विश्व परिस्थितिभित्र नेपालको शान्ति

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १३, २०६८       | 110 Views   ||

-[सूर्यनाथ सापकोटा]

माक्र्सका मोटा–मोटा ठेली पढेर समय खर्चिनु पनि जिविकाको लागि महङ्गो भइसक्यो । मान्छेलाई एकछिन पनि फुर्सद छैन, समय नै रोजगारीहरुको लागि प्राण भयो । सीपमुलक शिक्षाबाट नै जिन्दगीको उज्यालो प्राप्त हुने भो । तर, विश्व हेर्ने, बुझ्ने दृष्टिकोणलाई वैज्ञानिक बनाउनुपर्ने यो समयमा माक्र्सका चिन्तनहरु महत्वपूर्ण छन्, अब माक्र्सका चिन्तनलाई सूत्रबद्ध गर्ने छोटो शैली अपनाउनुपर्ने समय छ । माक्र्सका चिन्तन बोक्ने बौद्धिक वर्गको अन्तद्र्वन्द्वले आज विभिन्न वाम शक्तिबीच राजनैतिक दृष्टिकोण एक हुन सकेन । माक्र्सलाई बुझ्ने, हेर्ने कोण नै विभिन्न भए । माक्र्सवादी वुर्जुवाहरुको यो रोगले ‘वाम–शक्ति’ नै पूँजीवादीहरुको खेलौनामा परिणत भयो । आखिर वाम शक्तिहरुले विभिन्न पार्टी जन्माएर पूँजीवादीहरुको मनोबल उच्च बनाएको छ र सर्वहाराको मुक्तिलाई ओझेलमा पारेको छ । व्यक्तिवादी महत्वाकांक्षाले कुर्सी जन्माएको छ । कुर्सी पैसामा बिकेको पूँजीवादीबाट अथाह सम्पत्ति हात पारी यसमार्फत् जनसमर्थन जुटाउने वाम सपना नै आजको भ्रम हो ।

विश्वका शोषितपीडित वर्गहरुलाई मुक्तिको लागि वैज्ञानिक हतियारबिना मुक्ति पाउन ज्यादै कठीन हुँदोरहेछ भन्ने कुरा आजको विश्व परिस्थितिले नै देखाएको छ । जोसँग गतिला हतियार र दक्ष जनशक्ति छ अर्थात् वैज्ञानिक प्रविधि छ उसैको जीत हुँदोरहेछ भन्ने कुरा दुई विश्वयुद्धले समेत स्पष्ट देखाएको छ । अहिलेका चालु गृहयुद्धहरुले पनि दक्ष जनशक्ति र वैज्ञानिक हतियारकै माग गरेको छ, अमेरिकन सम्बद्ध समूहसँग प्रत्यक्ष युद्ध गरी जित्ने शक्तिको उदय अझै हुन सकेको छैन । शीतयुद्धको अन्त्यपछि वाम शक्ति एक प्रकार प्रतिरक्षाको स्थितिमा गुज्रन बाध्य छ र एकध्रुवीय विश्व व्यवस्थाले साम्राज्यवादी र विस्तारवादीहरुको उछृङ्खल प्रवृत्तिमा विकास भइरहेछ, जुनसुकै मूल्य चुकाएर भएपनि आफ्नो हैकम विश्वमा कायम राख्न मानवता, समानता, कानुनी राज्यव्यवस्था, लोकतन्त्र आदिको बहाल गर्ने निहुँमा सार्वभौमसत्तासम्पन्न राज्यमाथि ज्यादतीपूर्ण व्यवहार भइरहेछ । यसले विश्वमा चरम गुटबन्दीको स्थिति सिर्जना गरेको छ ।

यदि युरोप र अमेरिकी सम्बन्धित राष्ट्रहरु एक भएर एसियाको प्राकृतिक स्रोतमाथि ‘संयुक्त हस्तक्षेप’ गरी आफ्नो अनुकूल परिस्थिति सिर्जना गर्ने हो भने उनीहरुको शोषणविरुद्ध एसियाली राष्ट्र पनि एकढिक्का हुने परिस्थिति सिर्जना हुनेछ । यसले प्रत्यक्ष मुठभेड निम्त्याउने छ र फेरि तृतीय विश्वयुद्ध हुने खतरा बढ्नेछ । ‘राष्ट्र संघ’ मुकदर्शक बन्न बाध्य हुनेछ । विश्वको प्राकृतिक स्रोतबाट बन्ने हरेक प्रकारका उपभोग्य सामान र त्यसको कच्चा पदार्थ समेतको विश्व मूल्य एउटै किसिमबाट समायोजन हुन जरुरी छ । महङ्गीको ठूलो मारमा विकासोन्मुख राष्ट्रहरुलाई पारेर आफ्नो स्वार्थपूर्ति गर्ने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको एकताले विश्वमा आतंककारी अवश्य जन्माउनेछ यसैबाट विश्व ध्वस्त हुने प्रबल सम्भावना छ ।

आज प्राकृतिक सम्पदाको खोज गरी त्यसलाई आफूले कब्जा जमाउने होडअन्तर्गत अविकसित राष्ट्रको सम्पदाभित्र अति विकसित राष्ट्रको आँखा परेको छ । अति विकसित राष्ट्रको एउटा बलियो गुट तयार भएर विश्व व्यवस्था खल्बलिने अवस्था पनि सिर्जना भएको छ । अमेरिकन सम्बद्ध ‘गुट’ यसकै उपज हो । यस ‘गुट’भित्र आ–आफ्नो राष्ट्रिय स्वार्थ गाँसिएको छ । यसले अविकसित वा विकसित राष्ट्रहरुमा भएको शासन व्यवस्था आफ्नो अनुरुप नभएर अर्कै स्वरुप भई प्राकृतिक सम्पदाको कच्चा पदार्थको कम मूल्यमा पूर्ति वा आपूर्ति नगरिदिएमा जुनसुकै हालतले पनि त्यसलाई असफल गराएर आफ्नो इच्छाबमोजिम गर्न चाहन्छ । मानेन भने अन्तर्राष्ट्रिय मानवअधिकारको बखेडा निकालेर तिनीहरुको शासन व्यवस्था नै जनविरोधी भएको अकाट्य तर्क पेश गर्छ । सारा सञ्चार माध्यामहरुले अफवाह फिजाएर त्यस देशको हुर्मत लिन्छन्, जनतालाई भ्रमित तुल्याउँछन् र जनविद्रोह गर्नका लागि उक्साएर गोप्यरुपले ठूलै लगानी समेत गर्छन् । अनि त के चाहियो उनीहरुकै निर्देशन बमोजिम सत्ता परिवर्तन हुन्छ । अप्रत्यक्ष तरिकाले प्राकृतिक स्रोत कब्जा हुन्छ र उनीहरु यसरी विश्व सम्पदालाई आफ्नो नियन्त्रणमा लिई कानुनीरुपले नै बलियो र सक्षम बन्छन् । राष्ट्र संघ पनि मुकदर्शक बन्नुपर्ने हुन्छ । अर्थात् राष्ट्र संघमा उनीहरुकै बहुमत हुन्छ ।

यस्तो परिस्थितिको सिमाना बढ्दै बढ्दै आज नेपालसम्म पनि आइरहेको भान हुन्छ । चीन र भारतको आत्माको रुपमा बसेको नेपालमाथि यो रोग आयो भने यहाँ रक्तपात हुने सम्भावना प्रबल छ, यसको लागि भूमिका तयार भइराखेको छ । शान्ति प्रक्रिया खल्बल्याउने रणनीतिभित्र नेपाली पर्नु हुँदैन । फेरि पनि हामीसित राम्रो कूटनीति हुन जरुरी छ । नेपालभित्र अन्तर्राष्ट्रिय सद्भावना र समझदारी बढाउने दुरदर्शीता हुनैपर्छ । यही नै शान्तिको हतियार हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *