्सुको रुखको केही भागसम्म उक्लिने सिढी तयार पारिएको थियो । सचिन सरले रुखको टुप्पामा पुगेर एन्टेना जोड्नुभयो । अनि मात्र त्यो ठाउँमा रेडियो सञ्चालन भएको थियो । त्यो ठाउँमा रेडियो सञ्चालन गरेको समयमा माओवादी र सात दलबीच  १२ बुँदे सम्झौता भएको थियो । दोस्रो जनआन्दोलनको तयारी हुँदै थियो । हामी त्यो ठाउँबाट १२ बुँदे सहमतिको मर्म र स्प्रीटलाई खर्सुको टुप्पामा झुन्ड्याइएको एन्टेनाबाट प्रसारण गरिरहेका थियौँ । हामीले त्यो लेकमा बसेर करिब एक महिनासम्म मात्र रेडियो सञ्चालन ग¥यौँ । त्यतिधेरै मेहनत गरेर तयार पारेका मेष घर, रेडियो स्टेशन, आबास घर, लामो समयसम्म प्रयोगमा आउन सकेनन् । हिउँदको समयमा तीव्र हिमपातसँगै चट्याङ परेपछि रेडियोका धेरैजसो पार्टपूर्जा बिग्रिए । रेडियो बिग्रेपछि हामीले त्यो ठाउँ छोड्नुपर्ने भयो । ठाउँ छाडेर हामी अर्को ठाउँमा जाने बेला हामीसँगै सहकार्य गरेका आदरणीय गमाली दाजुभाई र बाआमाहरु खिन्न भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *