दाङमा ६२ हजार बढी घरपरिवार भूमिहीन

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 126 Views   ||

प्रकाश चौधरी/दाङ

जिल्लाका ३९ गाविस र दुई नगरपालिकामध्ये २४ गाविसमा मात्रै २७ हजार घरपरिवार भूमिहीन रहेका छन् । आफ्नो नाममा एक धुर जमीनसमेत नभएका भूमिहीन सुकुम्बासीहरु ऐलानी प्रति जग्गामा बसोबास गर्दै आइरहेका छन् । यस्ता भूमिहीन सुकुम्बासीहरु जिल्लामा ६२ हजार बढी घरपरिवार रहेको जिल्ला भूमिअधिकार मञ्च दाङले जनाएको छ ।

दाङका २४ गाविस र दुई नगरपालिकामा काम गरिरहेको भूमिअधिकार मञ्चले जिल्लाभरिको एकिन तथ्याङ्क लिन नसकेपनि  ६२ हजार बढी घरपरिवार भूमिहीनहरु रहेको अनुमान गरेको छ ।  आफ्नो सीमाभित्र रहेर मञ्चले २४ गाविसका १२ हजार घरपरिवार भूमिहीनहरुको तथ्याङ्कसमेत संकलन गरिसकेको छ ।जिल्लाभरिका भूमिहीनहरुको सही तथ्याङ्क पत्ता लगाउनका लागि आफूमातहतका १ सय ८३ वटा संगठनहरु परिचालित भैरहेको राष्ट्रिय भूमिअधिकार मञ्चका सदस्य तथा कार्यालय सचिव बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।

एक वर्षका लागि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगसँग समन्वय गरेर काम गर्दा जिल्लाका  ५३ घरपरिवारको ऐलानी जग्गालाई लालपूर्जा दिइएको चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँकी अस्थायी लालपूर्जा भएका र थप भूमिहीनहरुलाई स्थायी गराउने काम सुकुम्बासी समस्या समाधान आयोग विघटन भएपछि काम गर्न गाह्रो भएको छ । भूमिहीनहरु बसोबास गरिरहेको ऐलानी जग्गाको उचित छानविन गरी भूमिहीनलाई जग्गा दिलाउनका लागि गठन भएको सुकुम्वासी समस्या समाधान आयोग समस्या समाधान नहुँदासम्म विघटन नगर्ने र उक्त आयोग शक्तिशाली बनाइएमा भूमिहीनहरुको समस्या समाधान गर्न सकिने चौधरीको भनाई छ । आयोगले दाङमा पहिलो चरणको काम सफल गरेपनि दोस्रो चरणको काम भने शुरुवात नगर्दै विघटन भएपछि थुप्रै आशा गरेका भूमिहीनहरु निरास भएका छन् ।

त्यसो त स्थायी लालपूर्जाको लागि अस्थायी लालपूर्जावालाहरुले निवेदन दर्ता नगरेका पनि होइनन् । तर, दर्ता भएका थुप्रै निवेदनहरु जस्ताको तस्तै छन् । गत वर्ष घोराही नगरपालिकाले नगरभरिका भूमिहीन सुकुम्वासीहरुको व्यवस्थित बसोबास र तथ्याङ्कको लागि निवेदन लिएको थियो । सो अवधिमा १६ सय घरपरिवारको निवदेन परेको थियो । अहिले ती निवेदनहरु कागजमा मात्रै सीमित भएका छन् ।

भूमिहीनलाई आधारपत्र

भूमिहीन सुकुम्बासीको लागि भूमिअधिकार मञ्च दाङले गाविसबाट आधारपत्र दिलाउनको लागि अभियान चलाउने भएको छ । भूमिहीन सुकुम्बासीलाई बसोबास तथा जोतभोगका लागि आधारपत्र दिन प्रत्येक गाविसमा अभियान चलाउने मञ्चले जानकारी दिएको छ । भूमिहीनलाई आधारपत्र दिनको लागि गाविसलाई परिपत्र गरेपनि केही गाविसले आधारपत्र दिइसकेको छ भने केही दिने अभियानमा छन् । कुनै–कुनै गाविसले भने अझै शुरुवात नगरेको मञ्चले जानकारी दिएको छ । अहिलेसम्म हेकुली गाविसले १ हजार ९२ निवेदन परेकामा उचित छानविन गरी असोज महिनासम्म ४ सय ७९ घरपरिवारलाई बसोबास तथा जोतभोग आधारपत्र दिइसकेको मञ्चका जिल्ला सदस्य जुगमानी चौधरीले जानकारी दिनुभयो ।  ऐलानीप्रति जग्गामा बसोबास गर्दै आएकाहरुसँग गाविसले ५ कट्ठाभन्दा माथि जग्गा भएकालाई प्रतिकट्ठा ५ रुपैयाँ र कम भएकाहरुसँग प्रतिकट्ठा १ रुपैयाँ कर लिने गरेको चौधरीले बताउनु भयो । अहिले  १४ गाविसहरु आधारपत्र दिने अभियानमा रहेको मञ्चका कार्यालय सचिव बालकृष्ण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिरको दोस्रो सातादेखि छुटेका गाविसमा  आधारपत्र दिलाउने, अस्थायी लालपूर्जा पाएकाहरुको लागि स्थायी लालपूर्जा दिलाउन, भूमिहीनको निवेदन नलिएका गाविसलाई लिन लगाउने र मोहीको विषयमा पनि अभियान चलाउने कार्यक्रम रहेको छ ।

सिङ्गो गाउँ तरकारी खेतीमा

मेगराज खड्का/रुकुम

जिल्ला सदरमुकाम नजिकैको छिवाङ– २ काउलेचौरका किसानहरु खेतबारीमा अन्नबाली लगाउन छाडेर तरकारी खेती गर्न थालेका छन् । तरकारी खेतीबाट उनीहरुले राम्रो आम्दानी गर्दै जान थालेपछि परम्परागत धान, गहँु, मकै र कोदो लगायतका खेती छाडेर बेमौसमी तरकारीतिर आर्कषित भएका हुन् । पहिले खेतीबाट खानसमेत नपुगेर परिवार पाल्न कालापार (भारत) जाने गरेपनि अहिले गाउँका सबै दाजुभाई आफ्नो खेतबारीमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेको स्थानीय कृषक टेकबहादुर खड्काले बताउनुभयो । तरकारी खेतीबाट अहिले वार्षिक २ लाख बढी बचत गर्ने र त्यही पैसाले शहरी इलाकामा घरघडेरी तथा छोराछोरीको लालनपालन र शिक्षादिक्षामा खर्च गर्ने गरेको खड्काको भनाई छ ।

२ नम्बर वडाका ६५ घरपरिवार परम्परागत खेतीभन्दा बढी व्यवसायिक बेमौसमी तरकारी खेतीमा संलग्न रहेका छन् । तरकारी खेतीबाट बार्षिक २ लाख बढी कमाउने गरेको स्थानीय अगुवा कृषक गोपाल केसीले बताउनुभयो । गाउँमा तरकारी खेती गर्न लागेको एकदशक बढी भइसकेको समेत उहाँले जानकारी दिनुभयो । सदरमुकाम मुसिकोटबाट तरकारी लगाएको ठाउँ नजिकै पर्ने भएकाले पनि बारीमा लगाएको तरकारी बिक्रीमा समेत काउलेचौरबासीलाई सहज बनेको छ । काउलेचौर गाउँ तरकारीका लागि उपयुक्त वातावरण भएकाले सबै प्रकारका तरकारी खेती गर्ने गरिएको केसीले बताउनुभयो । छिवाङमा काउली, टमाटर, सिमी, खुर्सानी, बन्दा, करेला, आलु, मुला, भन्टालगायतका तरकारी वर्र्षभरि खेती हुने गर्छ ।

एक दशकदेखि व्यावसायिक तरकारी खेतीमा लागेका यसक्षेत्रका किसानहरुले जिल्लामै तरकारी उत्पादनको लागी नमूना गाउँ बनाएका छन् । यहाँको तरकारी उत्पादनबाट प्रभावित भएर जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्दै आइरहेको छ । बेमौसमी तरकारी खेतीबाट सम्पूर्ण गाउँको मुहार फेरिएको किसानहरु बताउँछन् ।

समाजसेवा र आयआर्जनमा एकल महिला

दाङ/समाजका विभिन्न स्थान र क्षेत्रमा रहेका एकल महिलाहरुले सामाजिक सेवा र आयआर्जनको बाटो पकडेका छन् । समाजमा आपूmलाई कहिल्यै पनि एक्लो महशुस गर्न नपरोस् भनेर एकल महिलाहरुले सामूहिक रुपमा समाज सेवाका साथै जीवन निर्वाहका लागि आयआर्जनको बाटो पकडेका हुन् ।

२०५१ सालमा स्थापना भएको मानवअधिकारका लागि महिला एकल महिला समूह दाङले एकल महिलाहरुलाई विभिन्न आयआर्जन सम्बन्धी सीपमुलक तालिमहरु दिएपछि उनीहरु समूहमा आबद्ध भएर विभिन्न आयमुलक काममा लागेका छन् । राष्ट्रियस्तरको विधान संशोधन गरी अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाइसकेको उक्त समूहमा ६ सय १ जना एकल महिलाहरु संगठित भइसकेका छन् भने समूहमा आबद्ध नभएका एकल महिलाहरुको संख्या जिल्लामा १ हजार छ सय रहेको छ । एकल महिला समूहले एकल महिलाका हक अधिकारका बारेमा शिक्षा दिने काम गरिरहेको समूहकी कोषाध्यक्ष रेश्मा आचार्यले बताउनुभयो ।

रेश्मा आचार्यका अनुसार एकल महिला समूहमा आबद्ध भएर विभिन्न गाविसमा काम गरिरहेका महिलाहरुलाई तालिम दिइएको छ । तालिमप्राप्त धेरैजसो महिलाहरु समाजसेवा र आयआर्जनको काममा लागिसकेको आचार्यले बताउनुभयो । तालिमप्राप्त गरिसकेपछि केहीले व्यक्तिगतरुपमा व्यवसाय चलाएर बसेका छन् भने केही एकल महिलाले सामुहिकरुपमा काम गरिरहेका छन् । समूहले जिल्लाका विभिन्न स्थानहरुमा सिलाई, बुनाई, व्युटीपार्लर, धुपबत्ती तथा मैनबत्ती उत्पादन तालिमका साथै घरेलु हिंसाबाट मुक्ति दिलाउने जनचेतनामुलक तालिमहरु समेत दिएको छ । जिल्लाका १५ जना एकल महिलाहरुलाई कानुनी तालिमसमेत दिइएको समूहकी कोषाध्यक्ष आचार्यले बताउनुभयो । अहिले ती महिलाहरुले सहयोगी कार्यकर्ताको रुपमा समूहका अन्य महिलाहरुलाई कानुनी शिक्षा र महिलाहरुलाई पर्ने समस्या समाधानका बारेमा प्रशिक्षण तालिम दिइरहेको समूहले जानकारी गराएको छ ।

एकल महिला समूहले दिएको तालिम लिएपछि अहिले घोराही बजारकी चोपा मल्ल सिलाई बुनाईबाट आफ्नो खु्ट्टामा उभिन सफल भएकी छिन् । त्यस्तै, ढिकपुरकी लक्ष्मी अधिकारी लगायतको समूहले पापड उत्पादन गरेर आम्दानीको राम्रो स्रोत बनाएको छ । आफूहरुसँग पापड बनाउनका लागि मेसिनको अभाव भएकाले घरेलु सामग्रीबाट निर्माण गरिरहेको  र उत्पादित पापड घोराही, तुलसीपुर, लमहीदेखि नेपालगञ्जसम्म पठाउने गरेको लक्ष्मी अधिकारीले बताउनुभयो । ४ जनाको लगानी रहेको उक्त उद्योगमा १५ जना एकल महिला समावेश भइसकेको अधिकारीले जानकारी दिनुभयो ।

त्यसो त एकल महिला समूहले समाज सेवा र आयआर्जनको बाटोमा मात्रै होइन एकल महिलाका समस्यालाई सुनिश्चित गराउन राज्य पक्षसँग पनि निरन्तर माग राख्दै र दबाब दिदै आएको छ । एकल महिलाको सवालमा उमेरको हदबन्दी हटाई भत्ताको व्यवस्था, बालबालिकाको लागि शिक्षा, रासन कार्डको व्यवस्था, योग्यता र क्षमताअनुसारको रोजगारी, कानुनी सेवा निःशुल्कलगायतका माग समूहले राख्दै आएको समूहकी अध्यक्ष यमकुमारी ढकालले बताउनुभयो ।

धैर्यताले खुसी ल्यायो विधवा महिलामा

गोविन्द खड्का/रुकुम

जोडी छुटेपछि संसारमा एक्लै छु भन्ने कल्पना गर्ने विधवा महिलाहरु केही समय दुःख सहेर धैर्य गरेपछि सुख पनि फिर्दोरहेछ भन्ने निष्कर्षमा पुग्न थालेका छन् । श्रीमान्को सहाराबिना कठीन संघर्ष गरेर हुर्काएका छोराछोरीहरु आफूले चाहेजस्तै सफल बन्दै गएपछि सुखका दिन फिर्ने उनीहरुको अनुभव छ । १८ वर्षअघि श्रीमानको मृत्यु हुँदा रुकुम चौखावाङ–६, चुनकी खली खड्काले अहिलेको आफूलाई यति खुसी हुँला भन्ने लागेकै थिएन रे । श्रीमान्सँगै जीन्दगीका सबै खुसीहरु लुटिएको ठानेकी उनले कसैले देख्लान् भन्ने डरले रुँदै नहिडेपनि भित्रभित्रै कति रोइन् कति ? तर, अहिले छोराछोरीहरुको उज्यालो भविष्य देख्दा आफूलाई खुसीका दिन फिरेको जस्तो लागेको छ । ‘विधवा भएपछि सोझो आँखाले हेर्नेहरु कोही आफन्तसग लगाइदिन खोज्ने त कोही धारेहात लगाउने र ‘पोइटोकुवा’ ‘अलच्छिनी’ भन्दै सत्तोसराप गर्न पछि पर्दैनथे ।’ उनी विगत सम्झिदै भन्छिन्– ‘कस्ता–कस्ता दुःख सहेँ, अहिले छोराछोरीलाई साथमा पाउँदा पहिलेका सबै दुःख बिर्सिएकी छु ।’

बाबाको अभावमा उनका सन्तानलाई भने परिवार भरिपूर्ण लाग्दैन । काम गर्दा कतै न कतै बलियो अभिवावकको आवश्यकता खड्किने गरेको उनीहरु बताउँछन् । खड्काकी छोरी रिता भन्छिन्– ‘बाबु नै छैन कसरी तिर्ला भन्ने लाग्छ होला सित्तिमित्ति कसैले सहयोग गर्न मान्दैनन् ।’ आफूले कक्षा ११ मा भर्ना हुने पैसा सापटी खोज्दा धेरै ठाउँमा धाउनुपरेको तितो अनुभव सुनाइन् । अहिले रोजगारीमा लागेपछि भने दैनिकी सहज बन्दै गएको र भाइले ओभरसियर पढिरहेको उनी बताउँछिन् ।

उसो त खलीजस्तै रोल्पा ओत– ३ की विनिता घर्तीको श्रीमान्सँग विछोड भएको पनि १२ वर्ष पुग्यो । उनका एक छोरा कमाउन विदेश पुगिसकेका छन् भने जेठो छोराबाट नाति पनि जन्मिसकेको छ । श्रीमान् गुमाएकापछिका शुरुका दिनमा गाउँमा घ्यू, तेल, पिठो, चामल पैँचोसमेत पाउन नसकेको र गाउँलेले खाएर भाग्लाझैँ व्यवहार गरेको विनिताले दुखेसो गरिन् । ‘श्रीमान्ले छोडेको घाउ र अप्ठ्यारो पर्दा सहयोग नपाउने गरेको पीडा एकैसाथ व्यहोर्नु पर्दोरहेछ ।’ उनले भनिन् । दुईवटा छोरालाई विदेश पठाउँदा निकै कष्ट भोगेको उनको अनुभव छ । ‘ऋण काढ्दा व्याजमा पनि पैसा दिन मान्दैनथे’– उनले भनिन्– ‘आर्थिक अवस्थामा जति नै समस्या आएपनि जाँडरक्सी बनाउनेतिर लागिन ।’ निराश नहुने हो भने सम्मानको पेशाले पनि परिवार धान्न सकिने उनको अनुभव छ । समाजले जति अविश्वास र शंका गरेपनि आफूले छोराछोरीहरुको विचल्ली नपार्ने अठोट लिएकाले सफल भएको उनीहरुको भनाई छ । खलि र विनिता दुवैको साझा बुझाई एउटै छ– पीडा पचाउन सक्ने आँट गर्ने हो र दुःखपछि सुख आउँछ भनेर धैर्य गर्ने हो भने सफल भइदोरहेछ । छोराछोरी, बुहारी नातिनातिनाहरुसँगै रमाउँदै बसेका यी वृद्ध विधवा महिला आफूहरुले कष्टलाई जितेर सफल जिन्दगी बिताएको बताउँछन् ।

‘साझा’ पुस्तक प्रदर्शनीको तयारीमा

दाङ/साझा प्रकाशनको घोराहीस्थित मुख्य शाखाले मंसिर ८ गतेदेखि २३ गतेसम्म घोराहीमा बृहत पुस्तक प्रदर्शनी मेला गर्ने भएको छ । पुस्तक प्रदर्शनीको अवसरमा ५ लाख बढीको पुस्तक बिक्री गर्ने लक्ष्य राखेको साझा प्रकाशन दाङ शाखाले जनाएको छ ।

‘पठन संस्कृति विकास अभियान, समृद्ध समाजको निर्माण’ भन्ने मूल नाराका साथ शुरु गरिने प्रदर्शनीमा ९ प्रतिशतदेखि ८० प्रतिशतसम्मको भारी छुटमा पुस्तकहरु र २८ प्रतिशतसम्ममा कापी छुट दिइने शाखा प्रमुख विनोदबन्धु न्यौपानेले बताउनुभयो । त्यसका लागि केही नयाँ किताबहरु आउँदै गरेको र केही स्टोरमा रहेको जानकारी दिनुभयो । साझाले आफ्नो प्रकाशनका मात्रै नभएर चर्चामा आएका र उपयोगी अन्य किताब पनि बिक्री गरिने बताएको छ । बिहान १० देखि साँझ ६ बजेसम्म प्रदर्शन गरिने शनिबार र सार्वजनिक बिदाको दिन पनि बन्द नगरिने प्रमुख न्यौपानेले जानकारी दिनुभयो । ०६६ सालमा ५ लाख र गत वर्ष ३ लाखका किताब बिक्री भएको बताउँदै यस वर्ष ५ लाख बढीका किताब बिक्री हुने अनुमान गरिएको शोरुम ईन्चार्ज सुरेन्द्रप्रसाद भुसालले बताउनुभयो । गत वर्ष केही विद्यालयका विद्यार्थीलाई प्रदर्शनीमा भ्रमण गराउँदा धेरै उपलब्धि भएकाले यस वर्ष उक्त अभियानलाई निरन्तरता दिने साझाले बताएको छ । शोरुम इन्चार्ज भुसालका अनुसार अहिले शोरुममा विभिन्न विधाका २ हजार ५ सयभन्दा बढी प्रकारका किताबहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *