आगोको भावुक यात्रा

  
  प्रकाशित मितिः आइतवार, मंसिर १८, २०६८       | 138 Views   ||

-[नवीन लोचन मगर]

कुनै क्षण
उत्साहले उर्लिएको ज्वाला
सल्काउँदै एक–एक राँको
छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा
कोही कान्लापारि/कोही साउने झरी
कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा
लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन ।

कुनै समय
उठ्दै गरेका प्रत्येक हातहरु
आगोका प्रतिरुप हुन
इतिहासलाई चुनौती दिँदै
भविष्यलाई थमौती दिँदै
वर्तमानलाई सजग बनाउन
गगनभेदी थिए आगोका जुलुसहरु
फुस्–फुस् हिम कुहिरोमा उत्साहका कैयन बत्तीहरु
बल्दै थिए धिप–धिप
लाग्थ्यो– उनीहरु सत्यको बीउ हुन ।

तर, व्यर्थ भयो
सपनाका जिजीविषाहरु
कालो कुहिरोको भुमरीभित्र हराइरहेझैँ लाग्छ
आस्थाका खम्बाहरुको आँत सुक्दै गइरहेछन
धमिरा नलागेरै लिङ्रिङ्ग हुँदैछन
चन्द्र छुने लक्ष्यका पिरामिडहरु
आगोमा यौवनको मात चढ्यो
आँखाहरु आफूमा व्यक्तिवाद
र अरुमा शंकालु अनि बैसालु भए
चिसो रात मरेको खबर नफैलिँदै
विचारका साङ्लाहरु चुडाल्दै
भावभङ्गीमा उड्न थाले आगोहरु
कोहीले राप बिनाको/कोहीले तापबिनाको
कोहीले फिलिङ्गोबिनाको/कोहीले लप्काबिनाको
आ–आफ्नै रङ्गका आगो उर्गेल्न थाले
आगोको तनावपूर्ण रङ्गमञ्चमा
चिसो रात बिस्तारै सल्बलाउँदै छ
विप्फे नगराको आवाजझैँ सुनिन थालेको छ
आफ्ना भनिएकाहरुका भुन्–भुन
स्वीकारोक्ति गुम्दै गएका शहीदका मृतआत्माहरु
छाला सकिएको शरिर देखाउँदै
हड्डीमा अड्डी कसिरहेका नयाँ ठेकेदारहरुलाई धिक्कारिरहेछन ।

समय फेरिँदै गयो
सोझो रुखलाई कसैले बाङ्गो भन्न थाले
ओरालो बग्दै गरेको खहरेलाई कसैले उकालो देखे
मान्छेका आँखा बिग्रिए वा आँखाले मान्छे बिगा¥यो
आगोसँगकाहरु छोड्न मान्दैनन
टाढा भएकाहरु जोडिन जान्दैनन
कसैले आगोको अर्थ जलाउनु मात्र बुझे
कसैले आगोको अर्थ पलाउनु मात्र बुझे
यसले जलाउँछ र पलाउँछ पनि
जलाउने र पलाउनेहरुको हाउगुजीपूर्ण कोलाहलमा
अचेल आगो भावुक यात्रा हिडिरहेछ ।

दहवन, रोल्पा
nabin_lochan@yahoo.com

 

One Comment

  • bairagi kailo

    कुनै क्षण
    उत्साहले उर्लिएको ज्वाला
    सल्काउँदै एक–एक राँको
    छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा
    कोही कान्लापारि/कोही साउने झरी
    कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा
    लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन

    ===========
    तर, व्यर्थ भयो
    सपनाका जिजीविषाहरु
    कालो कुहिरोको भुमरीभित्र हराइरहेझैँ लाग्छ
    ========
    really nabin jee……. nikai marmik poem lekhnu vayako 6………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *