हाम्रो यात्रा चौधौँ वर्षमा

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 123 Views   ||

आजदेखि यस साप्ताहिकले चौधौँ बर्षमा प्रवेश गरेको छ । २०५५ सालमा वर्गीय पक्षधरता अंगालेर मिसन पत्रकारिताको यात्रा थालेको यो साप्ताहिकले जटिलता र जोखिमताका गहिरा गल्छीहरु पार गर्दै यहाँसम्म आइपुगेको छ ।

कुनै बेला नौलो जनउभारले गरेको मिसन पत्रकारिता कसैका लागि घृणा र राज्यका लागि आतंककारी दस्तावेज बन्ने गथ्र्यो । तर, आज त्यही मिसनले राष्ट्रलाई अग्रगति दिने एजेण्डा बनेका कुराहरु लेख्न पाउँदा गर्वले छाती फुल्ने गर्छ । जनपक्षीय पत्रकारितामार्फत् उपेक्षित गाउँबस्तीहरुमा सूचनाको सत्यता र परिवर्तनका लागि विचारको सम्प्रेषण गर्दै जनचेतना जगाउँदै जनयुद्धलाई माथि उठाएर देशमा गणतन्त्र ल्याउन यस साप्ताहिकले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण हामी पाठक वर्गहरुलाई गराउन चाहन्छौँ । बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षासहित जनताको पूर्ण मुक्तिसँग जोडिएको हाम्रो यात्रा निरन्तर जारी रहने प्रतिबद्धता पनि यसबखत हामी व्यक्त गर्दछौँ । सत्य र निष्ठाको आधारमा सामाजिक रुपान्तर र चेतना अभिवृद्धिसहित हामीले इमान्दार पत्रकारितालाई पछ्याइरहनेछौँ । विभिन्न समस्या र कठिनाईले गर्दा पाठकको माग र चाहनालाई हामीले पूरा गर्न सकिरहेका छैनौँ । पाठकहरुको सुझाव र माया निरन्तर भइराख्यो भने अवश्य पनि एकदिन यस साप्ताहिकलाई दैनिकमा रुपान्तरण गर्दै नयाँ उँचाईका साथ अघि हामी सक्षम हुनेछौँ ।

मुलुकले यतिबेला निकै जटिल र ऐतिहासिक मोडबाट उभिएर अगाडिको दिशा खोजीरहेको छ । जनताले फेरि कहिल्यै युद्ध र आन्दोलन गर्नु नगर्ने गरी स्थायी शान्ति र पूर्णअधिकारको सुनिश्चितता चाहेका छन् । युगौँ लामो समयसम्म सामन्ती जर्जरताबाट मुक्त भएका जनता सबै किसिमका असमानताबाट मुक्त भएर अधिकारसम्पन्न समुन्नत जीवन बिताउन चाहन्छन् । ती सीमान्तकृत जनताको जीवनस्तर उकास्ने गरी दलहरु जनताको संविधान लेख्न उद्धत देखिएका छैनन् । समाजका विभेद, असमानता, गरिबी, बेरोजगारीलगायतका यावत समस्याको गहिरो समाधान नखोजी माओवादी सेनालाई बिर्सजन गरेर मात्र शान्ति प्राप्त हुन्छ भन्ने रटानले देशलाई नयाँ समृद्ध नेपालतिर डो¥याउन सकिदैन । संक्रमणकालीन यो अवस्थामा हरेक क्षेत्रमा विकृतले गाँजो हालेको छ । सकारात्मक बाटोबाट अग्रगामी परिवर्तनको  नेतृत्व गर्ने राजनीतिक दलका नेताहरु नै आफू स्वार्थको राजनीतिमा अग्रसर हुन थालेपछि समाजका अन्य पक्षहरुमा नकारात्मक प्रभाव पर्ने मात्र होइन जनतामा निरासा बढ्नु स्वभाविक हुन्छ । अहिले दलैपिच्छे र पार्टीपिच्छे द्वन्द्व र मतभिन्नताहरु बढिरहेको बेला पत्रकारिताको माध्यामबाट खेल्नुपर्ने जिम्मेवार, सकारात्मक र सन्तुलित भूमिकाको खाँचो बढेको छ । नकारात्मकलाई सकारात्मकतातिर डो¥याउन एउटा सञ्चारकर्मीले सही, सत्य र आवश्यकीय उत्तरदायित्व निभाउन सकेन भने त्यो समाजको सचेत र सही नागरिक पनि बन्न सक्दैन । जनताको चाहनाअनुसार शान्ति र संविधानले सार्थकता पाउनुपर्छ र देशले अग्रगतिको राजनीतिक दिशा पकड्नुपर्छ भन्ने हाम्रो चाहना र प्रतिबद्धता हो । र, हामी त्यसैमा जीवन समर्पित भएर लागिपरेका छौँ । हामी अग्रगामी चेतनाको राजनीतिक र आमूल परिवर्तनका पक्षपाती पत्रकारिताको क्षेत्रमा उभिराख्नेछौँ ।

अन्त्यमा हामीलाई यहाँसम्म आइपुग्नमा निरन्तर सहयात्री बनेर सहयोग पु¥याउनु हुने पूर्वसम्पादक मण्डल, लेखक, विज्ञापनदाता, शुभेच्छुक एवम् पाठक वर्ग सबै–सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । विभिन्न क्षेत्रमा रहेर काम गरिहेका हाम्रा समाचारदाता, वितरक, प्रेसका साथीहरु र सहयोगी मित्रहरुप्रति आभार र धन्यवाद ज्ञापन गर्दछौँ । हामी यतिबेला देशका लागि प्राणको आहुति दिएर लडेका तमाम ती शहीदहरुलाई सम्झन चाहन्छौँ । हामीलाई अगाडि बढ्न प्रेरणा प्रदान गर्ने आदरणीय नेता, जनमुक्ति सेनाका योद्धाहरुलगायत सम्पूर्ण न्यायप्रेमी शुभेच्छुक जनसमुदायमा हार्दिक अभिवादन टक्र्याउन चाहन्छौँ । र, यहाँहरु सबैको सल्लाह, सुझाव, आलोचना र हौसलाको निरन्तर अपेक्षा राख्दै यहाँहरुलाई सत्य तथ्य समाचार र विचार पस्किने वाँचा गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *