फर्मेशनबाट बिछोडिदैछन् एकै मोर्चाका सहयात्रीहरु

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०६८       | 240 Views   ||

-[अजयदीप शर्मा/दहवन, रोल्पा]

शान्ति प्रकृयालाई टुङ्गोमा पुरयाउन कार्तिक १५ गते प्रमुख दलहरुबीच भएको ७ बुँदे सहमतिअनुसार अधिकांश जनमुक्ति सेनाहरु यतिबेला समायोजन, स्वैच्छिक अवकाश र पुनःस्र्थापनामध्ये एक विकल्प रोजिसकेका छन् भने कतिपयले कहाँ जाने भनेर परिवार र साथीभाईहरुसँग छलफल चलाइरहेका छन् ।

कहाँ जाने भन्ने बारेमा धारणा बनाएर निर्णयमा पुगिसकेका दुईजना विगे्रडियर सह–कमाण्डर प्रबल र मधुकर यतिबेला विगतमा रुखको छहारी र बारीको चिसोमा सुतेर बिताएका रात र भोक पचाएर लडेका युद्धमोर्चाहरुको स्मरण गर्दैछन् । लडाईमा आफ्ना वरिपरि ढलेका साथीहरुको लासमा कभर लिदै युद्धमोर्चामा भिडेका यी दुई सहयात्रीहरु अहिले बिछोडिने बिन्दुमा आइपुगेका छन् । समायोजनमा जाने तयारीमा रहेका कमल घर्ती ‘मधुकर’ र स्वैच्छिक अवकासमा जाने निर्णयमा पुगेका प्रेम बुढा ‘प्रबल’ आ–आफ्नो बाटो रोजे पनि एकै स्वरमा भने– ‘हामीले भूमिका बाँडेर जाँदैछौं, जहाँ गएपनि हामी शहीदका सपना बोकेर जानेछौँ ।’

०५२ सालमा रोल्पाको पश्चिम जङ्कोट गाविसबाट मोर्चा सम्हाल्दै पूर्वतिर हान्निएको १९/२० को त्यो तन्नेरी (मधुकर) र पूर्वी जेल्वाङबाट मोर्चा सम्हाल्दै पश्चिमतिर हानिएको त्यो नौजवान (प्रबल) तन्नेरीबीचको सहयात्रा रणमैदानमा लड्दै गर्दाबाटै शुरु भयो । फरक–फरक पृष्ठभूमिबाट एउटै लक्ष्य र सपना बोकेर ०५२ सालमा वर्गसंघर्षमा हामफालेका यी सहयोद्धाहरु जनमुक्ति सेनाको पहिलो फौजी फर्मेशन लडाकु दस्ताबाटै क्रान्तिकारी जीवनको शुरुवात गरेका थिए । साना–साना एम्बुस, सेवोटेज, कार्वाहीबाट आफूलाई युद्ध कौशलमा निपुण बनाउँदै २०५६ सालमा प्यूठानको भिङ्ग्री चौकी आक्रमण गर्दा फस्ट एसाल्टबाट जनयुद्धका सहयात्री बनेका यी दुई योद्धाका युद्ध अनुभूति र अनुभवका कथाहरु गहिरा र निकै संवेदनशील रहेका छन् । डेढ दर्जनभन्दा बढी युद्धमा एसाल्ट (फाइटर)को भूमिका निर्वाह गरेका प्रबल घोराही ब्यारेक आक्रमणमा कोखामा बमका छिर्का र खुट्टामा गोली लागेर पनि नयाँ जीवन प्राप्त गरेका योद्धा हुन् भने मधुकर अछाम र खाराको पहिलो आक्रमणमा घाइते भएर मोर्चा सम्हालेका योद्धा हुन् । यतिबेला मधुकर जनमुक्ति सेना पाँचौँ डिभिजनको सैन्य तालिम विभागको प्रमुखमा रहेर आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् भने प्रबल पाँचौं डिभिजन कार्यालयको केही विभाग सम्हालिराखेका छन् ।  करिब १६ बर्ष जनमुक्ति सेनामा रहि देखाएको वीरता, साहस र पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गरेका यी योद्धाहरु अहिले फर्मेशनबाट छुट्टिने बेला आएकोमा दुःख व्यक्त गर्छन् । तर, राजनीतिक उद्देश्यमा रहि लडेको सेना भएको हुनाले राजनीतिक निर्णयअनुसार आ–आफ्नो विकल्प रोज्ने स्वतन्त्र निर्णयको अधिकार दिएअनुसार यिनीहरु जनमुक्ति सेनाको फर्मेशनबाट टाढिदैछन् । स्वैच्छिक अवकाशमा जान इच्छुक रहेका प्रबल अहिलेको मापदण्डको प्रकृयाबाट सन्तुष्ट देखिदैनन् । उनी भन्छन्– ‘गणतन्त्र प्राप्तिका लागि लडेको सेना भएकाले समायोजनमा जाँदा कम्तिमा पनि समूहगत प्रवेश र भर्तिको हिसाबले व्यक्तिगत मापदण्डको दायरामा हामीलाई नराखिनुपथ्र्यो, म जनताको मुक्ति र स्वतन्त्रताका लागि स्वयंम्सेवक भएर जनयुद्धमा लागेको मान्छे, भाडाको सिपाही जसरी छाती नापेर समायोजनमा जानुभन्दा स्वैच्छिक अवकाशमा जान उपयुक्त ठानेर अवकासमा जाने निर्णयमा पुगेको छु ।’

स्वैच्छिक अवकाशपछि राजनीतिक जीवनमा नै फर्किने प्रबलको इच्छा छ भने मधुकरले सेना समायोजनको नयाँ फर्मेशनमा जाने इच्छा व्यक्त गरे । उनले भने– ‘व्यक्तिगत मापदण्डका आधारमा जाँदा केही जटिलताहरु उत्पन्न त हुन सक्छन् तर राजनीतिक स्तरबाट निर्णय भएकाले त्यसलाई कार्यान्वयन गर्ने गरी फरक भूमिका निर्वाह गर्न सेना समायोजनमा जाने निर्णय मैले गरिसकेको छु ।’ पद मिलानको बारेमा अहिले कुनै निर्णय भइनसकेको भएपनि योग्यताको आधारमा कम्तिमा पनि मेजर पदमा रहेर काम गर्ने इच्छा उनले जाहेर गरे । पाँचौं डिभिजनको तालिम प्रशिक्षकको रुपमा रहेका मधुकर युद्धकौशल र फाइटर टिम निर्माण गर्ने खुबी र क्षमता राख्दछन् ।

प्रबल र मधुकरजस्तै जनमुक्ति सेनाका नायक पात्रहरु पाँच बर्षसम्म शिविरभित्रको उकुसमुकुसबाट उन्मुक्ति पाउँदाको खुसीसँगै जनतालाई हरेक दमन, उत्पीडन र शोषणबाट मुक्त गराई सम्मुनत राष्ट्र निर्माण गर्ने उद्देश्यप्रतिको चिन्ताले पनि पिरोलिराखेको छ । उनीहरु सबैको एउटै कामना छ– पार्टीले जुन उद्देश्य र सपना बोकेर जनसेनाको फर्मेशन बनाएको हो, त्यही उद्देश्यमा रहेर फरक भूमिकामा आफूहरुलाई समाहित गराएर अगाडि बढोस् र पार्टी नेतृत्वपंक्ति पहाडजस्तै दृढ र एक भएर यो देशलाई अग्रगामी परिवर्तनको दिशातिर हुँइकाइराखोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *