अन्धकारमा हराएका दुई पंक्षी

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १३, २०६८       | 100 Views   ||

-[ओमप्रकाश पुन ‘आगो’]

भर्खरजस्तै लाग्छ– यो ९ वर्षको यात्रा पनि । तर, कति चाँडै बितेछ यो समय । कहालीलाग्दा ती दिनहरुका बीचमा आफ्नै जन्मभूमि चुनवाङका भीरपाखा, खोला खोल्सी र देउराली भञ्ज्याङहरुमा रमाएका क्षणहरुको अचेल किन–किन स्मरण गर्न मन लागिरहेछ अचेल । लेख्दै गर्दा दन्त्यकथाजस्तै, सम्झदै गर्दा सपनाजस्तै आँखाकै वरिपरि नाच्ने ती दृश्यहरुले बिझाउँछ मलाई र रुवाउँछ त्यही विगतले । सम्झदा मुटु चुडिएजस्तै हुन्छ, हृदय छिया–छिया भई गल्न थाल्छु आफैमा ।

समय त्यही कालरात्रीको हो । जतिबेला लाटोकोसेरो र जंगली ब्वाँसा र फ्याउराहरुको राज थियो । पोखरीमा कराउने घिनलाग्दा भ्यागुताहरुको कर्कश आवाजमात्र सुनिन्थ्यो । आहाराको पर्खाईमा लुकेका काला गोमन साँपहरुको मात्र बिगबिगी थियो । औँसीको अन्धकार रातजस्तो गाउँबस्तीमा कता–कता उज्यालोका किरण छर्न खोज्थे जूनकीरीहरु । तर, अन्धकार रातको घुम्टोभित्र कहाँ हराउँथे कहाँ ? त्यतिबेला गाउँ, समाज र सिङ्गो देश नै अन्धकार साम्राज्यको भूमरीमा रुमल्लिरहेको थियो ।

अँध्यारो रातको मौकामा रक्तपिपासु ब्वाँसाहरुले कतिलाई लुछे, कतिलाई खाए, कतिको सर्वस्व लुटे, त्यो अत्याचार र जंगली राजको यहाँ बयान गरि साध्य छैन । त्यही अन्धकार रातकै बीचमा ती दुई कोमल मुनाहरु– जसलाई मैले अन्धकार रुमल्लिरहेका पंक्षीहरु भनेर भन्ने चाहेँ । हो, उनै अनन्त यात्रामा उड्न चाहिरहेका पंक्षीहरु ।

खैँ, कहाँबाट आएका हुन्, कहाँसम्म जाने हुन्, परिचय छैन उनीहरुको । गहँभरि आँसु छ, मुटुभरि पीडा, मनभरि आक्रोशको ज्वाला बलिरहेछ उनीहरुको । २०५९ सालको वर्षात्को समय थियो त्यतिबेला । असारको महिना भएकाले प्रकृतिको कहिले हाँस्ने, कहिले रुने प्रक्रिया चलिरहेको थियो । त्यसदिन बादल लागेको थिएन, घामका किरण धर्तीभरि फिजिएका थिए । वनपाखा चारैतिर हरियाली देखिन्थ्यो । विभिन्न चराचुरुङ्गीहरुको चिरबिर चिरबिरले वनजंगलमा नै गुञ्जायमान थियो । खोला खहरेहरु आफ्नै तालमा सुसाउँदै गड्गडाउँदै बगिरहेका थिए । साँच्ची कति रमाइलो थियो त्यो क्षण । प्रकृतिको स्वच्छन्द सुन्दरताभित्र कता–कता हराउँदै म त्यही स्वर्णिम संसारको एकान्तमा रमाइरहेको थिएँ । त्यहीबखत मेरो एकाग्रता, एकान्तलाई केही वस्तुले खल्बल्याइदियो । मेरो एकाग्रतालाई खल्बल्याउन केही परबाट विपना र उसको भाई मतिरै आइरहेका थिए ।

उनीहरु मेरो विद्यालयको नयाँ साथी थिए । उनको नामभन्दा अरु परिचय थिएन मसँग । सरल मिजास र लजालु स्वभाव भएकी विपना मलाई देख्नेबित्तिकै मुस्कुराइन् मात्र, बोल्न सकिनन् । मैले आफ्नो उत्ताउलो पारा देखाउँदै उनलाई बस्न अनुरोध गरेँ । केही समय उनीसँग कुराकानी गरेपछि उनलाई आफ्नो परिचय मागेँ तर उनले सहजै आफ्नो परिचय दिन चाहिनन् । मेरो जिद्दी र करले गर्दा उनले अरु कसैसँग नभन्न अनुरोध गर्दै आफ्नो परिचय दिइन् यसरी–

‘हाम्रो घर रुकुमको खारा गाविसमा पर्छ । हाम्रो वुबा जनमुक्ति सेनामा हुनुहुन्थ्यो, लडाईको क्रममा उहाँ शहीद हुनुभएछ । बुवा शहीद हुँदा भाई जम्मा पाँच वर्षको थियो, बुवा शहीद भएको अहिले दुई वर्ष बितिसकेको छ । बुवा जनमुक्ति सेनामा लाग्नुअघि गाउँकै स्कूलमा पढाउनु हुन्थ्यो रे । स्कूलमा पढाइरहेको बेला गाउँका सुराकीले माओवादीको आरोप लगाइदिएपछि पुलिसले जेल लगेछन् र थुप्रै यातना दिएर तीन महिनापछि तारेखमा छोडिदिएछन् । तारेखमा छोडेपनि फेरि पक्राउ गर्ने हल्ला चलेपछि बुवा बाध्य भएर शिक्षकको जागीर छोडेर जनमुक्ति सेनामा भर्ती हुनुभएछ । बुवा शहीद भएपछि हामी पुलिसको यातना र दमनबाट अछुतो हुन सकेनौँ । हाम्रो घरमा सधैँ पुलिस आएर छापा मार्ने, सरसामान फालिदिने, हुँदा हुँदा आमालाई शारिरीक तथा मानसिक यातना दिने गर्न थाल्यो । आमाले पुलिसको दमन, यातना र अन्याय सहन नसकी बुवाले रोजेको क्रान्तिको बाटोमा लाग्ने सोँच बनाइसक्नु भएछ ।

हामी सधैँजसो त्यस दिन पनि स्कूल गएका थियौँ । आमा घरमै हुनुहुन्थ्यो । स्कूलबाट घर फर्किदा हाम्रो घरको केही नामनिसान नै थिएन । छेऊमा खरानीको थुप्रोमात्र बाँकी थियो । हामी आमा, आमा भन्दै रोयौँ, करायौँ । त्यहाँ कोही थिएनन्, हामी रोए कराएको कसैले सुनेनन् । गाउँ पूरै सुनसान थियो । गाउँका अरु घरहरु पनि जलिरहेका थिए । धुँवैधुँवाले गाउँ नै ढाकेको थियो । हामी दिनभरि जलेको घरलाई हेर्दै रोइरह्यौँ । हामीलाई भोकको कुनै सुर्ता थिएन, प्यासको कुनै पर्वाह भएन । हामी जलेर थुप्रो परेको खरानीको ढिस्को हेर्दै रोइरह्यौँ मात्र । साँझपख मावलबाट हजुरआमा आउनुभयो र हामीलाई लिएर जानुभयो । हामी दुई भाइबहिनी हजुरआमासँगै मावल गयौँ । आमा त्यही दिनदेखि बुवाले छोडेको अधुरो यात्रा पूरा गर्न हिड्नुभएछ ।

त्यसको दुई दिनपछि आमा राती १० बजेतिर हामीलाई भेट्न मावलमा आउनुभएको रहेछ । आमालाई भेटेपछि हामी रुन्छौँ, कराउँछौँ भनेर होला हजुरआमाले आमालाई बाहिरबाटै पठाइदिनुभएछ । हामी त्यसपछि हजुरआमासँगै बस्न थाल्यौँ । हजुरआमाले पढ्ने बन्दोबस्त गरिदिनुभयो । मैले ५ र ६ कक्षा त्यहीबाट पास गरेँ । यस्तै अप्ठ्यारोका बीचमा हामी दिनहरु बिताइरहेका थियौँ, फेरि सेना पुलिसले हामीलाई पक्राउ गर्न खोजिरहेको थाहा पायौँ । अनि हजुरआमासँगै अहिले यहाँ आएका हौँ । खै यो हाम्रो भाग्य नै यस्तै हो कि ?’

यति भनिसक्दासम्म उनका आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेका थिए । त्यतिखेर मैले उनलाई न सम्झाउन सकेँ न त उनीसँगै आँसुका धारा बगाउन नै सके । म भित्रभित्रै उनको पीडाले छटपटाइरहेको थिएँ । उनको पीडामा आँसु मिसाउनुबाहेक अरु उपाय थिएन मसँग । म सिर्फ मुकदर्शक बनिरहे उनका अगाडि । सोचेँ– साँच्ची भगवान् हुने नै भए यति निर्दयी र क्रुर बनेका होलान्, यी अबोध मुनाहरुलाई किन चोटमाथि चोट थपिरहेका होलान् ? मैले आफू उभिएको धर्ती नै भासिएजस्तो अनुभव गरिरहेको थिएँ ।

यति कुरा सुनाइसकेपछि उनले ‘म त अब जान्छु दाई’ भनेर उठिन् । आँखाबाट झरिरहेका आँसु पुछ्दै उनी बाटो लागिन् । एकैछिनमा उनी मेरा आँखाबाट ओझेल परिन् । मैले उनी गएको बाटोतिर एकोहोरो हेरिरहेँ । लाग्यो– साँच्ची उनी फेरि त्यही अन्धकार रातको भयावह कालरात्रीमा छट्पटाउँदै बाँचिरहेकी छिन् । गाउँघरमा अझैँ पनि सरकारको नून खाएकाहरुको ताण्डव, दमन, धरपकड र आतंक जारी थियो । दिन पनि रातजस्तो, गाउँघर र वनपाखाहरु पनि बिरानो–बिरानोजस्तै लाथ्यो त्यतिखेर । कतिबेला को कहाँ मारिने हो ? कसको घरगोठ जलाइने हो ? कसैलाई केही थाहा हुँदैनथ्यो ।

यस्तो अन्याय, अत्याचारको चर्को आतंकका सामू सधैँ मुकदर्शक भएर म पनि बस्न सकिनँ । र, विपनासँग लामो कुराकानी भएको केही समयपछि म त्यही आँधीमय यात्रामा सामेल भएँ । अन्धकार रातमा मृत्युसँग पौठेजोरी खेल्दै उज्यालो बिहानको खोजीमा हिडेँ । यात्राका क्रममा थुप्रै अप्ठ्यारा दिनरात बिताइयो, कयौँ रमाइला र उत्साहजनक क्षणहरुमा रमाइयो । देशको राजनीतिक अवस्था, परिवर्तित समयसँगै नेपाली जनताले चाहेको परिवर्तन र शान्तिका लागि अस्थायी शिविर बनाएर क्यान्टोनमेन्टमा बसेको पनि अहिले पाँच वर्ष पूरा भइसकेको छ । सायद अब यो क्यान्टोनमेन्टको बसाई पनि छिट्टै टुङ्गिदैछ । तर, हाम्रो यो क्यान्टोनमेन्टको बसाईमात्र टुङ्गिने हो कि नेपाली जनताले चाहेको शान्तिको चाहना र देश विकासको सपना पनि पूरा हुने हो ?

क्यान्टोनमेन्टको नाममा रहेको यो खुल्ला आकाशको छानामुनि कष्टकर दिनहरु बिताइरहँदा र यहाँबाट निस्किएर अनिश्चित गन्तव्य तय गर्दै गर्दा फेरि आज युद्धयात्राका क्रममा बुवालाई गुमाएका, घर खरानी बनाइएका ती अबोध, अनाथ विपनाका भाइबहिनीको यादले सताइरहेको छ । उनले चुनवाङको काखमा भेट भएको बेला बुवा शहीद भएको र घर दुष्टहरुले जलाएर खरानी बनाएको अनि आफूलाई सेना पुलिसले खोजिरहेकाले आफ्नो वास्तविक परिचय कसैलाई नदिन मलाई वाचा बन्धन गराएकी थिइन् ।

विडम्बना भनौँ कि खोई के भनूँ ? २०६४ सालको कुरा हो, क्यान्टोनमेन्टको बसाईकै क्रममा एकदिन काठमाण्डौँबाट प्रकाशित हुने पत्रिकामा उनै पीडित विपना घर्ती हातमा नाम्लो लिई स्कूले ड्रेसमै उभिएको तस्वीर छापिएको रहेछ । त्यसबेला उनी जिविकोपार्जनका लागि काठमाण्डौँको इट्टाभट्टामा काम गर्न पुगेकी रहिछिन् । त्यो तस्बीर देखेपछि एकछिन त म अवाक नै भएँ । एकैपटक विगतका ती दिन, उनले रुँदै सुनाएको त्यो गहिरो पीडा आँखैअगाडि झलझल्ती आउन थाले । मुटु छिया–छिया भयो । आँखाबाट आँसुका धाराहरु तपतपी त्यही पत्रिकामा खसे । सोँचे– शहीदहरु, जसले देश र जनताको मुक्तिका निम्ति भनेर आफ्नो प्राणको बलिदानी गरे, सारा खुसी र चाहनाहरु त्यागे, आज तिनै शहीदका सन्तानहरु यस्तो हालतमा छन्, शहीदका परिवारहरु सडकका गल्ली–गल्लीमा पेट पाल्नका लागि भौतारिदैछन् । एक–एक गरी मेरा आँखाअगाडि विगतका तिता–मिठा क्षणहरु घुम्न थाले । राज्यको श्वेत आतंकले त्रसित गाउँघरहरु, संकटकालको त्यो कालरात्री, गाउँका गाउँ जलाएर खरानी बनाएका ती घाउहरु, दाजुभाई मारिएको, दिदीबहिनी र आमाहरु बलात्कृत भएका ती दर्दनाक घटनाहरु सम्झेर मेरो टाउको नै फुट्लाझैँ भयो । म आँसुकै सागरमा डुब्न थाले ।

आज पूरै नौ वर्ष बित्न थालिसकेको छ, म क्यान्टोनमेन्टमा बसेको पनि पाँच वर्ष बितिसकेको छ । र, यतिखेर अबको गन्तव्य के हुने भन्ने अनिश्चित यात्राको भूमरीमा भास्सिदै भएपनि क्यान्टोनमेन्टबाट बाहिरिने तयारीमै छु । सबैतिर समायोजन वा स्वैच्छिक अवकाशको प्रक्रिया अघि बढिरहेको छ । अबको हाम्रो यात्रा के हुने ? शहीदका सपनाहरु ? यतिखेर सम्झिरहेछु– ती अबोध शहीदका सन्तान विपना र विपनाजस्तै हजारौँ शहीदका सन्तानहरु कहाँ होलान्, के गर्दै होलान् ? कुन दुनियाँमा कस्तो हालतमा होलान् ती अन्धकारभित्रका पंक्षीहरु ????

–दिर्घस्मृति व्रिगेड संक्राम, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *