प्रसङ्ग ढुङ्गेलको, अभियान द्वन्द्वको

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 152 Views   ||

-[नरेन्द्रजङ्ग पिटर]

ओखलढुङ्गाबाट निर्वाचित सांसद बालकृष्ण ढुङ्गेलको ज्यानसम्बन्धी मुद्दाले अहिले राष्ट्रिय बहसको रुप मात्र लिएको छैन द्वन्द्व र शान्तिबारे गम्भीर चासो र चिन्ता राख्नेहरुको ध्यानसमेत खिचेको छ । यो भनेको एउटा कानुनी मुद्दामात्रै नभई जनयुद्ध, विगतमा भएका सत्ता र विद्रोहीबीचका दुई दुईपटकका वार्ता, १२ बुँदे सहमति, त्यसपछाडिका राजनीतिक प्रयासहरुलाई श्रृंखलामा हेरिनुपर्ने विषय हो । अहिले प्रसङ्ग बालकृष्णको देखिए तापनि जुन तरिकाले कोल्ड कन्फिल्क्ट बढेको छ त्यसले फेरि द्वन्द्व, युद्ध र शान्तिबारे गम्भीर बहस छेडिदिएको छ । कित्ताबन्दी क्रमशः बढाउँदै लगेको छ । सोच विभाजित हुँदा यो विशुद्ध कानुनी मामिला हो कि राजनीतिक विषय भन्ने सामान्यजनलाई जिज्ञासा बढेको छ । हितअनुसारको जनमतलाई आवेगमा ल्याउने प्रपञ्चका तानावाना पनि त्यत्तिकै बुनिँदैछन । दुई दृष्टिकोण, दुई मूल्य–मान्यता र दुई राजनीतिक अभियान बनेका छन । ती दुई सोंच र भूमिकाबीचको टकराहटकै रुपमा अहिले ढुङ्गेल प्रसङ्ग देखिएको हो । द्वन्द्वलाई शान्तिमा फेर्ने कि सरोकारवालालाई उत्तेजनामा फसाएर अर्काे द्वन्द्व निम्त्याउने ? अहिले बहसको मुख्य विषय यही हो । विगतमा द्वन्द्वको उद्योग चलाएकाहरु र आग्रहले पोसिएको एउटा तप्का जनयुद्धका घाउ कोतर्दै सइन पार्ने काममा प्रयत्नशील छ भने अहिलेको बहस उत्तेजना कसरी बढाउन सकिन्छ र प्रतिरोधलाई भावनामा कसरी बगाउन सकिन्छ भन्ने खेलहरु पनि सिन्डिकेटमा त्यत्तिकै चलिरहेका छन ।

संसारकै इतिहास हेर्ने हो भने जहिले पनि महान उथलपुथलको क्रममा शक्तिको हेरफेर भएपछि नयाँ शक्ति र सोचको उदयमात्र हुँदैन परम्परागत शासकहरु गद्दीबाट मुन्ट्याइन्छन् पनि । त्यसको असर राजनीतिमा मात्रै पर्दैन सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा समेत पर्दछ । सत्ताको छिनाझप्टी र तीव्र टकराहटका बेला परिवर्तनलाई करले भएपनि हैकमशाली वर्ग स्वीकार्न बाध्य हुन्छ । तर, गुमेको सत्ता हत्याउने दाउ भने खोजिरहेको हुन्छ । समय घर्केपछि इतिहास व्यवस्थापनाका खेल सुरु हुन्छन् । विगतमा भएका द्वन्द्व, झडपलाई कारण र त्यसले ल्याएको परिणामलाई हैकमशाली वर्गले सकभर विषयान्तर गर्ने नसके न्यूनीकरण र बीभत्सीकरण गर्न थाल्दछ । त्यसको लागि इतिहासको कुशल व्यवस्थापन गर्न अनिवार्य हुन्छ भने जनमतलाई आवेगको मनोदशामा ढाल्नुपर्ने पनि हुन्छ ।

नेपाली समाजमा लामो समयदेखि केन्द्रीकृत राज्यसत्ताको शासकीय स्वरुपले पैदा गरेका द्वन्द्व चर्किए । भिन्नाभिन्नै कालखण्डमा अनेकौँ प्रकारका द्वन्द्व भए । ती कहिले मन्द र कहिले प्रत्यक्ष टकराहटमा देखिन्थे । राष्ट्रिय आकार भने लिएका थिएनन् । राष्ट्रिय चासो र समस्या बनेपनि अन्तर्राष्ट्रिय सरोकारको विषय बनेका थिएनन् । तर, २०५२ साल फागुन १ गतेदेखि २०६३ साल वैशाख १२ गतेसम्म सत्ता र विद्रोही पक्षबीच प्रत्यक्ष भिडन्त भयो । माओवादीको नेतृत्वको जनयुद्धको रुप, चरित्र, योजना, लक्ष्य र सन्देश परम्परागत द्वन्द्वको जस्तो थिएन । पुरानो केन्द्रीकृत राजकीय सत्ताको हाकाहाकी चुनौती थियो । समग्र क्रान्तिको उद्घोष थियो । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक असमानता र अन्यायको विपक्षमा उभ्याएको थियो । एक त यो द्वन्द्व जातीय, क्षेत्रीय, धार्मिक, र सांस्कृतिक टकराहट नभई राजनीतिक विचारले निर्देशित थियो भने अर्कातर्फ सङ्गठित नेतृत्वद्वारा सञ्चालित । भिन्न सरकार, भिन्न सेना, भिन्न अदालत थिए । ०६२ को अन्ततिर पुग्दा १२ बुँदे भद्र सहमति भयो । मुलुक गणतन्त्र भयो । अभ्यासको परिणाम संघात्मक लोकतान्त्रिक धर्मनिरपेक्ष गणतान्त्रिक नेपालको रुप र सारमै फेर्ने प्रतिबद्धता भए । संविधानसभामार्फत् त्यसलाई विधिमा ढाल्ने प्रतिबद्धता भए । यो माओवादी र सत्ताधारीहरु (संसदवादी) कसैले कसैलाई पूर्णरुपमा जितेको नभई वास्तविकतालाई स्वीकारेर अगाडि बढ्ने सहमति र प्रतिबद्धता थिए । अहिले आएर तत्कालीन अवस्थालाई भुल्ने वा भुलाउने प्रयत्न गर्नु भनेको इतिहासको कुशल तरिकाले नकारात्मक व्यवस्थापन गर्दै अर्काे द्वन्द्वलाई निम्त्याउनु मात्र हो ।

संसारमै भएका सबै प्रकारका विद्रोहले विधि भत्काउँदै विधिमा टेकेर विधि निर्माण गरेरै समाजलाई अगाडि बढाइरहेको हुन्छ भने इतिहासले क्रमभङ्गता गर्दै अगाडि बढिरहेको पनि हुन्छ । क्रान्तिकारी र अराजकतावादीहरु बीचको भिन्नता पनि यही हो । जब सामाजिक अन्तरविरोध र द्वन्द्वलाई सत्ताका अनेकौं ज्यावलले समाधान गर्न सक्दैनन् तब द्वन्द्व प्रत्यक्ष टकराहटमा देखा पर्छ । सत्ताका काला कोटधारी जर्नेलहरुको हुकुमलाई हाकाहाकी अस्वीकार गरेका द्वन्द्वहरु नै आखिर विद्रोहमा फेरिन्छन् । विधि जर्नेलहरुको भूमिका रित्तिएपछि राजनीति नीति, नेतृत्व र निर्णयले समस्याको निकास दिन्छ । निकाल्न आवश्यक पर्छ । संसारमै जटिल र युगान्तकारी समस्याको निकास राजनीतिक निर्णयले नै दिने गरेका छन् । सनातनी राज्यसत्ताका विधि जर्नेलहरु पुरातन सोचमा दीक्षित हुन्छन । द्वन्द्वका कारण र राजनीतिक निर्णयले पैदा भएको अवस्था बुभ्mन सक्दैनन् । त्यसको असर द्वन्द्वकालीन घटनाहरुलाई कालो कोटजस्तै हरियो चश्मा लगाएर हेर्न थाल्छन् । हरियो चश्मा लगाएर हेरिएको लालीगुराँस पनि कालो देखिन्छ । संसारको जुनसुकै देश र समयमा पनि विधि जर्नेलको विवेकको अन्त भएपछि राजनीतिक निर्णयको आवश्यकता हुन्छ अथवा मुलुकले अर्काे द्वन्द्व झेल्नुपर्ने हुन्छ ।

समाजमा विभिन्न प्रकारका द्वन्द्व सधैँे रहिरहन्छन, भइरहन्छन । त्यसले उग्र रुप लिएपछि र सबै द्वन्द्व एकै ठाउँमा मिसिएर त्यो सोचलाई नेतृत्व पाएपछि विद्रोहमा फेरिन्छ । त्यस्तै नेपाली समाजमा द्वन्द्वले प्रत्यक्ष टक्कर लिएपछि १० वर्ष २ दुई महिना १२ दिन विद्रोहकालीन समय बन्यो । त्यसपछि जनयुद्ध मनोयुद्धमा फेरियो भने द्वन्द्व कोल्ड कन्फिल्क्टमा । द्वन्द्वकालमा समाजको एउटा तप्काको युद्ध व्यवसाय खुब चम्केको थियो भने यसैलाई बहाना बनाएर पश्चिमा मुलुकमा भिसा पाउने पनि एउटा वर्गै रुपमा देखाप¥यो । द्वन्द्व व्यवसायीहरु अनेकौं लोकप्रिय आवरणमा देखा पर्दै गए । सहमतिको राजनीतिक अभ्यास बढेपछि भने द्वन्द्व व्यवसायीहरुको रोजीरोटी र लोकप्रिय शीर्षमा पहिरो गयो । अनेकौं नयाँ उपाय खोजिन थालिए । द्वन्द्वकालका घटनाहरुलाई आवेगमा ल्याएपछि एकातर्फ आदर्श फलाक्न पनि सकिने र व्यवसाय पनि चम्कने भयो । त्यसैले द्वन्द्व व्यवसायीहरु आफ्ना पहुँचका राजनीतिक नेतृत्वमा लबिङ गर्ने, मिडिया उपयोग गर्ने र तत्कालीन प्रभावमा परेका वा आक्रान्तहरुलाई उकास्ने काममा लागे । यसको लागि आग्रह, पीडा, भावना र व्यवसायको घोलघाल गराएर सिन्डिकेट तयार भयो । बालकृष्णको टाउकोमा डलर खेतीका कारखाना फस्टाए भने सामान्यजनलाई विगतलाई बिर्साउने र भावनामा उराल्ने र अभ्यास गर्ने ठेकेदार केही द्वन्द्व उद्यमी एनजिओहरुले गर्नथाले ।

हरेक वर्गका र सोचका आ–आफ्नै वर्ग बुद्धिजिवी हुन्छन् । उनीहरुको जीवन र जगतप्रति भिन्ना भिन्नै मान्यता हुन्छ । आप्mना वर्गको मनोदशा तयार गरेर सोचको शक्ति दिने गर्दछन् । द्वन्द्व, शान्ति र सामाजिक रुपान्तरणका आ–आफ्नै मान्यता पनि छन् । नेपाली समाजमा पनि आमूल परिवर्तन काउसो मान्ने एउटा वर्ग छ । उनीहरुको सोचलाई औचित्य र तर्क दिने तर्कबाजहरु पनि त्यत्तिकै छन् । उनीहरुलाई १२ बुँदे सहमतिले निम्त्याएको राजनीति अमान्य छ । त्यसलाई भाँड्न मूल विषय विषयान्तर गरेर शान्ति र संविधान ओझेलमा पार्नु परेको छ । त्यसको लागि माओवादी विरुद्ध जनमानस तयार गर्नु र आवेगमा बगाउनु उनीहरुको पहिलो प्राथमिकतामा पर्दछ । परिस्थिति फेरिन्छन्, सन्दर्भ बदलिन्छन्, तथ्यले नयाँ उद्घोष गर्दछ तर उनीहरुको सिमेन्टेड आग्रहले फेरिएको अवस्था बुझ्न बा फेरिन दिँदैन सक्दैनन् । ढुङ्गेल प्रसङ्गमा पनि अंशलाई समग्रताबाट कटाएर आवेगलाई तर्क दिने आग्रही बुद्धिजीवीहरुको भूमिका त्यस्तै रहेको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न नदिनका लागि जनयुद्धका समयमा घटेका घटनालाई व्यक्तिगत रिसइबीको संज्ञा दिएर सहमतीय राजनीतिलाई निषेधको राजनीतिमा फेर्ने यसैको एउटा कडी हो ।

द्वन्द्वलाई शान्तिमा फेर्न सहमतीय राजनीतिको अभ्यास भएको हो । द्वन्द्वलाई राजनीतिक रुपले नलिँदा विगतमा देशले असह्य पीडा उठाउनुप¥यो भने त्यो व्यक्ति, परिवार र राज्यकै पीडा बन्यो । अब त्यसलाई ओखतीमूलो गर्ने कि बदलाबाट उकासिएर घाउ कोतर्दै खाटा पर्दै गएको घाउलाई सइन पार्न क्यान्सर बनाउने भन्ने विषय मुख्य विषय हो । द्वन्द्व रोज्ने कि, शान्तिको अभ्यास गर्ने भन्ने हो । सहमतीय अभ्यास स्वीकार भनेकै विन–विन सिद्धान्तको आधारमा भएको हो । द्वन्द्वकालीन समयका घटनालाई अहिलेको अवस्थामा नभई तत्कालीन समयको उपजको रुपमा हेरिएन भने देश एउटा अन्तहीन द्वन्द्वमा फस्नेछ । ०६३ वैशाख १३ पहिलेका सबै माओवादी र त्यसअवधिमा शासनमा रहेकाहरु कुनै न कुनै प्रकारको दोषका हिस्सेदार हुनेछन् । सबैका आ–आफ्ना तर्क त हुनेछन् नै । माओवादीको नयाँ भूमिकालाई अनुमोदन गर्ने मतदाता, माओवादी नेतृत्वलाई स्वीकार गर्ने पक्ष र अनुमोदन गर्न अन्तर्राष्ट्रिय समूह, पुराना सत्ताका अवयवहरु पनि दोषी कहलिनेछन् । राष्ट्र र युगकै पीडाका साथमा निजी पीडा त हुने नै भए । अहिले ढुङ्गेल प्रसङ्ग मात्र एउटा व्यक्तिसँग जोडिएको र विधि र न्यायालयको घेरामा नभई समग्र द्वन्द्व र शान्तिको अभ्यासमा बुझिएन भने सहमतीय राजनीतिको मर्ममा पुग्न सकिने छैन । द्वन्द्व व्यवसायीको उद्योग त फस्टाउला, आग्रहीहरुको बदलाभावले तुष्टि पनि देला तर देश अर्का भयङ्कर द्वन्द्वको भुमरीमा फस्नेछ, यतिबेला द्वन्द्वबाट पशुपतिनाथले समेत बचाउन सक्ने छैनन् । सरोकारवालालाई समयमै बोध भया ।

One Comment

  • bastav ma nai Narendra Dai ko bichar sahi ra satya ho yesma dui mat 6aina.pm ra party ka leader le sambandit pa6ya lai vetera samjhaune ra dandakal ma vayeko ghatana vayeko le kehi sahanu bhuti dekharera yo samasya ko hal garna sakin6a ki? teta tira party leader lai yehi tarika bata smasya hal garda ra pidit paribar prati samanya sahanubhuti dilauda ke hola.?

Leave a Reply

Your email address will not be published. Required fields are marked *