जनमुक्ति सेनाका इतिहास कमरेड ‘अविनाश’

  
  प्रकाशित मितिः आइतवार, मंसिर १८, २०६८       | 99 Views   ||

समायोजनतिर बढेका छन् उनका पाइला । एकपटक फर्केर हेर्छन् उनी लालसेनाको इतिहास गाथा । भावुक हुँदै उनी भन्छन्– ‘ती विरताका कथा र संघर्षका गाथाहरुले हामीलाई जहाँ भएपनि लक्ष्यप्रति ढृढ बनाइराख्नेछ ।’ रोल्पासँगै जोडिएको छ उनीको नाम । उत्पीडित जनतालाई मुक्ति दिलाउन भनेर ०५२ सालदेखि लालसेना बनेका क्रान्तिका एक जोदाहा सिपाही हुन् कमरेड अविनाश । निडर र हक्की स्वभावका अविनाश फौजी गुणका धनी मानिन्छन् । जनयुद्धको आधार क्षेत्रका एक छापामार गुरिल्ला आज जनमुक्ति सेनाको एउटा डिभिजनल फौज चलाउने कमाण्डर भएर आफ्नो जिम्मेवारीलाई पूरा गर्दैछ । लडाकु दस्तादेखि जनमुक्ति सेनासम्मको एउटा दस्तावेज बनेका अविनाशसँग जति धेरै वर्गसंघर्ष र युद्धमोर्चाका अनुभव र व्यवहारबाट खारिएका विचारहरु छन् त्यति जीवन भोगाईका अनुभवहरु सायद त्यो राजबहादुर बुढासँग छैनन् होला ।

जनयुद्धको फौजी संघर्षसँगै जोडिन्छ अविनाशको नाम । ठुल्ठुला फौजी मोर्चाका नालबेली, भोगाई र अनुभूतिका सजीव चित्रहरु छन् उनीका आँखामा । कुनैबेला आधार क्षेत्रमा रहने मंगलसेन बिग्रेडको नाम सुन्दासमेत सेना र पुलिसहरु भाग्थे । त्यो बिग्रेडलाई माथि उठाउनमा पासाङ, सुनिल, परिवर्तनसँगै अविनाशको नाम पनि अग्रपंतिmमा उभिन्छ । रोल्पाली भूमिमा जन्मेका कमरेड अविनाशमा फौजी ज्ञान, कला र कमाण्ड क्षमतामात्र होइन विश्व कम्युनिष्ट आन्दोलनदेखि नेपाली इतिहासको समेत राम्रो अध्ययन रहेको छ । उनको प्रष्ट र खरो रुपलाई हेर्दा एउटा फौजी कमाण्डरजस्तो मात्र देख्न सकिएला तर उनी सोचेभन्दा धेरै सरस र भावनाको जीवन्त पक्षले भरिएका नेतृत्व पनि हुन् । त्यही जीवन्तताको उँचाईबाट उनले आफ्नो संस्मरण संग्रह ‘जङ्गको मैदानमा’ जन्माइसकेका छन् । युद्धभित्रको प्रत्यक्ष भोगाई, अनुभूति र आनन्दका क्षणहरु चित्रित गरिएको अविनाशको फौजी जीवनको एउटा उपहारको रुपमा रहेको छ ‘जङ्गको मैदान ।’

दर्जनौँ युद्धमोर्चामा टिम परिचालन गरेर लडेका अविनाश हिजोको आधार क्षेत्रमा रहेको जनसेनाको नेतृत्व सम्हालेका छन् । जनताको मुक्तिका लागि भनेर ०४८ सालदेखि स्वयंसेवक बनेर जीवन अर्पेका अविनाश जीवनको मोडजस्तै पार्टी जीवनमा आएको नयाँ मोड र घुम्तिसँगै आफ्नो फर्मेशनलाई नयाँ ठाउँ र अर्को मोर्चामा समाहित गर्दैछन् । पाँचौं डिभिजनबाट समायोजनमा जानेहरुको नेतृत्व गरेर समायोजनमा जान थालेका अविनाश ती निमुखा जनता र शहीदहरुले सुम्पिएको गह्रौं जिम्मेवारीको भारीबाट विचलित नहुने प्रण गर्दै नेताहरुले त्यो बाटो छाडे आफूले विद्रोह गर्ने बताउँछन् । समायोजनमा जाँदा आफूहरुको हैसियत सम्मानजनक हुनुपर्ने बताउने अविनाशले राजनीतिक तहमा गरिएका कतिपय निर्णय द्विविधा र अस्पष्ट रहेकोमा आपत्तिसमेत जनाएका छन् । ७ बुँदे सहमति अन्योलपूर्ण रहेकाले त्यसलाई सच्चाउनुपर्छ भन्ने अविनाशको भनाई छ । समायोजनमा जान तोकिएको मापदण्डमा उमेरको हदबन्दीलगायतका विषयमा राजनीतिक स्तरमा नयाँ निर्णय गरिनुपर्नेमा अविनाशको जोड छ । १९ हजारलाई घटाएर ६ हजार ५ सय मात्र समायोजनमा जाँदै गर्दा खल्लो र अपुरो जस्तो लागेको बताउने अविनाशले हिजो लडाईबाट आएका साथीहरु गुमाएको जस्तो अनुभूति हुन थालेको बताए । आफू समायोजनमा जाँदै गर्दा युद्धमा घाइते र अपाङ्ग भएका साथीहरुलाई राज्यले उचित सम्मानका साथै जीवन भरथेकको सम्पूर्ण व्यवस्था गर्नुपर्ने अविनाशको माग छ ।

जनमुक्ति सेनाको इतिहास बोकेका एक हस्ती अविनाशको केही महिनापछिको नयाँ फर्मेशनको यात्रासँगसँगै जनमुक्ति सेनाको फर्मेशनको पनि अन्त्य भएर अब इतिहासमा सीमित बन्दैछ ।

प्रस्तुति : अजयदीप शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *